१९औँ शताब्दीको उत्तर्राद्धमा देखापरेका व्यक्तिचित्रसँगै हामीकहाँ ‘पोट्रेचर’ कलाको प्रारम्भ भएको मानिन्छ। यसअघि हामीकहाँ विद्यमान परम्परागत शैली र ढाँचाका व्यक्तिचित्र, मूर्ति र रेखाचित्र पाइन्छन्। यी सबैलाई सूक्ष्म रूपमा केलाएको आधिकारिक अभिलेख भने पाइँदैन। सम्भवतः यसलाई विस्तारमा अध्ययन अनुसन्धान गर्दै गइयो भने आज भनिने ‘पोट्रेचर’को विशेषता पाउन गाह्रो हुँदैन। १९औँ शताब्दीमा देखिएका यस्ता व्यक्तिचित्र स्पष्ट रूपमा पश्चिमी शैलीमा बनेका छन्, त्यसैले यहाँबाट ‘पोट्रेट’को थालनी भएको हो भन्न सजिलो भएको छ। अझ २०औँ शताब्दीको मध्यतिर आइपुग्दा ‘पोट्रेट’ले पूर्ण रूप लिइसकेको देखिन्छ। यसपछिका दिनमा यस्तै स्वरूप, लक्षण र विशेषताका साथ व्यक्तिचित्र बनाइएको पाइन्छ। यी तमाम चित्रलाई सहजै ‘पोट्रेट’ खण्डमा राख्न सजिलो पनि भएको छ।
‘पोट्रेचर’ र पोट्रेटको अर्थ
शब्दकोश अनुसार, ‘पोट्रेट’ले व्यक्तिको अनुहारको चित्र वा फोटोलाई बुझाउँछ। त्यस्तै, ‘पोट्रेचर’ले व्यक्तिको चित्र वा फोटो बनाउने कलालाई बुझाउँछ। यहाँनेर चित्रलाई बढी मात्रामा फोकस गरिएको भए पनि कला शब्दको प्रयोगले यसको आयतन लम्ब्याउन सकिने ठाउँ देखिन्छ। फोटो बनाउने प्रविधि अलग्गै हो। पहिले फोटोलाई एक अलग्ग विधामा राखे पनि अहिले आएर यो पनि कलाको अभिन्न अंग बन्न पुगेको छ। नेपालमा फोटोलाई व्यावसायिक र सिर्जनशील (आर्टिस्टिक) भन्ने प्रचलन पछिल्लो कालमा आएर विकसित भयो।
विश्वमा १९औँ शताब्दीको मध्यतिर फोटोग्राफीको आविष्कार भएपछि चित्रकारले यसलाई एक चुनौतीका रूपमा अंगीकार गरी प्रभाववादी चित्र बनाएका थिए। प्रकृतिबाट जस्ताको तस्तै उतारिने गरेको यथार्थवादीचित्र भन्दा अझ दुरुस्त रूपमा फोटोग्राफीले निकाली दिएपछि चित्रकारले फोटोग्राफीले गर्न नसक्ने अलग्ग प्रकारको चित्र निर्माण गर्न खोज्दा प्रभाववादी चित्रको जन्म भयो। जहाँ ठुल्ठूला तुलिकाघातको प्रयोग, आधारभूत रङ, उज्याला र चम्किला रङ (प्रकृतिमा यस्ता रङ देखिँदैनन्), झट्ट हेर्दा भद्दाजस्ता देखिने चित्र, दुरान्तभेद भत्काउने उपक्रम हुन थालेको देखिन्छ। जुन प्राकृतिक (नैसर्गिक स्वरूप) रङ र आकृति नभएर कलाकारको मन–मस्तिष्कको उपज भएको स्पष्ट देखिन्थ्यो। अर्थात् मेसिनबाट निकालिएको भन्दा मानव मस्तिष्कबाट मात्र कलाको सिर्जना हुन्छ भन्ने कलाकारको हुङ्कार यसवेला स्पष्ट रूपमा देखापरेको थियो। पछि यही अवधारणा, चित्रण शैली, पद्धतिलाई आधारशिला बनाई आधुनिकलाको उदय भएको मानिन्छ।
यस्तै तरिकाले मूर्तिमा ‘पोट्रेचर’को सूक्ष्म विश्लेषण गर्दै सालिक भन्ने शब्दको प्रयोग भएको देखिन्छ। मूर्तिकलामा विशेषतः व्यक्तिकै मात्र बढी मात्रामा कला निर्माण गरिएका छन्। विशेषगरी धार्मिक कलाको विकास भएपछि देवीदेवताका यस्ता अनेक मूर्ति बने। जुनसुकै धर्ममा पनि आफ्ना आराध्यदेवलाई भक्तको माझमा स्थापित गर्न यस्ता ‘पोट्रेचर’ विभिन्न रूपमा बनाइएका छन्। कल्पनामा आधारित वा धर्मपण्डितको निर्देशन अनुसार देवीदेवताको मूर्ति बनाएको भए पनि कलाकारले कुनै न कुनै व्यक्ति विशेषको मोडललाई अंगीकार गर्नुपर्ने हुन्थ्यो। यसर्थ यसलाई ‘पोट्रेचर’को नजिक राख्ने धृष्टता भएको छ। यसरी बनाएका ‘पोट्रेचर’मा तत्कालीन समुदायमा रहेको मुखाकृतिको सहारा लिनुपर्ने भएकाले एउटै देवीदेवताका यस्ता मूर्ति पनि ठाउँ अनुसार अलगअलग अनुहारमा देखिन्छन्। अर्कोतर्फ राजा–महाराजाले आफूलाई अभिलेखन गर्न आफ्नै अनुहारलाई स्थापना गर्न थाले। उनीहरूका मूर्ति (‘पोट्रेचर’) अनगिन्ती रूपमा बन्ने गरेका छन्। राजा–महाराजासँग शक्ति र आर्थिक स्रोत हुने हुँदा उनीहरूकै चाहना अनुसार ‘पोट्रेचर’को निर्माण हुन्थ्यो। यसपछि प्रतिमा, सालिक, धार्मिक मूर्ति, सेकुलर वा सेक्रेड आर्ट आदि अनेकौँ शब्द प्रचलनमा आएको देखिन्छ। समग्रमा हेर्दा यी सबैजसो विधा, उपविधामा विभाजित भएको भए पनि मूलतः ‘पोटे«चर’ले सबैलाई कुनै नै न कुनै कुनाबाट सम्बोधन भने गरेको देखिन्छ।
विश्वकलाको सन्दर्भमा
विश्वको सन्दर्भलाई हेर्दा ‘पोट्रेचर’को आयतन यसभन्दा अझ फराकिलो छ। ‘पोट्रेचर’ भनेको व्यक्तिचित्रसँगै मूर्ति, फोटो र रेखाचित्र पनि हो। जसले व्यक्तिको चारित्रिक गुण, अभिव्यञ्जना, आन्तरिक भाव, अभिव्यक्ति जस्ता विशेषतालाई अँगालेको हुन्छ। यी विशेषता भएको ‘पोट्रेचर’ले धेरै प्रकारका कलालाई आफूभित्र अँगालेको देखिन्छ। उदाहरणका लागि, इसापूर्व २१४४–२१२४ को बीचमा निर्माण भएको अनुमान गरिएको ‘गुडिया’ मूर्तिलाई सुरुमा पाइएको ‘पोट्रेचर’ मान्ने गरिन्छ। जसमा एउटा कुर्सीमाथि अगाडि हात बाँधेर बसेको पूर्ण आकार (पूर्ण शशरीर)को मूर्ति छ। यस हिसाबमा नेपाली ‘पोट्रेचर’को इतिहासलाई दोस्रो शताब्दीको सम्भवतः जय बर्माको मूर्तिसम्म तान्न सकिन्छ। ठिंग उभिएको राजा (जय बर्माको भनिएको) को मूर्ति छ, जसलाई अहिले छाउनी म्युजियममा राखिएको छ।
‘पोट्रेचर’को इतिहास खोतल्दै जाँदा यसलाई प्राचीन इजिप्टसम्म पुर्याइन्छ, जहाँबाट करिब पाँच हजार वर्षपूर्व यो परम्परा सर्वत्र फैलिएको विश्वास गरिन्छ। मूलतः ‘पोट्रेचर’ फोटोग्राफीको आविष्कार हुन अघिसम्म चित्र, मूर्ति र रेखाचित्रको रूपमा कुनै न कुनै व्यक्तिको अनुहारलाई अभिलेखन गर्नका लागि बनाउने परम्परा रहेको देखिन्छ। तथापि यसलाई अभिलेखन मात्र ठान्नु गल्ती हुन्छ। किनकि यो ‘पोट्रेचर’ अभिलेखनसँगै अन्य कैयौँ सन्दर्भले महŒवपूर्ण रूपमा देखापरेको छ। पोम्पेइको २००० वर्ष पुरानो भित्ती चित्रमा यस्ता प्राचीन पोट्रेट पाइएका छन् । इसापूर्व पहिलो शताब्दीदेखि सक्रिय रहेको अजन्ता गुफामा कैयौँ पोट्रेट बनेका छन् । तथापि सन् ९८५ पछि पश्चिमको कला इतिहासमा पोट्रेटको स्वरूपमा परिवर्तन हुँदै आएको विश्वास गरिन्छ। रेनेसा पिरियडमा नौलो ढंगले पोट्रेट कलाको विकास भएपछि यसलाई चर्चाको मुख्य विषय बनाएर अगाडि बढाएको देखिन्छ। यस बखतका चित्रमा पहिलाझैँ ‘हाई रिअलिस्टिक फिचर’भन्दा पनि ‘स्टेरियोटिपिकल फेसियल एक्सप्रेसन’मा जोड दिने गरेको देखिन्छ। यसै वेला देखिएको समतलीय पृष्ठभूमिले गर्दा पनि यसवेलाको पोट्रेट कलालाई रिअलिस्टिक फिचर (यथार्थ वा नैसर्गि स्वरूप) भन्दा टाढा लगेको स्पष्ट दृष्टिगोचर हुन्छ।
‘पोट्रेचर’को इतिहास मूर्तिबाट सुरु भए पनि (सम्भवतः पुराना चित्र प्राप्त नभएका कारण) पछिल्लो कालमा आएर चित्रकलामा बढी केन्द्रित भएको देखिन्छ। सन् १५०३ र १५०६ को बीचमा इटालीका विश्वप्रख्यात कलाकार लियोनार्दो दा भिन्चीले मोनालिसाको मनमोहक पोट्रेट बनाए। धेरै वर्षसम्म यसले खासै चर्चा पाएन। १९औँ शताब्दीको अन्ततिर जब कलामाथिको एस्थेटिक भ्यालु, पुरातात्त्विक सम्पदाको महत्ता बारेमा चासो र चर्चा हुन थाल्यो, तब मोनासिलाको खोजीनिती भयो। तत्पश्चात मोनालिसाबारे अनेकौँ तथ्य सार्वजनिक भए। कलाविद्ले मोनालिसाभित्रै पनि अनेक बहुमूल्य अवयव देख्न थाले। पछिल्लो कालमा आएर कलाविद्ले यस चित्रमा शक्तिशाली तुलिकाघात र अचम्म किसिमको मुस्कान देखे। कलाकारले बडो चलाखीका साथ शिल्प दक्षता प्रयोग गरी मोनालिसाको ओठको कुनामा प्रहार गरेको तुलिकाघातलाई नै विशेष मानिन थालियो। यो पोट्रेटलाई चारैतिरबाट हेर्दा देखापर्ने अलगअलग दृश्य र प्रभावको प्रसंगमा पनि कलाविद्ले भन्न भ्याएको देखियो। कलाविद्ले विश्लेषण गर्दा यसको विशालकाय संयोजन (कम्पोजिसन)देखि सूक्ष्म तर चलाखीपूर्ण हिसाबले गरिएको मोडिलिङ (त्यतिवेला पनि व्यक्ति विशेषलाई मोडल बनाएर व्यक्तिचित्र बनाउने प्रचलन थियो) र वातावरणलाई कोट्याउन भ्याएका छन्। विशेष गरेर यो चित्रको रहस्यमयी अभिव्यञ्जनाले गर्दा विश्व प्रसिद्ध भएको हो। यो फल्याकमाथि तैलरङले बनाइएको चित्र थियो। ‘पोट्रेचर’को इतिहासमा यस प्रकार मूर्तिमाभन्दा बिस्तारै चित्रमा बढी मात्रामा फोकस हुँदै चर्चा भएर आएको देखिन्छ।
१६औँ शताब्दीका अर्का महान् कलाकार रेम्ब्रान्टले अँध्यारोमा प्रस्फुटित हुँदै पोट्रेट बनाए, जसलाई ‘डार्क पोट्रेट’ भन्न सकिन्छ। जुन कलामा शिल्प दक्षताको पराकाष्ठा रहेको रूपमा चर्चा भयो। लाइट एन्ड स्याडको घनीभूत प्रयोग भएको यो चित्रमा पहिलेभन्दा अद्भुत प्रभाव दृष्टिगोचर हुन्छ। कलाकारले चाहेको निश्चित ठाउँमा भावकलाई एकाग्र हुन बाध्यात्मक परिस्थिति पैदा हुन्छ। यो उनको विशेषता पनि थियो। हरेक रङलाई अँध्यारो बनाउने प्रचलनलाई धेरैपछि प्रभाववादीको आन्दोलनले धेरै चहकिलो रङमा परिवर्तन गरेको थियो। सामाजिक यथार्थवादी कलाकार गुस्ताभ कोर्बेट र होनोर ड्युमिअरले पहिलोपल्ट काम गर्ने मध्यम वर्गका मान्छेको पहिलोपल्ट पोट्रेट कला बनाएका थिए। यसैको अलिपछि प्रभाववादी चित्रकारले कलाको प्रकृतिमाथि प्रश्न उठाउँदै कलात्मक पोट्रेटको नयाँ परिभाषा भिœयाएका थिए। १९औँ शताब्दीको अन्ततिर इन्डस्ट्रिअल रिभोलुसनपछि कलाको मास प्रोडक्सन र आपूर्ति ह्वात्तै बढ्दा पहिलोपल्ट मिडिल क्लासका परिवार यस्ता कलाका सामग्री खरिद गर्न सक्षम भएको देखिएको छ।
१९औँ शताब्दीका कलाकार भ्यानगग र यसै वेलाका अर्का कलाकार सेजानले दुई अलगअलग पाराले पोट्रेट चित्र बनाए। यसै वेलाका गउगिनको पनि चर्चा गर्ने गरिन्छ। भ्यानगगको सेल्फ पोट्रेट यस विधाको सबैभन्दा चर्चित चित्र हो । जसलाई उनले आफ्नो मनको बह पोख्ने माध्यम बनाएका थिए। चारैतिर डरलाग्दा, मोटा, चहकिला रेखा खेलाएर बनाएको उनको पोट्रेट भाव अभिव्यञ्जनाले मात्र होइन, शैलीगत रूपमा पनि एक अलग्ग देखिन्छ। पहिले कहिले नदेखिएको कलर अप्रोच, निस्फिक्री दौडेका अति शक्तिशाली रेखाबाट बनेका उनका यस्ता चित्र उनको जीवनभर रद्दीको टोकरीमा फालिएको थियो। तर, यसैलाई सन् १९११ ताका देखिएका अभिव्यञ्जनावादीले स्रोतको रूपमा दरिलो आधार माने। यसपछि सेजानले क्युबिक फर्ममा बनाएको पोट्रेट पनि एक अलग्ग स्वरूपमा देखापरेको छ। पछि सन् १९०७ मा पिकासोले यसैका आधारमा क्युबिजमको विकास गरे। यो जम्मै आरोहअवरोह ‘पोट्रेचर’कै सेरोफेरोमा घुमेको देखिन्छ।
२०औँ शताब्दीको शुभारम्भतिर मोडलिङ गरेर बसेको व्यक्ति विशेषको फेसियल फिचरभन्दा व्यक्ति विशेषको अन्तर्मनमा अवस्थिति अभिव्यञ्जनालाई समात्न खोजेको देखिन्छ। यस वेलाका मातिस, पिकासो आदि कलाकारले यसो गर्न रङ, रेखा र रूपलाई खेलाउँथे । यस्तो पहिला कहिले पनि देखिएको थिएन। यो पोट्रेट कलाको नितान्त नौलो रूप थियो। २०औँ शताब्दीको मध्यतिर पोट्रेटको आकर्षण खस्किँदै गएको थियो, तथापि यसैवेलाका कलाकार एन्डी वारहुल र रोय लिचटेनस्टेनले पप आर्टको नाममा यसलाई पुनः लाइमलाइटमा ल्याएका थिए। आज सबैको हातहातमा मोबाइल छ। हरेक व्यक्ति फोटो खिच्न एक्सपर्टको रूपमा अगाडि आएको देखिन्छ।
नेपाली पोट्रेट कला
नेपाली ‘पोट्रेचर’ कलाको इतिहासमा राजा जय बर्माको मूर्तिपछि यसै प्रकारको पूर्ण कदको मूर्ति धेरै पछिल्लोकालसम्म देखिँदैन। मल्ल वंशमा आइपुग्दा राजा–महाराजाले आफ्ना अनुहारलाई अभिलेखन गर्ने क्रममा आफ्नै मूर्तिभन्दा पनि देवीदेवताका मूर्ति बनाउन लगाएको पाइन्छ। प्रायः राजा–महाराजाले आफ्नो राज्यकालमा कुनै न कुनै मन्दिर, स्तुपा, विहार वा चैत्य बनाएका छन्। र, त्यसभित्र आराध्य देवीदेवतालाई स्थापित गराएका छन्। तर आफ्नो मुखाकृतिलाई स्थापित गर्न त्यति चासो देखाएको देखिँदैन। मल्लकालमा मन्दिरअगाडि ठूलो स्तम्भमाथि राजाले आफूलाई भक्तका रूपमा राखी आफ्नो ‘पोट्रेचर’लाई स्थापित गरेको देखिन्छ। मल्लकालका भूपतिन्द्र मल्ल वा प्रताप मल्लका यस्ता ‘पोट्रेचर’ छन्। यसपछि एकैचोटि १९औँ शताब्दीको मध्यतिर जंगबहादुरको उदय भएपछि पश्चिमी राष्ट्रको प्रभावमा पश्चिमी शैलीमा आफ्ना ‘पोट्रेचर’ बनाउन थालेको देखिन्छ। यसपछिका कालमा हरेकजसो प्रधानमन्त्री, राजा वा उच्च ओहोदामा बसेका व्यक्ति विशेषको यस्ता मूर्ति वा सालिक बन्न थालेको देखिन्छ। सालिक बनाउने परम्परा प्रजातन्त्रको उदय भएपछि तत्कालीन राजा महेन्द्रले सुरु गरेका थिए। उनले आफ्नो सालिकलाई काठमाडौं उपत्यकामा मात्र होइन, देशभरि राख्न लगाएको देखिन्छ। उनीपछि राजा वीरेन्द्रले यसरी नै आफ्ना मूर्ति र चित्र प्रशस्तै मात्रामा बनाउन लगाएका छन्। यसैवेला उनले हरेक सरकारी अफिसमा आफ्नो चित्र बनाउन लगाई टाँग्न लगाएका थिए। यसवेला सयौँको मात्रामा राजा महेन्द्र, वीरेन्द्र, रानी ऐश्वर्य र अन्य राजपरिवारका व्यक्तिचित्र बनेका छन्। यसैको सिकोमा ०४६ र ०६२÷६३ आन्दोलनपछि नेता, सामाजिक र साहित्यिक व्यक्तित्वका सानाठूला सालिक बन्न थाले। शैलीको सन्दर्भमा भन्नुपर्दा यी सबै मूर्ति वास्तुवादी मूर्ति हुन्। यी सबैजसो चित्र वा मूर्ति व्यावसायिक, कमिसन वर्कका रूपमा बनेकाले कलाकारको सिर्जनाभन्दा पनि बनाउन लगाउनेको इच्छामा बनेको देखिन्छ।
जहाँसम्म चित्रकलाको सन्दर्भ छ। व्यक्तिचित्र १९औँ शताब्दीको मध्यतिर तत्कालीन प्रधानमन्त्री जंगबहादुरकै समयदेखि बन्न थालेको देखिन्छ। बेलायतसँग उनको सम्बन्ध गाँसिएपछि पश्चिमी कलाले नेपालमा यथेष्ट रूपमा प्रवेश पाएको छ। राणा प्रधानमन्त्रीले पोट्रेट कलामा ज्यादा मोह राखेको परिप्रेक्ष्यमा प्रधानमन्त्री चन्द्रशमशेरले दुई कलाकारलाई कलकत्तामा कलाको विधिवत अध्ययन गर्न पठाए । यसवेला राणा प्रधानमन्त्रीदेखि उच्च ओहोदामा बसेका व्यक्ति र राणा परिवारका अन्य सदस्यको प्रशस्त व्यक्तिचित्र बने। यसवेला दीर्घमान चित्रकार, तेजबहादुर चित्रकार, मनोहरमान पुन, चन्द्रमान सिंह मास्केदेखि बालकृष्ण सम, अमर चित्रकार, केशव दुवाडी, कालीदास श्रेष्ठ, डिबी चित्रकार आदि अनेकौँ पोट्रेट कलाकार देखिन्छन्, जसले अति मनमोहक, लोभलाग्दा चित्र बनाएका छन्। यसमध्ये अमर चित्रकारले जति मूर्ति र चित्र अरूले बनाएका छैनन् होला भन्न सकिन्छ।
यी जति पनि पोट्रेट कला बने, यी सबैजसो यथार्थवादी शैलीमा बने। यसो हँुदा अधिकांश यस्ता पोट्रेट कमिसन वर्कका रूपमा बनेका छन्। मूलतः शैली र प्रवृत्तिगत परिवर्तनका साथ ‘पोट्रेट’ देखिएको सन् १९६० को उत्तराद्र्धमा आएर हो। जब बेलायतबाट लैनसिंह बाङ्देल नेपाल आए, पश्चिमी मुलुकमा स्थापित भइसकेका आधुनिक पोट्रेटको शैलीलाई उनले नेपालमा स्थापित गराए। पश्चिममा देखापरेको यसका दुई धार (विशेषतः भ्यानगग र सेजानले प्रयोग गरेको) मध्ये आत्म अभिव्यञ्जना प्रवृत्तिलाई बढी मात्रामा प्रयोग गरियो। यसरी शैली र प्रवृत्तिभन्दा पनि भाव अभिव्यक्तिमा बढी जोड दिएको देखिन्छ। लैनसिंह बाङदेलका पोट्रेट अति विस्तारमा बनाइएको देखिँदैन। उनका चित्रमा रेखाको बढी प्रयोग भएको छ भने अन्तर्मनको भावलाई वा ‘फेसिएल एक्सपे्रसन’लाई प्रस्तुत गर्न जोड दिएको देखिन्छ। यसैको अलि पछिल्लोकालमा आएर उत्तम नेपालीले थुप्रै पोट्रेट कला बनाए। भावकै अंश लुकेका उनका यस्ता चित्रमा पनि अनुहारलाई बेरूप बनाउने कोसिस गरिएको देखिँदैन। यसपछि मनुजबाबु मिश्रका अति डरलाग्दा, भयावह, पोट्रेट कला देखिन्छ। उनले आफ्नै अनुहारमा जनावरको सिङ आदि बनाई एक अलग्ग प्रकारको कला बनाएका छन्। मनमा रहेको अनेक दर्द, उकुसमुकुस, आक्रोश आदि उनको पोट्रेट कलामा देखिन्छ। शशि शाहले पनि पोट्रेट बनाएका छन्। कमिसन ओर्कका रूपमा भए पनि पछिल्लो कालसम्म अति लोभलाग्दा यस्ता पोट्रेट कला बनाइरहनेमा केके कर्माचार्य, विजय थापा, आइबी मल्ल, बाबुराजा ध्वला, सिर्जनराज भण्डारी आदि छन्। नेपालको समसामयिक कलाको इतिहासमा सन् २००० को उत्तराद्र्धमा पोट्रेट कलाले अति महत्त्व पाएको देखिन्छ।
विशेष रूपमा पोट्रेट कलालाई आफ्नो मुख्य पात्रका रूपमा प्रयोग गरी, व्यक्तिगत भाव अभिव्यञ्जनाभन्दा पनि समसामयिक अवधारणा पस्कनमा कलाकारको चासो जागेको देखिन्छ। यस्ता युवा कलाकारमा पृथ्वी श्रेष्ठ, मनीषलाल श्रेष्ठ, सुनील सिग्देल, शौरगंगा दर्शनधारी, सविता डंगोल, एरिना ताम्रकार, प्रमिला बज्राचार्य, रोशन प्रधान, सुजन डंगोल, हितमान गुरुङ, कविराज लामा, कैलाश श्रेष्ठ, मुना भाडेल, नवीन नाल्बो, नम्रता सिंह आदि छन्। ओपन एयर दृश्यचित्रमा रमाउने कलाकार पनि पोट्रेट कलामा रमाउन थालेका छन् । यस्ता कलाकारमा मुख्यतः आलोक गुरुङ, एनबी गुरुङ, डि राम पाल्पाली, डिबी याम्फु आदि छन्।
काठमाडाैं, नेपाली लोकसंस्कृतिका अनुसन्धाता तथा प्रजातन्त्रका सेनानी स्व. कालीभक्त पन्तले नेपाली संस्कृति, गीतसंगीतलगायत तत्कालीन नेपाली समाजका विविध विषय तथा क्षेत्रको खोज, अनुसन्धान मात्र गर्नुभएन, नयाँ पुस्तालाई त्यसको अभिलेखसमेत तयार गरिदिनुभयो। त्यसकै आधारमा अहिलेको पुस्ताले त्यो बेलाको नेपालको इतिहास थाहा पाएको छ। उहाँको अर्को परिचय भनेको गीतकार, लोकगीत संकलक तथा गायकको पनि हो। उहाँले लेखेको लोकगीत रेडियो नेपालबाट प्रसारण भइरहेका छन्। ‘क्या यस्तो चाल पर्यो, मायासित बोल्दैमा गाल पर्यो’ तीमध्ये एक हो। प्राध्यापक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पन्तको गायनको क्षेत्रमा प्रवेश गर्नुको उद्देश्य गायक बनी नाम कमाउने थिएन। उहाँले नेपाली समाज अशिक्षित भएकाले समाजमा लोकगीतमार्फत जागरण ल्याउन पुस्तक–पुस्तिका, पम्प्लेट आदिको माध्यमबाट मात्र सम्भव नहुने हुँदा गाउँलेहरूलाई बुझाउने लोकगीतहरू रचेर अनेकौं सांस्कृतिक कार्यक्रमहरू गर्नुहुन्थ्यो। उहाँलाई जनतामा कसरी राजनीतिक, सामाजिक चेतना बढाउने भन्ने तरिकाको ज्ञान थियो।
यसरी गाउँलेहरूमा राजनीतिक चेतनाको अभिवृद्धि गर्न उहाँले सांस्कृतिक टोलीहरूको गठन पनि गर्नुभएको थियो। सो समयमा पन्तले ब्यान्जोको आकारको ‘कालीबाजा’को निर्माण पनि गर्नुभएको थियो। यो पनि अब एउटा इतिहास बनिसकेको छ। पर्वत तथा बागलुङमा हुने चैते–दसैंजस्ता मेलामा पन्तले महिला जागरणको मात्र नभई कन्या बेच्ने बाबुआमाविरोधी गीत पनि गाउनुभएको थियो। उदाहरणका लागि ‘छोरी बेचा हे बाहुन बाजे/अझै तँलाई लाग्दैन सरम’, ‘बिहा मलाई गर्ने हो भने/ल्याउनु होला कत्तुवा, चर्खा, तान’ उहाँले समाजका छुवाछुतलगायतका रूढिवादी परम्पराको अन्त्य तथा महिला र जनजातिको उत्थान गर्ने उद्देश्य राखेर विविध चेतनामूलक कार्य गर्नुभएको थियो।
२००७ सालको राजनीतिक परिवर्तनको आन्दोलनका बेला पश्चिम ४ नम्बरको कमान्डरको जिम्मेवारी पाउनुभएका पन्तले क्रान्तिका नेताका रूपमा पर्वत कुस्मा र बागलुङको मुक्तिसेना सञ्चालन गर्नुभएको थियो। त्यस्तै, पन्तले सो क्षेत्र कब्जा गरी सर्वश्री ओमप्रसाद गौचनको नेतृत्वको प्रान्तीय सरकारमा उपप्रधानमन्त्री भई काम गर्नुभएको थियो। यस समयमा पन्तले सूचना विभाग हेर्नुपथ्र्यो। २०१७ सालको पञ्चायती व्यवस्थाविरुद्धसमेत लड्नुभएको थियो। सो क्रममा उहाँले भूमिगत तथा जेलजीवनसमेत बिताउनुपरेको थियो। २०१९ सालदेखि राजनीतिबाट टाढिनुभएका पन्त त्यसपछि पूर्ण रूपमा लेखनमा लाग्नुभएको थियो।
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। सो क्रममा पन्त भारत (सिक्किम, दार्जिलिङ, कुमाउँ–गढवाल, आसाम, हिमाञ्चल प्रदेश), चीन, भुटान, पाकिस्तान, श्रीलंका तथा बेलायतमा पुग्नुभएको थियो। म्याट्रिक पास गर्नुभएका पन्तलाई नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, अंग्रेजी भाषाको समेत ज्ञान थियो।
उहाँको जन्म १९६४ साल भदौ ६ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो। पिता नरेन्द्र पन्त, माता निलकुमारी पन्तका कान्छा छोरा कालीभक्त २००९ सालदेखि भने पर्वतको फलेवासमा बस्दै आउनुभएको थियो। १७ वर्षको उमेरमा कालीभक्तको कृष्णा पन्तसँग विवाह भएको थियो। उहाँहरूका तीन छोरी र ६ छोरा भए। साहित्यकार देवीप्रसाद वनवासीका अनुसार पन्तको जन्मथलो तत्कालीन धौलागिरी अञ्चल, पर्वत जिल्लामा परे पनि उनी प. ४ नं. स्याङ्जा हो। ‘साइलादाइ कहाँ गयो’ भनेर दोहोरी गाउने मसानेका समकालीन पाथे भाइ हुन्। कालीभक्त पन्तका ‘पश्चिम ४ नम्बर (नेपाल) को इतिहास’ (२००९), ‘किसान गीता’ (२०१२), ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’ (२०२७), ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८), ‘गीत सुधारको राष्ट्रिय बाटो’ (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भबध’ (नाटक, निधनपश्चात् २०५० मा प्रकाशित) लगायतका कृति प्रकाशित छन्। यसबाहेक पन्तका विभिन्न विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन्।
विशेषगरी ‘हाम्रो सांस्कृतिक इतिहास’मा पन्तले राष्ट्रिय संस्कृति र यसको आवश्यकताको विषयबाट सुरु गरी राष्ट्रियता, हाम्रा गीत, भाषा आदिको प्रारम्भिक स्थिति, नेपालमा झ्याउरे गीतको बीजरोपण, हाम्रा देशका गीतहरूको बनावटको सिलसिला, गीतको आइनो गर्दा भाषा र लिपि, हाम्रा राष्ट्रिय ध्वनिको दिग्दर्शन र विश्वका गीतका ध्वनिहरू, हाम्रा गीतका बीजरोपक र परिवर्तनकर्ता, हाम्रा गीतका छन्दहरू, लोकगीत र तीबाहेकका गीत–बाजा, हाम्रा गीत–बाजाका भेद, गीतको संक्षिप्त महिमा, दार्जिलिङ–सिक्किम–भुटानका गोर्खालीका र हाम्रा गीतमा एकरूपता, हाम्रा देशमा शास्त्रीय संगीतलगायतका विषयमा केन्द्रित रहेर नेपालको समग्र सांस्कृतिक इतिहासलाई खोजी अभिलेख गर्ने काम गर्नुभएको छ।
दिवंगत संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पन्तको यसै कृति अध्ययन गरेर आफूलाई उहाँप्रति निकै श्रद्धा लागेको बताउनुभएको थियो। उहाँले पन्तलाई लोकसंस्कृतिको अगुवा बताउँदै सो समयमा लोकगीत, परम्परा र संस्कृतिका सम्बन्धमा कलम चलाई योगदान पुर्याउनु अतुलनीय रहेको बताउनुभएको थियो। भाषा तथा लोकसंस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुका अनुसार पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’मा लोकगीत र लोकनृत्यलाई राष्ट्रिय संस्कृतिका महत्त्वपूर्ण अंगका रूपमा विवेचना गर्नुभएको छ। उहाँका अनुसार यस कृतिमा धेरै कुरा पहिलोपटक प्रस्तुत गरिएका छन् र नेपाली भाषा र लोकगीतमा अनुसन्धान गर्नेहरूका लागि यी तथ्य र विश्लेषण स्रोतका रूपमा रहेका छन्।
बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई सहगान, सहनृत्य र सहकार्यमा अनिवार्य रूपले सहभागी बनाएर उपयोगी शिक्षा दिन सकिन्छ भन्ने उहाँको महत्त्वपूर्ण मान्यता पनि यस कृतिमा चर्चित छ। ‘गीत सुधारको राष्ट्रिय बाटो’ पुस्तक पन्तले नेपालीले आफ्नै सांस्कृतिक पद्धतिअनुसार गीत सुधार गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले तयार गर्नुभएको थियो। जसमा उहाँले गायन र नृत्यकलाको प्रारम्भ, नाच्ने–गाउने भावना र गला–कला, छन्दसाहित्य (तीजे, लहरी, झ्याउरे, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी आदि), हाम्रा पुर्खाकालीन सांगीतिक शाब्दिक सरजाम, गीतको संक्षिप्त महिमा, बहादुर सिंह बराल र नेपाली गीतका बनावटको इतिहास, आफ्नोपना र त्यसको पूर्ति, गीतका संज्ञा, परिभाषा र शब्दकोश, संगीत शब्द र भ्रम, हाम्रा गीत साहित्यले बदल्दै आएको ऐतिहासिक मोड, गीत रेकर्ड गर्नुभन्दा पहिले, केही फुटकर कुरा र गुनासाहरूलगायतका शीर्षकमा रहेर नेपाली गीतसंगीतका विविध विषय तथा पक्षको चर्चा गर्नुभएको छ।
संस्कृतिविद् तुलसी दिवस पन्तका ‘हाम्रो सांस्कृतिक इतिहास’ र ‘गीत सुधारको राष्ट्रिय बाटो’ पढेपछि उहाँबाट निकै प्रभावित हुनुभएको थियो। उहाँका अनुसार ‘नेपालको मेची–महाकालीलगायत पूर्वदार्जिलिङ, सिक्किमदेखि पश्चिम कुमाउँ–गढवालसम्म आफैं घुमेर लोकगीत, साहित्य र संस्कृतिको तथ्य संकलन र अन्वेषण गर्नु त्यो समयमा चानचुने कुरा थिएन, त्यो पनि आफ्नै खर्चले।’
यस्तै पन्तले लेखेका तथा संकलन गरेका थुप्रै रचना तथा कृतिहरू अझै अप्रकाशित देखिन्छन्। तिनलाई संकलन तथा सम्पादन गरी प्रकाशन गर्नु आवश्यक देखिन्छ।
उहाँको निधन भने २०४८ फागुन ६ गते भएको थियो। कालीभक्तको निधन हुनुभन्दा २२ वर्षअघि अर्थात् २०२६ माघ ११ गते नै धर्मपत्नी कृष्णा पन्तको ६० वर्षको उमेरमा निधन भइसकेको थियो। उहाँहरूको स्मृतिमा २०७४ वैशाख १ गतेदेखि कालीभक्त कृष्णा पन्त प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले ‘स्रष्टा कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’सँगै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, मानवीय सहयोग तथा सांस्कृतिक गतिविधि पनि गर्दै आएको छ।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...