दसैं पर्वः सम्बन्ध सूत्रको मनोवैज्ञानिक दर्शन
१६ असोज २०८२
•
९ मिनेट पाठ
दसैं पर्वः सम्बन्ध सूत्रको मनोवैज्ञानिक दर्शन
दशैं  शब्द आफैंमा गर्विलो, रमाइलो र आनन्द दिलाउने पर्वको नाम हो। समयक्रम र मानवीय  संकुचित धारणाको मारमा परेर यसको अपकर्ष  भइरहेको छ भने हुने कुरा निरन्तर चलेको छ। तथापि आगोलाई खरानीले छोपे पनि धुवाँ नछोपिए जस्तो सबैलाई यस पर्वले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पारेको छ।




दशैंलाई पहिले नेपालीको महान पर्व भनेर सम्बोधन गरिन्थ्यो तापनि पछिल्लो समयमा आएर यसलाई धर्मसँग जोडेर हिन्दूहरूको मात्र पर्व भनी नव परिभाषामा बाँध्ने काम गरियो। संस्कार, संस्कृति राज्यका अनमोल सम्पति हुन् तथापि “जान्नेलाई श्रीखण्ड” भनेझैं दशैंको विषयमा डेढ अक्कली दर्शन जन्माएर दुनो भर्ने काममा लाग्नेको लर्को ठूलो छ। कसैले जातसँग, कसैले धर्मसँग र कसैले राजनीतिसँग यो अनमोल पर्वलाई सौदाबाजी गरेका छन्। तर विडम्बना दशैं बिदा र दशैं पेश्की लिन्न यो मेरो पर्व होइन भन्ने कोही  भेटिएका छैनन् भने दशैं आयो के गर्ने भनेर अग्रीम योजना बनाउने, नाना र खानाको बन्दोबस्ती गर्ने हतारोको सबैमा उत्तिकै दौडधूप चलेको देखिन्छ।

सबैले खानपान र लत्ताकपडा जोहो गर्ने तर दशैं मनिँदैन भन्नेमा तालमेल पाइँदैन, तथ्य आधार भेटिंदैन। बाहिर दशैंको खिलाफ गरे पनि अरू सरह व्यवस्थापन गरेकै भेटिन्छ र अर्को नयाँ दर्शन झिकिएको छ, खानापान गरे पनि टिका नलगाउने भन्ने। यसबाट देखिन्छ,  टिकाटालो गर्न खर्चिलो होला भनेर तर त्यो सत्य नहुन सक्छ। रातो टिकाको विषयमा आधारहीन मनगढन्ते अक्कल निकालिएको छ, हाम्रा पुर्खाकाे निर्मम हत्या गरेर उनीहरूकै रगतमा मुछिएको रातो टीका भनेर।

किंवदन्तीलाई सापटी लिने हो भने दानव वा राक्षसमाथिको विजय भनेको पाइन्छ, अब प्रश्न उठ्छ, दशैं बहिष्कार गर्ने जति राक्षसका सन्तान हुन त? अर्को जटिल प्रश्न छ, टिका मात्र रातो नलगाउने हो वा पहिरान पनि रातो नलगाउने? यो तर्कले रातो कपडा वा पहिरान‚ रातो रङको  फूलको माला पहिरन पनि नहुने देखिन्छ। रातो जति बहिष्कार गर्ने हो त? जसरी  जिससका चेलाले रातो रगत नखाए झैं रातो मासु पनि परित्याग गर्नुपर्ने हुन्छ।

संस्कृतिविद् जगमान गुरुङको भनाइ मान्ने हो भने कुनै बलिपूजा गरी रगतमा मुछेको चामल निधारमा लगाउन हुने तर सिम्रिकको रङ रगतको प्रतीक हुन सक्दैन भन्ने उठान गरेका छन्। तर्क जे भए पनि संस्कारगत रूपले यो पर्व सबैको होइन भन्न पाइन्छ तर प्रत्युत्पादक तर्क गर्नु जायज हुँदैन, जसले सामाजिक सहिष्णुताको जगमा खिया बसाउँछ। दशैं मनाउने चलन रामरमाइलोका लागि मात्र नभएर कुनै वैज्ञानिक आधारमा चलेको अनुमान गर्न माथापच्चिसी गर्नु पर्दैन। जुन विज्ञानसम्मत विषयले आज पनि समाजलाई मर्यादित र अनुशासनको बाटोमा हिँडाउने छ।

दशैं मनाउन पर्ने पहिलो आधार मानवीय सम्बन्ध सूत्र कायम गर्ने र आदर सत्कारको संस्कारलाई निरन्तरता दिनु रहेको देखिन्छ। एकै रक्त सम्बन्धमा यौनिक समागम नहोस्, एक अर्काको पुस्तान्तर र रक्त सम्बन्धको ज्ञान होस् भन्ने उद्देश्यले यो पर्वको थालनी भएको अनुमान गर्न सकिन्छ। आफ्ना आफन्त नातागोतासँग भेटघाट र सम्बन्ध नवीकरणको माध्यमको रूपमा दशैं पर्वलाई लिन सकिन्छ।

बाहिरबाट दशैं कुनै वाद दर्शनसँग जोडिएको भए पनि आन्तरिक रूपमा यसले गहिरो अर्थ बोकेको छ। मानव विकासको चरणमा एउटै रक्त सम्बन्ध पर्न गए बाधा पुग्ने कुरा विज्ञानले प्रमाणित गरिदियो र नश्ल सुधारमा जोड दियो। शारीरिक तदुरुस्ती, मानसिक अब्बलता, चेतनाको उच्च विकास, दीर्घायु र विवेकी मानव विकासका लागि रक्तसम्बन्धमा ध्यान पुर्‍याउन आवश्यक थियो।

अदिम कालमा विज्ञान थिएन। कुनै धर्म वा संस्कारको माध्यमबाट मानिसलाई नैतिक बन्धनमा राखेर समाज सञ्चालन गर्नुपर्थ्यो होला। यसैकारण वर्षमा एकपटक निकट रक्त सम्बन्धका मानिसहरू भेटेर जानपहिचान गराउन पनि यो पर्वको थालनी भएको हुन सक्छ।

संसारको कुनाकुनामा पुगेका एकै परिवार वा वंशका मानिसको बिचमा भेटघाट र चिनजान नहुने हो भने विहावारी हुन सक्छ र कतिपय अवस्थामा यो घटना तपाईं हाम्रो समाजमा भेटिएका छन्। एकै वंशका दाजुभाइका छोराछोरीकाे विहावारी भएको तथ्य हाम्रा सामु छन्। यो भेटघाट र जानपहिचानको अभावले निम्त्याएको दुर्भाग्य हो। वर्षमा एकपटक मात्र भेटघाट हुँदा पनि यस्ता घटना घट्नबाट जोगिने सम्भावना रहन्छ। यो अवसर दशैंले जुटाइदिएको छ।

दशैको अर्को महत्त्वपूर्ण पक्ष भनेको मान्यजनको आशीर्वाद लिनु हो। आफूभन्दा ठुलाको हातबाट टिकाजमरा ग्रहण गरी आशीर्वाद लिने चलनले वृद्धवृद्धाहरूको सम्मान र संरक्षण गर्ने नैतिक दबाब सिर्जना गर्दछ।

आज हामी बढी क्रान्तिकारी र आधुनिक बन्ने अभ्यासले अज्ञात रूपमा गलत बाटो समाउन पुगेका छौं। जन्मदाता, कर्मदाता आमाबाबुलाई सडकमा पछार्छौ र वृद्धाआश्रममा हुत्याउँछौं अनि कुकुरलाई दैनिक नुहाइधुवाइ गरी विस्तारामा सुताउँछौं। यो नास्तिकताको पराकाष्ठ हो। यो नास्तिकतालाई कम गरी नैतिकताको ज्ञान दिन दशैंले सहयोग गर्दछ, कारण आशीर्वाद लिन भए पनि सन्तान वृद्ध आश्रम पुग्छ वा पितृमातृ भाव बुझेर आमाबाबुको संरक्षण गर्दछ। हिजोआज धेरै आमाबाबुको अरण्य रोदन सुनिन्छ, सन्तानले त्यागेको, यी सबै घटनाको कारक नास्तिकता हो।

दशैं पर्वको तेस्रो मननीय पाटो व्याहारिक परामर्श हाे। यसले नैतिकता र अनुशासनमा जोड दिएको छ। मान्यजनको मर्यादा राख्नुपर्ने नियमसँगै कर्तव्यको  बोध र इमानदारीको पाठ पनि अप्रत्यक्ष रूपमा सिकाएको छ।

विभिन्न पौराणिक किंवदन्तीको सहारामा  व्यावहरिक ज्ञानको परामर्श दिनु यो पर्वको मुख्य विशेषता हो। धर्म, संस्कृतिको स्खलनले समाजमा अराजकताको वीजारोपण भएको परिप्रेक्ष्यमा आफ्ना सन्ततीलाई संस्कार सिकाउन आवश्यक भएको छ। यसको सहज पूर्ति दशैं पर्वले गरेको छ।

विशेष गरी तीन दिनसम्म औकातअनुसार मनाइने दशैंको दसौं दिन अर्थयुक्त र प्रभावकारी मानिन्छ। उक्त दिन देशविदेशका आफन्तजन, नातगोता, भाइबन्धु, इष्टमित्रहरू आफूभन्दा ठुला मान्यजनको हातबाट प्रसादको रूपमा टिका ग्रहण गर्न आउने परम्पराले महत्त्व राखेको छ।

उक्त दिन भेला हुने परम्पराले कम्तीमा तीन पुस्तासम्मका नातागोतासँग सान्निध्य गर्न पाउने अवसर पाइन्छ। यसले मानव नश्लमा  निकट रक्त सम्बन्धबाट उत्पन्न  हुने समस्याको निराकरणमा मद्दत गर्दछ वा भनौं हाडनातमा हुन सक्ने यौनिक सम्बन्ध केही हदसम्म घटाउन सहयोग गर्दछ। यस दिनमा मान्यजनले रसिलो र मिठो लयमा दिने आशीर्वाद पनि अझ गतिलो सम्पतिको रूपमा लिन सकिन्छ।

खास गरी शास्त्रीय छन्दमा कुनै कालखण्डमा निर्माण गरिएको श्लोकले मानव जगतका समग्रता समेटेको छ। यिनै श्लोकको आधारमा आशीर्वादको रूपमा व्यावहारिक परामर्श सिकाइन्छ। देश‚ समाज‚ नैतिकता र कर्तव्य बोधको ज्ञान दिइन्छ। मावता र परोपकारको शिक्षा दिइन्छ।

यी कुरा मानव समाजका लागि अत्यावश्यक र अपरिहार्य छन्। यसका केही कुरा मात्र मनन गरी व्यवहारमा उतार्न सके हाम्रो समाज र हामी साँच्चै रामराज्यका बसिन्दा हुन सक्छौं तर यी कुरा आधुनिकताको कृत्रिम आवरणले निस्तेज बनाइएको छ। सभ्य बनिने काइदामा अन्धविश्वासको श्रीपेच ओढाएका छौं संस्कारलाई।

सधैँ सजग, सचेत, सहासी, ज्ञानी, ध्यानी, कर्तव्यनिष्ठ, अजात शत्रु, दीर्घायु हुन दिइने आशीर्वादमा तीन युगका महान व्यक्तिको व्यक्तित्वलाई दृष्टान्तको रूपमा वाचन गरिन्छ।

आयुद्रोणसुते, श्रेयस्चदशरथे शत्रुक्षयराघवे।।

ऐश्वर्यनहुषे, गतिश्चःपवने, मानश्चः दुर्योधने‚

दानंसूर्यसुते, हलंबलधरे, सत्यं च कुन्तिसुते।।

विद्वान विदुर भवति भवते कृतिश्चः नारायणः।

यो सर्वप्रिय र सामान्यीकरण गरिएको र सबैको मुखमा मुदजात आउने सर्वस्वीकार्य मन्त्र हो। एक मानवले  प्राप्त गर्नुपर्ने महत्ताहरू यिनै चार हरफमा समेटिएका छन्। आयु, सुख‚ कृति, शत्रुनाशक, अधिपत्य वा प्रभुत्ववान, वेगवान, मानसम्मान  प्राप्ति, दानी, सत्यवान, विद्वान र कृतिवान हुन सुझाइन्छ।

समष्टिमा थोरै भए पनि गहिरिएर हेर्दा यहाँ जीवनजगत समेटिएको छ भने दैविक, सामाजिक र व्यावहारिक जीवनका समग्रता इङ्गित छ। यी मन्त्रमा भनिएमध्ये कुनै गुणको विकास र अनुशरण गर्न सके मानिस मानवताभन्दा माथि उठेको हुन्छ अनि कसैका आमाबाबुले मन्दिरमा बसेर भिख माग्न वा वृद्धा आश्रममा बसेर सन्तानको खिलाफ गर्ने दिन आउँदैन। तडकभडक र आयातित संस्कार विपरित दशैं पर्वलाई जिवन्त र मौलिकतामा ढालेर  व्यावहारिक रुपमा मनाउन सके वृद्धवृद्धामाथि भएको अपमान स्वतः समाप्त हुने तथ्य नकार्न सकिदैन। यसर्थ दशैंको मौलिक पाटो केलाउन आवश्यक छ।

अझ मार्मिक र तथ्यपरक आधार यस पर्वमा जोडिएको छ, स्वस्थ, पौष्टिक आहार र खुशीको क्षण। यी दुवै मानव स्वास्थ्यसँग जोडिएका छन्। हुन सक्छ त्यो बेला स्वास्थको कुरा सबैलाई थाह थिएन होला। स्वस्थ रहन खुशीपन चाहिन्छ भन्ने विषय खोज भइनसकेको होला तथापि आज विज्ञानको नजरमा पनि सत्य सावित हुने स्वाथ्यका कुरा  दशैं पर्वसँग जोडिएको पाइन्छ। जतिबेला मानव विकासको चरणमा थियो उसको जीवन अभावमा बाँचेको थियो। न्याय शक्तिको आडमा (आज पनि अवशेष छ) चलेको थियो। सधैंभरि मिठोचोखो खान पाउने अवस्था थिएन। रुखोसुखा खाएर कठिन श्रम गर्न  विवश थिए मानिसहरू। पेटभर मिठोचोखो खान र आराम गर्न कुनै उत्सव वा पर्व नै पर्खनु पर्ने अवस्था थियो होला, अझ पनि छ।

वर्ष दिनमा सबैले पौष्टिक खाना खान पाउन् आराम गर्न र खुशियाली साटासाट गर्न पाउन् भनेर पनि यो पर्वको थालनी भएको हुन सक्छ किनभने आज पनि हुँदाखाने र हुनेखानेको फरक जीवनशैली छ। हुनेखानेहरूभन्दा दशैंको चटारो हुँदा खानेका लागि बढी छ। उसले लत्ता कपडादेखि मरमसलासम्मको जोहो गर्छ दशैंमा। हुँदाखानेका भुराभुरी हुनेखानेकाभन्दा बढी खुशी देखिन्छन नाना, चिची खान पाइन्छ भनेर। जुन उत्साह र खुशी हुनेखानेको परिवारमा देखिदैन कारण उसको भान्सा हरेक दिन गरिबको दशैंको भन्दा कम हुदैन। यसबाट पनि गरिब निमुखाहरूले पनि खोजीमेली  मठिोमसिनो  र सन्तुलित आहार खाऊन् र थारै भए पनि स्वस्थ रहून् भन्ने मान्यताले थालिएको अनुमान गर्न सकिन्छ।

दशैंले समेटेको अर्को पक्ष खुशी वा आनन्द हो। सामन्तवाद र पुरातनवादी नेपाली समाजमा मानिसलाई विभिन्न सम्प्रदायले अनेक प्रथाको नाम दिएर अघोषि दास बनाएका थिए र अझै त्यो प्रथा कायम छ। लोकतन्त्रको नाकमाथि बसेर गरिबको नाममा नक्कली तमसुक बनाउने श्याम प्रदेशी जस्ता द्रव्यपिशाचले त्यो बेला दास, करिया, हलिया, चरुवा (जुन प्रथा उदयपुरको  कटारी नपा क्षेत्रमा छ भन्ने सुनिन्छ), कमलरी जस्ता मानव दासका अनेक रूपमा सताइएका मानिसले हरघडी मालिकको खप्कीमा बाँच्नपर्ने, खुशी, आनन्द, आराम र उमंग कहिल्यै नआउने अवस्थाबाट केही समय मुक्ति पाउन पनि दशैं पर्खिनुपर्थ्यो। एकदुई दिन भए पनि मन खोलेर हाँस्न, आराम गर्न र रमाउन पाउने हुँदा मनको उकुसमुकुस शान्त भई मन हलुको हुन्थ्यो। केही समय भए पनि आराम गर्न र रमाउने अवसर मिल्थ्यो।

यसबाहेक आधुनिक बन्न खोजेर शहरका छिँडीमा छिपेर शहरिया देखिन चाहनेहरू पनि वृद्ध बाआमा भेट्न दशैं कुर्ने गरेका छौं। विवशताले विदेशिनेहरूले आघौंको दशैं जीवनको मैझारो नभएसँगै मनाउँला भनेर भाका राख्छौं। आमाबासँग मनमुटाव भएर पर बसेका छोराछोरीहरू पनि मन नपरी भए पनि एक दिन निधारमा हात राखी माग्न बाआमाको कटेरोमा बथानै छिर्न कर लाग्छ।

दाइजो नपुगेर च्याँठिएका ज्वाइँ, अंश नमिलेर बटारिएका छोरा, बुहार्तनले सताएकी बुहारी सबैसबैलाई दशैंले एकैथलोमा भेला गर्छ। यसरी मानिसको कुँढिएको मनमा धार लगाउने, टाढिएको तनलाई घिसारेर जोड्ने, दुःख भुलाउने, खुशी चुल्याउने पर्व दशैले मानसिक रूपमा मानिसलाई स्वस्फूर्त बनाउने हुँदा दशै महान पर्व मात्र होइन सम्बन्ध सूत्रको मनोविज्ञान हो भन्न सकिन्छ।

औकातका हिसाबले कसैका लागि दसा पनि बनेको छ दशैं  तर मनोवैज्ञानिक रूपमा मैले औकातअनुसार मनाउनुपर्छ भन्ने सोच सबैमा रहेको हुन्छ भने अति व्यस्त जीवनबाट फुर्सद निकाल्ने र आमाबाबु वा अग्रज भेट्न जाने मानसिक तयारी गरिन्छ।

एक दिन भए पनि खाना र नानामा परिवर्तन गरी जीवनमा नयाँपनको आभाष प्राप्त हुन्छ। यसर्थ दशैं मनोविज्ञान, स्वास्थ्य विज्ञान र सम्बन्ध सूत्रको कडी हो। नरौसी नहौसी आफ्नो औकात र हैंसियतमा रहेर समयको माग अनुसार यस पर्वलाई जीवन्तता दिएर मानवीय सम्बन्धमा नयाँ आयाम थपौ।
अर्को समाचार
एकल व्यक्ति चमत्कारवाद!
४६ मिनेट अघि
•
१ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
काठमाडाैं, हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं। कोही सरकारी जागिरबाट बिदा लिएका, कोही अड्डा–अदालतमा सेवा गरिरहेका त कोही मालपोतका हाकिम, साथै मालपोतमा लेखापढी गर्ने, सबै जना साथीहरू विभिन्न पार्टीका समर्थक छौं।




कहिलेकाहीं छलफलकै क्रममा चर्काचर्की पनि पर्छ। यसै क्रममा एकजना दाइको मुखबाट यो राज्यमा एकल व्यक्ति चमत्कारवादले काम गरेको छ भन्ने कुरा निस्कियो। अनि के हो त एकल व्यक्ति चमत्कारवाद ? भन्ने विषयमा केन्द्रित भएर मैले केही लेख्ने जमर्को गरेको छु।

सर्वप्रथम त एकल व्यक्ति चमत्कारवाद भनेको के हो, बुझ्न जरुरी हुन्छ। एकल व्यक्ति चमत्कारवाद भनेको यस्तो सोच वा प्रवृत्ति हो, जहाँ समाज, राजनीति वा राष्ट्रका सबै समस्या एकजना विशेष व्यक्तिले मात्र समाधान गर्न सक्छ भन्ने विश्वास गरिन्छ। अझ यसलाई सरल शब्दमा भन्दा यो देश, पार्टी, समाज बिग्रिएको छ, अब फलानो व्यक्ति आएपछि सबै ठिक हुन्छ भन्ने सोच नै एकल व्यक्ति चमत्कारवाद हो।

२०४६ सालमा बहुदलीय व्यवस्था आएपछिको एकल व्यक्ति चमत्कारवादका केही कुरा गरौं।
उदाहरण नम्बर एक: स्वर्गीय नेता मदन भण्डारी स्पष्ट वैचारिक प्रतिवाद गर्न सक्ने नेतामा गनिए। उनले टुँडिखेलमा गरेको भाषणमा राजालाई श्रीपेच फुकालेर आफूसँग चुनाव लड्न चुनौती दिए। यो भाषणबाट नेपाली जनता प्रभावित भएका थिए। पछिल्लो उनको दस्ताबेज नेपालमा (जबज) जनताको बहुदलीय जनवाद ल्याएर एउटा चमत्कार गरे। त्यस दस्ताबेजलाई अहिले पनि नेकपा एमालेले अनुसरण गरिरहेको छ। त्यतिबेला स्व. मदन भण्डारीलाई महान् मानव मानेर पुज्ने जनता थिए र छन्। भलै यो व्यक्ति बाँचेको भए देख्न पाइन्थ्यो, त्यो नेपालीहरूको दुर्भाग्य भयो।

उदाहरण नम्बर दुई:  नेता शेरबहादुर देउवा अहिलेसम्म पाँच पटक यो देशको प्रधानमन्त्री भएका व्यक्ति हुन्। उनले अहिलेसम्म डडेल्धुरा जिल्लाबाट निर्वाचनमा हारेका छैनन्। अझै छैटौं पटक प्रधानमन्त्री हुने होडमा थिए। उनी कम उमेरमै गृहमन्त्री हुँदै २०५१ सालमा प्रधानमन्त्री भएका थिए। २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनबाट उनको राजनीतिमा ब्रेक लाग्यो।

नेकपा एमाले र नेपाली कांग्रेसको सरकार थियो। शेरबहादुरकी पत्नी आरजु राणा परराष्ट्रमन्त्री थिइन्। उनीहरू दुवै जनालाई जेनजी आन्दोलनमा मरणासन्न हुने गरी घाइते बनाइयो। देउवा निवासमा तोडफोड र आगजनी गरियो। कम बोल्ने र जनताका लागि खासै काम केही नगर्ने देउवाले अझै चेतेको अवस्था देखिँदैन। जनताले लखेटेको नेतालाई नेपाली कांग्रेसका कतिपय कार्यकर्ताले अझै उनको चमत्कारवाद हेर्न रुचाउँछन् र उनको सपोर्टमा लागिपरेको देखिन्छन्।
उदाहरण नम्बर तीन: नेता पुष्पकमल दाहाल, उनले २०५२ बाट सुरु गरेको माओवादी जनयुद्धले नेपाली समाजलाई आक्रान्त बनायो। उनका सहयोगी बाबुराम भट्टराईले देउवा प्रधानमन्त्री भएको बखत ४२ बुँदे ज्ञापनपत्र दिएर जंगल पसेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल २०६२–६३ सम्म आइपुग्दा नेपाली समाजको रूपान्तरणका लागि आशाको केन्द्रमा थिए।

यिनलाई पनि नेपाली समाजले केही गर्ने नेताको रूपमा हेरेर पहिलो संविधानसभामा लगभग बहुमत दिएर संसद्मा पुर्‍याएका थिए। तर नेपाली सेनाका प्रधानसेनापति रुक्मांगत कटुवाललाई फाल्ने जुन प्रपञ्च यिनले गरे, आफैं उत्तानो परे। विभिन्न समयमा गरी तीन पटक यो देशको प्रधानमन्त्री त भए तर पनि यिनीबाट देशका लागि केही हुन सकेको अवस्था छैन। अझै म बाँचुन्जेल यो देशमा उथलपुथल गर्छु भन्दै नेपाली जनतालाई धम्की दिन्छन्। अब पनि म नेपाली जनता र देशका लागि केही गर्छु भनी हुँकार 
पिट्दै छन्।

उदाहरण नम्बर चार:  झापा काण्डबाट चौध–पन्ध्र वर्ष जेल जीवन बिताएका नेकपा एमालेका नेता खड्गप्रसाद ओलीलाई २०७४ सालको निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत पाएर पनि सरकार टिकाउन सकेनन्। उनले दुई–दुई पटक संसद् विघटन गरे। उनी तीन पटक प्रधानमन्त्री भए। उखान–टुक्का जान्ने र भाषण गर्न सक्ने खुबी उनमा छ। पछिल्लो पटक २०८० मा उनी सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकारका प्रधानमन्त्री थिए।

२०८२ भदौ २३ र २४ गते जेनजीहरूले आन्दोलन गरे। त्यसमा २३ गतेको आन्दोलनमा परी १९ जनाको हत्या भयो। यो अवस्थामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिए। ओलीले भोलिपल्ट २४ गते स्थिति सम्हाल्न नसकेपछि आफ्नै ज्यान जोगाउन धौ–धौ भयो। सेनाको सुरक्षामा हेलिकोप्टर चढेर भागे। उनले २४ गते २ बजेपछि मात्र प्रधानमन्त्री पदबाट राजीनामा दिए। यो धेरै ढिला भइसकेको थियो। सारा जनता घरघरबाट सडकमा निस्किएका थिए। झन् ठुलो आन्दोलन भयो।

सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी विभागहरू, काठमाडौं जिल्ला अदालतदेखि महत्त्वपूर्ण कार्यालयहरू जलेर खरानी भए। त्यस दिनमा पनि ५०–५५ जनाको ज्यान गयो। सरकारमा बस्ने प्रधानमन्त्रीले यसको जिम्मेवारी लिएनन्। 
उदाहरण नम्बर पाँच:  २०७९ सालमा यही वैकल्पिक धारको नेतृत्व गर्दै मिडियामा नाम कमाएका व्यक्ति रवि लामिछानेले रास्वपा पार्टी खोलेर ६ महिनामै चमत्कार गरिदिए। एकै चुनावमा राष्ट्रिय पार्टी बनेर २० सिट जितेर गृहमन्त्री तथा उपप्रधानमन्त्री पड्काए। त्यसपछि काठमाडौंको मेयर पद जितेर कहलाएका पूर्वमेयर केशव स्थापितलाई उत्तानो पारेर बालेन्द्र शाहले मेयरको पद पड्काए। हाल यिनै शाह देशका प्रधानमन्त्री छन्। यिनीहरू पनि चमत्कारी व्यक्ति गणना भए।
विभिन्न कालखण्डमा यसरी एउटै व्यक्तिलाई हिरो बनाउने र त्यसको पछाडि लागेर भजन गाउने संस्कारले नेपाली समाज आक्रान्त छ। अझै पनि नेपाली समाजमा चेत पलाएको छैन। एकल व्यक्ति चमत्कारवादका जति उदाहरण हेरे पनि आजसम्म यो देशले सही दिशा लिन सकेको देखिँदैन। यो किन भने एकल व्यक्ति चमत्कारवादले यहाँ केही हुनेवाला छैन।

यस्तै कुसंस्कार र एकल व्यक्तिवादी सोच र चरित्रले गर्दा नै देश यो अवस्थामा पुगेको हो भन्न सकिन्छ। यहाँ हरेक क्षेत्रमा कुसंस्कार छ, भ्रष्टाचार छ, मनमौजी सोच छ, जसले जे गरे पनि छुट छ, न्यायालयमा न्याय छैन, सबैलाई समान अवसर छैन, ठुलालाई चैन र सानालाई ऐन छ, गरिब जनता झन्–झन् गरिब भएका छन्। नेपालका प्रायः सबै पार्टी आआफ्नो विचारबाट स्खलित भएका छन्, मूल्य र मान्यताबाट च्युत भएका छन्।

सत्तामा पुग्ने र मिलेर खाने प्रवृत्ति देखेर जनता आजित छन्। एउटै व्यक्ति पटक–पटक सत्तामा पुग्ने र जनताका लागि कुनै राम्रो काम नगर्ने भएर नै पार्टीप्रति विश्वास घट्दै गएको छ। अहिलेको अवस्थामा जनतालाई यो चाहिँ पार्टी ठिक छ भन्ने विश्वास नै छैन।
त्यसैले आजको आवश्यकता कुनै नयाँ चमत्कारी व्यक्ति खोज्नु होइन, विधिको शासनमा आधारित बलियो प्रणाली निर्माण गर्नु हो। व्यक्ति आउँछन्, जान्छन् तर राष्ट्र संस्थाले चल्नुपर्छ। एकल व्यक्ति चमत्कारवादले क्षणिक आशा त दिन सक्छ तर दीर्घकालीन रूपमा यसले समाजलाई अझै निराश र दिशाहीन बनाउने खतरा रहन्छ। सचेत नागरिक, उत्तरदायी संस्था र पारदर्शी शासनबिना समृद्ध नेपाल सम्भव छैन।

– सापकोटा नेपाली सेनाबाट अवकाशप्राप्त मानार्थ उपसेनानी हुन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस