नारी संवेदनाको उच्छवास
०७ असार २०८२
•
४ मिनेट पाठ
नारी संवेदनाको उच्छवास
हरेक जीवन कथा नै हुन्, मर्म बोकेका कथानकहरू। कथा नै हुन्, जसले बाँचेजस्तो जिन्दगीलाई ऐना देखाउँछन्। ती भोगाइ कुनै भित्र भित्र पाक्छन्, कुनै साहित्यका रूपमा लेखिन्छन्। कथा बनिरहन्छन् विभेदमा, पिसिँदा पिसिँदा मैले सकिनँ भनेर गर्ने विद्रोहमा, आमा, पत्नी, छोरी वा नारी हुनुमा, विभेद, विसङ्‌गति, विकृति बढिरहनुमा। यस्तै–यस्तै तथापि मूल नारी संवेदनाका उच्छवासहरूलाई कथामा रूपान्तरण गरी इमानदारीपूर्वक कलम चलाएका कथाहरू लिएर आएकी छिन् उषा शेरचन ‘बेग्लै म’ कथासङ्ग्रहमार्फत।




संस्कार, विभेद, पुरातन सोचलगायत समाजका ज्वलन्त मुद्दाहरूसँग भिडिरहेका पात्रहरूको कथानकले ऊसँग, उनीसँग, तिनीहरूसँग, हामीसँग, आफ्नै पीडा र परिवेशसँग बोलिरहेका घटनालाई बोकेर आएका यी कथा आफ्नै कथा लाग्छन्। पाठक स्वयं आफूलाई त्यही कथाको पात्र अनुभूत गर्छन्। शेरचनको कथा लेखनको यो विशिष्ट पक्ष हो।

‘बेग्लै म’ कथासङ्ग्रहमा छोटालामा २१ कथा छन्। ‘कारको चाबी’बाट खोलिएको यो कथासङ्ग्रह श्रीमान्ले लगाएको नराम्रो बानी नछोड्ने अडानमा रहेकी श्रीमतीको विद्रोहको आवाज छ। श्रीमान–श्रीमती अरूसँगै साटिएर रमाइलो गर्ने विकृत संस्कारको दर्पण हो यो कथा। ‘सुरक्षा’ कथामा समय वा भाग्यले एकल बनाइएका छोरीबुहारीहरू ‘एक्लै हुनु भनेको सबैका लागि उपलब्ध हुनु हो’ भन्ने दरिद्र मानसिकताको चिरफार गरिएको छ। एक्लै हुनु भनेको समाज, सपना, रहर र आवश्यकताबाट भाग्नु होइन भन्ने कुरा एकल बुहारीका माध्यमबाट देखाइएको छ।

‘पारपाचुके’ कथामा मानिसका अलग स्वभाव र विचार हुन्छन्, बाआमाको सम्बन्धमा खटपट आउनु छोराछोरीलाई नराम्रो असर पार्नु हो भन्ने मूल सन्देश छ। ‘कस्तो हुन्थ्यो होला’ कथा अमेरिकी परिवेशमा बाँचिरहेका पात्रको मनोदशाको वर्णन हो। अमेरिकी परिवेशको दिनचर्या, स्थानीय अवस्था, सोचाइ र अमेरिकी जीवन शैलीको चित्रात्मक व्याख्या यसमा छ। ‘लड्डु’ कथामा एकोहोरो र एक्लो दिनचर्याबिच गुज्रिरहेका विवाहित र अविवाहित महिलाहरूको संवाद छ। विदेशमा आधुनिक बनेर देखाउने तर जातभात, उचनिचको भावना, पितृसत्तात्मक सोच, पुरुषमहिलामा विभेदको कथानक यसमा छ। ‘फ्ल्याट नं. ८’ मा बेरोजगारी युवाको कथानक छ। यस कथामा यौनकर्मी पुरुष पात्र छन्। बेरोजगारी, अभाव र आवश्यकताले ती युवालाई यौनकर्मी बन्नुपर्ने बाध्यता देखाइएको छ। समाजको नकारात्मक तर यथार्थपरक कथा हो यो।

‘प्रेम हो यो ऐयासी होइन’ कथामा पुरुषले मनलाग्दी गर्न पाउने तर महिलालाई छुट नहुने सामाजिक सन्दर्भ देखाइएको छ। प्रेममा नपरुन्जेल मरिहत्ते गर्ने प्रेमीले वास्ता गर्न छोडेपछि प्रेमीकै बुबासँग केटीको विवाह गर्ने कुराको कथानक आएको छ।

‘खेलौना’ कथामा यौन जैविक आवश्यकता हो, यसको आवश्यकता महिलालाई पनि हुन्छ। यसको पूर्तिका लागि बन्ने साधन महिलाका लागि पनि हुन् भन्दै कथाकारले दाजु–भाउजू पात्रका माध्यमबाट महिलालाई खुलेर आउन आग्रह गरेकी छन्। ‘अधिवास’ कथा जीवन धान्न ग्राहक खोजिरहेकी युवती र समाज रूपान्तरणमा लागिपरेका युवाहरूको सहयोगको प्रस्तुति हो। धोकेबाज श्रीमान्की पीडित श्रीमतीको व्यथा ‘तीजको दिन’ कथामा छ। यस कथामा ब्राह्मणकी छोरी भएर पनि तीजको व्रतमा मासु–रक्सी खाएर रमाउने पात्रले आफूले पाएको धोकाप्रति विद्रोह गरेकी छन्। एक प्रहरीद्वारा बलात्कृत युवती आमा बनेपछि आफ्नोजस्तो पीडा छोरीले भोग्न नपरोस् भन्दै नवजात छोरीलाई मारेको कथा हो– ‘दोष कसको ?’

‘एउटा बेग्लै उडान’मा आजको डिजिटल एक्काइसौं शताब्दीका महिला अहिले पनि श्रीमान्को आयु बढाउन व्रत बस्ने, चोखोनितो खाने तर आफैं पीडित र विभेदमा पिसिएको कुरा थाहा नपाउने कथानक छ। सामाजिक व्यवस्थाप्रति खलल पु¥याउनेप्रति व्यङ्ग्य प्रहार गरिएको कथा हो ‘दोषारोपण’। आफूले गरेका व्यभिचारलाई सार्वजनिक गरेर खुला किताब र स्पष्ट वक्ता हुन रुचाउने पुरुषले आफ्नै श्रीमतीले विवाहअघि म पनि बलात्कृत भएकी थिएँ भन्दा पत्याउन नसकेर छटपटाएको अहम्युक्त पुरुषत्वलाई यस कथाले देखाएको छ। पात्रले भनिरहन्छ– ‘स्वास्नी मान्छे र लोग्ने मान्छे फरक फरक हुन्। पुरुष भनेको पुरुष हो।’ पुरुषत्वमा गर्व गर्ने तर नारी पतिव्रता चाहिँ रहने पुरुषहरूको प्रतिनिधि कथा हो यो।

सङ्ग्रहको प्रतिनिधि कथा हो। फरक यौनिकता भएका व्यक्तिको पक्षमा रहेको कथा ‘बेग्लै म’ले समाजलाई सकारात्मक हुन आग्रह गर्छ। फरक यौनिकता हुनु अपराध होइन, यसलाई परिवार र समाजले स्विकारेर जीवन सहज बनाउनुपर्छ भन्ने सन्देश कथाले दिन्छ।

विकृति–विसङ्गति र लैंगिक हिंसालाई कलात्मक रूपमा देखाउनु तथा मान्छेको पतनोन्मुख चरित्र र दुष्प्रवृत्तिको उजागर गर्नु कथासङ्ग्रहको अन्तर्वस्तु हो। अधिकांश कथा सहरी परिवेशका छन् भने केहीमा अमेरिकी र नेपाली ग्रामीण परिवेश पनि पाइन्छ।

स्थानीयको लवाइखुवाइ, चालचलनलाई कलात्मक तवरले संयोजन गरेर कथाहरूलाई सुन्दर बनाइएको छ। प्रमुख, सहायक, गौण, अनुकूल, प्रतिकूल, गतिशील, गतिहीन, वर्गगत र व्यक्तिगतलगायतका पात्रको वर्गीकरण गरी चरित्रचित्रणलाई तार्किक पुष्टि गरिएको छ। आन्तरिक र बाह्य द्वन्द्वका कारण कथा ओजिला बनेका छन्। ‘बेग्लै म’ कथासङ्ग्रह उषा शेरचनको नारी संवेदना प्रस्तुुत गर्ने प्रतिनिधि कथासङ्ग्रह हो। पाठकलाई पात्रस्वयंको अनुभूति गराउन सक्नु शेरचनको कथालेखनको वैशिष्ट्य हो ।  
अर्को समाचार
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
२२ मिनेट अघि
•
१ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
काठमाडाैं, नेपाली लोकसंस्कृतिका अनुसन्धाता तथा प्रजातन्त्रका सेनानी स्व. कालीभक्त पन्तले नेपाली संस्कृति, गीतसंगीतलगायत तत्कालीन नेपाली समाजका विविध विषय तथा क्षेत्रको खोज, अनुसन्धान मात्र गर्नुभएन, नयाँ पुस्तालाई त्यसको अभिलेखसमेत तयार गरिदिनुभयो। त्यसकै आधारमा अहिलेको पुस्ताले त्यो बेलाको नेपालको इतिहास थाहा पाएको छ। उहाँको अर्को परिचय भनेको गीतकार, लोकगीत संकलक तथा गायकको पनि हो। उहाँले लेखेको लोकगीत रेडियो नेपालबाट प्रसारण भइरहेका छन्। ‘क्या यस्तो चाल पर्‍यो, मायासित बोल्दैमा गाल पर्‍यो’ तीमध्ये एक हो। प्राध्यापक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पन्तको गायनको क्षेत्रमा प्रवेश गर्नुको उद्देश्य गायक बनी नाम कमाउने थिएन। उहाँले नेपाली समाज अशिक्षित भएकाले समाजमा लोकगीतमार्फत जागरण ल्याउन पुस्तक–पुस्तिका, पम्प्लेट आदिको माध्यमबाट मात्र सम्भव नहुने हुँदा गाउँलेहरूलाई बुझाउने लोकगीतहरू रचेर अनेकौं सांस्कृतिक कार्यक्रमहरू गर्नुहुन्थ्यो। उहाँलाई जनतामा कसरी राजनीतिक, सामाजिक चेतना बढाउने भन्ने तरिकाको ज्ञान थियो।




यसरी गाउँलेहरूमा राजनीतिक चेतनाको अभिवृद्धि गर्न उहाँले सांस्कृतिक टोलीहरूको गठन पनि गर्नुभएको थियो। सो समयमा पन्तले ब्यान्जोको आकारको ‘कालीबाजा’को निर्माण पनि गर्नुभएको थियो। यो पनि अब एउटा इतिहास बनिसकेको छ। पर्वत तथा बागलुङमा हुने चैते–दसैंजस्ता मेलामा पन्तले महिला जागरणको मात्र नभई कन्या बेच्ने बाबुआमाविरोधी गीत पनि गाउनुभएको थियो। उदाहरणका लागि ‘छोरी बेचा हे बाहुन बाजे/अझै तँलाई लाग्दैन सरम’, ‘बिहा मलाई गर्ने हो भने/ल्याउनु होला कत्तुवा, चर्खा, तान’ उहाँले समाजका छुवाछुतलगायतका रूढिवादी परम्पराको अन्त्य तथा महिला र जनजातिको उत्थान गर्ने उद्देश्य राखेर विविध चेतनामूलक कार्य गर्नुभएको थियो।

२००७ सालको राजनीतिक परिवर्तनको आन्दोलनका बेला पश्चिम ४ नम्बरको कमान्डरको जिम्मेवारी पाउनुभएका पन्तले क्रान्तिका नेताका रूपमा पर्वत कुस्मा र बागलुङको मुक्तिसेना सञ्चालन गर्नुभएको थियो। त्यस्तै, पन्तले सो क्षेत्र कब्जा गरी सर्वश्री ओमप्रसाद गौचनको नेतृत्वको प्रान्तीय सरकारमा उपप्रधानमन्त्री भई काम गर्नुभएको थियो। यस समयमा पन्तले सूचना विभाग हेर्नुपथ्र्यो। २०१७ सालको पञ्चायती व्यवस्थाविरुद्धसमेत लड्नुभएको थियो। सो क्रममा उहाँले भूमिगत तथा जेलजीवनसमेत बिताउनुपरेको थियो। २०१९ सालदेखि राजनीतिबाट टाढिनुभएका पन्त त्यसपछि पूर्ण रूपमा लेखनमा लाग्नुभएको थियो।

इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। सो क्रममा पन्त भारत (सिक्किम, दार्जिलिङ, कुमाउँ–गढवाल, आसाम, हिमाञ्चल प्रदेश), चीन, भुटान, पाकिस्तान, श्रीलंका तथा बेलायतमा पुग्नुभएको थियो। म्याट्रिक पास गर्नुभएका पन्तलाई नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, अंग्रेजी भाषाको समेत ज्ञान थियो।

उहाँको जन्म १९६४ साल भदौ ६ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो। पिता नरेन्द्र पन्त, माता निलकुमारी पन्तका कान्छा छोरा कालीभक्त २००९ सालदेखि भने पर्वतको फलेवासमा बस्दै आउनुभएको थियो। १७ वर्षको उमेरमा कालीभक्तको कृष्णा पन्तसँग विवाह भएको थियो। उहाँहरूका तीन छोरी र ६ छोरा भए। साहित्यकार देवीप्रसाद वनवासीका अनुसार पन्तको जन्मथलो तत्कालीन धौलागिरी अञ्चल, पर्वत जिल्लामा परे पनि उनी प. ४ नं. स्याङ्जा हो। ‘साइलादाइ कहाँ गयो’ भनेर दोहोरी गाउने मसानेका समकालीन पाथे भाइ हुन्। 
कालीभक्त पन्तका ‘पश्चिम ४ नम्बर (नेपाल) को इतिहास’ (२००९), ‘किसान गीता’ (२०१२), ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’ (२०२७), ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८), ‘गीत सुधारको राष्ट्रिय बाटो’ (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भबध’ (नाटक, निधनपश्चात् २०५० मा प्रकाशित) लगायतका कृति प्रकाशित छन्। यसबाहेक पन्तका विभिन्न विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन्।

विशेषगरी ‘हाम्रो सांस्कृतिक इतिहास’मा पन्तले राष्ट्रिय संस्कृति र यसको आवश्यकताको विषयबाट सुरु गरी राष्ट्रियता, हाम्रा गीत, भाषा आदिको प्रारम्भिक स्थिति, नेपालमा झ्याउरे गीतको बीजरोपण, हाम्रा देशका गीतहरूको बनावटको सिलसिला, गीतको आइनो गर्दा भाषा र लिपि, हाम्रा राष्ट्रिय ध्वनिको दिग्दर्शन र विश्वका गीतका ध्वनिहरू, हाम्रा गीतका बीजरोपक र परिवर्तनकर्ता, हाम्रा गीतका छन्दहरू, लोकगीत र तीबाहेकका गीत–बाजा, हाम्रा गीत–बाजाका भेद, गीतको संक्षिप्त महिमा, दार्जिलिङ–सिक्किम–भुटानका गोर्खालीका र हाम्रा गीतमा एकरूपता, हाम्रा देशमा शास्त्रीय संगीतलगायतका विषयमा केन्द्रित रहेर नेपालको समग्र सांस्कृतिक इतिहासलाई खोजी अभिलेख गर्ने काम गर्नुभएको छ।

दिवंगत संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पन्तको यसै कृति अध्ययन गरेर आफूलाई उहाँप्रति निकै श्रद्धा लागेको बताउनुभएको थियो। उहाँले पन्तलाई लोकसंस्कृतिको अगुवा बताउँदै सो समयमा लोकगीत, परम्परा र संस्कृतिका सम्बन्धमा कलम चलाई योगदान पुर्‍याउनु अतुलनीय रहेको बताउनुभएको थियो। भाषा तथा लोकसंस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुका अनुसार पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’मा लोकगीत र लोकनृत्यलाई राष्ट्रिय संस्कृतिका महत्त्वपूर्ण अंगका रूपमा विवेचना गर्नुभएको छ। उहाँका अनुसार यस कृतिमा धेरै कुरा पहिलोपटक प्रस्तुत गरिएका छन् र नेपाली भाषा र लोकगीतमा अनुसन्धान गर्नेहरूका लागि यी तथ्य र विश्लेषण स्रोतका रूपमा रहेका छन्।

बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई सहगान, सहनृत्य र सहकार्यमा अनिवार्य रूपले सहभागी बनाएर उपयोगी शिक्षा दिन सकिन्छ भन्ने उहाँको महत्त्वपूर्ण मान्यता पनि यस कृतिमा चर्चित छ। ‘गीत सुधारको राष्ट्रिय बाटो’ पुस्तक पन्तले नेपालीले आफ्नै सांस्कृतिक पद्धतिअनुसार गीत सुधार गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले तयार गर्नुभएको थियो। जसमा उहाँले गायन र नृत्यकलाको प्रारम्भ, नाच्ने–गाउने भावना र गला–कला, छन्दसाहित्य (तीजे, लहरी, झ्याउरे, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी आदि), हाम्रा पुर्खाकालीन सांगीतिक शाब्दिक सरजाम, गीतको संक्षिप्त महिमा, बहादुर सिंह बराल र नेपाली गीतका बनावटको इतिहास, आफ्नोपना र त्यसको पूर्ति, गीतका संज्ञा, परिभाषा र शब्दकोश, संगीत शब्द र भ्रम, हाम्रा गीत साहित्यले बदल्दै आएको ऐतिहासिक मोड, गीत रेकर्ड गर्नुभन्दा पहिले, केही फुटकर कुरा र गुनासाहरूलगायतका शीर्षकमा रहेर नेपाली गीतसंगीतका विविध विषय तथा पक्षको चर्चा गर्नुभएको छ।

संस्कृतिविद् तुलसी दिवस पन्तका ‘हाम्रो सांस्कृतिक इतिहास’ र ‘गीत सुधारको राष्ट्रिय बाटो’ पढेपछि उहाँबाट निकै प्रभावित हुनुभएको थियो। उहाँका अनुसार ‘नेपालको मेची–महाकालीलगायत पूर्वदार्जिलिङ, सिक्किमदेखि पश्चिम कुमाउँ–गढवालसम्म आफैं घुमेर लोकगीत, साहित्य र संस्कृतिको तथ्य संकलन र अन्वेषण गर्नु त्यो समयमा चानचुने कुरा थिएन, त्यो पनि आफ्नै खर्चले।’

यस्तै पन्तले लेखेका तथा संकलन गरेका थुप्रै रचना तथा कृतिहरू अझै अप्रकाशित देखिन्छन्। तिनलाई संकलन तथा सम्पादन गरी प्रकाशन गर्नु आवश्यक देखिन्छ।

उहाँको निधन भने २०४८ फागुन ६ गते भएको थियो। कालीभक्तको निधन हुनुभन्दा २२ वर्षअघि अर्थात् २०२६ माघ ११ गते नै धर्मपत्नी कृष्णा पन्तको ६० वर्षको उमेरमा निधन भइसकेको थियो। उहाँहरूको स्मृतिमा २०७४ वैशाख १ गतेदेखि कालीभक्त कृष्णा पन्त प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले ‘स्रष्टा कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’सँगै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, मानवीय सहयोग तथा सांस्कृतिक गतिविधि पनि गर्दै आएको छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस