गान्धीवादी निधि ‘अनाशक्त योग’ साधक
१५ फागुन २०७७
•
११ मिनेट पाठ
गान्धीवादी निधि ‘अनाशक्त योग’ साधक
नेपालमा गान्धीका अनुयायी भनेर बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमानसिंह श्रेष्ठ, महेन्द्रनारायण निधि र रामहरि जोशीलाई स्मरण गरिन्छ। नेपालमा अरू पनि गान्धी विचारका अनुयायी र पक्षपाती रहे। राजनीतिमा लागेर स्वतन्त्रता र न्यायका लागि गान्धीको पदचाप पछ्याएका अग्रजलाई नेपाली समाजले गान्धीवादी भनेर चिन्दछ।




अध्येताका नजरबाट उल्लिखित अग्रजमध्ये निधिको आदर्श, चरित्र र व्यवहारमा कति गान्धीवादी गुण रह्यो भनी केलाउन खोजिएको छ। आदर्शनगरी जनकपुरवासी महेन्द्र नारायणलाई किन गान्धीवादी भनेर स्मरण गरिन्छ? उनको जन्म दिनको अवसर पारेर अध्ययन गर्ने जमर्को गरिएको छ।गान्धीको नेतृत्वमा भारतमा स्वतन्त्रताका प्राप्तिको आन्दोलन चलिरहेको थियो। जयप्रकाश नारायण (जेपी) र राममनोहर लोहिया अग्रमोर्चामा थिए।

बिहार पुगेका बखत निधिको लोहियासँग भेट भएछ।लोहियाले भनेछन्, ‘म मारवाडी भएर राजनीतिमा लागेको छु, तपाँई कायस्थ भएर पनि व्यापारमा ?’ लोहियाको उक्त वचनले निधिलाई राजनीतिमा होमिन उत्प्रेरित गर्‍यो।जसरी गान्धीले गोपालकृष्ण गोखलेलाई राजनीतिक गुरु मान्थे, त्यसैगरी निधिले लोहियालाई राजनीतिक गुरु मानेका छन्।निधिले जसरी लोहियालाई आफ्ना राजनीतिक गुरु मानेका छन्, त्यसैगरी निधिका पुत्र विमलेन्द्र निधि (नेपाली कांग्रेसका नेता) ले स्वयं पितालाई आदर्श राजनीतिक गुरु मान्छन्।

नेता विमलेन्द्र निधिले भने, ‘पिताजीमा गान्धीको आदर्श र विचार मात्र नभएर आजीवन चरित्र पनि कायम रह्यो ।’गान्धीले जस्तै सत्य र अहिंसाको जगमा राष्ट्र पुनर्निर्माण हुनुपर्छ र त्यो पुनर्निर्माण गाउँबाट सुरु हुनुपर्छ भन्ने महेन्द्रनारायणको बुझाइ थियो। महेन्द्रनारायणले ०५४ वैशाखमा स्थानीय निकायमा दलविहीन प्रतिस्पर्धा हुनुपर्छ भन्दै विज्ञप्ति निकालेका थिए।विज्ञप्तिमा भनिएको छ, ‘यसभन्दा अगाडि पटक–पटक मैले नेपाली कांग्रेस केन्द्रीय समितिमा पनि गाउँ–गाउँमा दलीय राजनीतिक अभ्यास गर्नु हुँदैन। यसले योग्य मान्छे पाखा लाग्छन् भन्ने कुरा उठाउँदै आएको थिएँ।

तर जिम्मेवार साथीहरूले मेरो भावनालाई बुझ्न सक्नुभएन। गाउँ–गाउँबाट योग्य मान्छे पाखा लाग्दै जाने र दलको झन्डा बोकेका तर अयोग्य मान्छेले स्थानीय सरकारमा प्रतिनिधित्व गर्दै गए भने भोलिको नेपाल कस्तो होला ? स्थानीय निर्वाचनको सन्दर्भमा प्रजातन्त्रवादीका हैसियतले गाउँमा दलीय राजनीतिक अभ्यास हुनुहुँदैन। यसलाई हामीले समयमै निरुत्साहित गर्न सकेनौँ भने भोलि गाउँ, नगर, टोलमा विकासका लागि सोच्ने समाजवादी र विकासपे्रमी योग्य मान्छे पाखा लाग्नेछन् र पार्टीको झन्डा बोकेर भ्रष्टाचार गर्ने गिरोहले समाजलाई गलत बाटोमा लैजानेछन्। त्यसैले आफ्ना गाउँगाउँ, टोलटोलमा योग्य उम्मेदवारलाई विजयी गराई प्रजातन्त्रको अभ्यास गर्न सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीमा अपिल गर्दछु ।’  

२००४ सालमा उनी सत्याग्रहका पक्षपाती रहे। ०१४ सालमा सत्याग्रही हुँदा गिरफ्तारी दिए। ०१७ पुस १ गते नेपाली राजनीतिमा कालो इतिहासका रूपमा दर्ज छ। उक्त काण्डपछि नेपाली कांग्रेसको पटना सम्मेलनले सशस्त्र आन्दोलन गर्ने निर्णय गर्‍यो। हिंसाको राजनीतिमा असहमति प्रकट गर्दै निधि नेपाल फर्किएर गिरफ्तारी दिए ।
यद्यपि गान्धीको आदर्शलाई उनले जीवनमा उतारेका कैयौँ दृष्टान्त छन्। जसरी गान्धीले ‘ग्राम स्वराज’को कल्पना गरेर ‘ग्राम पञ्चायत’ अवधारणामा जसरी स्थानीय निर्वाचन दलविहीन हुनुपर्छ भनेका छन्। त्यही विचारको जगमा निधिले पनि नेपालमा त्यो अभ्यास गर्न चाहे। तर, उनको त्यो विचार र चिन्तन कसले बुझ्ने ?

२००४ सालमा उनी सत्याग्रहका पक्षपाती रहे। ०१४ सालमा सत्याग्रही हुँदा गिरफ्तारी दिए। ०१७ पुस १ गते नेपाली राजनीतिमा कालो इतिहासका रूपमा दर्ज छ। उक्त काण्डपछि नेपाली कांग्रेसको पटना सम्मेलनले सशस्त्र आन्दोलन गर्ने निर्णय गर्‍यो।हिंसाको राजनीतिमा असहमति प्रकट गर्दै निधि नेपाल फर्किएर गिरफ्तारी दिए। उनमा निहित अहिंसात्मक आदर्श विचार त्यसबखत पनि प्रकट हुन पुग्यो।निधि भारत प्रवासमै बसेर जोगिन सक्थे, तर स्वदेश फर्किएर गिरफ्तारी दिए। किन ? सत्याग्रहीको आदर्श गुण कायम राख्न। सच्चा सत्याग्रहीमा स्वदेशी, अपरिग्रह, निर्भय, आत्मसंयमी र आत्मानुशासनको गुण हुनपर्छ।त्यो गुण बोलीमा नभएर व्यवहारमा प्रकट हुनुपर्छ।

सच्चा सत्याग्रही त्यागी, आत्मसंयमी र अपरिग्रही हुनुपर्छ। चारित्रिक एवं नैतिक बल नभईकन कुनै व्यक्ति सत्यको मार्गमा हिँड्न सक्दैन। सत्यका अनुयायीमा मन, वचन र कर्ममा स्वनियन्त्रण गर्न सक्ने क्षमता रहन्छ। अहिंसा र सत्याग्रहबीच अन्योन्याश्रित सम्बन्ध रहन्छ। उल्लिखित गुणका कारण निधि अहिंसात्मक आन्दोलनका पर्यायी बने।

त्यसबखत नेपालमा पनि अहिंसात्मक आन्दोलन चलाउनुपर्छ भन्ने उनको मान्यता रह्यो।हिंसालाई पृष्ठपोषण गर्दै पद र प्रतिष्ठाको राजनीति उनले कहिल्यै गरेनन्।त्यसैले वर्तमान पुस्ताले निधिलाई स्मरण गरिरहन्छ। चिन्तक प्रदीप गिरिका अनुसार नेपाली कांग्रेसको इतिहासमा निधिको त्यो असहमति नै सत्याग्रहको वीजारोपण थियो।कालान्तरमा त्यो विमति ‘पुष्पित पल्वित’ भएर झांगियो।

त्यही असहमतिको जगमा ०४२ सालको सत्याग्रह हुन पुग्यो। ०४२ को जगमा ०४६ को शान्तिपूर्ण आन्दोलन हुन पुग्यो।गिरिले भनेका छन्, ‘०२१ मा मैले निधिसँग हिंसा र अहिंसाका विषयमा बहस गरेको थिएँ।निधिले प्रस्ट भन्नुभएको थियो, म त गान्धीवादी हुँ।’ उनको आदर्श, चिन्तन र चरित्रमा एक रूपता पाइन्छ।वर्तमान कांग्रेस नेतृत्वमा उल्लिखित गुणको अभाव छ।

त्यसबेलाका नेता बिपी कोइराला र सुवर्ण शमशेरसँग पृथक् मत राखेर कांग्रेस भएर बाँच्नु कल्पनाको बाहिरको विषय थियो।त्यसका निम्ति उच्चकोटिको आत्मबल र नैतिक साहसको खाँचो थियो। गिरिले निधिमा उल्लिखित दुवै गुण थियो भनेका छन्। बिपी, गणेशमान, किसुनजी, महेन्द्रनारायण, सिके प्रसाईं, योगेन्द्रमान शेरचन लगायत कैयौँ नेताको आदर्श र निष्ठाले कांग्रेसको राजनीति तप्त थियो। कांग्रेसका लागि त्यो युग स्वर्णयुग थियो।नेताहरूमा त्याग र समर्पणको उच्च संस्कार थियो।

०१५ सालको पहिलो संसद्मा किसुनजी सभामुख र निधि उपसभामुख बने। राजा महेन्द्रद्वारा प्रजातन्त्रको अपहरणसँगै दुवैजना जेल परे। संयोग दुवैजना नख्खु जेलमा राखिए। दुवै अहिंसाका पक्षपाती थिए।‘जेलमै संसद् सञ्चालन गरौँ’ भन्नेसम्मको छलफल चलाएको स्मरण समकक्षी गान्धीवादी नेता स्व.रामहरि जोशीले यो स्तम्भकारलाई सुनाएका थिए।

०३३ पुस १६ गते बिपी, गणेशमान, शैलेजा आचार्य, केबी गुरुङ लगायत नेता राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गर्दै भारतबाट स्वदेश फर्किए। बिपीमाथि राज्य विप्लवका सातवटा मुद्दा थिए। ती मुद्दामा फाँसीको सजायसम्म हुन सक्थ्यो।बिपीमा निहित सुषुप्त गान्धीवादी गुण त्यसबखत एक्कासि प्रकट भएकामा शुभचिन्तक भयले त्रस्त थिए। बिपी बाँचुन्जेल निरंकुशताविरुद्ध संघर्षरत रहे।स्वदेशमा रहेर निरंकुशताविरुद्ध संघर्ष गर्नेहरूमा निधि अग्रपंक्तिमा थिए।निसन्देह गान्धीका अहिंसात्मक दर्शनलाई उनले जीवनभर अपनाए।निधि आजीवन ‘निष्काम कर्मवादी’ रहे।

यद्यपि कठिन कालखण्डमा पनि आस्थामा विचलित नभई ‘अनाशक्त योग’का साधक रहे। कांग्रेस स्थापनाकालदेखि नै निधि अहिंसात्मक राजनीतिका पक्षपाती रहे।नेता अर्जुन नरसिंह केसीका अनुसार ०४८ मा सम्पन्न आमनिर्वाचनपश्चात् निधिले पार्टीको सक्रिय राजनीतिबाट विश्राम लिन चाहे। राजनीतिमा लागेकाहरू आफूले गरेको कामको प्रतिफल खोज्छन् र त्यही फल देखाएर सदियौँ राजनीतिबाट प्राप्त हुने पद र प्रतिष्ठाका लागि लालायित हुन्छन्।

तर, निधिमा कहिल्यै त्यस्तो चाह रहेन।झापा महाधिवेशनमा सभापति निर्वाचित किसुनजीले निधिलाई नै महामन्त्री बनाउँदै थप जिम्मेवारी दिए। ‘किसुनजीको विश्वासलाई निधिले निष्पक्षताका साथ पूरा गर्नुभयो,’ केसीले भनेका छन्, ‘त्यसबखत नेपाली कांग्रेसलाई एकताबद्ध बनाउँदै कार्यशैलीमा उहाँले पारदर्शिता अपनाउनुभयो ।’  

जसरी गान्धीले भारतमा हिंसालाई सहारा बनाएनन्, त्यसैगरी निधिले हिंसाको राजनीतिसँग कहिल्यै सम्झौता गरेनन्।दुर्भाग्य सत्यलाई आचरणमा व्यक्त गर्ने राष्ट्रियताका पक्षपाती निधि कतिपय अवस्थामा पार्टीभित्रै शंकाको सिकार बन्न पुगे। ०५१ मा गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरिरहँदा त्यसलाई रोक्न गणेशमानले निधिलाई प्रधानमन्त्री बनाउन चाहन्थे।गिरिजाप्रसादले संसद् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरे। आफ्नो असहमतिका बाबजुद भएको उक्त निर्वाचनमा निधि उम्मेदवार बन्न चाहेनन्। बरु राजनीतिबाट विश्राम लिए।

०४७ सालको अन्तरिम सरकारमा निधि जलस्रोत र स्थानीय विकासमन्त्री बन्न पुगे।सरकारमा रहँदा पनि जनताको जीवनस्तरमा उनले दृष्टि पुर्‍याइरहे। पुत्र विमलेन्द्र निधिका अनुसार, तत्कालीन समयमा भारतका प्रधानमन्त्री, चन्द्रशेखर नेपाल आएका थिए। ‘उहाँ (पिता) जलस्रोतमन्त्री हुनुहुन्थ्यो।चन्द्रशेखरसँगको भेट र संवाद हामी नेपालीले थाहा पाउनुपर्ने किसिमको छ,’ विमलेन्द्र सुनाउँछन्।

निधिले सोधे, ‘चन्द्रशेखरजी, नदी शिरा और मठ्ठा क्या होता है, आप जानते है? आपका घर तो बलिया (बनारसनजिक) है न। वहाँ आपका खेती कौन देखता है ?’ चन्द्रशेखरले ‘परिवारका सदस्यले’ भन्ने जवाफ दिए। चन्द्रशेखरलाई निधिले भने, ‘घरमा खेती गर्नेलाई जानकारी होला, पानीको बाँडफाँडमा शिरा र मठ्ठाको मतलब के हुन्छ भनेर ।’

नेपाल र भारतबीच पनि कोसीको पानीमा त्यही सिद्धान्त लागू हुन्छ भनेर अन्तर्राष्ट्रिय सिद्धान्तको स्मरण गराउँदै कोसीको पानीमा नेपालको हक कायम गराउन उक्त संवाद भएको विमलेन्द्रले सुनाए। भारतीय प्रम चन्द्रशेखरले, किसुनजीसँग हिन्दीमै भनेछन्, ‘आप का जलस्रोतमन्त्री निधिजी बडे अलग मिजाज के है ।’ त्यो साहस अहिलेको नेतृत्वमा बिरलै पाउन सकिएला !  

सच्चा सत्मार्गीको आत्मा मणिजस्तै शुद्ध र ‘स्फटिक’ रहन्छ।गान्धीमा जस्तै निधिमा पनि ‘स्थितप्रज्ञ’ स्वभाव झल्कन्छ।अन्धभक्त कार्यकर्ताको आत्मप्रशंसामा उनी कहिल्यै रमाएनन्। सरलता, सादगी र स्वच्छ छविप्रति सदैव सचेत रहे।०३२ को आरम्भमा संविधान सुझाव समितिलाई बहुदलीय व्यवस्था र बालिग मताधिकारको माग गर्दा निधि जनकपुरबाटै पक्राउ परे।

बालिग मताधिकार माग गर्नुले निधिमा राष्ट्रियता र प्रजातन्त्रप्रतिको निसंकोच आस्था प्रकट हुन्छ।गान्धीले सन् १९३२ मा पुना जेलमा रहँदा ब्रिटिस शासकसँग त्यसरी नै बालिग मताधिकारको प्रयोग र स्वतन्त्र रूपमा जनप्रतिनिधि चुन्न पाउनुपर्छ भन्ने माग गरेका थिए। भारतमा ‘पुना प्याक्ट’का नामले उक्त सम्झौता परिचित छ। त्यस दर्मियान ठीक त्यसैगरी नेपालमा खद्दरधारी निधिले शासकसँग निर्भीकतापूर्वक उक्त माग राखेको पाइन्छ।

०२१ मा जनकपुरमा पञ्चायतको कार्यक्रममा बोल्दै निधिले भने, ‘ऐन–कानुन लेख्दैमा देशमा परिवर्तन आउन सक्दैन।त्यसको इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्छ ।’ उक्त सन्दर्भ स्मरण गर्दै पत्रकार राजेश्वर नेपालीले निधिमा गान्धीमा जस्तै निर्भीकता रहेको बताउँछन्। २००९ सालमा गान्धीवादी समाजसेवी तुलसी मेहरले जनकपुरको बसहियामा गान्धी आश्रमको स्थापना गरे। उक्त आश्रम स्थापनामा निधिको पनि योगदान रह्यो। बसहिया निवासी रामचन्द्र शर्माका अनुसार, निधिले पनि राजनीति र समाजसेवालाई एकसाथ निरन्तरता दिए।

०२८ सालमा पञ्चायत सरकारले नयाँ शिक्षा लागू गर्दा उनले मातृभाषामा शिक्षाको ग्यारेन्टी गर्न माग गरे।साथै निधिले उक्त शिक्षानीतिकोे खुलेर विरोध गरे। गान्धीले सन् १९३७ मा बर्धा शिक्षा सम्मेलनमा मातृभाषासहितको शिक्षाको पक्षमा आवाज उठाए।साथै आधारभूत तहको शिक्षा राज्यले निःशुल्क ग्यारेन्टी गर्नुपर्ने प्रस्ताव पारित गरे। भारतको इतिहासमा ‘बर्धा एजुकेसन कन्फ्रेन्स’को छुट्टै महत्व छ।त्यसैले भन्न सकिन्छ, गान्धी क्रियाकलापबारे निधिमा गहन अध्ययन पनि थियो ।

निधि २००७ सालको क्रान्तिको सफलतासँगै महोत्तरी जनसरकारको प्रधानमन्त्री बने।पार्टीको सिद्धान्त र विचारलाई व्यवहारमा प्रस्तुत गरिरहे। ०१५ सालको निर्वाचनमा उम्मेदवार बनेर विजयी भए। पहिलोपटक २००४ सालमा जेल परेका निधि जीवनमा १२ पटक जेल परे। संयोग गान्धी पनि जीवनमा १२ पटक जेल परेका थिए। पारिवारिक स्रोतका अनुसार निधिका पिता राजेश्वर निधि पनि गान्धीवादी रहेको जानकारी हुन्छ।उनले पनि तत्कालीन समयमा शिक्षाको प्रसारका लागि विद्यालय स्थापना गरेका थिए। जनकपुरको नगराइन र जदुकोह भन्ने स्थानमा (२००४ सालमा) विद्यालय स्थापना गरेका थिए। प्रा. नवेन्द्र निधिका अनुसार जदुकोहको उक्त विद्यालयको नाम अहिले राजेश्वर निधि उमावि बन्न पुगेको छ।

हजुरबुवा पनि तत्कालीन समयमा गान्धीको आदर्शबाट प्रभावित रहेर समाजसेवा र शिक्षाको प्रसारमा लागेको विमलेन्द्र निधि बताउँछन्। राजेश्वर तत्कालीन समयमा नेपालबाट गान्धीआश्रम पुगेका नेपाली महावीर गिरीका समकक्षी रहेको जानकारी हुन आएको छ। उनै महावीरसँग राजेश्वर सन् १९३० को दशकमा गान्धीलाई भेट्न साबरमती समेत पुगेका थिए।महावीर नेपालबाट गान्धीआश्रम पुगेकी कृष्णमैया गिरीका सुपुत्र हुन्। सन् १९३० मा गान्धीले नेतृत्व गरेको दाण्डीमार्च (नमक सत्याग्रह) का मुख्य सहभागी ७९ मध्ये गिरी एक हुन्। मूर्धन्य गान्धीवादी अनुयायी स्व.नारायणभाइ देसाईका अनुसार गिरि र भाइ धर्मवीर गान्धीको सान्निध्यमा हुर्किएका नेपाली थिए। उनीहरूका बारेमा सोधखोज हुन बाँकी छ।

परिवारका अनुसार राजनीतिमा क्रियाशील रहे पनि महेन्द्र नारायण कृषि कर्ममा सहभागी हुन्थे। गाउँमा सिँचाइका लागि पैनी, कुलो, नहर बनाउन जुट्थे।गान्धीको आत्मनिर्भरताको सिद्धान्तले उनी निर्देशित रहे। कर्मबाट आत्मशुद्धि हुन्छ भन्ने गीताको सार उनले बुझेका थिए। गान्धीले भनेका छन्, ‘अन्न, वस्त्र, आरोग्य र शिक्षामा’मा आत्मनिर्भर हुन सके दुनियाँमा कसैको गुलाम हुनुपर्दैन ।’ समाजवादकोे सपना बाँड्ने हाम्रो नेतृत्वले गान्धीको उक्त चिन्तन मात्र मनन गर्न सके सुशासन प्रत्याभूत गराउन नैतिकबल जागृत हुने थियो ।

निधि ‘सादा जीवन, उच्च विचार’युक्त जीवन बाँचे।त्यसैले कर्म र व्यवहारले निधि सच्चा गान्धीवादी थिए भन्न कर लाग्छ।संयोग उनको निधन (०५६ मा) गान्धीकै (७९ वर्ष) उमेरमा हुन पुग्यो। भलै गान्धीको निधन हत्याबाट भयो, तर निधिको निधन स्वाभाविक (हृदयघातबाट) थियो।

(लेखक, अहिंसा र गान्धी विषयका अध्येता हुन् ।)
अर्को समाचार
स्वरसम्राटको संग्रहालय
१ मिनेट अघि
•
१ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए। अहिलेको नारायणगोपाल चोकदेखि पूर्वतिर एक कुनाको साँघुरो गल्लीमा २० आनाको नारायणगोपालको नाममा रहेको जमिन छ। त्यही जमिनमा स्वरसम्राटको दक्षिण मोहोडाको तीनतले पुरानो घर छ।  त्यही घर स्वरसम्राटको नाममा संग्रहालयमा परिणत भएको छ। समाजसेवी दीपक केसी हाल नारायणगोपाल संगीत कोषका अध्यक्ष हुन्।  सो संगीत कोषको स्थापना २०४७ सालमा भएको हो।




डा. वानीरा गिरि अध्यक्ष रहँदाको बखत दीपक केसीले सचिवका रूपमा काम गरेका थिए।  स्वरसम्राटको पुरानो घरसँगै टाँसिनेगरी पाँचतले रातो आधुनिक भवन निर्माण गरिएको छ, जसको शिलान्यास काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्य र भवनको उद्घाटन वर्तमान कार्यवाहक मेयर सुनिता डंगोलले गरेकी हुन्। सो भवनको परिकल्पना दीपक केसीले गरेका रहेछन्। उनकै सक्रियतामा पाँचतले सो आधुनिक रातो भवनको निर्माण गरिएको हो, जसको नाम गीतगंगा भवन राखिएको छ।  सो भवनको लागत पाँच करोड ५० लाख रहेको छ। काठमाडौं महानगरपालिका र स्थानीय निकायबाट सो रकम जुटेको हो।

उक्त भवन निर्माण, संग्रहालय भवनको संरक्षण, महाराजगन्जको बिच चोकमा अवस्थित स्वरसम्राटको सालिक स्थापना, भवन बनाउँदा लाग्ने खर्च कसरी संकलन गरियो ? आधुनिक भवनमा के–कस्ता सांगीतिक कार्यक्रम सञ्चालन गरिने छन्, सांगीतिक साजबाजहरू के–कति छन् ? यसबारे पंक्तिकारलाई अध्यक्ष केसीले केही दिन पहिले विस्तृत रूपमा जानकारी गराएका थिए। निमोनियाका कारण लेख छिटो पूरा गर्न सकिनँ।  तैपनि सांगीतिक फाँटका पाठकहरूको जानकारीका लागि छोटकरीमा भए पनि आलेख तयार गरेको छु।

महाराजगन्जमा दिनहुँ सयौं सवारीसाधन नारायणगोपालको सालिकको परिक्रमा गरेर आफ्नो गन्तव्यमा पुग्छन्।  पाँच वर्ष पहिले सो सालिक अलि होचो थियो।  ट्राफिक प्रहरीलाई उभिएर सेवा दिन केही अप्ठ्यारो थियो।  अहिले त्यहाँ सालिकलाई १० फिट अग्लो बनाएर फराकिलो पारिएको छ।  दक्षिण मोहोडा भएको स्वरसम्राटको सो आकर्षक सालिकको निर्माण प्रसिद्ध कलाकार अमर चित्रकारले गरेका हुन्। सवारीसाधनमा यात्रा गर्नेहरूदेखि सयौं पैदल यात्रु श्रद्धापूर्वक स्वरसम्राटको सालिकलाई नमन गर्छन्।  जनजनबाट श्रद्धा पाउने नारायणगोपाल अमर स्रष्टा हुन्। यसो त शान्तिबाटिकास्थित सर्वमान्य नेता गणेशमान सिंहको पूर्ण कदको सालिक र सहिदगेटमा स्थापित अर्धकदका चार जना अमर सहिदप्रति श्रद्धा गर्नेहरूको संख्या पनि कम छैन।

१०४ वर्षे राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र ल्याउन १९९७ सालमा काठमाडौंमा चार जनाले अमरत्व प्राप्त गरेका थिए।  यसैगरी सर्वमान्य नेताले तीसवर्षे पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय व्यवस्था ल्याउन नेतृत्वदायी भूमिका खेलेका थिए।  यता स्वरसम्राटले नेपाली गीतसंगीत र नेपाली भाषाको श्रीवृद्धिका लागि जीवनभर सेवा गरेका थिए। उनका सयौं कर्णप्रिय र कालजयी गीतले स्वदेश र विदेशमा बस्ने सबै नेपालीलाई एकसूत्रमा बाँधिदिएका छन्। २०५३ सालमा आफू वडाध्यक्ष रहँदा आफ्नी आमा नानी केसीले दिएको सल्लाहअनुसार स्वरसम्राटको सालिक स्थापनाका लागि पहल गर्नुका साथै सो ठाउँको नाम नारायणगोपाल चोक राख्न निकै धाउनुपर्‍यो।

तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पृथ्वीराज लिगलले सालिक निर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियो।  तत्कालीन अर्थमन्त्री डा. रामशरण महतको पनि ठुलो हात रहेको छ यो सालिक निर्माणमा। तत्कालीन खेलकुद तथा संस्कृतिमन्त्री विष्णु पौडेलद्वारा शिलान्यास गरिएको सो सालिकको अनावरण भने त्यसबेलाका प्रधानमन्त्री सूर्यबहादुर थापाले गर्नुभएको थियो।  २०५३ पुस १९ गते नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले नारायणगोपाल चोक लेखिएको बोर्डको उद्घाटन गरी सर्वसाधारणलाई जानकारी गराइएको थियो। स्वरसम्राटको सो सालिकमा बर्सेनि मंसिर १९ गते गीतसंगीतका मात्र नभएर सबै वर्ग र क्षेत्रका असंख्य नरनारीले श्रद्धापूर्वक पुष्पगुच्छा अर्पण गरी उनलाई सम्झने गर्छन्। त्यसपछि स्वरसम्राटको आँगनीमा सबै वयका गायक–गायिकाले उनले गाएका कालजयी गीतहरू गाएर नारायणगोपालको गीति युगतिर उपस्थित सबै जनालाई डोर्‍याएको अनुभूति गराउँछन्। त्यही दिन देशका कलाक्षेत्रका स्वनामधन्य साधकलाई नगद राशिसहित ताम्रपत्र र दोसल्लाले अभिनन्दन गर्ने गर्छन्।

मानौं, कलाकर्मीका लागि मंसिर १९ गते हृदयदेखि स्वरसम्राटलाई सम्झने दिन हो।  साथै संगीत र गायनको शुभमुहूर्तका लागि साइतको दिन पनि हो।  शिशिर योगी, सुरज थापा, डा. टीका भण्डारी, यसैगरी गायिकाहरू शृंखला जोशी, निशा देसार, झुमा निरौला, संगीता प्रधान आदिले हुबहु रूपमा स्वरसम्राटले गाएका गीतहरू असंख्य दर्शकलाई सुनाएका ती दिनहरू भुल्नै सकिन्न।  सो क्रम संगीत कोषले प्रत्येक वर्ष जुराउँदै आएको छ।  यसैगरी स्वरसम्राटसँग गीतमा स्वर दिएका अमर स्रष्टालाई र जीवनोपयोगी गीत लेखेर नारायणगोपाललाई गाउन मनैदेखि स्वीकृति दिन सफल गीतकार र संगीतकारलाई पनि बर्सेनि पुरस्कृत गर्दै आइरहेको अध्यक्ष केसी बताउँछन्।

स्मरण रहोस्, स्वरसम्राट कसैका करकाप र बन्धनमा रहने गायक थिएनन्।  उनको ब्रह्मले रुचाएका गीत मात्र महिनौं लगाएर चित्त बुझ्दो गरी गाउँथे।  
स्वनामधन्य गीतकार कालीप्रसाद रिजाल, किरण खरेल, दिनेश अधिकारी, श्रीपुरुष ढकाल, स्व. रत्नशमशेर थापा, भैरवनाथ रिमाल ‘कदम’, यसैगरी वरिष्ठ गायक तथा संगीतकार दीपक जंगम, शम्भुजित बास्कोटा, सिके रसाइली, मौलिक लोकगीतका सर्जक झलकमान गन्धर्व आदिले स्वरसम्राट सम्मान प्राप्त गरिसक्नुभएको छ। प्रसिद्ध गायिका ज्ञानु राणा, मिरा राणा, दिलमाया खाती, शान्ति ठटाल आदिलाई पनि सो कोषले पुरस्कृत गरिसकेको छ। यसपटक पनि सो क्रम जारी छ।

प्रसिद्ध गायक प्रकाश श्रेष्ठ, वरिष्ठ संगीतकार तथा हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव भूपेन्द्र रायमाझी, वरिष्ठ गीतकार प्रमोद ढुंगानालाई यस वर्षको नारायणगोपाल स्मृति पुरस्कार प्रदान गरिने भएको छ।  राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा तीन जना स्रष्टा र नृत्यका गुरु भैरवबहादुर थापालाई संयुक्त रूपमा पुरस्कृत गरिने भएको छ।  विगत ४० वर्षभन्दा बढी गीतसंगीत क्षेत्रमा सेवा गरेका माथि उल्लिखित सबै स्रष्टाको योगदान प्रशंसनीय छ।

अब केही चर्चा स्वरसम्राट नारायणगोपाल र उनकी पत्नी पेमला गुरुवाचार्यबिच लामो अवधिको प्रेमपत्र आदानप्रदानबारे पनि गरौं।  अहिलेसम्म जनसमक्ष आउन नसकेका र धेरै कुराहरू थाहा हुन नसकेका स्वरसम्राटसम्बन्धी सामग्रीको सँगालो एकत्रित गरी पुस्तकका रूपमा बाहिर ल्याउने सोचमा दीपक केसी रहेको बुझिएको छ। कोरोनाका बखत २०७६ सालमा कोठाका सामग्री मिलाउने क्रममा दराजमाथि एउटा पोको देखेँ।  के रहेछ ? भनी खोलेर हेर्दा स्वरसम्राट र पेमलाबिचका ९५ वटा प्रेमपत्र जम्मा गरिएका रहेछन्। साथै १९ वटा उहाँहरूका जीवनका डायरी पनि रहेछन्। ती प्रेमपत्र र डायरीमा दुई जनाबिचको प्रेम कति गहिरो रहेछ भन्ने कुराको बोध एकातिर रहेको छ भने अर्कातिर त्यस बेलाको जनजीवन, देशको अविकसित अवस्था, जीवनका भोगाइ र कतै–कतै राजनीतिक अवस्थाबारे पनि उल्लेख गरिएको पाइन्छ। स्वरसम्राटले मानिसको मुटु छुने र देशको प्राकृतिक सौन्दर्यको अलौकिक वर्णन गरिएका अत्यन्त मिठासपूर्ण गीत मात्र किन गाए ? भन्ने पनि बोध गराउँछन् यी डायरीले। ‘चुपचाप मन पराए’ शीर्षक दिएको सो पुस्तकमा प्रेमपत्र, डायरी, स्मरण र अन्तर्वार्ता रहेका छन्। नेपाली राष्ट्रिय पोसाक दौरासुरुवाल, कोट र ढाका टोपीमा स्वरसम्राटको हँसिलो मुहार देखाइएको छ पुस्तकको आवरण पृष्ठमा।  
स्वरसम्राट आफैंले ‘गीत निवास’ नामकरण गरिएको पुरानो घरका दुवै तलाका कोठामा उनले पाएका थुप्रै प्रमाणपत्र र वाद्ययन्त्र छरिएर रहेका देखिन्छन्।  राष्ट्रिय नाचघरमा महाप्रबन्धक रहँदाको बखतको र इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार प्राप्त गर्दाका प्रमाणपत्र भने त्यहाँ देखिएनन्। बरु गोपाल योन्जन र उनका समकालीन दौतरीका तस्बिर भने सिसाको दराजमा राखिएका थिए।  माथिल्लो कोठामा नारायणगोपालको ठुलो तस्बिर राखिएको छ।  आगन्तुकहरू त्यही अगाडि उभिएर तस्बिर खिचेर मनको धोको मेटाउँछन्। आगन्तुक पुस्तिका राख्नुपर्ने अनुभूति गरेँ।

त्यहीं बसेर कुरा गर्दै थियौं, प्रसिद्ध गीतकार प्रमोद ढुंगाना र बिबी अनुरागी आए।  दुवै जनाले स्वरसम्राटले गाउन नभ्याएका केही गीतहरू खोज्नुपर्ने बताउँदै थिए। कोठाको कुनामा संगीत कोषले प्रकाशमा ल्याएको उनका ‘कालजयी स्वरहरू’ नामक गीति पुस्तक चाङ लगाएर राखिएका छन्।  डा. वानीरा गिरि, उषा शेरचन र विप्लव प्रतीकद्वारा सम्पादित उक्त पुस्तकमा १३७ वटा सदाबहार गीत छन्। धेरैजसो स्वरसम्राटले एकल स्वरमा गाएका, कतिपयमा अन्य गायक–गायिकालाई पनि समावेश गरिएका मन छुने गीतहरू रहेका छन्।  साथै नेपाल भाषामा उनले गाएका तीनवटा गीत पनि रहेका छन्।

यसैगरी स्वरसम्राटले संगीत भरेका पाँचवटा गीत छन्।  ती गीत अरुणा लामा, फत्तेमान र कह्नैयाकुमार जोशीले गाएका हुन्। यी सबै गीतका गीतकार स्व. भैरवनाथ रिमाल ‘कदम’ हुन्। नेपाली गीति क्षेत्रको इतिहासमा यो पुस्तक संगीतकर्मीका लागि अत्यन्त उपयोगी छ।  प्रथम पटक २०५९ र दोस्रो पटक २०७४ सालमा प्रकाशित यो पुस्तकमा स्व. पेमला गुरुवाचार्य र संगीत तथा गीतका जानकार प्रकाश सायमीले भूमिका लेखेका छन्। पुस्तकका पछाडिपट्टि स्वरसम्राटका विभिन्न कालखण्डका २० तस्बिर रहेका छन्।

भुइँतलाको कोठामा उनले बजाउने गरेका १२ वटा भ्वाइलिनहरू थुपारिएका देखिन्छन्। आगन्तुकले बस्ने गरेको बैठक कोठामा पनि थुप्रो सामानहरू जम्मा गरिएका देखिन्छन्। विभिन्न समयका स्वदेशी–विदेशी कलाकारसँगका तस्बिर छन्। आफूले बजाउने गरेका हार्मोनियम र तबलालाई छोपेर राखेका छन्। स्वरसम्राटले आफ्नो जीवनकालमा संगीतका लागि जे–जति गरे, ती सबैका दस्ताबेज यही निवासमा देखिन्छन्। त्यसैले यो घर वास्तवमा संगीतको संग्रहालय हो। कुनै बेला संगीत प्रशिक्षक राजकुमार श्रेष्ठले यही कोठामा विद्यार्थीलाई संगीत सिकाउँथे। यही कार्यको निरन्तरता अब नयाँ भवनमा गरिने भएको छ। घरको अगाडि फूलिरहेको बोट छ, यो बिरुवा पेमला भाउजूले नारायणगोपालको सम्झनामा रोप्नुभएको हो भन्दै थिए वरिष्ठ गीतकार रत्नशमशेर थापा।  रत्नशमशेर थापा पनि अहिले हामीबिच हुनुहुन्न।  त्यो कालखण्ड अब फर्किन्न। 
माथि उल्लेख गरेँझैं पुरानो घरसँगैको पाँचतले रातो रङको आधुनिक भवन छ।  माथि उक्लिने भर्‍याङ छ।  भर्‍याङको एक कुनामा स्वरसम्राटले चढ्ने गरेको बा.अ.प. ६४८ नं. को मोटरसाइकल राखिएको छ।  कुनै बेला यही साधन प्रयोग गरी उनी ओहोरदोहोर गर्थे।

२०३७ सालताका सडक नबन्दा सानो गल्लीमा चिप्लिएर मोटरसाइकलसँगै खेतमा नारायण दाइ लडेको देखेको छु भन्नुहुन्छ संगीतकार तथा गायक दीपक जंगम।  यसैगरी भ¥याङको भित्तापट्टि ख्यातिप्राप्त गायक–गायिका, संगीतकार र केही गीतकारका सजीव तस्बिर राखिएका देखिन्छन्।  टाढैबाट प्रस्टै देखिने ती तस्बिर जनकविकेशरी धर्मराज थापा, राष्ट्रकवि माधव घिमिरे, नातिकाजी, रत्नशमशेर थापा, कालीप्रसाद रिजाल, शम्भुजित बास्कोटा, तारादेवी, दिलमाया खाती, झलकमान गन्धर्व, नीर शाह, अरुणा लामा, प्रेमध्वज प्रधान, दिनेश अधिकारी आदिका रहेका छन्। यी तस्बिर खिचेर टाँसेका होइनन्, देखेर कलाकारले उतारेका हुन्।  माथिल्लो तलामा ठुलो हल छ, कार्यक्रम सञ्चालनका लागि। सो भवनमा एफएम, रेडियो, गीतहरू रेकर्ड गर्ने आधुनिक स्टुडियो, संगीत सिक्नेहरूका लागि छुट्टै कक्षाकोठा, स्वरसम्राटबारे अनुसन्धान गर्नेहरूका लागि अध्ययन कक्ष, विविध सांगीतिक कार्यक्रम सञ्चालनार्थ बेग्लै कोठाको व्यवस्था गरिने योजना छ।

घरको आँगनीमा स्वरसम्राट र पेमला गुरुवाचार्यको २५ सय किलोको अर्धकदको सालिक छ।  सडक बढाउने क्रममा डोजर लगाएर हटाउन खोजेका थिए, मैले हात जोडेर नबिगारिदिन अनुरोध गर्दै आँगनीमा राख्न लगाएँ।  कुनै दिन मिलाएर यहाँ सालिक खडा गरिनेछ। घरको भर्‍याङ भत्काएर लिफ्ट तयार गरिनेछ। भुइँतलालाई पनि संगीतसाधना कक्षका लागि व्यवस्थित गर्ने सोच रहेको छ। कुनै बेला पेमला भाउजूले स्वरसम्राटको अर्धकदको सालिक दक्षिणपूर्वी मोहोडामा किन राखेको भनी प्रश्न गर्नुभयो।  उनले उत्तरमा तपाईंले टेम्पो चढेर कार्यालय जाँदा सहजै स्वरसम्राटको अनुहार देख्नुहुन्छ भन्ने पाएकी थिइन्। अहिले पेट्रोल पम्प राखेको ठाउँमा कुनै बेला टेम्पो पार्क थियो।  त्यही टेम्पो चढेर पेमला एउटा निजी कम्पनीमा काम गर्न जाने गर्थिन्। टेम्पोमा एक दिन दुई जनाले नारायणगोपालको सालिकको चर्चा गर्दै यो त मेरो गुच्चा र चेस खेल्ने साथी हो नि, पछि नामुद गायक भएर निस्क्यो भनेको सुनेको पेमलाले बताइन्।

यो शताब्दीका सर्वाधिक लोकप्रिय गायक नारायणगोपाललाई स्वरसम्राटको उपाधि एक व्यक्तिले नभई लाखौं श्रोताले दिएको प्यारको उपाधि हो। उनी स्वर्गीय भएको ३६ वर्ष पूरा भएर पनि दोस्रो नारायणगोपाल जन्मन नसक्नु कलाकारिता जगत्का लागि घाटा हो। सबैका लागि प्रिय भएकाले नारायणगोपाल स्वर्गीय भएको मंसिर १९ गतेको दिनलाई संगीतका साधकले श्रद्धापूर्वक सम्झने गर्छन्। नेपाल सरकारले स्वरसम्राटलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ। 
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस