नेपाल सांस्कृतिक, धार्मिक तथा सामाजिक विविधताले भरिएको देश हो, जहाँ प्रत्येक पर्व–उत्सवले मानव जीवनलाई कुनै न कुनै गहिरो सन्देश प्रदान गरेको हुन्छ। यिनै पर्वहरूमध्ये माता तीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन र श्राद्ध कर्म विशेष महत्त्व बोकेका पर्वहरू हुन्। यी दुवै संस्कारहरूले मानिसलाई आफ्नो मूल, आफ्नो पहिचान र आफ्नो अस्तित्वसँग जोड्ने काम गर्छन्। एकातिर आमाप्रतिको प्रेम, ममता र कृतज्ञताको भाव प्रकट गरिन्छ भने अर्कोतिर पुर्खाप्रतिको श्रद्धा, आस्था र जिम्मेवारीको बोध गराइन्छ। यसरी हेर्दा यी पर्वहरू धार्मिक अनुष्ठान मात्र नभई जीवनदर्शनका गहिरा आधारस्तम्भ पनि हुन्।
माता तीर्थ औँसी नेपाली समाजमा आमालाई देवत्वको स्थानमा राखेर मनाइने अत्यन्त पवित्र दिन हो। यस दिन सन्तानहरूले बिहान सबेरै उठेर स्नान गरी आफ्नी आमाको मुख हेर्ने, उहाँलाई मिठा परिकार खुवाउने, उपहार दिने तथा आशीर्वाद लिने परम्परा रहिआएको छ।
यसरी आमाप्रति सम्मान प्रकट गर्नु केवल औपचारिकता नभई सन्तानको नैतिक कर्तव्यका रूपमा पनि लिइन्छ। आमा मानव जीवनकी पहिलो गुरु हुन्, जसले सन्तानलाई जन्म मात्र दिनु हुन्न, जीवन जिउने कला, संस्कार र मूल्यहरूको शिक्षा पनि दिनुहुन्छ। त्यसैले आमाको माया, त्याग र समर्पणलाई कुनै पनि मूल्यले तुलना गर्न सकिँदैन।
जसका आमा जीवित छन्, उनीहरूका लागि यो दिन विशेष उत्सवको रूपमा रहन्छ भने जसका आमा यस संसारमा छैनन्, उनीहरूले आमाको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्ने अवसरका रूपमा मनाउँछन्।
काठमाडौँस्थित मातातीर्थ कुण्ड यस दिन विशेष धार्मिक केन्द्रका रूपमा परिणत हुन्छ, जहाँ हजारौँ भक्तजन पुगेर स्नान, तर्पण तथा पूजाअर्चना गर्छन्। धार्मिक विश्वासअनुसार यहाँ गरिने पूजा–अर्चनाले दिवंगत आमाको आत्मालाई शान्ति मिल्छ र सन्तानलाई पुण्य प्राप्त हुन्छ। यसले आमाप्रतिको माया मृत्यु पछि पनि अविच्छिन्न रहने सन्देश दिन्छ।
निबन्धकार तेजबहादुर कटुवालयस्तै, नेपाली समाजमा श्राद्ध कर्मले पनि अत्यन्त महत्त्वपूर्ण स्थान ओगटेको छ। “श्राद्ध” शब्द नै श्रद्धा, आस्था र भक्ति भन्ने अर्थबाट आएको हो, जसले यसको गहिरो आध्यात्मिक पक्षलाई उजागर गर्छ। प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमादेखि अश्विन औँसीसम्म पितृपक्षका रूपमा मनाइने यस संस्कारमा सन्तानहरूले आफ्ना दिवंगत पुर्खाहरूको सम्झनामा पिण्डदान, तर्पण तथा दान गर्ने गर्दछन्। धार्मिक विश्वासअनुसार यस अवधिमा पितृहरू पृथ्वीमा आई आफ्ना सन्तानबाट प्राप्त श्रद्धा र भक्ति ग्रहण गर्छन् र उनीहरूलाई आशीर्वाद प्रदान गर्छन्।
हिन्दू जीवनदर्शनअनुसार प्रत्येक मानिसले तीन ऋण- देवऋण, ऋषिऋण र पितृऋण- तिर्नुपर्ने मान्यता छ। तीमध्ये पितृऋण तिर्ने प्रमुख माध्यम नै श्राद्ध हो। यसले सन्तानलाई आफ्नो उत्पत्ति र वंशपरम्पराप्रति सचेत बनाउँदै कृतज्ञताको भावना विकास गराउँछ। श्राद्ध कर्म केवल मृतकप्रतिको कर्तव्य मात्र नभई जीवित व्यक्तिको आत्मशुद्धि र नैतिक अनुशासनको अभ्यास पनि हो।
श्राद्धका दिन बिहान स्नान गरी शुद्ध वस्त्र धारण गरिन्छ र विधिपूर्वक पिण्डदान गरिन्छ। पिण्डमा तिल, जल, दूध, घ्यू, मह आदिको प्रयोग गरिन्छ, जसले शुद्धता, समर्पण र श्रद्धाको प्रतीकात्मक अर्थ बोकेको हुन्छ। यस अवसरमा ब्राह्मणलाई भोजन गराउने, दक्षिणा दिने तथा दान गर्ने चलन पनि छ। श्राद्धको वातावरण पूर्ण रूपमा शान्त, अनुशासित र भक्ति–भावनाले भरिएको हुन्छ, जसले मानिसलाई आध्यात्मिक रूपमा उन्नत बन्न प्रेरित गर्छ।
नेपालका विभिन्न तीर्थस्थलहरूमा श्राद्ध गर्ने परम्परा विशेष रूपमा प्रचलित छ। काठमाडौँको पशुपतिनाथ, वागमती नदी किनार, गोकर्णेश्वर क्षेत्र, देवघाट, रिडी, बराहक्षेत्र, त्रिवेणी, दामोदरकुण्ड आदि स्थानहरूमा यस अवसरमा ठूलो भीड लाग्छ। यी स्थानहरूमा गरिने श्राद्धले विशेष फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यसले नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक निरन्तरताको सुन्दर उदाहरण प्रस्तुत गर्छ।
माता तीर्थ औँसी र श्राद्ध कर्मलाई एकै सन्दर्भमा हेर्दा, यी दुवै संस्कारहरूले मानव जीवनको गहिरो सत्यलाई उजागर गर्छन्।
मानव आफ्नो अतीत, आफ्नो मूल र आफ्नो सम्बन्धबाट कहिल्यै अलग हुन सक्दैन। आमाले जीवन दिनुहुन्छ भने पुर्खाहरूले त्यो जीवनलाई निरन्तरता दिने आधार तयार गरेका हुन्छन्। त्यसैले आमाप्रतिको सम्मान र पुर्खाप्रतिको श्रद्धा मानव जीवनका अपरिहार्य पक्ष हुन्।
आधुनिक समयको व्यस्तता, भौतिकतावाद र व्यक्तिगत स्वार्थले मानिसलाई आफ्ना मूल्यमान्यता र संस्कारबाट टाढा लैजाने खतरा बढ्दै गएको छ। यस्ता अवस्थामा माता तीर्थ औँसी र श्राद्धजस्ता पर्वहरूले मानिसलाई आफ्नो जरा सम्झाउने, आफ्नो कर्तव्य बुझाउने र पारिवारिक सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्छन्। यस्ता महान पक्षहरूले अतीत, वर्तमान र भविष्यको निरन्तर यात्रालाई मार्गदर्शन गरिरहन्छन्। माता तीर्थ औँसी र श्राद्ध कर्म नेपाली समाजका अमूल्य सांस्कृतिक धरोहर हुन्। यी पर्वहरूले आमाबुबा तथा पुर्खाप्रतिको सम्मान, कृतज्ञता र जिम्मेवारीको भाव जागृत गराउँछन्। साथै, यी संस्कारहरूले मानिसलाई नैतिक, सामाजिक र आध्यात्मिक रूपमा परिपक्व बनाउने काम गर्छन्। आफ्ना जरा र पहिचानलाई जोगाउँदै अघि बढ्नु नै साँचो प्रगति हो भन्ने सन्देश यी पर्वहरूले स्पष्ट रूपमा दिएका छन्।आमा र पुर्खाप्रतिको श्रद्धा नै मानव जीवनको साँचो आधार हो, जसले हामीलाई हाम्रो अस्तित्वको अर्थ बुझ्न र जीवनलाई सही दिशामा अघि बढाउन प्रेरित गर्दछ।
काठमाडाैं, नेपाली लोकसंस्कृतिका अनुसन्धाता तथा प्रजातन्त्रका सेनानी स्व. कालीभक्त पन्तले नेपाली संस्कृति, गीतसंगीतलगायत तत्कालीन नेपाली समाजका विविध विषय तथा क्षेत्रको खोज, अनुसन्धान मात्र गर्नुभएन, नयाँ पुस्तालाई त्यसको अभिलेखसमेत तयार गरिदिनुभयो। त्यसकै आधारमा अहिलेको पुस्ताले त्यो बेलाको नेपालको इतिहास थाहा पाएको छ। उहाँको अर्को परिचय भनेको गीतकार, लोकगीत संकलक तथा गायकको पनि हो। उहाँले लेखेको लोकगीत रेडियो नेपालबाट प्रसारण भइरहेका छन्। ‘क्या यस्तो चाल पर्यो, मायासित बोल्दैमा गाल पर्यो’ तीमध्ये एक हो। प्राध्यापक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पन्तको गायनको क्षेत्रमा प्रवेश गर्नुको उद्देश्य गायक बनी नाम कमाउने थिएन। उहाँले नेपाली समाज अशिक्षित भएकाले समाजमा लोकगीतमार्फत जागरण ल्याउन पुस्तक–पुस्तिका, पम्प्लेट आदिको माध्यमबाट मात्र सम्भव नहुने हुँदा गाउँलेहरूलाई बुझाउने लोकगीतहरू रचेर अनेकौं सांस्कृतिक कार्यक्रमहरू गर्नुहुन्थ्यो। उहाँलाई जनतामा कसरी राजनीतिक, सामाजिक चेतना बढाउने भन्ने तरिकाको ज्ञान थियो।
यसरी गाउँलेहरूमा राजनीतिक चेतनाको अभिवृद्धि गर्न उहाँले सांस्कृतिक टोलीहरूको गठन पनि गर्नुभएको थियो। सो समयमा पन्तले ब्यान्जोको आकारको ‘कालीबाजा’को निर्माण पनि गर्नुभएको थियो। यो पनि अब एउटा इतिहास बनिसकेको छ। पर्वत तथा बागलुङमा हुने चैते–दसैंजस्ता मेलामा पन्तले महिला जागरणको मात्र नभई कन्या बेच्ने बाबुआमाविरोधी गीत पनि गाउनुभएको थियो। उदाहरणका लागि ‘छोरी बेचा हे बाहुन बाजे/अझै तँलाई लाग्दैन सरम’, ‘बिहा मलाई गर्ने हो भने/ल्याउनु होला कत्तुवा, चर्खा, तान’ उहाँले समाजका छुवाछुतलगायतका रूढिवादी परम्पराको अन्त्य तथा महिला र जनजातिको उत्थान गर्ने उद्देश्य राखेर विविध चेतनामूलक कार्य गर्नुभएको थियो।
२००७ सालको राजनीतिक परिवर्तनको आन्दोलनका बेला पश्चिम ४ नम्बरको कमान्डरको जिम्मेवारी पाउनुभएका पन्तले क्रान्तिका नेताका रूपमा पर्वत कुस्मा र बागलुङको मुक्तिसेना सञ्चालन गर्नुभएको थियो। त्यस्तै, पन्तले सो क्षेत्र कब्जा गरी सर्वश्री ओमप्रसाद गौचनको नेतृत्वको प्रान्तीय सरकारमा उपप्रधानमन्त्री भई काम गर्नुभएको थियो। यस समयमा पन्तले सूचना विभाग हेर्नुपथ्र्यो। २०१७ सालको पञ्चायती व्यवस्थाविरुद्धसमेत लड्नुभएको थियो। सो क्रममा उहाँले भूमिगत तथा जेलजीवनसमेत बिताउनुपरेको थियो। २०१९ सालदेखि राजनीतिबाट टाढिनुभएका पन्त त्यसपछि पूर्ण रूपमा लेखनमा लाग्नुभएको थियो।
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। सो क्रममा पन्त भारत (सिक्किम, दार्जिलिङ, कुमाउँ–गढवाल, आसाम, हिमाञ्चल प्रदेश), चीन, भुटान, पाकिस्तान, श्रीलंका तथा बेलायतमा पुग्नुभएको थियो। म्याट्रिक पास गर्नुभएका पन्तलाई नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, अंग्रेजी भाषाको समेत ज्ञान थियो।
उहाँको जन्म १९६४ साल भदौ ६ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो। पिता नरेन्द्र पन्त, माता निलकुमारी पन्तका कान्छा छोरा कालीभक्त २००९ सालदेखि भने पर्वतको फलेवासमा बस्दै आउनुभएको थियो। १७ वर्षको उमेरमा कालीभक्तको कृष्णा पन्तसँग विवाह भएको थियो। उहाँहरूका तीन छोरी र ६ छोरा भए। साहित्यकार देवीप्रसाद वनवासीका अनुसार पन्तको जन्मथलो तत्कालीन धौलागिरी अञ्चल, पर्वत जिल्लामा परे पनि उनी प. ४ नं. स्याङ्जा हो। ‘साइलादाइ कहाँ गयो’ भनेर दोहोरी गाउने मसानेका समकालीन पाथे भाइ हुन्। कालीभक्त पन्तका ‘पश्चिम ४ नम्बर (नेपाल) को इतिहास’ (२००९), ‘किसान गीता’ (२०१२), ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’ (२०२७), ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८), ‘गीत सुधारको राष्ट्रिय बाटो’ (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भबध’ (नाटक, निधनपश्चात् २०५० मा प्रकाशित) लगायतका कृति प्रकाशित छन्। यसबाहेक पन्तका विभिन्न विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन्।
विशेषगरी ‘हाम्रो सांस्कृतिक इतिहास’मा पन्तले राष्ट्रिय संस्कृति र यसको आवश्यकताको विषयबाट सुरु गरी राष्ट्रियता, हाम्रा गीत, भाषा आदिको प्रारम्भिक स्थिति, नेपालमा झ्याउरे गीतको बीजरोपण, हाम्रा देशका गीतहरूको बनावटको सिलसिला, गीतको आइनो गर्दा भाषा र लिपि, हाम्रा राष्ट्रिय ध्वनिको दिग्दर्शन र विश्वका गीतका ध्वनिहरू, हाम्रा गीतका बीजरोपक र परिवर्तनकर्ता, हाम्रा गीतका छन्दहरू, लोकगीत र तीबाहेकका गीत–बाजा, हाम्रा गीत–बाजाका भेद, गीतको संक्षिप्त महिमा, दार्जिलिङ–सिक्किम–भुटानका गोर्खालीका र हाम्रा गीतमा एकरूपता, हाम्रा देशमा शास्त्रीय संगीतलगायतका विषयमा केन्द्रित रहेर नेपालको समग्र सांस्कृतिक इतिहासलाई खोजी अभिलेख गर्ने काम गर्नुभएको छ।
दिवंगत संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पन्तको यसै कृति अध्ययन गरेर आफूलाई उहाँप्रति निकै श्रद्धा लागेको बताउनुभएको थियो। उहाँले पन्तलाई लोकसंस्कृतिको अगुवा बताउँदै सो समयमा लोकगीत, परम्परा र संस्कृतिका सम्बन्धमा कलम चलाई योगदान पुर्याउनु अतुलनीय रहेको बताउनुभएको थियो। भाषा तथा लोकसंस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुका अनुसार पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’मा लोकगीत र लोकनृत्यलाई राष्ट्रिय संस्कृतिका महत्त्वपूर्ण अंगका रूपमा विवेचना गर्नुभएको छ। उहाँका अनुसार यस कृतिमा धेरै कुरा पहिलोपटक प्रस्तुत गरिएका छन् र नेपाली भाषा र लोकगीतमा अनुसन्धान गर्नेहरूका लागि यी तथ्य र विश्लेषण स्रोतका रूपमा रहेका छन्।
बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई सहगान, सहनृत्य र सहकार्यमा अनिवार्य रूपले सहभागी बनाएर उपयोगी शिक्षा दिन सकिन्छ भन्ने उहाँको महत्त्वपूर्ण मान्यता पनि यस कृतिमा चर्चित छ। ‘गीत सुधारको राष्ट्रिय बाटो’ पुस्तक पन्तले नेपालीले आफ्नै सांस्कृतिक पद्धतिअनुसार गीत सुधार गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले तयार गर्नुभएको थियो। जसमा उहाँले गायन र नृत्यकलाको प्रारम्भ, नाच्ने–गाउने भावना र गला–कला, छन्दसाहित्य (तीजे, लहरी, झ्याउरे, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी आदि), हाम्रा पुर्खाकालीन सांगीतिक शाब्दिक सरजाम, गीतको संक्षिप्त महिमा, बहादुर सिंह बराल र नेपाली गीतका बनावटको इतिहास, आफ्नोपना र त्यसको पूर्ति, गीतका संज्ञा, परिभाषा र शब्दकोश, संगीत शब्द र भ्रम, हाम्रा गीत साहित्यले बदल्दै आएको ऐतिहासिक मोड, गीत रेकर्ड गर्नुभन्दा पहिले, केही फुटकर कुरा र गुनासाहरूलगायतका शीर्षकमा रहेर नेपाली गीतसंगीतका विविध विषय तथा पक्षको चर्चा गर्नुभएको छ।
संस्कृतिविद् तुलसी दिवस पन्तका ‘हाम्रो सांस्कृतिक इतिहास’ र ‘गीत सुधारको राष्ट्रिय बाटो’ पढेपछि उहाँबाट निकै प्रभावित हुनुभएको थियो। उहाँका अनुसार ‘नेपालको मेची–महाकालीलगायत पूर्वदार्जिलिङ, सिक्किमदेखि पश्चिम कुमाउँ–गढवालसम्म आफैं घुमेर लोकगीत, साहित्य र संस्कृतिको तथ्य संकलन र अन्वेषण गर्नु त्यो समयमा चानचुने कुरा थिएन, त्यो पनि आफ्नै खर्चले।’
यस्तै पन्तले लेखेका तथा संकलन गरेका थुप्रै रचना तथा कृतिहरू अझै अप्रकाशित देखिन्छन्। तिनलाई संकलन तथा सम्पादन गरी प्रकाशन गर्नु आवश्यक देखिन्छ।
उहाँको निधन भने २०४८ फागुन ६ गते भएको थियो। कालीभक्तको निधन हुनुभन्दा २२ वर्षअघि अर्थात् २०२६ माघ ११ गते नै धर्मपत्नी कृष्णा पन्तको ६० वर्षको उमेरमा निधन भइसकेको थियो। उहाँहरूको स्मृतिमा २०७४ वैशाख १ गतेदेखि कालीभक्त कृष्णा पन्त प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले ‘स्रष्टा कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’सँगै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, मानवीय सहयोग तथा सांस्कृतिक गतिविधि पनि गर्दै आएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...