ज्ञानेन्द्र विवश
चरा तिम्रै गुञ्जनसँगै मैले मेरो जिन्दगीको सुन्दर र सुमधुर बिहानी निम्त्याउँछु । तिम्रै गुञ्जनहरूमा रमाउँदै जीवनको पाइला चाल्छु । तिम्रो भाषा बुझिँदैन तर त्यही भाषामा मैले अपार सांगीतिक रागको रहस्यमय आनन्द महसुस गर्ने गरेको छु । तिम्रो फुरफुर र फुर्रर, भुर्रर उडाइ अनि चखिलो बोली जिन्दगीकै एक अनुपम स्वर हो । तृप्तिको एक पल । संगीतसँगको साक्षात्कार । चरासँगको चिनारी ।
प्रभाती किरणले धर्ती चुमेपछि चराचुरुङ्गीका स्वर गुञ्जेपछि, मन कति रमाइलो प्रकृति नै जागेपछि, यस्तो स्वर्णिम क्षणमा खुसी भलिभाँति ।
चराको चञ्चलता । चराको सुन्दरता । चराको गतिशीलता । चराको मित्रता । र, चराको प्रेममय एकता । आहा चरा तिमी जति सुन्दर र स्वतन्त्र छौ त्यत्तिकै तिम्रा अनुकरणीय पक्षहरू पनि छन् । चरा तिम्रा चिरबिर हामी सधैं सुनिरहन्छौं । चराको चिरिबिरीमा जिन्दगीको मिठास । चराको चिरिबिरीमा संगीतको आभास । चराको स्वतन्त्रतामा खुसीयालीको स्वाद ।
चरा तर तिमी विचरा ! हामीले देख्दा उडेका छौ निस्फिक्री तिमी आकाशमाथि–माथि । तिम्रो स्वच्छन्द उडान देखेर डाहा गर्नेहरू पनि छन् । तिम्रो स्वतन्त्रतामा आरिस गर्नेहरू पनि छन् । तर, तिमीलाई कसैले सोधेको छ तिमीले के खायौ चरी, कस्तो छ चरी तिमीलाई भनेर ।
हो, तिम्रो खानपानको पीडा, बस्ने र बचेरा हुर्काउने समस्या तिमीलाई नै थाहा छ । तैपनि तिमी आफू रोएर अरूलाई हँसाउँदै उडानको वेग मार्न छोडेका छैनौं । धन्य, तिम्रो सन्तोषी जीवन ! धन्य तिम्रो उडानको वेग ! धन्य, धन्य ! विचरा चरा ! चरा विचरा !
विचरा चरा मात्र होइन यिनको पहिचान । मित्रता, मितव्ययिता, स्वाभिमान सबै छ यी चराहरूमा । मिलेर बस्ने, मिलेर खाने अनि मिलेर उडानको वेग मार्ने । कुनै लोभ, मोह छैन । तर डर छ हामीदेखि । मायाको भोको यी चरा तथापि हामीसँग विश्वास गर्दैन । हामीले यिनलाई दानापानी दिए पनि हामीसँग तर्किरहन्छ, डराइरहन्छ । विश्वासको संकट छ सबैलाई सबैतिर !
भालेको बाससँगै बिहान हुनु । भालेको डाकमै बिउँझिनु जिन्दगी । सरलताको चिनारी । सुन्दरताको निशानी । सक्रियताको सूचक । चित्रमा संयोजन भएजस्तै आफैंमा परिपक्व र पूर्णविश्वासका रङ–प्रवाह र रङ–प्रक्षेपणको मिठास । जीवन यस्तै सरल, सरस, सुन्दर र समृद्ध भइदियोस् । आफैंमा आफ्ना कर्महरूमा नित्य निरन्तर !
चराको चिरविरले बिउँझिँदै गर्दा सपना–संसारबाट आँखा । विराट प्रकृतिको काखमा नतमस्तक हुन्छ । र, प्रार्थना गर्न थाल्दछ । शुभ–प्रभात ! शुभ–संकल्प ! शुभ–कर्म ! शुभ–यात्रा ! शुभ–दिन ! शुभ–लाभ !
सुस्वागतम् न्याना–न्यानो, चिसा–चिसो बिहानीमा । चिरबिर चीत्कार चराका गुञ्जनसँगै बिउँझिएर सपना–संसारबाट । दिनको कामधाममा क्रियाशील हुन प्रेरित गर्दै यी विचरा चराले सुखद सन्देश प्रवाह गरिरहेछन् । तिनलाई आत्मसात् गर्दै हामी पनि जिन्दगीको सत्कर्ममा संलग्न होऔं ।
चराका चिरिबिरीमा आहा कति सुमधुर सांगीतिक गुञ्जन । बुझिँदैन केही कुरा तर सुनिरहँदाको आनन्द कति प्रीतिकर । कति मायालु । कति करुणामय । आकाशमा स्वतन्त्र उडेका चराको आफ्नै उडान । अनि पिँजडामा पालिएका चराको अर्कै बन्धन–वेदना । जे भए पनि जहाँ रहे पनि चिरिबिरी चर्तिकलामा गुञ्जिरहन्छ जिन्दगीका गीतहरू । ती गीति स्वरलहरीहरू पीडाकै हुन् अथवा प्रेमका तिनैमा भेटिन्छ यथार्थ अनुभूति समय र समाजका ।
चराका चिरविर र चुलबुल । चराका अनेक रङ र रूप । सुन्दरताको बिहानी बोकेर नाचिरहेका छन् । रमाइरहेका छन् । कुनै पीडा छैन । लोभ, मोह र डाहा छैन । कति पवित्र, कति स्वतन्त्र, कति निश्छल, निःस्वार्थ चरित्र । अनि चराका चिरविरमा कति आनन्दको सांगीतिक अनुगुञ्जन !