सृष्टिकान्त लोकेश्वरको महिमा र जात्रा
१२ चैत्र २०७८
•
५ मिनेट पाठ
सृष्टिकान्त लोकेश्वरको महिमा र जात्रा
घोडा उड्यो र राजालाई देव नामक तीर्थमा पुर्‍यायो। त्यहाँ पुगेपछि सुधर्मादेवी घोडाको रूप त्यागेर आफ्नै स्वरूपमा फर्केर तुरुन्त स्वर्गमा गइन्।




बौद्ध महायान अनुसार संसारमा १००८ लोकेश्वर छन्। ती लोकेश्वर लोक कल्याण गर्ने देवता हुन् भनिन्छ। यिनीहरूमध्ये उपत्यकामा मुख्य गरेर चार लोकेश्वरको विशेष रूपमा पूजा गर्ने र जात्रा गरिँदै आएको देखिन्छ। यी लोकेश्वरमा ललितपुरका रातो मच्छिन्द्रनाथ भृंगपाद अवलोकितेश्वर, नालाका सृष्टिकान्ता लोकेश्वर, काठमाडौं केल टोलका आर्यावलोकितेश्वर सेतो मच्छिन्द्रनाथ र चोभार कीर्तिपुरका आनन्दीलोकेश्वर हुन्। 

यी चार लोकेश्वरमध्ये नाला करुणामयका नामले प्रसिद्ध सृष्टिकान्त लोकेश्वरको जात्रा हरेक वर्षको फाल्गुण पूर्णिमा तिथिदेखि प्रारम्भ हुन्छ र तीन दिनसम्म विभिन्न किसिमका विधिविधान, संस्कार कर्मादि गरेपछि चारौँ दिन अर्थात् चैत्र कृष्ण तृतीयाका दिन मुख्य जात्राको रूपमा खटजात्रा गरिन्छ। यो दिन करुणामयको विशेष रूपमा पूजाआजा गरिन्छ। भक्तजन र गुठीयार लगायत मानिसको भीड लाग्ने गर्दछ। यही दिन करुणामयको दशकर्म विधि पूरा गरिँदा जन्मेदेखि जंकुसम्मका सबै कर्म सम्पन्न गरेपछि करुणामयको मूर्तिलाई खटमा राखी जात्राको प्रारम्भ गरिन्छ।

करुणामयको खटयात्राको प्रारम्भ गणेश मन्दिरबाट इटलाछेँ, गँसटोल, लगनटोल, बलाछेँ टोल, इपाटोल र मेछेँ टोल परिक्रमा गराई मच्छिन्द्रबहाल अर्थात् करुणामयको स्थान बहालमै खट पु¥याएर समापन गरिन्छ। करुणामयको खटजात्रा गरिँदा खटको अगाडि र पछाडि दीपंकरको मूर्तिको पनि जात्रा गरिन्छ। खटलाई नगर परिक्रमा गराइँदा नालाका स्थानीय जनताका साथै अन्य स्थानबाट आएका भक्तजनको भीड नै लाग्ने गर्दछ। ती सबै भक्तजनले धुपबत्ती बाल्ने र पूजा गर्ने गर्छन्।

यी नाला करुणामयको प्रादुर्भावको सम्बन्धमा एउटा किंवदन्ती प्रचलित छ। पहिले बनेपालाई बन्देपुर भन्ने गरिन्थ्यो। बन्देपुर देशको बाहिर एउटा नागिरी भन्ने देश रहेछ। त्यो देशमा दीर्घरथ नामक राजा र उसकी रानी शुभलक्ष्मी भन्ने रहेछन्। दीर्घरथ राजाले सधैँ पापकर्म गरिरहन्थे। त्यही बेला वर्षा नभइदिँदा त्यस देशका जनताले खान नपाई १२ वर्षसम्म धेरै दुःखकष्ट सहनुपर्‍यो।

तर दीर्घरथले आफ्ना प्रजाजनको वास्ता नगरी आफूले मात्र चौरासी व्यञ्जन खाई मोजमस्तीमा बसिरहे। यो देखेर स्वर्गमा रहेका श्री करुणामयले जलवृष्टि गराए। त्यसपछि विभिन्न खाद्यान्न उत्पादन भई जनता भोकै बस्नुपर्ने अवस्थाको अन्त्य भयो। यसपछि करुणामयले सुधर्मादेवीलाई अह्राए– नागिरी भन्ने देशमा गई अधर्मी भइरहेका राजा दीर्घरथ लगायत सबै प्रजाजनलाई मेरो अष्टमी व्रत गराई धर्मप्रचार गरेर आउनू।

श्री करुणामयको आज्ञा पाई सुधर्मादेवी नागिरी देशमा पुगिन्। उनले नागिरी देशकै एउटा पीठको किनारमा अत्यन्तै राम्री युवतीको रूप लिई अनेक किसिमका धर्मकथा सुनाउन र बुझाउन थालिन्। त्यहाँ सबै प्रजाजनले रमाउँदै कथा सुन्न थाले। धार्मिक कथाले राजा धार्मिक बन्छन् कि भन्ने आशाले प्रजाजनले ती युवतीका बारेमा राजालाई सबै बेलीविस्तार लगाए। राजा भने महिलाले भनेको धार्मिक कथा सुन्नु हुँदैन भनी गएनन्। राजालाई कथा सुनाउन सकिँदैन भनी सुधर्र्मादेवीले एउटा अत्यन्त राम्रो सेतो घोडाको रूप धारण गरिन् र दीर्घरथको दरबार वरपर घुम्न थालिन्।

दरबारको झ्यालबाट राजाले घोडा देखे। उनी घोडा भएतिर गए। घोडा शान्त रूपमा बसिदिएकाले राजाले घोडा चढेर घुम्न गए। राजाले जहाँ जहाँ लैजान्छन्, घोडा उतै उतै गइरह्यो र अलिकता टाढा पुगेपछि घोडा उड्यो र राजालाई देव नामक तीर्थमा पुर्‍यायो। त्यहाँ पुगेपछि सुधर्मादेवी घोडाको रूप त्यागेर आफ्नै स्वरूपमा फर्केर तुरुन्त स्वर्गमा गइन्। त्यसपछि श्री करुणामयलाई यी सबै कुरा बताइन्। तब करुणामयले सुधर्मादेवीलाई पञ्चोपकार अष्टमी व्रतको सामग्री लिएर अप्सरालाई पनि साथमा लिई गएर आफैँ गुरु बनी अष्टमीको व्रत गर्न र राजालाई पनि गराउन भने।

श्री करुणामयको यस प्रकारको आज्ञा प्राप्त गरेर सुधर्मादेवीले विभिन्न प्रकारका पूजा सामग्री लिई बाह्र अप्सरालाई पनि साथै लिएर गई व्रत गराई श्री करुणामयको महिमा कथा राजालाई भनिरहिन्। त्यसै समयमा राजा दीर्घरथ घोर जंगलको बीचमा परेकाले कता जाउँ कता जाउँ भन्दै एक्लै भौतारिरहँदा उही देवतीर्थमा पुग्छन्। 

त्यहाँ राजाले अप्सरा गणले व्रत बसी रहेको देखेर आश्चर्यमा परी हेरिरहे। अप्सराले राजाका बारेमा सोधे। राजाले आफ्नो बारे सबै बताए। ‘मेरो भाग्यले हजुरहरूजस्ता देवीको दर्शन गर्न पाएँ। यो कुन देवताको व्रत गर्नुभएको हो, त्यसको महिमा कस्तो छ?’ भनी राजाले उनीहरूसँग सोधे। सुधर्मादेवीले राजा दीर्घरथका कुरा सुनेर भनिन्, ‘हे राजा दीर्घरथ हामी त स्वर्गका अप्सरा हौं, हामीले व्रतमध्ये ठूलो अमोघपाशको व्रत गरिरहेका हौं। हे राजा, हजुरलाई पनि यो व्रत गर्ने इच्छा भए नागिरी देशमा रहेको पुण्यमाता नामक तीर्थमा यो व्रत गर्नुहोस्, मैले आवश्यक सम्पूर्ण सामग्री दिनेछु।’

राजा दीर्घरथले बिन्ती गरे, ‘हे देवी, अब मैले मेरो देशमा जाने बाटो देखिनँ, कताबाट जाऊँ?’ तब सुधर्मादेवीले भनिन्, ‘हजुरले केही धन्दा लिनुपर्दैन, मैले हजुरको देशमा पुर्‍याइदिनेछु। एकैछिन पर्खिनुहोस्। यो अष्टमी व्रत सकाएर हामी दुवैजना हजुरको देशमा जानेछौं।’ अप्सराहरूलाई सम्पूर्ण व्रत गराएर उनीहरूलाई स्वर्गलोकमा पठाएपछि सुधर्मादेवीले राजालाई आकाश मार्गबाट उडाएर लगी नागिरी देशको ढोका बाहिर पुर्‍याइदिइन्।

यस्तो अद्भुत चमत्कारदेखि राजाले विस्मित हुँदै आफ्ना मन्त्रीहरूलाई खबर पठाई राजपरिवारका सबै जम्मा भई सिन्दुर जात्रा गरी सुधर्मादेवीलाई दरबार भित्र्याएर कुशल वार्ता गरिरहे। त्यसपछि राजा दीर्घरथले सुधर्मादेवीसँग सल्लाह गरी आवश्यक सामग्री सबै जुराई नागिरी देशका सबै प्रजालाई जम्मा गराएर अष्टमी व्रत बसे।

हरेक वर्ष चैत्रकृष्ण प्रतिपदाका दिन करुणामय सृष्टिकान्त लोकेश्वरलाई महास्नान गराइने परम्परा छ। त्यसका लागि पूण्यमाता नदीबाट पवित्र जल ल्याइन्छ। मन्दिर सामुन्नेको शिलामण्डप जुन सानो पोखरीको बीचमा छ, त्यहाँ लोकेश्वरलाई पद्मासनमा विराजमान गराई पञ्चामृतद्वारा महास्नान गरिन्छ। महास्नानका लागि पानेजुले घडामा जल ल्याउने परम्परा छ। यो महास्नानलाई दुग्ध स्नान गरिने संस्कारका रूपमा लिइन्छ।

यी लोकेश्वरलाई पुजारीबाहेक अरू कसैले छुन हुँदैन र कसैले अन्जानवश छोएमा सोको पाप पखाल्न पनि यो स्नान कार्य गरिएको हो भन्ने भनाइ रहेको छ। यही विधि पूरा गर्न हरेक वर्ष पाटनस्थित बुंगमतीका पानेजुहरू नालामा आउने परम्परा रहेको छ। तिनै पानेजु पुरेत वर्गले लोकेश्वरको सम्पूर्ण कर्मकाण्ड गर्ने चलन रहेको छ।
अर्को समाचार
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
१ घण्टा अघि
•
१ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
काठमाडाैं, नेपाली लोकसंस्कृतिका अनुसन्धाता तथा प्रजातन्त्रका सेनानी स्व. कालीभक्त पन्तले नेपाली संस्कृति, गीतसंगीतलगायत तत्कालीन नेपाली समाजका विविध विषय तथा क्षेत्रको खोज, अनुसन्धान मात्र गर्नुभएन, नयाँ पुस्तालाई त्यसको अभिलेखसमेत तयार गरिदिनुभयो। त्यसकै आधारमा अहिलेको पुस्ताले त्यो बेलाको नेपालको इतिहास थाहा पाएको छ। उहाँको अर्को परिचय भनेको गीतकार, लोकगीत संकलक तथा गायकको पनि हो। उहाँले लेखेको लोकगीत रेडियो नेपालबाट प्रसारण भइरहेका छन्। ‘क्या यस्तो चाल पर्‍यो, मायासित बोल्दैमा गाल पर्‍यो’ तीमध्ये एक हो। प्राध्यापक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पन्तको गायनको क्षेत्रमा प्रवेश गर्नुको उद्देश्य गायक बनी नाम कमाउने थिएन। उहाँले नेपाली समाज अशिक्षित भएकाले समाजमा लोकगीतमार्फत जागरण ल्याउन पुस्तक–पुस्तिका, पम्प्लेट आदिको माध्यमबाट मात्र सम्भव नहुने हुँदा गाउँलेहरूलाई बुझाउने लोकगीतहरू रचेर अनेकौं सांस्कृतिक कार्यक्रमहरू गर्नुहुन्थ्यो। उहाँलाई जनतामा कसरी राजनीतिक, सामाजिक चेतना बढाउने भन्ने तरिकाको ज्ञान थियो।




यसरी गाउँलेहरूमा राजनीतिक चेतनाको अभिवृद्धि गर्न उहाँले सांस्कृतिक टोलीहरूको गठन पनि गर्नुभएको थियो। सो समयमा पन्तले ब्यान्जोको आकारको ‘कालीबाजा’को निर्माण पनि गर्नुभएको थियो। यो पनि अब एउटा इतिहास बनिसकेको छ। पर्वत तथा बागलुङमा हुने चैते–दसैंजस्ता मेलामा पन्तले महिला जागरणको मात्र नभई कन्या बेच्ने बाबुआमाविरोधी गीत पनि गाउनुभएको थियो। उदाहरणका लागि ‘छोरी बेचा हे बाहुन बाजे/अझै तँलाई लाग्दैन सरम’, ‘बिहा मलाई गर्ने हो भने/ल्याउनु होला कत्तुवा, चर्खा, तान’ उहाँले समाजका छुवाछुतलगायतका रूढिवादी परम्पराको अन्त्य तथा महिला र जनजातिको उत्थान गर्ने उद्देश्य राखेर विविध चेतनामूलक कार्य गर्नुभएको थियो।

२००७ सालको राजनीतिक परिवर्तनको आन्दोलनका बेला पश्चिम ४ नम्बरको कमान्डरको जिम्मेवारी पाउनुभएका पन्तले क्रान्तिका नेताका रूपमा पर्वत कुस्मा र बागलुङको मुक्तिसेना सञ्चालन गर्नुभएको थियो। त्यस्तै, पन्तले सो क्षेत्र कब्जा गरी सर्वश्री ओमप्रसाद गौचनको नेतृत्वको प्रान्तीय सरकारमा उपप्रधानमन्त्री भई काम गर्नुभएको थियो। यस समयमा पन्तले सूचना विभाग हेर्नुपथ्र्यो। २०१७ सालको पञ्चायती व्यवस्थाविरुद्धसमेत लड्नुभएको थियो। सो क्रममा उहाँले भूमिगत तथा जेलजीवनसमेत बिताउनुपरेको थियो। २०१९ सालदेखि राजनीतिबाट टाढिनुभएका पन्त त्यसपछि पूर्ण रूपमा लेखनमा लाग्नुभएको थियो।

इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। सो क्रममा पन्त भारत (सिक्किम, दार्जिलिङ, कुमाउँ–गढवाल, आसाम, हिमाञ्चल प्रदेश), चीन, भुटान, पाकिस्तान, श्रीलंका तथा बेलायतमा पुग्नुभएको थियो। म्याट्रिक पास गर्नुभएका पन्तलाई नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, अंग्रेजी भाषाको समेत ज्ञान थियो।

उहाँको जन्म १९६४ साल भदौ ६ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो। पिता नरेन्द्र पन्त, माता निलकुमारी पन्तका कान्छा छोरा कालीभक्त २००९ सालदेखि भने पर्वतको फलेवासमा बस्दै आउनुभएको थियो। १७ वर्षको उमेरमा कालीभक्तको कृष्णा पन्तसँग विवाह भएको थियो। उहाँहरूका तीन छोरी र ६ छोरा भए। साहित्यकार देवीप्रसाद वनवासीका अनुसार पन्तको जन्मथलो तत्कालीन धौलागिरी अञ्चल, पर्वत जिल्लामा परे पनि उनी प. ४ नं. स्याङ्जा हो। ‘साइलादाइ कहाँ गयो’ भनेर दोहोरी गाउने मसानेका समकालीन पाथे भाइ हुन्। 
कालीभक्त पन्तका ‘पश्चिम ४ नम्बर (नेपाल) को इतिहास’ (२००९), ‘किसान गीता’ (२०१२), ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’ (२०२७), ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८), ‘गीत सुधारको राष्ट्रिय बाटो’ (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भबध’ (नाटक, निधनपश्चात् २०५० मा प्रकाशित) लगायतका कृति प्रकाशित छन्। यसबाहेक पन्तका विभिन्न विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन्।

विशेषगरी ‘हाम्रो सांस्कृतिक इतिहास’मा पन्तले राष्ट्रिय संस्कृति र यसको आवश्यकताको विषयबाट सुरु गरी राष्ट्रियता, हाम्रा गीत, भाषा आदिको प्रारम्भिक स्थिति, नेपालमा झ्याउरे गीतको बीजरोपण, हाम्रा देशका गीतहरूको बनावटको सिलसिला, गीतको आइनो गर्दा भाषा र लिपि, हाम्रा राष्ट्रिय ध्वनिको दिग्दर्शन र विश्वका गीतका ध्वनिहरू, हाम्रा गीतका बीजरोपक र परिवर्तनकर्ता, हाम्रा गीतका छन्दहरू, लोकगीत र तीबाहेकका गीत–बाजा, हाम्रा गीत–बाजाका भेद, गीतको संक्षिप्त महिमा, दार्जिलिङ–सिक्किम–भुटानका गोर्खालीका र हाम्रा गीतमा एकरूपता, हाम्रा देशमा शास्त्रीय संगीतलगायतका विषयमा केन्द्रित रहेर नेपालको समग्र सांस्कृतिक इतिहासलाई खोजी अभिलेख गर्ने काम गर्नुभएको छ।

दिवंगत संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पन्तको यसै कृति अध्ययन गरेर आफूलाई उहाँप्रति निकै श्रद्धा लागेको बताउनुभएको थियो। उहाँले पन्तलाई लोकसंस्कृतिको अगुवा बताउँदै सो समयमा लोकगीत, परम्परा र संस्कृतिका सम्बन्धमा कलम चलाई योगदान पुर्‍याउनु अतुलनीय रहेको बताउनुभएको थियो। भाषा तथा लोकसंस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुका अनुसार पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’मा लोकगीत र लोकनृत्यलाई राष्ट्रिय संस्कृतिका महत्त्वपूर्ण अंगका रूपमा विवेचना गर्नुभएको छ। उहाँका अनुसार यस कृतिमा धेरै कुरा पहिलोपटक प्रस्तुत गरिएका छन् र नेपाली भाषा र लोकगीतमा अनुसन्धान गर्नेहरूका लागि यी तथ्य र विश्लेषण स्रोतका रूपमा रहेका छन्।

बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई सहगान, सहनृत्य र सहकार्यमा अनिवार्य रूपले सहभागी बनाएर उपयोगी शिक्षा दिन सकिन्छ भन्ने उहाँको महत्त्वपूर्ण मान्यता पनि यस कृतिमा चर्चित छ। ‘गीत सुधारको राष्ट्रिय बाटो’ पुस्तक पन्तले नेपालीले आफ्नै सांस्कृतिक पद्धतिअनुसार गीत सुधार गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले तयार गर्नुभएको थियो। जसमा उहाँले गायन र नृत्यकलाको प्रारम्भ, नाच्ने–गाउने भावना र गला–कला, छन्दसाहित्य (तीजे, लहरी, झ्याउरे, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी आदि), हाम्रा पुर्खाकालीन सांगीतिक शाब्दिक सरजाम, गीतको संक्षिप्त महिमा, बहादुर सिंह बराल र नेपाली गीतका बनावटको इतिहास, आफ्नोपना र त्यसको पूर्ति, गीतका संज्ञा, परिभाषा र शब्दकोश, संगीत शब्द र भ्रम, हाम्रा गीत साहित्यले बदल्दै आएको ऐतिहासिक मोड, गीत रेकर्ड गर्नुभन्दा पहिले, केही फुटकर कुरा र गुनासाहरूलगायतका शीर्षकमा रहेर नेपाली गीतसंगीतका विविध विषय तथा पक्षको चर्चा गर्नुभएको छ।

संस्कृतिविद् तुलसी दिवस पन्तका ‘हाम्रो सांस्कृतिक इतिहास’ र ‘गीत सुधारको राष्ट्रिय बाटो’ पढेपछि उहाँबाट निकै प्रभावित हुनुभएको थियो। उहाँका अनुसार ‘नेपालको मेची–महाकालीलगायत पूर्वदार्जिलिङ, सिक्किमदेखि पश्चिम कुमाउँ–गढवालसम्म आफैं घुमेर लोकगीत, साहित्य र संस्कृतिको तथ्य संकलन र अन्वेषण गर्नु त्यो समयमा चानचुने कुरा थिएन, त्यो पनि आफ्नै खर्चले।’

यस्तै पन्तले लेखेका तथा संकलन गरेका थुप्रै रचना तथा कृतिहरू अझै अप्रकाशित देखिन्छन्। तिनलाई संकलन तथा सम्पादन गरी प्रकाशन गर्नु आवश्यक देखिन्छ।

उहाँको निधन भने २०४८ फागुन ६ गते भएको थियो। कालीभक्तको निधन हुनुभन्दा २२ वर्षअघि अर्थात् २०२६ माघ ११ गते नै धर्मपत्नी कृष्णा पन्तको ६० वर्षको उमेरमा निधन भइसकेको थियो। उहाँहरूको स्मृतिमा २०७४ वैशाख १ गतेदेखि कालीभक्त कृष्णा पन्त प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले ‘स्रष्टा कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’सँगै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, मानवीय सहयोग तथा सांस्कृतिक गतिविधि पनि गर्दै आएको छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस