सम्झनामा प्राध्यापक राजेन्द्र सुवेदी
१५ जेष्ठ २०७८
•
११ मिनेट पाठ
सम्झनामा प्राध्यापक राजेन्द्र सुवेदी

नन्दु उप्रेती

 




राजेन्द्र सुवेदी हजुरबुवाको फोन।’  

सानो छोराले मेरो मोबाइलमा आएको फोन रिसिभ  ग¥यो र दर्शन हजुरबुवा..., हस् भन्दै मोबाइल मेरो हातमा दियो । मैले अभिवादन गर्न भ्याउँदा नभ्याउँदै उहाँ सोध्न थालिहाल्नुभयो, ‘के छ तिमीहरूको खबर ? सञ्चै त छौ नि ?’  

‘भूमिका लेखेर उतै पेज सेटिङ गर्ने ठाउँतिरै मेल गरिदिएको छु। निबन्धका क्रम अलिअलि यताउता मिलाइदिएको छु।  केही निबन्धमा शुद्धाशुद्धी हेर्न बाँकी रहेछ राम्ररी हेर्नु है।’ 

इलामका अग्रज साहित्यकार कीर्तिशेष विष्णु नवीनका अप्रकाशित कृतिहरू प्रकाशन गर्ने इलाम नगरपालिका साहित्य कला संगीत प्रतिष्ठानको योजना अनुसार सम्पादन कार्यको जिम्मेवारी वहन गर्दै थिएँ म । १.हास्यव्यङ्ग्य २.कविता ३.अनुसन्धान र समालोचना ४.कथा एवम् रोचक प्रसङ्ग आदि समेटेर भिन्नभिन्न चारवटा कृतिहरू तयार गर्दै थिएँ । हास्यव्यङ्ग्य र कविता कृतिको सम्पादन म एक्लै गर्दै थिए भने अरू दुई कृतिहरू म र अर्का इलामे साहित्यकार इन्द्रनारायण सुवेदीले संयुक्त रूपमा हेरिरहेका थियौं । वरिष्ठ साहित्यकार पारिजातको स्मृति दिवसको अवसरमा २०७८ वैशाख ४ र ५ गते इलाममा नेपाल प्रज्ञा प्रतिष्ठान र इलाम नगरपालिका साहित्य कला संगीत प्रतिष्ठानको संयुक्त आयोजनामा इलाम वाङ्मय सङ्गोष्ठी — २०७८ हुँदै थियो । सोही कार्यक्रममा नवीनका चारवटै पुस्तकहरू सार्वजनिकीकरण गर्ने योजना बनिसकेको थियो । इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानकी अध्यक्ष श्रीमती टीका घिमिरे काठमाडौंमै बसेर पुस्तकहरूको प्रकाशनको व्यवस्थापनमा खटिरहनुभएको थियो।

विष्णु नविनका अप्रकाशित कृतिहरू प्रकाशन गर्न लागेको जानकारी गराएको थिएँ मैले राजेन्द्र सुवेदी सरलाई २०७७ सालको चैत्रको सुरुवाततिर । असाध्यै खुसी हुनुभएको थियो उहाँ र मैले केही सघाउनुपर्छ त भनेर सोध्नुभएको थियो त्यहीबेला। यसले उहाँको इलाम र इलामका प्रतिभाप्रतिको अगाध स्नेह र प्रेम प्रष्ट पार्थ्यो।

व्यङ्ग्य निबन्धहरूको सङ्ग्रहको भूमिका तपाईंलाई लेखाउने विचार गरेको  छु भन्दा अझै खुसी हुँदै उहाँले तुरुन्तै इमेलमा पठाइदेऊ भनेर हार्दिकता प्रकट गर्नुभएको थियो।

विष्णु नवीनको कृतिको भूमिका लेखाउन राजेन्द्र सुवेदी नै रोज्नुका कारण अनेक थिए । प्रथमतः वरिष्ठ समालोचक राजेन्द्र सुवेदी स्वयं विशिष्ट व्यङ्ग्य निबन्ध साधक हुनुहुन्थ्यो । दोस्रो, नवीनका विशिष्ट कोटीका व्यङ्ग्य निबन्धलाई नेपाली साहित्य जगतमा अझ परिचित गर्न उहाँको भूमिका अवश्य पनि बलशाली हुने थियो। तेस्रो, दुवै जना एकै क्षेत्रका सर्जक हुनुहुन्थ्यो । चौथो, राजेन्द्र सुवेदीको इलामको लामो बसाइका कारण उहाँले विष्णु नविनलाई अन्तरङ्ग बुझ्नुभएको कुरा मलाई थाहा थियो । पाँचौं इलामेहरूले राजेन्द्र सुवेदीलाई सधै इलामे नै ठान्छन् । उहाँले महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा प्राध्यापन गर्दा एवं सोही क्याम्पसको क्याम्पस प्रमुख भएर बस्दा सामाजिक व्यवहार र जीवनशैलीले आफूलाई इलामे नै बनाउनुभएको थियो । नवीनको पुस्तकमा उहाँले लेखेको भूमिकाले उहाँलाई इलाम र इलामसँग अझ निकट बनाउँछ भन्ने ठानेँ मैले ।  

मैले धन्यवाद भन्दै पुस्तकको नामका बारेमा पनि जिज्ञासा राखँे।  पुस्तकको भूमिका लेख्न निबन्धहरू पठाउँदा मैले राखेको पुस्तकको नाम मलाई नि चित्त बुझिरहेको थिएन । उहाँलाई नामबारे पनि सोची दिन अनुरोध गरेको थिएँ ।  

‘तिमीले राखेको नाम पनि राम्रो छ तर अझ राम्रोचाहिँ ‘सोझा नवीनका बाङ्गा निबन्ध’ होला कि ! एकचोटि विचार गर्नु । पुस्तकको नाममा नै नवीन जोडिएको राम्रो।’  

मैले खुशी व्यक्त गर्दै हस् भन्नासाथ हाम्रो संवाद टुङ्गियो । तर अझै केही कुरा गर्न बाँकी थियो उहाँसँग । दुई दिनपछि पर्सिपल्ट चैत्र १४ गते नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा मेरो पाँचौं पुस्तक ‘कालापानी यात्रा’को लोकार्पण कार्यक्रमको तयारी भइरहेको थियो। त्यसका लागि उहाँलाई विशिष्ट अतिथिका रूपमा उपस्थित भइदिन अनुरोध गरेको थिएँ केही दिनअघि।  

‘म धेरै काममा व्यस्त छु आजभोलि । शरीर पनि अलिअलि अस्वस्थ छ। पछि टुङ्गो गरौँला है । तिम्रो कार्यक्रम नछुटाउने प्रयास गर्नेछु।’

उहाँले भनेका यिनै कुरा सम्झिएर तुरुन्त फोन गरेँ। सम्झाए  पर्सिको कार्यक्रमको कुरा।

‘यसपटक माफ गर है । आजभोलि नै मैले धेरै काम गर्नुछ । कमल आउँछ नि तिम्रो साथी, हुन्न र ? पछि किताबका बारेमा अन्तरक्रिया, छलफल कार्यक्रम भयो भने म पक्का आउँला है । मेरो भूमिका जे हुन्छ त्यहीबेला निर्वाह गर्छु ल।’

मनमा त बेखुसी छायो तर मैले सहजै हस् भनें । पछिका कार्यक्रमका लागि उहाँले दिनुभएको वचनले मलाई खुशी नै बनायो । खासगरी नेपाली बृहत साहित्य कोश लेखनको कामले उहाँलाई अत्यन्त व्यस्त बनाइरहेको थियो त्यसबखत ।

वैशाख ४ र ५ गते इलाममा विष्णु नवीनका तीनवटा पुस्तकहरू सार्वजनिकीकरण गरिए । नवीनका सबै कविताहरू सङ्कलन गर्न भ्याइएन यसपटक। अर्को सालतिर कविता सङ्ग्रह प्रकाशित गर्ने सल्लाह गरयौं टीका घिमिरे भाउजू र मैले । त्यसैले नवीनका तीनवटा पुस्तकहरू मात्र प्रकाशित भए यसपटक । कविता सङ्ग्रह अर्को सालका लागि थाती रह्यो ।  

राजेन्द्र सुवेदीले लेख्नुभएको भूमिका उच्चकोटिको समालोचना थियो। जसका कारण एकपटक फेरि राजेन्द्र सुवेदी र इलामको अझ गहिरो सम्बन्ध थपिएको अनुभव गरे इलामेहरूले। झन्डै पाँचदशक अगाडि आरम्भ भएको राजेन्द्र सुवेदीको इलामे जीवन सम्झन पाए उनीहरूले।

राजेन्द्र सुवेदीको प्राध्यापन कर्म महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा २०३० सालको सुरुवातीबाट प्रारम्भ भयो। ६ वर्ष इलाम क्याम्पसमा पढाउँदा उहाँले आफूलाई कर्म, व्यावहार र जीवनशैलीले इलामे कै रूपमा स्थापित गरिसक्नुभएको थियो । तीन वर्षजति इलाम छोडेर फेरि २०३९ सालमा सोही क्याम्पसको क्याम्पस प्रमुख भएर आएपछि २०४५ सालसम्म इलाममै रहनुभयो । क्याम्पस प्रमुखको दुई कार्यकालले उहाँलाई असल एवं कुशल क्याम्पस प्रमुख, व्यवस्थापक र प्रशासकका रुपमा चिनायो। उत्कृष्ट शिक्षण क्षमता र शैलीका कारण विद्यार्र्थीहरूबीच उहाँको प्रतिष्ठा सगरमाथाझैं उच्च बन्यो । इमानदारिता र स्पष्टवादिताका लागि उहाँ सतिसालको रूखको पर्याय हुनुहुन्थ्यो । ज्ञान, चेतना र विवेकका प्यासी विद्यार्थीहरू हुन् या अरू नै कोही हुन् उनीहरूका लागि सुवेदी हिमालबाट निस्किएर बगेको नदीजस्तै हुनुहुन्थ्यो जो अटुट बगिरहन्छ।

राजेन्द्र सुवेदी कर्ममा लगनशीलता, निष्ठा, जाँगर, निरन्तरता र इमानदारिताको पर्यायजस्तै हुनुहुन्थ्यो । विश्व महामारी कोभिड —१९का कारण उहाँको भौतिक जीवन अप्रत्यासित रूपमा २०७८ साल जेठ ३ गते सदासदाका लागि समाप्त भयो।

सम्झदा अपत्यारिलो लाग्छ तर सत्य हो अब त्यो सगरमाथाजस्तो उच्च मनोबल र सतिसालजस्तो निष्ठा र दृढता बोकेको राजेन्द्र सुवेदीलाई भौतिक रूपमा कतै पनि भेट्न सकिँदैन । मेरो मनमा अहिले बालककालदेखि हालसम्म उहाँको निकट रहँदाका अनेकौं सम्झनाहरू ताजा भएर आइरहेका छन्।

मेरो जेठो दाजु धर्मप्रसाद उप्रेती (पूर्व क्याम्पस प्रमुख महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाम) र राजेन्द्र सुवेदीको प्राध्यापन पेशा एकैसाल सुरु भएको थियो  चार छ महिनाको फरकमा । उहाँहरूको सम्बन्ध साथीसाथी जस्तो हुँदै एकाघरका दाजुभाइको जस्तो हुनपुग्यो । तिहारमा मेरा दिदीबहिनीहरू टिकाको रंगीन थाली बोकेर सबभन्दा पहिले राजेन्द्र सुवेदीको अगाडि पुग्नुहुन्थ्यो र अन्तिममा मसम्म आइपुग्नुहुन्थ्यो । दिदीबहिनीहरूका हातबाट हाम्रा निधारमा इन्द्रेनी टीका सजिन्थे र गलामा सयपत्री, गोदावरी र मखमलीका मालाहरू लर्कन्थे । उहाँको छोरो कमल सुवेदी र मेरो विद्यालय मात्रै एउटै थिएन कक्षा पनि एउटै थियो। कक्षा मात्रै एउटै हैन सेक्सन पनि एउटै हुन्थ्यो । त्यति मात्र हैन हामी कक्षामा प्रायः एउटै बेन्चमा बस्ने गथ्र्यौं । कमलको स्वभाव अलिअलि लजालु खालको थियो । ऊ हामीजस्तो खोलेर बोल्दैनथ्यो जोकोहीसँग।  ऊ र मभने निकट थियो अत्यन्तै एकअर्कामा । त्यो बालक कालमै पनि म उसको घरमा गएँ भने साँझमा फर्कन्नथेँ आफ्नो घर । ऊ पनि त्यसै गथ्र्यो, मेरो घरमा आयो भने साँझमा फर्कन्नथ्यो आफ्नो घर। हाम्रो बालापन दुईटा घरमा एउटै परिवारको सदस्य जस्तो भएर बित्यो।

सानी बहिनी भूमिका एकपटक घरको बरन्डाबाट लडिन् बाटोको छेउमा पछारिने गरी । सानै थिइन् उनी । दुर्घटना निकै ठूलो थियो त्यो । बहिनीको टाउको गम्भीर रूपमा ठोक्कियो सडक किनारमा। लामो समयसम्म उपचार गर्नुप¥र्यो उनलाई । त्यो पीडाले हामीलाई पनि धेरै समयसम्म आफ्नै पीडाका रूपमा सताइरह्यो । टेलिफोनको सुविधा थिएन इलाममा त्यसबेला । धर्म दाईले त क्याम्पसमै थाहा पाउनुहुन्थ्यो भूमिकाको अवस्था । मचाहिँ सधैं घरै जान्थे । पुष्पा बहिनीलाई मेरी आमा असाध्यै मन पराउनुहुन्थ्यो। गुडिया भन्नुहुन्थ्यो उनलाई ।  

इलाम बजारबाट बिस पच्चिस मिनेट टाढा पर्ने ठाउँ बर्भैयामा खेतीपातीको जग्गा लिनुभयो राजेन्द्र सरले । ठूलाठूला सुन्तलाका बोटहरू थिए त्यहाँ। धान, मकै, गहुँ लगाउने खेत थियो । बोटमा चढेर सुन्तला टिप्थ्यौं हामी केटाकेटी । राजेन्द्र सर आउनु भएपछि भुइँबाटै तन्किएर टिपेर दिनुहुन्थ्यो सुन्तला हामीलाई । दाजुको साथी भएकाले कहिले दाजु भन्थे म उहाँलाई त कहिले राजेन्द्र सर । भाउजूले कमललाई र मलाई समान माया गर्नुहुन्थ्यो । गाई पालेको थियो बर्भैयामा । बटुकामा भाउजूले कमल र मलाई बराबर दिनुहुन्थ्यो दुध । घर फर्कदा झोलाभरि सुन्तला बोकेर फर्कन्थे म ।

हामी केटाहरू त सर्ट र हाफपेन्ट लगाउँथ्यो प्राय । ठूला लोग्नेमान्छेहरूले घरमा बस्दा प्राय लुँगी लगाउने चलन थियो त्योबेला इलाममा । काम गर्दा लुँगी सरक्क घुँडासम्म मात्र हुनेगरी फर्काएर लगाउने गर्थे लुँगी लगाउनेहरू । राजेन्द्र सर लुँगी त्यसरी नै लगाएर खेत खन्ने, आली तास्ने, आली लगाउने, बाउसे गर्ने गर्नुहुन्थ्यो। खेतबारीमा काम गर्न असाध्यै रमाउनुहुन्थ्यो उहाँ । श्रमप्रति गहिरो आस्था र लगाव थियो । एकपटक रोपाइँको दिन म खूब रमाएको थिएँ बर्भैयाको राजेन्द्र सरको खेतमा ।

काठमाडौं सरुवा भएपछि २०३६ सालमा छ वर्षको अवधि इलामलाई सुम्पेर राजेन्द्र सरको परिवार काठमाडौँतिर लाग्यो ।  

तीन वर्षको समय बित्यो चिठीपत्रमार्फत हालखबर सोधपुछ गर्दै । राजेन्द्र सर २०३९ सालमा इलाम क्याम्पसको प्रमुख भएर फेरि इलाम नै फर्कनुभयो । एसएलसी दिने साल कमलचाहिँ फर्किएन । राजेन्द्र सरको परिवारको बसोबास क्याम्पसको क्वार्टरमै थियो । म पनि क्याम्पस पढ्न थालँे । साहित्य र राजनीतिमा निकै चाख राख्थेँ म । मैले लेखेका कविताहरूको पहिलो पाठक प्राय राजेन्द्र सर नै हुनुहुन्थ्यो । कविता भएन कहिल्यै भन्नुभएन तर सधैं सिकाउनुभयो कविता लेख्न, कविताका लागि शब्दहरू छान्न, तिनलाई अर्थयुक्त बनाउन, बिम्ब र प्रतीकको पहिचान गर्न र तिनलाई प्रयोग गर्न । उहाँबाट सुझाव सल्लाह र ज्ञान पाएपछि सच्याइएका मेरा कविता इलाममा त्यो समयमा राम्रा कविता मानिन्थे ।  

तत्कालीन पञ्चायत विरोधी विद्यार्र्थी राजनीतिमा सक्रिय भएका कारण मजस्ता विद्यार्र्थीहरूका लागि प्रशासनबाट जहिल्यै खतरा हुन्थ्यो । राजेन्द्र सर क्याम्पस प्रमुख भएका कारण हामीलाई क्याम्पस क्षेत्रमा निर्धक्कसँग राजनीतिक गतिविधि सञ्चालन गर्न सजिलो हुन्थ्यो । प्रहरी प्रशासनको निगरानीबारे नजानिँदो किसिमले उहाँबाट हामी जानकारी प्राप्त गरिसक्थ्यौं र बच्थ्यौं धरपकट र गिरफ्तारीबाट । विद्यार्र्थी छात्रावास र नगरक्षेत्रमा रहेका भूमिगत राजनीतिक कार्यकर्ताहरूलाई सुरक्षित गर्न पनि हामीलाई ठूलो सहयोग पुग्थ्यो ।  यसर्थमा इलामको पञ्चायत विरोधी आन्दोलनमा राजेन्द्र सरको योगदान अविस्मरणीय रह्यो । उहाँ आफैले भूमिगत राजनीतिक पार्र्टीको सम्पर्कमा रहेर सहयोग गर्ने काम त आफ्नो ठाउँमा छँदै थियो।

मेरो व्यक्तिगत जीवनमा अर्र्काे कुराले पनि सधैं सम्झाइरहनेछ राजेन्द्र सरलाई । म इलाम  क्याम्पसमा पढदा अल्सरको बिमारी थिएँ । एकैचोटि धेरै खान पनि नमिल्ने र धेरैबेर नखाई खाली पेट पनि बस्न नहुने । बेलाबेला थोरै थोरै खाइरहनुपर्ने । घरमा आएर खाँदै जान सम्भव थिएन । धेरैजसो बिहानको खाना मेरा लागि पनि राजेन्द्र सरकै क्वाटरमा पाक्ने गथ्र्यो । कतिपय दिनमा त तिम्रो जाउलो खाने बेला भयो भन्दै सम्झाइदिनुहुन्थ्यो उहाँले नै । उता क्वाटरको भान्सामा भाउजूले साँच्चै नै मेथी पड्काएर जाउलो पकाई दिनुभएको हुन्थ्यो । जाउलो साह्रै मिठो हुन्थ्यो । त्यो जाउलो जाउलो मात्र हुँदैनथ्यो । सायद उहाँले मेरा लागि जाउलो पकाइरहँदा मनभरिको आमाको माया पनि खन्याइदिनुहुन्थ्यो त्यसमा ।   त्यो जाउलो मेरा लागि माया हुन्थ्यो, प्रेम हुन्थ्यो र स्नेह हुन्थ्यो । मेरा लागि औषधि हुन्थ्यो त्यो । त्यही जाउलो खाएर म दिउँसो अबेरसम्म पुस्तकालयमा अध्ययन र विद्यार्थी राजनीतिसँग सम्बन्धित काम गरेर घर फर्कन्थे ।  

ठुली बहिनी दुर्गा जो पाँचथरमै पढ्थिन् । पछिमात्रै इलाम आएकी हुन् उनी । २०४५ सालमा उनको निधन भयो । यो सन्तान वियोगको पीडाले राजेन्द्रसरको परिवारलाई ठुलो चोट पु¥यायो । हामी थुप्रै निकटका मान्छेहरू पनि अत्यन्तै दुःखी बन्यौ । राजेन्द्र सरले सम्हाल्नुभयो आफू र आफ्नो परिवारलाई अनि आफ्नो क्याम्पस प्रमुखको दुई कार्यकाल पूरा गरेर काठमाडौंतर्फ लाग्नुभयो । उहाँले छोड्नुभयो इलाम पूर्वी पहाड र झापाका सयौं विद्यार्थीहरू र इलामेहरूलाई कहिल्यै नबिर्सने ज्ञानगुण, बुध्दिविवेक, प्रेम, स्नेह र सहृदयताको सम्झना दिएर । दुईपटक गरेर लगभग एक दर्जन वर्षहरूको समयको दियोमा आफ्नो ज्ञान, सिप, निष्ठा, विवेक, इमानदारिता, क्षमता, श्रम र कर्तब्यको कहिल्यै ननिभ्ने दियो झलमल झलमल जलाएर । म पनि त्यसै साल अध्ययन र उपचारको क्रममा काठमाडौंतिर लागें।

मेरो बाल्यकाल र इलाम क्याम्पसमा अध्ययन गर्दाका दिनहरूमा राजेन्द्र सरको निकटताले र मार्गनिर्देशनले मेरो बालापनलाई खुशी बनायो, मलाई क्षमता अनुसारको साहित्यिक सिर्जनामा उत्प्रेरित गरायो र राजनीतिमा विचारको महत्व र निष्ठाको उचाइ देखायो, सद्भावना र प्रेम सिकायो।

तीन दशकभन्दा लामो काठमाडौंको बसाइमा आदरणीय अभिभावक गुरुदेव प्राध्यापक राजेन्द्र सुवेदीसँग मेरो जीवनका पारिवारिक सम्बन्ध, सामाजिक सम्बन्ध, राजनीतिक सम्बन्ध, साहित्यिक आदि अनेकन सम्बन्ध अत्यन्तै आत्मीयतापूर्वक गाँसिएका छन् । तिनलाई फेरिफेरि सम्झना गरौँला। इलामका अग्रज साहित्यकार विष्णु नवीनका अप्रकाशित पुस्तकको भूमिका लेखिँदाको कुराकानी नै आदरणीय राजेन्द्र सरसँग मेरो अन्तिम कुराकानी भयो । सायद त्यही नै होला उहाँको अन्तिम समालोचकीय सिर्जना पनि । अश्रुमिश्रित हार्दिक श्रद्धाञ्जलि प्रिय विद्वान अभिभावक गुरुदेव प्राध्यापक राजेन्द्र सुवेदीज्यू !
अर्को समाचार
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
१३ मिनेट अघि
•
१ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
काठमाडाैं, नेपाली लोकसंस्कृतिका अनुसन्धाता तथा प्रजातन्त्रका सेनानी स्व. कालीभक्त पन्तले नेपाली संस्कृति, गीतसंगीतलगायत तत्कालीन नेपाली समाजका विविध विषय तथा क्षेत्रको खोज, अनुसन्धान मात्र गर्नुभएन, नयाँ पुस्तालाई त्यसको अभिलेखसमेत तयार गरिदिनुभयो। त्यसकै आधारमा अहिलेको पुस्ताले त्यो बेलाको नेपालको इतिहास थाहा पाएको छ। उहाँको अर्को परिचय भनेको गीतकार, लोकगीत संकलक तथा गायकको पनि हो। उहाँले लेखेको लोकगीत रेडियो नेपालबाट प्रसारण भइरहेका छन्। ‘क्या यस्तो चाल पर्‍यो, मायासित बोल्दैमा गाल पर्‍यो’ तीमध्ये एक हो। प्राध्यापक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पन्तको गायनको क्षेत्रमा प्रवेश गर्नुको उद्देश्य गायक बनी नाम कमाउने थिएन। उहाँले नेपाली समाज अशिक्षित भएकाले समाजमा लोकगीतमार्फत जागरण ल्याउन पुस्तक–पुस्तिका, पम्प्लेट आदिको माध्यमबाट मात्र सम्भव नहुने हुँदा गाउँलेहरूलाई बुझाउने लोकगीतहरू रचेर अनेकौं सांस्कृतिक कार्यक्रमहरू गर्नुहुन्थ्यो। उहाँलाई जनतामा कसरी राजनीतिक, सामाजिक चेतना बढाउने भन्ने तरिकाको ज्ञान थियो।




यसरी गाउँलेहरूमा राजनीतिक चेतनाको अभिवृद्धि गर्न उहाँले सांस्कृतिक टोलीहरूको गठन पनि गर्नुभएको थियो। सो समयमा पन्तले ब्यान्जोको आकारको ‘कालीबाजा’को निर्माण पनि गर्नुभएको थियो। यो पनि अब एउटा इतिहास बनिसकेको छ। पर्वत तथा बागलुङमा हुने चैते–दसैंजस्ता मेलामा पन्तले महिला जागरणको मात्र नभई कन्या बेच्ने बाबुआमाविरोधी गीत पनि गाउनुभएको थियो। उदाहरणका लागि ‘छोरी बेचा हे बाहुन बाजे/अझै तँलाई लाग्दैन सरम’, ‘बिहा मलाई गर्ने हो भने/ल्याउनु होला कत्तुवा, चर्खा, तान’ उहाँले समाजका छुवाछुतलगायतका रूढिवादी परम्पराको अन्त्य तथा महिला र जनजातिको उत्थान गर्ने उद्देश्य राखेर विविध चेतनामूलक कार्य गर्नुभएको थियो।

२००७ सालको राजनीतिक परिवर्तनको आन्दोलनका बेला पश्चिम ४ नम्बरको कमान्डरको जिम्मेवारी पाउनुभएका पन्तले क्रान्तिका नेताका रूपमा पर्वत कुस्मा र बागलुङको मुक्तिसेना सञ्चालन गर्नुभएको थियो। त्यस्तै, पन्तले सो क्षेत्र कब्जा गरी सर्वश्री ओमप्रसाद गौचनको नेतृत्वको प्रान्तीय सरकारमा उपप्रधानमन्त्री भई काम गर्नुभएको थियो। यस समयमा पन्तले सूचना विभाग हेर्नुपथ्र्यो। २०१७ सालको पञ्चायती व्यवस्थाविरुद्धसमेत लड्नुभएको थियो। सो क्रममा उहाँले भूमिगत तथा जेलजीवनसमेत बिताउनुपरेको थियो। २०१९ सालदेखि राजनीतिबाट टाढिनुभएका पन्त त्यसपछि पूर्ण रूपमा लेखनमा लाग्नुभएको थियो।

इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। सो क्रममा पन्त भारत (सिक्किम, दार्जिलिङ, कुमाउँ–गढवाल, आसाम, हिमाञ्चल प्रदेश), चीन, भुटान, पाकिस्तान, श्रीलंका तथा बेलायतमा पुग्नुभएको थियो। म्याट्रिक पास गर्नुभएका पन्तलाई नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, अंग्रेजी भाषाको समेत ज्ञान थियो।

उहाँको जन्म १९६४ साल भदौ ६ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो। पिता नरेन्द्र पन्त, माता निलकुमारी पन्तका कान्छा छोरा कालीभक्त २००९ सालदेखि भने पर्वतको फलेवासमा बस्दै आउनुभएको थियो। १७ वर्षको उमेरमा कालीभक्तको कृष्णा पन्तसँग विवाह भएको थियो। उहाँहरूका तीन छोरी र ६ छोरा भए। साहित्यकार देवीप्रसाद वनवासीका अनुसार पन्तको जन्मथलो तत्कालीन धौलागिरी अञ्चल, पर्वत जिल्लामा परे पनि उनी प. ४ नं. स्याङ्जा हो। ‘साइलादाइ कहाँ गयो’ भनेर दोहोरी गाउने मसानेका समकालीन पाथे भाइ हुन्। 
कालीभक्त पन्तका ‘पश्चिम ४ नम्बर (नेपाल) को इतिहास’ (२००९), ‘किसान गीता’ (२०१२), ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’ (२०२७), ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८), ‘गीत सुधारको राष्ट्रिय बाटो’ (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भबध’ (नाटक, निधनपश्चात् २०५० मा प्रकाशित) लगायतका कृति प्रकाशित छन्। यसबाहेक पन्तका विभिन्न विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन्।

विशेषगरी ‘हाम्रो सांस्कृतिक इतिहास’मा पन्तले राष्ट्रिय संस्कृति र यसको आवश्यकताको विषयबाट सुरु गरी राष्ट्रियता, हाम्रा गीत, भाषा आदिको प्रारम्भिक स्थिति, नेपालमा झ्याउरे गीतको बीजरोपण, हाम्रा देशका गीतहरूको बनावटको सिलसिला, गीतको आइनो गर्दा भाषा र लिपि, हाम्रा राष्ट्रिय ध्वनिको दिग्दर्शन र विश्वका गीतका ध्वनिहरू, हाम्रा गीतका बीजरोपक र परिवर्तनकर्ता, हाम्रा गीतका छन्दहरू, लोकगीत र तीबाहेकका गीत–बाजा, हाम्रा गीत–बाजाका भेद, गीतको संक्षिप्त महिमा, दार्जिलिङ–सिक्किम–भुटानका गोर्खालीका र हाम्रा गीतमा एकरूपता, हाम्रा देशमा शास्त्रीय संगीतलगायतका विषयमा केन्द्रित रहेर नेपालको समग्र सांस्कृतिक इतिहासलाई खोजी अभिलेख गर्ने काम गर्नुभएको छ।

दिवंगत संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पन्तको यसै कृति अध्ययन गरेर आफूलाई उहाँप्रति निकै श्रद्धा लागेको बताउनुभएको थियो। उहाँले पन्तलाई लोकसंस्कृतिको अगुवा बताउँदै सो समयमा लोकगीत, परम्परा र संस्कृतिका सम्बन्धमा कलम चलाई योगदान पुर्‍याउनु अतुलनीय रहेको बताउनुभएको थियो। भाषा तथा लोकसंस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुका अनुसार पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’मा लोकगीत र लोकनृत्यलाई राष्ट्रिय संस्कृतिका महत्त्वपूर्ण अंगका रूपमा विवेचना गर्नुभएको छ। उहाँका अनुसार यस कृतिमा धेरै कुरा पहिलोपटक प्रस्तुत गरिएका छन् र नेपाली भाषा र लोकगीतमा अनुसन्धान गर्नेहरूका लागि यी तथ्य र विश्लेषण स्रोतका रूपमा रहेका छन्।

बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई सहगान, सहनृत्य र सहकार्यमा अनिवार्य रूपले सहभागी बनाएर उपयोगी शिक्षा दिन सकिन्छ भन्ने उहाँको महत्त्वपूर्ण मान्यता पनि यस कृतिमा चर्चित छ। ‘गीत सुधारको राष्ट्रिय बाटो’ पुस्तक पन्तले नेपालीले आफ्नै सांस्कृतिक पद्धतिअनुसार गीत सुधार गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले तयार गर्नुभएको थियो। जसमा उहाँले गायन र नृत्यकलाको प्रारम्भ, नाच्ने–गाउने भावना र गला–कला, छन्दसाहित्य (तीजे, लहरी, झ्याउरे, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी आदि), हाम्रा पुर्खाकालीन सांगीतिक शाब्दिक सरजाम, गीतको संक्षिप्त महिमा, बहादुर सिंह बराल र नेपाली गीतका बनावटको इतिहास, आफ्नोपना र त्यसको पूर्ति, गीतका संज्ञा, परिभाषा र शब्दकोश, संगीत शब्द र भ्रम, हाम्रा गीत साहित्यले बदल्दै आएको ऐतिहासिक मोड, गीत रेकर्ड गर्नुभन्दा पहिले, केही फुटकर कुरा र गुनासाहरूलगायतका शीर्षकमा रहेर नेपाली गीतसंगीतका विविध विषय तथा पक्षको चर्चा गर्नुभएको छ।

संस्कृतिविद् तुलसी दिवस पन्तका ‘हाम्रो सांस्कृतिक इतिहास’ र ‘गीत सुधारको राष्ट्रिय बाटो’ पढेपछि उहाँबाट निकै प्रभावित हुनुभएको थियो। उहाँका अनुसार ‘नेपालको मेची–महाकालीलगायत पूर्वदार्जिलिङ, सिक्किमदेखि पश्चिम कुमाउँ–गढवालसम्म आफैं घुमेर लोकगीत, साहित्य र संस्कृतिको तथ्य संकलन र अन्वेषण गर्नु त्यो समयमा चानचुने कुरा थिएन, त्यो पनि आफ्नै खर्चले।’

यस्तै पन्तले लेखेका तथा संकलन गरेका थुप्रै रचना तथा कृतिहरू अझै अप्रकाशित देखिन्छन्। तिनलाई संकलन तथा सम्पादन गरी प्रकाशन गर्नु आवश्यक देखिन्छ।

उहाँको निधन भने २०४८ फागुन ६ गते भएको थियो। कालीभक्तको निधन हुनुभन्दा २२ वर्षअघि अर्थात् २०२६ माघ ११ गते नै धर्मपत्नी कृष्णा पन्तको ६० वर्षको उमेरमा निधन भइसकेको थियो। उहाँहरूको स्मृतिमा २०७४ वैशाख १ गतेदेखि कालीभक्त कृष्णा पन्त प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले ‘स्रष्टा कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’सँगै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, मानवीय सहयोग तथा सांस्कृतिक गतिविधि पनि गर्दै आएको छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस