नेपालमा गीतसङ्गीत र गायनको कुरा गर्दा जहिले पनि रेडियो नेपालको अहं भूमिकाको चर्चा आउँछ। रेडियो नेपालको स्थापनासँगै नेपालमा नेपाली भाषाका गीतहरूको प्रसारण र प्रस्तुति बढ्दै गयो। रेडियो नेपालमा गीतसङ्गीतको प्रवर्धनमा सबै भाषाभाषीले योगदान पुर्याउँदै गए।
रेडियो नेपाल राणाकालको अन्त्यसँगै स्थापना भएको र राणाकालकै विरोधमा गीत गाउँदै आएकी गायिका रानुदेवी अधिकारीकै गीतहरू प्रसारण गरेर कार्यक्रम सुरु भयो।
रानुदेवी, नातिकाजी, हरिप्रसाद रिमाल, शिवशंकर आदिको योगदानबाट रेडियो नेपाल प्रसारणको इतिहासमा अघि बढ्यो। गीतसङ्गीत क्षेत्रमा सुरुदेखि नै काठमाडौं, विराटनगर, पाल्पा, पोखरा, वीरगन्जका कलाकारको योगदान बढ्दै गयो।
अध्ययन, अनुभव र सक्रियताको आधारमा राणाको दरबार र परिसरमा गाउने–बजाउने कलाकारहरू पनि रेडियो नेपालभित्र आबद्ध भए। त्यसमध्ये विशेषतः वाद्यवादकका रूपमा भारतको बनारस, गोपालपुर, ग्वालियरका दरबारमा आबद्ध अनि नेपालकै तराईका वाद्यवादक सक्रिय देखिए।
सन्दर्भ र प्रसङ्गका हिसाबले २०१३ सालमा भारतीय वाद्यवादकले बिस्तारै नेपाल छोडेर गए। यसपछि नेपालकै वाद्यवादक सक्रिय रूपमा देखिए। त्यसपछि बिस्तारै नेपालबाहिर भारतको पश्चिम–बङ्गालको दार्जिलिङ, कालिम्पोङ, खरसाङका भारतीय मूलका नेपाली वाद्यवादक पनि सक्रिय देखिए।
दार्जिलिङ र नेपालका वाद्यवादकजस्तै गीतलेखन र गायनमा पनि दुवैतिरका सङ्गीतकर्मी, स्वरकर्मी अनि रचनाकार देखिए। भाषागत रूपमा नेपाली भाषाका गीतसङ्गीतको विकास हुँदै गर्दा २०२१ सालपछि रेडियो नेपालले नेवार भाषामा प्रसारण भइरहेको साङ्गीतिक कार्यक्रम ‘जीवन या दबू’ र हिन्दी भाषाको समाचार प्रसारण बन्द गरिदियो। यी दुई भाषाको प्रसारण बन्द भएपछि हिन्दी र अंग्रेजी भाषा गीत र समाचारमा सीमित रहे भने नेवार भाषा रेडियोको विद्युतीय तरङ्गबाट विलयको आकाशमा हरायो।
नेवार भाषाका प्रसिद्ध गीतकार दुर्गालाल श्रेष्ठ, पद्मरत्न तुलाधर, गिरिजाप्रसाद जोशी अनि भृगुराम श्रेष्ठ, रामप्रसाद मानन्धर, जुजुकाजी रञ्जितहरू बिस्तारै हराउँदै गए तर अरू बाँकी जो नेवार भाषाबाहेक नेपाली भाषाका गीत पनि गाउन सक्ने र गाउन इच्छुक हुन सक्ने स्रष्टासाधक फत्तेमान राजभण्डारी, सत्यनारायण राजभण्डारी, सुशीला कंसाकार, योगेश वैद्य, रमेश ताम्रकार, मदनकृष्ण श्रेष्ठ मूलधारमा मिसिए तर कैयन अन्य प्रतिभा आफ्नो मातृभाषाकै निम्ति डटिरहे।
त्यस समयका सशक्त गीतकार जो अहिलेका चर्चित नेपाली भाषी गीतकार भए, दुर्गालाल श्रेष्ठ । गीतकार, कवि, अनुवादक श्रेष्ठ अरू नेवार भाषी साहित्यकार चित्तरञ्जन नेपाली, विजय मल्ल, गोविन्द गोठालेजस्तै तुरुन्तै नेपाली भाषामा आउन सकेनन्। उनी आउन चाहेनन् वा उनलाई आउन सक्ने वातावरण भएन, त्यो धेरै समय लाग्यो अरूका निम्ति।
नेपाल भाषामा जनकविको दर्जा पाइसकेका कवि दुर्गालालले लामो समयपछि विक्रमाब्द चालिसको दशकमा महको प्रस्तुतिमा ‘सय थरी गोडा एउटै चाल’ गीतसँगै नेपाली गीतलेखनमा प्रवेश गरे। यसपछि मात्र नेपाली जनले उनलाई गीतकारका रूपमा चिने अर्थात् उनी गीतकार पनि हुन् भनेर परिचित भए। आनी चोइङ डोल्माले गाएको ‘फूलको आँखामा फूलकै संसार’पछि उनी लोकप्रसिद्ध भए।
दुर्गालाललाई चिनाउन न्ह्यू बज्राचार्यका सङ्गीतका यी दुई गीतले विशेष भूमिका खेल्यो। सङ्गीतकार न्ह्यू बज्राचार्य पनि नेपाल भाषाका प्रसिद्ध भाषासेवी परमानन्द बज्राचार्यका छोरा हुनुका साथै उनका भिनाजु द्वारिकालाल जोशी र उनकी दिदी नगिना जोशी सक्रिय रूपमा नेपाल भाषाबाट नेपाली गीतसङ्गीतमा आइसकेका थिए। न्ह्यूका काका देव बज्राचार्य जो पहिलेदेखि गीतकारका रूपमा स्थापित नै थिए।
भाषा आन्दोलनकै समय दुर्गालालको गीत ‘घा जुया जक ख्वाइगु खः जि... स्यागु लिँ सः तइगु...’ पञ्चायत र रेडियो नेपालको षड्यन्त्रविरुद्ध लेखिएको खास गीत थियो। यही गीतको बलमा नेवार भाषी बेला बेलामा आन्दोलनमा उत्रिन्थे। यस गीतका स्रष्टा रेडियो नेपाल प्रवेश गर्नु एक प्रकारको विरोधाभास हुन सक्थ्यो। सोही कारणले दुर्गालालले रेडियो नेपाल पुनरागमनलाई आफ्नै अभीष्टि बनाएनन्।
यसलाई स्रष्टाहरूमा हुने प्रतिज्ञा वा अहं केका रूपमा बुझ्ने हो, त्यो शोधको विषय हुन सक्छ। भारतमा हिन्दी फिल्म जगत्का प्रसिद्ध उर्दुभाषी गीतकार साहिर लुधियानवीले पनि यस्तै एउटा आन्दोलन छेडेका थिए। उनले भारतको प्रमुख प्रसारण संस्था ‘प्रसार भारती’ले रेडियोबाट गीत प्रसारण गर्दा गायकगायिकाको नाम दिएजस्तै गीतकारको पनि नाम दिनुपर्ने दबाब दिए। आफ्नो नाम सम्मानसहित नलिने हो भने प्रसार भारतीलाई आफ्नो र आफ्ना साथीका गीत बजाउन उनले प्रतिबन्ध लगाए।
भारत सरकारको प्रसार भारती र सर्जकबिचको यो लडाइँमा साहिरको जित भयो। आज उनकै कारण भारतमा फिल्मी गीत प्रसारण गर्दा गायकगायिकासँगै सङ्गीतकार र गीतकारको पनि नाम लिइन्छ।
त्यति मात्र होइन, साहिरले चलचित्र प्रदर्शन गर्दा बनाइने पोस्टरमा समेत फिल्म निर्देशक, सङ्गीतकारका जस्तै गीतकारको नाम पनि बोल्ड अक्षरमा दिनुपर्ने सर्त राखे र उनी नै पहिलो गीतकार भए, जसको नाउँ फिल्मको पोस्टरमा ससम्मान तेस्रो स्थानमा राखिन थाल्यो।
साहिरले भारतमा चलाएको आन्दोलन र दुर्गालाल श्रेष्ठले नेपालमा चलाएको आन्दोलन पृथक् भए पनि स्रष्टाको अभिव्यक्ति र शैलीमा एकरूपता देखियो। त्यो एकरूपता समाज वा शासकीय मार्गचित्र बदल्न स्रष्टाले सधैं अहं भूमिका निर्वाह गर्नुपर्छ भन्ने इतिहासगत चेतनाको अर्थमा थियो।
दुर्गालाल, साहिर र कवि गिरिजाप्रसाद जोशीजस्ता स्रष्टाले ल्याएको चेतनाको त्यो लहर आजका स्रष्टामा धेरै अभाव छ।
यही सन्दर्भ कुनै समय कवि, गीतकार ईश्वरवल्लभले बारम्बार उठाएका हुन्। नेपाली गीति साहित्यका पाङ्क्तेय ईश्वरवल्लभले पञ्चायती रबैयाका कारण पछि गीतै लेख्न छोडे र उनी लगभग गीतकारका रूपमा बहिष्कृतजस्तै भए तर पछि उनले पनि नेपाली चलचित्र ‘अन्याय’को शीर्षगीत लेखेर पुनः गीति लेखनमा पुनरागमन गरे।
नारायणगोपाल, अम्बर गुरुङ, तारादेवी, कमला श्रेष्ठ वा दीप श्रेष्ठजस्ता कलाकारहरूले ससम्मान गाएका ईश्वरवल्लभ गीतकार दुर्गालालजस्तै लामो समयपछि परे। उनको लेखन र विचारको जग रेडियो नेपालको पञ्चायती शासकीय दर्शनमा थिचियो।
यो र यसप्रकारको खेलबाट हाम्रा स्रष्टासाधक सदैव शोषित पीडित छन्, दुर्गालाल, ईश्वरवल्लभ त उदाहरण मात्रै हुन्। रामेश, रायन, मञ्जुल, अरिम, श्याम तमोट, प्रमोद हमालका कथा त बाँकी नै छन्।
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए। अहिलेको नारायणगोपाल चोकदेखि पूर्वतिर एक कुनाको साँघुरो गल्लीमा २० आनाको नारायणगोपालको नाममा रहेको जमिन छ। त्यही जमिनमा स्वरसम्राटको दक्षिण मोहोडाको तीनतले पुरानो घर छ। त्यही घर स्वरसम्राटको नाममा संग्रहालयमा परिणत भएको छ। समाजसेवी दीपक केसी हाल नारायणगोपाल संगीत कोषका अध्यक्ष हुन्। सो संगीत कोषको स्थापना २०४७ सालमा भएको हो।
डा. वानीरा गिरि अध्यक्ष रहँदाको बखत दीपक केसीले सचिवका रूपमा काम गरेका थिए। स्वरसम्राटको पुरानो घरसँगै टाँसिनेगरी पाँचतले रातो आधुनिक भवन निर्माण गरिएको छ, जसको शिलान्यास काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्य र भवनको उद्घाटन वर्तमान कार्यवाहक मेयर सुनिता डंगोलले गरेकी हुन्। सो भवनको परिकल्पना दीपक केसीले गरेका रहेछन्। उनकै सक्रियतामा पाँचतले सो आधुनिक रातो भवनको निर्माण गरिएको हो, जसको नाम गीतगंगा भवन राखिएको छ। सो भवनको लागत पाँच करोड ५० लाख रहेको छ। काठमाडौं महानगरपालिका र स्थानीय निकायबाट सो रकम जुटेको हो।
उक्त भवन निर्माण, संग्रहालय भवनको संरक्षण, महाराजगन्जको बिच चोकमा अवस्थित स्वरसम्राटको सालिक स्थापना, भवन बनाउँदा लाग्ने खर्च कसरी संकलन गरियो ? आधुनिक भवनमा के–कस्ता सांगीतिक कार्यक्रम सञ्चालन गरिने छन्, सांगीतिक साजबाजहरू के–कति छन् ? यसबारे पंक्तिकारलाई अध्यक्ष केसीले केही दिन पहिले विस्तृत रूपमा जानकारी गराएका थिए। निमोनियाका कारण लेख छिटो पूरा गर्न सकिनँ। तैपनि सांगीतिक फाँटका पाठकहरूको जानकारीका लागि छोटकरीमा भए पनि आलेख तयार गरेको छु।
महाराजगन्जमा दिनहुँ सयौं सवारीसाधन नारायणगोपालको सालिकको परिक्रमा गरेर आफ्नो गन्तव्यमा पुग्छन्। पाँच वर्ष पहिले सो सालिक अलि होचो थियो। ट्राफिक प्रहरीलाई उभिएर सेवा दिन केही अप्ठ्यारो थियो। अहिले त्यहाँ सालिकलाई १० फिट अग्लो बनाएर फराकिलो पारिएको छ। दक्षिण मोहोडा भएको स्वरसम्राटको सो आकर्षक सालिकको निर्माण प्रसिद्ध कलाकार अमर चित्रकारले गरेका हुन्। सवारीसाधनमा यात्रा गर्नेहरूदेखि सयौं पैदल यात्रु श्रद्धापूर्वक स्वरसम्राटको सालिकलाई नमन गर्छन्। जनजनबाट श्रद्धा पाउने नारायणगोपाल अमर स्रष्टा हुन्। यसो त शान्तिबाटिकास्थित सर्वमान्य नेता गणेशमान सिंहको पूर्ण कदको सालिक र सहिदगेटमा स्थापित अर्धकदका चार जना अमर सहिदप्रति श्रद्धा गर्नेहरूको संख्या पनि कम छैन।
१०४ वर्षे राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र ल्याउन १९९७ सालमा काठमाडौंमा चार जनाले अमरत्व प्राप्त गरेका थिए। यसैगरी सर्वमान्य नेताले तीसवर्षे पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय व्यवस्था ल्याउन नेतृत्वदायी भूमिका खेलेका थिए। यता स्वरसम्राटले नेपाली गीतसंगीत र नेपाली भाषाको श्रीवृद्धिका लागि जीवनभर सेवा गरेका थिए। उनका सयौं कर्णप्रिय र कालजयी गीतले स्वदेश र विदेशमा बस्ने सबै नेपालीलाई एकसूत्रमा बाँधिदिएका छन्। २०५३ सालमा आफू वडाध्यक्ष रहँदा आफ्नी आमा नानी केसीले दिएको सल्लाहअनुसार स्वरसम्राटको सालिक स्थापनाका लागि पहल गर्नुका साथै सो ठाउँको नाम नारायणगोपाल चोक राख्न निकै धाउनुपर्यो।
तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पृथ्वीराज लिगलले सालिक निर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियो। तत्कालीन अर्थमन्त्री डा. रामशरण महतको पनि ठुलो हात रहेको छ यो सालिक निर्माणमा। तत्कालीन खेलकुद तथा संस्कृतिमन्त्री विष्णु पौडेलद्वारा शिलान्यास गरिएको सो सालिकको अनावरण भने त्यसबेलाका प्रधानमन्त्री सूर्यबहादुर थापाले गर्नुभएको थियो। २०५३ पुस १९ गते नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले नारायणगोपाल चोक लेखिएको बोर्डको उद्घाटन गरी सर्वसाधारणलाई जानकारी गराइएको थियो। स्वरसम्राटको सो सालिकमा बर्सेनि मंसिर १९ गते गीतसंगीतका मात्र नभएर सबै वर्ग र क्षेत्रका असंख्य नरनारीले श्रद्धापूर्वक पुष्पगुच्छा अर्पण गरी उनलाई सम्झने गर्छन्। त्यसपछि स्वरसम्राटको आँगनीमा सबै वयका गायक–गायिकाले उनले गाएका कालजयी गीतहरू गाएर नारायणगोपालको गीति युगतिर उपस्थित सबै जनालाई डोर्याएको अनुभूति गराउँछन्। त्यही दिन देशका कलाक्षेत्रका स्वनामधन्य साधकलाई नगद राशिसहित ताम्रपत्र र दोसल्लाले अभिनन्दन गर्ने गर्छन्।
मानौं, कलाकर्मीका लागि मंसिर १९ गते हृदयदेखि स्वरसम्राटलाई सम्झने दिन हो। साथै संगीत र गायनको शुभमुहूर्तका लागि साइतको दिन पनि हो। शिशिर योगी, सुरज थापा, डा. टीका भण्डारी, यसैगरी गायिकाहरू शृंखला जोशी, निशा देसार, झुमा निरौला, संगीता प्रधान आदिले हुबहु रूपमा स्वरसम्राटले गाएका गीतहरू असंख्य दर्शकलाई सुनाएका ती दिनहरू भुल्नै सकिन्न। सो क्रम संगीत कोषले प्रत्येक वर्ष जुराउँदै आएको छ। यसैगरी स्वरसम्राटसँग गीतमा स्वर दिएका अमर स्रष्टालाई र जीवनोपयोगी गीत लेखेर नारायणगोपाललाई गाउन मनैदेखि स्वीकृति दिन सफल गीतकार र संगीतकारलाई पनि बर्सेनि पुरस्कृत गर्दै आइरहेको अध्यक्ष केसी बताउँछन्।
स्मरण रहोस्, स्वरसम्राट कसैका करकाप र बन्धनमा रहने गायक थिएनन्। उनको ब्रह्मले रुचाएका गीत मात्र महिनौं लगाएर चित्त बुझ्दो गरी गाउँथे। स्वनामधन्य गीतकार कालीप्रसाद रिजाल, किरण खरेल, दिनेश अधिकारी, श्रीपुरुष ढकाल, स्व. रत्नशमशेर थापा, भैरवनाथ रिमाल ‘कदम’, यसैगरी वरिष्ठ गायक तथा संगीतकार दीपक जंगम, शम्भुजित बास्कोटा, सिके रसाइली, मौलिक लोकगीतका सर्जक झलकमान गन्धर्व आदिले स्वरसम्राट सम्मान प्राप्त गरिसक्नुभएको छ। प्रसिद्ध गायिका ज्ञानु राणा, मिरा राणा, दिलमाया खाती, शान्ति ठटाल आदिलाई पनि सो कोषले पुरस्कृत गरिसकेको छ। यसपटक पनि सो क्रम जारी छ।
प्रसिद्ध गायक प्रकाश श्रेष्ठ, वरिष्ठ संगीतकार तथा हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव भूपेन्द्र रायमाझी, वरिष्ठ गीतकार प्रमोद ढुंगानालाई यस वर्षको नारायणगोपाल स्मृति पुरस्कार प्रदान गरिने भएको छ। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा तीन जना स्रष्टा र नृत्यका गुरु भैरवबहादुर थापालाई संयुक्त रूपमा पुरस्कृत गरिने भएको छ। विगत ४० वर्षभन्दा बढी गीतसंगीत क्षेत्रमा सेवा गरेका माथि उल्लिखित सबै स्रष्टाको योगदान प्रशंसनीय छ।
अब केही चर्चा स्वरसम्राट नारायणगोपाल र उनकी पत्नी पेमला गुरुवाचार्यबिच लामो अवधिको प्रेमपत्र आदानप्रदानबारे पनि गरौं। अहिलेसम्म जनसमक्ष आउन नसकेका र धेरै कुराहरू थाहा हुन नसकेका स्वरसम्राटसम्बन्धी सामग्रीको सँगालो एकत्रित गरी पुस्तकका रूपमा बाहिर ल्याउने सोचमा दीपक केसी रहेको बुझिएको छ। कोरोनाका बखत २०७६ सालमा कोठाका सामग्री मिलाउने क्रममा दराजमाथि एउटा पोको देखेँ। के रहेछ ? भनी खोलेर हेर्दा स्वरसम्राट र पेमलाबिचका ९५ वटा प्रेमपत्र जम्मा गरिएका रहेछन्। साथै १९ वटा उहाँहरूका जीवनका डायरी पनि रहेछन्। ती प्रेमपत्र र डायरीमा दुई जनाबिचको प्रेम कति गहिरो रहेछ भन्ने कुराको बोध एकातिर रहेको छ भने अर्कातिर त्यस बेलाको जनजीवन, देशको अविकसित अवस्था, जीवनका भोगाइ र कतै–कतै राजनीतिक अवस्थाबारे पनि उल्लेख गरिएको पाइन्छ। स्वरसम्राटले मानिसको मुटु छुने र देशको प्राकृतिक सौन्दर्यको अलौकिक वर्णन गरिएका अत्यन्त मिठासपूर्ण गीत मात्र किन गाए ? भन्ने पनि बोध गराउँछन् यी डायरीले। ‘चुपचाप मन पराए’ शीर्षक दिएको सो पुस्तकमा प्रेमपत्र, डायरी, स्मरण र अन्तर्वार्ता रहेका छन्। नेपाली राष्ट्रिय पोसाक दौरासुरुवाल, कोट र ढाका टोपीमा स्वरसम्राटको हँसिलो मुहार देखाइएको छ पुस्तकको आवरण पृष्ठमा। स्वरसम्राट आफैंले ‘गीत निवास’ नामकरण गरिएको पुरानो घरका दुवै तलाका कोठामा उनले पाएका थुप्रै प्रमाणपत्र र वाद्ययन्त्र छरिएर रहेका देखिन्छन्। राष्ट्रिय नाचघरमा महाप्रबन्धक रहँदाको बखतको र इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार प्राप्त गर्दाका प्रमाणपत्र भने त्यहाँ देखिएनन्। बरु गोपाल योन्जन र उनका समकालीन दौतरीका तस्बिर भने सिसाको दराजमा राखिएका थिए। माथिल्लो कोठामा नारायणगोपालको ठुलो तस्बिर राखिएको छ। आगन्तुकहरू त्यही अगाडि उभिएर तस्बिर खिचेर मनको धोको मेटाउँछन्। आगन्तुक पुस्तिका राख्नुपर्ने अनुभूति गरेँ।
त्यहीं बसेर कुरा गर्दै थियौं, प्रसिद्ध गीतकार प्रमोद ढुंगाना र बिबी अनुरागी आए। दुवै जनाले स्वरसम्राटले गाउन नभ्याएका केही गीतहरू खोज्नुपर्ने बताउँदै थिए। कोठाको कुनामा संगीत कोषले प्रकाशमा ल्याएको उनका ‘कालजयी स्वरहरू’ नामक गीति पुस्तक चाङ लगाएर राखिएका छन्। डा. वानीरा गिरि, उषा शेरचन र विप्लव प्रतीकद्वारा सम्पादित उक्त पुस्तकमा १३७ वटा सदाबहार गीत छन्। धेरैजसो स्वरसम्राटले एकल स्वरमा गाएका, कतिपयमा अन्य गायक–गायिकालाई पनि समावेश गरिएका मन छुने गीतहरू रहेका छन्। साथै नेपाल भाषामा उनले गाएका तीनवटा गीत पनि रहेका छन्।
यसैगरी स्वरसम्राटले संगीत भरेका पाँचवटा गीत छन्। ती गीत अरुणा लामा, फत्तेमान र कह्नैयाकुमार जोशीले गाएका हुन्। यी सबै गीतका गीतकार स्व. भैरवनाथ रिमाल ‘कदम’ हुन्। नेपाली गीति क्षेत्रको इतिहासमा यो पुस्तक संगीतकर्मीका लागि अत्यन्त उपयोगी छ। प्रथम पटक २०५९ र दोस्रो पटक २०७४ सालमा प्रकाशित यो पुस्तकमा स्व. पेमला गुरुवाचार्य र संगीत तथा गीतका जानकार प्रकाश सायमीले भूमिका लेखेका छन्। पुस्तकका पछाडिपट्टि स्वरसम्राटका विभिन्न कालखण्डका २० तस्बिर रहेका छन्।
भुइँतलाको कोठामा उनले बजाउने गरेका १२ वटा भ्वाइलिनहरू थुपारिएका देखिन्छन्। आगन्तुकले बस्ने गरेको बैठक कोठामा पनि थुप्रो सामानहरू जम्मा गरिएका देखिन्छन्। विभिन्न समयका स्वदेशी–विदेशी कलाकारसँगका तस्बिर छन्। आफूले बजाउने गरेका हार्मोनियम र तबलालाई छोपेर राखेका छन्। स्वरसम्राटले आफ्नो जीवनकालमा संगीतका लागि जे–जति गरे, ती सबैका दस्ताबेज यही निवासमा देखिन्छन्। त्यसैले यो घर वास्तवमा संगीतको संग्रहालय हो। कुनै बेला संगीत प्रशिक्षक राजकुमार श्रेष्ठले यही कोठामा विद्यार्थीलाई संगीत सिकाउँथे। यही कार्यको निरन्तरता अब नयाँ भवनमा गरिने भएको छ। घरको अगाडि फूलिरहेको बोट छ, यो बिरुवा पेमला भाउजूले नारायणगोपालको सम्झनामा रोप्नुभएको हो भन्दै थिए वरिष्ठ गीतकार रत्नशमशेर थापा। रत्नशमशेर थापा पनि अहिले हामीबिच हुनुहुन्न। त्यो कालखण्ड अब फर्किन्न। माथि उल्लेख गरेँझैं पुरानो घरसँगैको पाँचतले रातो रङको आधुनिक भवन छ। माथि उक्लिने भर्याङ छ। भर्याङको एक कुनामा स्वरसम्राटले चढ्ने गरेको बा.अ.प. ६४८ नं. को मोटरसाइकल राखिएको छ। कुनै बेला यही साधन प्रयोग गरी उनी ओहोरदोहोर गर्थे।
२०३७ सालताका सडक नबन्दा सानो गल्लीमा चिप्लिएर मोटरसाइकलसँगै खेतमा नारायण दाइ लडेको देखेको छु भन्नुहुन्छ संगीतकार तथा गायक दीपक जंगम। यसैगरी भ¥याङको भित्तापट्टि ख्यातिप्राप्त गायक–गायिका, संगीतकार र केही गीतकारका सजीव तस्बिर राखिएका देखिन्छन्। टाढैबाट प्रस्टै देखिने ती तस्बिर जनकविकेशरी धर्मराज थापा, राष्ट्रकवि माधव घिमिरे, नातिकाजी, रत्नशमशेर थापा, कालीप्रसाद रिजाल, शम्भुजित बास्कोटा, तारादेवी, दिलमाया खाती, झलकमान गन्धर्व, नीर शाह, अरुणा लामा, प्रेमध्वज प्रधान, दिनेश अधिकारी आदिका रहेका छन्। यी तस्बिर खिचेर टाँसेका होइनन्, देखेर कलाकारले उतारेका हुन्। माथिल्लो तलामा ठुलो हल छ, कार्यक्रम सञ्चालनका लागि। सो भवनमा एफएम, रेडियो, गीतहरू रेकर्ड गर्ने आधुनिक स्टुडियो, संगीत सिक्नेहरूका लागि छुट्टै कक्षाकोठा, स्वरसम्राटबारे अनुसन्धान गर्नेहरूका लागि अध्ययन कक्ष, विविध सांगीतिक कार्यक्रम सञ्चालनार्थ बेग्लै कोठाको व्यवस्था गरिने योजना छ।
घरको आँगनीमा स्वरसम्राट र पेमला गुरुवाचार्यको २५ सय किलोको अर्धकदको सालिक छ। सडक बढाउने क्रममा डोजर लगाएर हटाउन खोजेका थिए, मैले हात जोडेर नबिगारिदिन अनुरोध गर्दै आँगनीमा राख्न लगाएँ। कुनै दिन मिलाएर यहाँ सालिक खडा गरिनेछ। घरको भर्याङ भत्काएर लिफ्ट तयार गरिनेछ। भुइँतलालाई पनि संगीतसाधना कक्षका लागि व्यवस्थित गर्ने सोच रहेको छ। कुनै बेला पेमला भाउजूले स्वरसम्राटको अर्धकदको सालिक दक्षिणपूर्वी मोहोडामा किन राखेको भनी प्रश्न गर्नुभयो। उनले उत्तरमा तपाईंले टेम्पो चढेर कार्यालय जाँदा सहजै स्वरसम्राटको अनुहार देख्नुहुन्छ भन्ने पाएकी थिइन्। अहिले पेट्रोल पम्प राखेको ठाउँमा कुनै बेला टेम्पो पार्क थियो। त्यही टेम्पो चढेर पेमला एउटा निजी कम्पनीमा काम गर्न जाने गर्थिन्। टेम्पोमा एक दिन दुई जनाले नारायणगोपालको सालिकको चर्चा गर्दै यो त मेरो गुच्चा र चेस खेल्ने साथी हो नि, पछि नामुद गायक भएर निस्क्यो भनेको सुनेको पेमलाले बताइन्।
यो शताब्दीका सर्वाधिक लोकप्रिय गायक नारायणगोपाललाई स्वरसम्राटको उपाधि एक व्यक्तिले नभई लाखौं श्रोताले दिएको प्यारको उपाधि हो। उनी स्वर्गीय भएको ३६ वर्ष पूरा भएर पनि दोस्रो नारायणगोपाल जन्मन नसक्नु कलाकारिता जगत्का लागि घाटा हो। सबैका लागि प्रिय भएकाले नारायणगोपाल स्वर्गीय भएको मंसिर १९ गतेको दिनलाई संगीतका साधकले श्रद्धापूर्वक सम्झने गर्छन्। नेपाल सरकारले स्वरसम्राटलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...