‘लघुवार्ता’को वजन
०९ फागुन २०८१
•
९ मिनेट पाठ
‘लघुवार्ता’को वजन
लघुकथाकार राजु क्षेत्री अपुरोद्वारा लिखित / संकलित लघुवार्ता कृतिको मिति २०८१ माघ  ५ गते हाम्रो लघुकथा केन्द्रद्वारा लोकार्पण भएको हो। लघुकथा वृत्तमा अपुरो स्थापित एवं चीरपरिचित नाम हो। उनले लघुकथामा संस्थागत एवं कृतिगत योगदान गरिसकेका छन्। लघुकथा वृत्तमा म र म जस्ता थुप्रैलाई भित्र्याएका छन्। चार लघुकथासङ्ग्रह नेपाली लघुकथाको ढुकुटीमा भरिदिएका अपुरो लघुकथा विधामा पूर्णत समर्पित स्रष्टा हुन्। वैदेशिक रोजगारीमा रहेर रोजीरोटीको व्यवस्थापन गर्दै यतिसम्म योगदान गर्न सक्नु चानचुन कुरा होइन। प्रसंशनीय एवं नमनीय पक्ष हो। यो लघुकथा केन्द्रित वार्तापुस्तक लघुकथाको इतिहासमै पहिलो पाइला हो। हमेशा केही नयाँ गर्न खोज्ने  विधागत गान `हाम्रो लघुकथा गान ´का परिकल्पनाकार अपुरोलाई साधुवाद! सतत् नमन!




आवरण:

आवरण हेर्दा सामाम्य तर गहकिलो भाव बोकेको छ। आवरणको चित्रले दुई पाटो देखाएको छ। त्यहाँ छुट्टाछुट्टै दुई लास जलिरहेका छन्। एउटामा थुप्रै मलामी छन्। अर्को लासमा चार जना मात्रै छन्। यसले  राम्रो कार्य गर्नेको मर्दा पनि मलामी पाइन्छ। नराम्रो कार्य गर्नेको मलामी पाउन पनि गाह्रो हुन्छ भन्ने अर्थ लागेको छ। समाजमा योगदान दिनेको नाम हुन्छ र  मृत्युपछि पनि सर्वत्र चर्चा हुन्छ भन्ने सन्देश बोकेको छ।

पुस्तकभित्रका कुरा:

लघुकथा क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाइसकेका  प्राडा कपिल लामिछानेको सम्पादकीय आफैँमा गहन छ। उनले आफ्नो सम्पादकीय कलममा अपुरोले लघुकथा क्षेत्रमा पुर्याएको योगदानको जमेरै प्रशंसा गर्न भियाएका छन्। यस पुस्तकमा लघुकथा वृत्तमा केही न केही योगदान गरिसकेका २४ व्यक्तिका अनुभूति एवं भलाकुसारी समेटिएका छन्। जसमा महत्त्वपूर्ण विचारहरू आएका छन्। सारगर्भित भनाइहरू राखिएका छन्। सबै उल्लेख गर्न यहाँ सम्भव छैन। उदाहरण स्वरुप वार्ताका केही अंश मात्र हेरौँ।

लघुवार्ताको लघुअंशको परिचर्चा:

प्राध्यापक विश्वराज अधिकारीबाट दुईवटा कुरा - 

(क) प्रत्येक समय आफूलाई शिष्य सम्झिने हो भने धेरै कुरा जान्न सकिन्छ। गुरु सम्झेमा भने गुमाउनुपर्ने हुन्छ। जीवन एक पाठशाला हो र हामी त्यसका विद्यार्थी हौँ। जुनैसुकै उमेरमा पनि सिक्ने क्रम जारी रहन्छ। ज्ञानको भोक हामीमा निरन्तर रहनुपर्छ।

(ख) नेपालमा पठन संस्कृतिको अति नै अभाव छ। एउटा साहित्यकारले नै अर्को साहित्यकारको कृति पढिदिंदैन्। यस्तो स्थितिमा आम पाठकले कुनै कृति पढ्न तत्काल कसरी इच्छा गर्लान्? आफूलाई वरिष्ठ ठान्ने साहित्यकारहरूले नयाँ वा कनिष्ठका रचनाहरू पढिदिदैनन्। चर्चा गरिदिंदैन्। पुरस्कृत पुस्तकहरू मात्र पढिने वा पुरस्कृत हुन नै कृति उत्कृष्ट हुनुको मानक बन्ने, साहित्यकारहरू बिच नै राम्रो समझदारी नहुने जस्ता अनेक समस्या नेपालको साहित्यको विकासमा तगारोको रूपमा देखिएका छन्।

पौडेल विमुन्सको विचार:

नेपाली भाषा साहित्यको जुनसुकै विधामा सेवा गरे पनि मातृसेवा हो। चोरी गरेर सेवामा आफ्नो नाम लेखाउनेहरूको विगविगी देखिन्छ। पैसाले पुरस्कार समेत आफ्नो पोल्टामा पारेका देखिन्छन् तर आफूसँग साहित्य सिर्जना गर्ने कला नभए पनि अन्य केहीमा पक्कै क्षमता छ पहिचान गर्नुहोस् र त्यसै क्षेत्रमा सेवा गर्नुहोस्। यसले लघुकथा लगायत हरेक विधाको उत्कृष्टता उत्कर्षमा पुग्नेछ।

डा. हरिप्रसाद भण्डारीले नयाँ लघुकथाकारले केके कुरामा ध्यानदिने र कसरी लघुकथा लेख्ने? भन्ने राम्रो मार्गदर्शन गर्नुभएको छ।

लघुकथाको अन्त्य भैसकेपछि पाठकलाई सोच्ने र धारणा बनाउने ठाउँ दिनुपर्छ। उनको यस भनाइले खुला समापनको पक्षपोषण गरेको छ।

"नकारात्मकभन्दा पनि सकारात्मक कुरातिर केन्द्रित हुनुपर्छ।

लेखनमा पुराना र नयाँ दुवै पुस्ता समर्पित छन्। पुरानो पुस्ताका लेखकहरूबाट प्रभावित नयाँ पुस्ताका लेखकहरू र नयाँ पुस्ताका लेखकहरूबाट प्रफुल्लित पुराना पुस्ताका लेखकहरूको लघुकथा लेखनमा समर्पण प्रशंसनीय छ।" यो भनाइ लघुकथाकार रासाको हो।

"नेपाली लघुकथा साहित्यमा अझै परिपक्व भइसकेको छैन। अहिले लघुकथा लेखनमा बाढी आएको छ। लघुकथामा नयाँ विषय र नयाँ लेखन शैली प्रयोग गर्नुपर्ने आवश्यकता देखेको छु। म पनि यस कार्यमा प्रयासरत छु।

पहिला त लघुकथामा हास्य तत्त्व हुनु हुँदैन भनेर म मान्दिनँ। हास्य कथा, हास्य निबन्ध, हास्य कविता हुन्छ भने हास्य लघुकथा पनि हुन सक्दछ। मुख्य कुरा त्यसमा लघुकथाका सम्पूर्ण तत्त्व हुनै पर्दछ। हास्य तत्त्व भएको लघुकथा लेख्नु चुनौतिपूर्ण कार्य हो। त्यसलाई चुट्किला हुनबाट जोगाउन विशेष सीप चाहिन्छ। लघुकथाकार कृष्ण बजगाईं भन्छन्।

लघुकथाका सिद्धान्तकार लक्ष्मण अर्यालले आफ्ना भनाइमा "अलघुकथालाई लघुकथा हो भनी जिद्दी गर्नेलाई सचेत तुल्याउनै पर्छ।´´

स्थानिक एकोन्मुखता, कालिक एकोन्मुखता र पारिस्थितिक एकोन्मुखता लघुकथाका खास धर्म हुन्। लघुकथाको उद्देश्यमा लक्षित हुन एकोन्मुखताले अर्जुनदृष्टिको काम गर्छ। कसैलाई एकोन्मुखतातिरको यात्रा असहज लाग्छ भने उसले यो प्रविधा चुन्नु हुन्न भन्छु, म।"

यसैगरी लघुकथाकार नवराज रिजालले "संसारमा सबैभन्दा ठुलो कुरा आफूले आफूलाई चिन्नु, जान्नु र बुझ्नु हो। आफूले आफैँलाई चिनेमा वरिष्ठ र कनिष्ठका कुराहरूले त्यति महत्त्व राख्दैनन्। यो भावना राख्नु पनि हुँदैन। को वरिष्ठ, को कनिष्ठ? भनिरहने कुरै हैन। यो काम समयको हो, हामीले लेखनमा विश्वास गर्नुपर्छ। वरिष्ठ, कनिष्ठको विभेदमा हैन। लेखनलाई निरन्तरता दिँदै परिमार्जित हुँदै गए हिजोका कनिष्ठ आज वरिष्ठ र आजका कनिष्ठ भोलिका वरिष्ठ हुन्। त्यसकारण त्यस्ता कुराहरू नै गर्नु हुँदैन। फेरि लेखन भनेको एउटा तपस्या हो र लेखकहरू तपस्वी हुन् भन्दै आफ्ना विचार पोखेका छन्।

चिरपरिचित लघुकथाकार ध्रुव मधिकर्मीले "जीवनको एउटा क्षण सानो घटना वा अनुभूतिले निर्माण भएको सानो आख्यान नै लघुकथा हो।

अब लघुकथा केन्द्रले नयाँ पुराना श्रष्टाहरूका राम्रा र मानक लघुकथा किन चर्चित र महत्त्वपूर्ण भए? भन्नेबारे त्यसका विशेषता चर्चा गर्न प्रकाशित लघुकथा कृतिका प्रचार र समीक्षकका लागि पनि केही गर्न सकिन्छ भनेर आफ्नो सुझाएका छन्।

त्यस्तै गंगा कर्माचार्य पौडेलले लघुकथा लेख्न सैद्धान्तिक अध्ययन गर्नुहोस्। तत्काल प्रशिक्षण हुन नसके विज्ञसँग सिक्नुहोस्। कम्तीमा १० सङ्ग्रह पढ्नुहोस्। अध्ययन अझै बढाउनुहोस्। अनि लेखन अभ्यास गर्नुहोस्। लघुकथा लघुकथा जस्तो बन्छ भनेर नयाँ  लेख्नेलाई मार्गदर्शन गरेकी छन्।

आफ्नो अन्तर्वार्तामा डा. कुसुमाकर शर्माले लघुकथाका विशेषता उल्लेख गरेका छन्। लघुकथाको मन्त्र दिएका छन्। नयाँ लघुकथाकारका लागि मात्र होइन केही पुराना सर्जकका लागि समेत त्यो ग्रहणीय पनि छ।

"साधनारत सर्जकले सिर्जनामा ध्यानस्थ हुनुपर्छ न कि प्रचारमा? समूहवाद, आफन्तवाद, चिनजानवाद, चियावाद र रेस्टुरेन्टवाद त जताततै चलिरहन्छ, कहिल्यै शून्य हुँदैन। साधनामय निरन्तरताको सिर्जना त अहिले नभए १०० वर्षपछि पनि चिहान खनेर निकालिने छन् ! साहित्य सिर्जना इन्स्ट्यान्ट नुडल होइन भनेर आत्मसात गरौँ। " लघुकथाकार सुमन सौरभले ओझपूर्ण संवाद व्यक्त गरेका छन्।

दुई सय वटा सोचौँ। सय वटा लेखौँ। नब्बे वटा फालौँ र उत्कृष्ट १० मात्र प्रकाशित गरौँ। कसैलाई हानि हुँदैन। फाइदा भनेको गुणवत्ताले पाउने हो आत्मशुघ्दताको रोग बडो चित्त बुझ्यो है। अहिले देखिन्छ नै यस्तै यसबाट टाढा बस्ने प्रण गरौँ। लघुकथामा गहिरो छाप छाड्न सफल डा . रवीन्द्र समीरले आफ्नो अन्तर्वार्तामा भनेका केही हरफ हुन्, यी।

प्राडा कपिल लामिछानेले "पाठकको मनोविज्ञान बुझेर काम गरौँ। पाठक उत्कृष्ट र मानक लघुकथा पढ्न आतुर छ।

लघुकथा पुरस्कार कम छन्, अरू स्थापना गरौँ। लघुकथाकार कोष त आएको छ। लघुकथा कोष बनाउन बाँकी नै छ। लघुकथा प्रधान एउटा पत्रिका छैन। एउटा मासिक पत्रिका निकालौँ। लघुकथा समालोचना कम छन् , त्यसमा जोड दिऊँ। समालोचकलाई पनि विशेष रूपले सम्मान गर्ने परिपाटी बसालौं।" भनेर आफ्ना सुझावहरू पेश गरेका छन्।

लघुकथा कुनोका संस्थापक व्यवस्थापक नारायण तिवारीबाट मुख्यत तीन कुरामा जोड दिएका छन्

(क) नपढ्ने प्रवृत्ति छ। यो प्रवृत्ति हट्नुपर्‍यो।

(ख) लघुकथा लेख्नलाई सिद्धान्त होइन, लघुकथाहरू पढ्नुपर्यो। नेपालका मात्रै होइन, विश्वका स्तरीय लघुकथा पढ्नुपर्‍यो।

(ग) लघुकथाको किताब छाप्न हतार नगरेको राम्रो। धेरै लेख्ने र थोरै छनौट गर्ने र स्तरीय भएमा मात्र किताबमा समावेश गर्ने।

"साधारण र हल्का विषयवस्तुभन्दा पनि गहन, गम्भीर, सामाजिक र समसामयिक चिन्तनमा आधारित र गहकिला विषयवस्तुमा हामीले उम्दा र सर्वकालीय लघुकथा लेखनमा विशेष जोड दिनुपर्छ" भन्ने लाग्छ। यो भनाइ दिव्य गिरीको रहेको छ।

महेश प्रसाई भन्छन्, ``लघुकथा आख्यानको एक मनमोहक स्वरूप हो। यही जगतको अन्तस्करण हो लघुकथा। शास्त्रीय सिद्धान्त र दर्शनशास्त्रका ठेलीहरू पढेर लघुकथा लेखिंदैन। लघुकथा स्वयं एउटा विश्वविद्यालय हो। सिद्धान्तशास्त्री वा दर्शनशास्त्री र समालोचक लगायतले लघुकथा नामक विश्वविद्यालयमा ‘ज्वाइन’ गर्नुपर्छ। सर्जकभन्दा माथि सिद्धान्त र शास्त्रका आचार्यहरू हुँदैनन्।"

लघुकथामा नेपालमै पहिलो  विद्यावारिधी डा. पुष्करराज भट्टले वर्णनात्मकताको परित्याग, संवादात्मक शैलीको प्रयोगका साथै यसको सिद्धान्त बुझेर यसमा नै साधना गर्ने सर्जकहरू बढ्नुपर्छ। छिटै लेखेर स्थापित हुन खोज्नेभन्दा पनि राम्रो लेखेर स्थान बनाउने सर्जकको आवश्यकता छ। नेपाली लघुकथाको बारेमा अध्ययन अनुसन्धानका साथै समालोचनामा पनि वृद्धि हुनुपर्छ भन्ने लाग्दछ।

नबुझेर लाग्ने भन्दा पनि बुझेर लाग्नेको संख्या बढ्ने हो भने यसले थप उर्जा प्रदान गर्नेछ। अलिकति फरक मत राख्छु। बुझेर लाग्ने मात्र होइन, लागेर बुझ्ने पनि छन् र पर्याप्त साधनापछि तिनले राम्रो लेखेका पनि छन्। लर्निङ बाइ डोइङ सिकाइको सिद्धान्त पनि हो। बुझेर लाग्नेले चाँंडै योगदान दिन सक्ला तर अध्ययन साधना र समर्पण भयो भने लागेर बुझ्नेले पनि पहिचान बनाउन र योगदान दिन सक्छ।" भनेर  विचार राखेका छन्।

लघुकथालाई सस्थापन गर्दै आफ्नो सस्थाका गतिविधिको जानकारी गराउँदै लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनबाट मुख्यत: तीन कुरा आएका छन्  - 

( क) पाठक भनेका सर्जकका गहना हुन्।

(ख) फेसबुकमा वाहवाही पाउँदैमा मात्र लघुकथा हुने होइन।

(ग) पाठकहरूले पनि आवश्यकता भन्दा बढी तारिफ गर्नु उचित हुँदैन।

पूर्णप्रसाद ब्राह्मण लघुकथा पुरस्कार २०८० प्राप्त गरिसकेका आरआर चौलागाईंले जे जति भएको छ राम्रो छ तर यतिले मात्र चित्त बुझाउन हुँदैन। हामीले संख्यात्मक  होइन गुणात्मकमा ध्यान दिनुपर्छ। कार्यशाला गोष्ठीहरू चलाउनुपर्छ, प्रतियोगिताहरूको आयोजना गर्नुपर्छ। अन्तरक्रियाहरू गर्नुपर्छ। कम्तीमा पनि लघुकथासम्बन्धी एउटा नियमित पत्रिका निकाल्नुपर्छ अनि मात्र लघुकथाको गरिमा अझ बढ्दै जान्छ।

यसै गरी लता केसीले लघुकथा क्षेत्रमा अवनरत खटिने आफ्नो टिमका सबै सदस्यलाई सम्झिदै इतिहास र वर्तमान अवस्था कोट्याएकी छन्।

ग्रामीण क्षेत्रमा रहेर लघुकथा लेखनमा सक्रिय गणेश नेपाली अनि लघुकथा गानका  सुमधुर स्वरका  धनी मनिषा राईलाई पनि उनका सारगर्भित भनाइहरू राख्ने मौका दिइएको छ। पूर्वमन्त्री समेत रहेका त्रिलोचन ढकाललाई पनि उनको प्रारम्भिक चरणको  लघुकथायात्रालाई स्थान दिएर उनको परिचय गराइएको छ।

अन्त्यमा पाठकहरूले लेखक र लेखकका भावना बुझ्ने सुनौलो अवसर पाएका छन्।  इतिहासको खोजी भएको छ। वर्तमान अवस्थाको चित्रण गरिएको छ। भविष्यको चिन्ता समेत गरिएको छ। लघुकथाकारहरूको परिचय संस्थागत र कृतिगत योगदानको जानकारी छ।

यी कुरा लघुकथा लेख्न चाहाने नवआगन्तुक साथै परिचर्चाकारका लागि पनि राम्रो मार्गदर्शक बन्न सक्छन्। त्यस्तै लघुकथाको उन्नयनमा लागि परेका हाम्रो लघुकथा केन्द्र र केन्द्र जस्ता अन्य संस्था र लघुकथा शुभेकच्छुकहरुले लघुकथाको श्रीवृद्धिका लागि के गर्ने? भन्ने सुझाव लघुकथा क्षेत्रका लागि अमूल्य निधि हुन सक्छन्। तसर्थ ५ वर्षको अवधिभित्र इमेलमार्फत लिइएका अन्तर्वार्ताको यो लघुवार्तासङ्ग्रह पठनीय एवं सङ्ग्रहणीय छ। अन्तर्वार्ताकार अपुरोलाई पुन: साधुवाद!

जय लघुकथा!

इन्दिरा चापागाईं 
अर्को समाचार
लघुकथाहरूकाे सुन्दर पुञ्ज ‘एकालाप’
१० साउन २०८२
•
९ मिनेट पाठ
लघुकथाहरूकाे सुन्दर पुञ्ज ‘एकालाप’
लघुकथाको क्षेत्रमा खेमराज पोखरेल कुनै अपरिचित नाम होइन। सामाजिक माध्यम खासगरी फेसबुक पेजहरू जसले उनलाई लघुकथाको क्षेत्रमा स्थापित गर्न मेरुदण्डको काम गरेको छ भन्दा अतिशयोक्ति नहोला। लघुकथाबाट नेपाली साहित्याकासमा उदाएका पोखरेललाई लघुकथाकार, आख्यानकार, समीक्षक मात्र होइन परदेशी भूमिमा रहेर पनि नेपाली साहित्यको सेवामा लागिपर्ने साहित्यकारका रूपमा नेपाली साहित्यिक जगतले स्विकारिसकेको छ। यसका बलियो प्रमाण हुन् -उनले सम्पादन गरेका करिब तीन दर्जन पुस्तक। यसका साथै उनले नेपाली साहित्यको श्रीवृद्धि गरेबापत थुप्रै सम्मान तथा पुरस्कार पनि पाइसकेका छन्। उनको साहित्यिक यात्राको निरन्तरताको शुभकामना दिंदै यहाँ भने उनको पछिल्लो कृति एकालापको मात्र चिरफार गरिएको छ।




विषय प्रवेश

एकालाप पोखरेलकाे लघुकथाको सातौं कृति हो। लघुकथा लेखनबाहेकको उनले निबन्ध, कथा, पाठ्यपुस्तक, साहित्यिक पुस्तक सम्पादन गर्दै आइरहेको देखिन्छ। उनको लगाव लघुकथामा बढी देखिन्छ। एकहत्तर लघुकथा सङ्ग्रहित “एकालाप” का सबै लघुकथाका शीर्षकहरू “एक” शब्दबाट सुरु भएका छन्।

यस सङ्ग्रहमा एक शब्दको पछाडि अर्को शब्द थपेर दुई पदीय शीर्षक राखेर उनले आफ्नाे पृथक् शैली प्रस्तुत गरेका छन्। उनले कृतिको शीर्षक एकालाप राख्ने कारणबारे यस्तो लेखेका छन्, “जिन्दगीभित्रका अनगिन्ती धारावाहिक पाटाहरू रहेका हुन्छन्। यो भने मैले जीवनसँग गरेको एक आलाप मात्र हाे तर न त जीवनले मेरो आलाप सुन्यो न मैले आलाप गर्न छोडे। परिणति एकालाप हो।” 

उक्त कथनबाट यो कृतिको शीर्षकले स्वत: सार्थकता पाएको बुझिन्छ। आवरण कलामा एक व्यक्ति मेचमा बसेर एकालाप गरिरहेको बुझ्न पाठकलाई हम्मे पर्ने छैन। मोलुङ फाउन्डेसन कोटेश्वर काठमाडौंले प्रकाशनमा ल्याएको यो पुस्तकको आवरण कला राजेन्द्र तारकिणीको रहेको छ भने लेआउट केदार आचार्यले गरेका छन्। हिमालयन एकेडेमी प्रेस कुपन्डोल, काठमाडौंले मुद्रण गरेको यो लघुकथासङ्ग्रहको शुद्धाशुद्धि पाठ बिमल अधिकारी, कोलोराडो अमेरिकाको रहेको छ। २०८१ भदाैमा प्रकाशित पुस्तक किनेर पढ्ने, सङ्कलन गर्न वा अनुसन्धानका लागि प्रयोग गर्ने जो काेहीको पनि मूल्य भने असुल हुने देखिन्छ।

पाेखरेलले लघुकथाविज्ञ डा. हरिप्रसाद भण्डारीलाई भूमिका लेख्न दिएर पुस्तकलाई थप आधिकारिकता प्रदान गरेका छन्। “उम्दा लघुकथाहरू” अन्तर्गत आफ्नाे धारणा राख्दै डा. भण्डारीले लेख्छन्, “पछिल्लो समय नेपाली लघुकथाको अभियानमा खेमराज पोखरेलको नाम अग्रपङ्क्तिमा आइरहेको छ। लघुकथाका सैद्धान्तिक आधारमा हेर्दा उनी कतै चुकेका छैनन्।” डा. भण्डारीको यो कथनले पाठकलाई लघुकथा पढ्न उत्प्रेरित गरेको छ।

लेखकको भनाइ पुस्तकको सुरुमा राख्ने शास्त्रीय शैली तोड्दै उनले लघुकथासङ्ग्रहको अन्त्यमा आफ्नाे परिचय, भनाइ र प्रकाशित/सम्पादित पुस्तकहरूको विवरण राखेका छन्। यो प्रयोगले उनलाई समयसापेक्ष चल्न सक्ने लेखकको रूपमा परिचय गराउन मदत मिलेको छ।

एक सूर्यदेखि एक सम्भोगसम्म

एक सूर्य शीर्षकको लघुकथाबाट सुरु गरिएको यो लघुकथासङ्ग्रह एक सम्भोग शीर्षकको लघुकथामा पुगेर अन्त्य गरिएको छ। लघुकथाकार पोखरेलले यस सङ्ग्रहको पहिलो लघुकथामा आप्रवासनको विषय समेटेका छन्। पोखरेलले आप्रवासी पुस्ता र अमेरिकामा नै जन्मिएका पहिला सन्तान पुस्ताको द्वन्द्व कौशलपूर्ण कथानकमा उतारेका छन्। लघुकथा पढ्दा यस्तो लाग्छ, यो कुनै कथा होइन यथार्थ हो।

उक्त लघुकथामा पाकिस्तानी पात्र खडा गरिएको छ। अन्य देशको आप्रवासीको ठाउँमा नेपाली आप्रवासीलाई नै पात्रको रूपमा ल्याउन सकेको भए यो लघुकथाले अझ नेपालीत्व पाउँथ्यो।

सम्भोग यो लघुकथासङ्ग्रहको अन्तिम लघुकथा हो। म नेपाली पात्र र जेसिका अमेरिकी पात्रका वीजको कथा बुनेर यस लघुकथामा नेपाली र अमेरिकीको प्रेम र सम्भोगप्रतिको दृष्टिकोण देखाउन खोजीको छ।

समीक्षक रुद्र अधिकारी ‘निर्दोषी’
यौन विषय नेपालमा सङ्कुचित भए पनि अमेरिकीहरू भने खुला छन् भन्ने देखाइएको छ। लघुकथाको अन्तिम वाक्यमा भनिएको छ, “म तिमीलाई साथीको रूपमा प्रेम गर्छु। सेक्स पार्टनरका रूपमा होइन। मेरो प्रेमी अर्कै छ, जससँग म दैविक आनन्दमा सम्भोग गर्छु।”

उक्त वाक्य आफैंमा लामो त छँदै छ, यसले पाठकलाई झट्का दिन पनि सफल भएको देखिंदैन। यद्यपि लघुकथाले प्रेम र सम्भोग फरक विषय हुन भन्ने पाठ सरल भाषामा पाठकहरूलाई सिकाएको छ। यो लघुकथाबाहेक उनले एक अस्तित्व, एक वरदान, एक भर्जिन, एक पीडा, एक आन्नद, एक माया, एक रखौटी, एक स्टायल, एक यन्त्र, एक जेनेरेसन र एक अलगाव जस्ता थुप्रै पारपाचुके, श्रीमान् श्रीमती विवाद र यौन सम्बन्धी लघुकथा लेखेका छन्।

उत्कृष्टताका नमुनाहरू

लघुकथा लेखन र समीक्षामा पारङ्गत पोखरेलका केही लघुकथा उत्कृष्टताका नमुनाहरू हुन भन्दा फरक नपर्ला। उदाहरणको रूपमा एक समय, एक लास, एक आरक्षण, एक अप्राप्ति, एक युद्ध, एक दान, एक नियम, एक चस्मा, एक आकाङ्क्षा, एक याचना, एक गोरु, एक परिवर्तन, एक डस्टविन, एक रगत, एक भेट्रान, एक आसन, एक दुदानी, एक अपाङ्ग, एक मूर्च्छना, एक मुक्ति र एक फर्मुला लगायतलाई लिन सकिन्छ।

यी लघुकथाले सामाजिक यथार्थता र मनोविज्ञानको मात्र चित्रण गरेका छन् आदर्शको स्वाद पनि पाठकलाई चखाउन सफल भएका छन्। त्यसैले पोखरेलका लघुकथाहरू आदर्श र यथार्थताको संयोजनले भरिपूर्ण उत्कृष्टताका नमुनाहरू हुन भन्ने दुई मत देखिंदैन !

खेम पात्रको पृथकता

पोखरेल आफ्नै नाम खेमलाई पात्रको रूपमा प्रयोग गरेर पृथक् शैली अपनाएका छन्। एक भेद, एक समय, एक राष्ट्रियता, एक वरदान, एक युद्ध, एक भ्यागुतो, एक साथी र एक मूर्च्छना लगायतका लघुकथामा “खेम” लाई पात्र बनाइएको छ। कतिपय लघुकथा “म” पात्रको पनि प्रयोग गरिएको पाइन्छ जुन अरू लेखकले पनि प्रयोग गर्दै आइरहेका छन्। मानव र मानवेतर दुवै पात्रको प्रयोगले लघुकथामा रोचकता थपेका छ।

कृतिको शीर्षक नै एकालाप भएर होला कतिपय लघुकथामा उनले आफ्नाे मनमा आएका विषय र प्रसंगको आलाप गरेका छन्। उदाहरणको रूपमा एक युद्धलाई लिन सकिन्छ। यस लघुकथामा उनी मसानसँग संवाद गरिरहेका हुन्छन्। मसानले भन्छ, पढेको हुँ भन्छस्। यत्ति कुरा पनि बुझ्दैनस्? आखिरी मान्छेले जिन्दगीलाई युद्ध ठानेपछि युद्धले दिने त विनाश त हो, तनाव त हो नि, खेम।

यसैगरी एक भ्यागुतो शीर्षकको लघुकथामा उनले नागरिकता र आप्रवासनबारे आलाप गरेका छन् भने एक साथी लघुकथामा असल साथीलाई आलापबाटै चिनाएका छन्। पात्रमा मात्र होइन कतिपय लघुकथामा पनि पृथक्ता भेट्न सकिन्छ। सबै लघुकथाको नाम एकबाट सुरु हुनु , एक कथा शीर्षकको लघुकथामा जन्मदिनबारे कलात्मक कथा बुन्नु, प्रश्नाेत्तर शैली अपनाउनु, मनोवाद वा नाटक शैलीमा लघुकथा लेख्नु यी र यस्ता धेरै सन्दर्भ र प्रसंगहरूले पोखरेललाई पृथक्ता प्रदान गरेका छन्।

अन्योल, बिस्तार र निराशा

पोखरेलका लघुकथाहरू सन्देश, विषय छनौट, पात्र चयन र कथानक पक्षमा अब्बल हुँदा हुँदै पनि कतिपय अवस्थामा उनी चुकेको देखिन्छ। उदाहरणको रूपमा एक पुल, एक सिर्जना, एक पीडा, एक वरदान, एक भर्जिन, एक बुझाइ, एक रखौट, एक रुवाइ र एक स्वतन्त्रतालाई लिन सकिन्छ। एक वरदान लघुकथाको अन्तिम वाक्य झड्का दिने हुनुपर्ने र त्यसपछि बिस्तार गर्नु नपर्ने मान्यतामा लेखक चुकेका हुन् कि? लेखक बोल्नु लघुकथामा राम्रो मानिंदैन।

उक्त लघुकथामा बिस्तार भएको देखिन्छ। एक सिर्जना आफैंमा सकारात्मक शीर्षक भए पनि लघुकथा पढ्दा धेरै निराशा भेट्न सकिन्छ। एक रङ्को प्रश्न उत्तर शैलीमा लेखिएको लघुकथा पहिलो र मध्य भागमा राम्रो हुँदा हुँदै पनि अन्यमा नेता र जनतालाई रङ्गसँग तुलना गरिएको प्रसंग अकस्मात आएको छ जसको माथि कुनै सम्बन्ध छैन। उनका नगण्य लघुकथामा एकभन्दा बढी आयामको प्रयोग गरेको पाइन्छ। उदाहरणको रूपमा एक मुक्ति र एक पूजालाई लिन सकिन्छ।

सैद्धान्तिक पक्ष

पोखरेल लघुकथाकार मात्र नभई एक कुशल समीक्षक पनि भएकाले उनकाे अधिकांश लघुकथामा सैद्धान्तिक पक्ष मजबुत देखिन्छ।

प्रायजसो सङ्गृहीत लघुकथाहरूको कौतूहलपूर्ण र आकस्मिक उठान गरिएको छ भने कथाको बुनोटमा द्वन्द्व पनि सिर्जना गरिएको छ। उनका लघुकथा पढिरहँदा एक वाक्यमा उठान र अन्त्य गर्ने मान्यता अलि खुकुलो भएको आभास हुन्छ। विषयवस्तुको प्रष्टता, संवादको प्रयोग र पात्रहरूबीच वार्तालाप प्राय: सबै लघुकथामा भेटिन्छन्। अधिकांश लघुकथा एक समय, एक स्थान, एक घटनामा सीमित रहे पनि केही भने कालखण्डरहित हुन सकेका छैनन्। शब्द सीमामा उनी कटिबद्ध मात्र देखिंदैनन् उनका सबै लघुकथा एउटा कुमालेले साँचोमा राखेर बनाएका एउटै आकारका भाँडाकुँडा जस्ता देखिन्छन्।

लघुकथा समापनमा विद्युतीय झड्का दिनुपर्ने मान्यतामा उनी समर्पित देखिएको भए पनि कतिपय लघुकथा बिस्तार भएको देखिन्छ। कम पात्रको प्रयोग उनको विशेषता नै रहेछ भन्दा फरक नपर्ला।

समग्रमा उनका लघुकथाहरूको सैद्धान्तिक पक्ष सबल भएकाले एकालाप पाठक, अनुसन्धानकर्ता, समीक्षक र लघुकथाबारे रुचि राख्ने जो कोहीका लागि पनि सङ्ग्रहणीय सामाग्री हुन सक्छ।

निष्कर्ष

निष्कर्षमा भन्नु पर्दा पोखरेलको एकालाप लघुकथासङ्ग्रह एक उत्कृष्ट कृतिको रूपमा आएको छ। अधिकांश लघुकथाको विषयवस्तु नेपाली र अमेरिकी समाज छ। स्वदेशी तथा विदेशी परिवेश पस्कनु उनको विशेषता नै देखिन्छ। कला, संस्कृति, चालचलन, रीतिरिवाज, विकृति, विसंगति, मानवीय भावना, श्रीमानश्रीमतीको सम्बन्ध, पारपाचुके, यौन, सामाजिक, आर्थिक र राजनैतिक विषयवस्तुलाई उनले विदेशी र स्वदेशी कोणबाट प्रस्तुत गरेका छन्।

यो लघुकथासङ्ग्रह कुनै दस्तावेजभन्दा कम छैन। कतिपय कथनमा पात्रले स्थानीय भाषाको प्रयोग गर्नुपर्ने सन्दर्भमा पनि नेपाली भाषाको प्रयोग गरिएको छ भने कतिपय नेपाली शब्द हुँदा हुँदै अन्य भाषाको प्रयोग गरिएको छ।

सरल भाषाशैली, स्वत: स्फूर्त कथन र स्थानीय लवजको समिश्रणले कथालाई काल्पनिक नभएर यथार्थको नजिक रहेको पुष्टि गरेको छ। प्रस्तुतिगत विशिष्टताले भरिपूर्ण लघुकथाहरूको बुनोट, विषय, स्वरूप, तत्त्व र सैद्धान्तिक पक्ष बलियो देखिन्छ। यद्यपि लघुकथा क्षेत्रको सैद्धान्तिक दृष्टिकोणले बामे सरिरहेको वर्तमान निरपेक्षमा लघुकथाका पाठकले पोखरेलका लघुकथाहरूलाई नमुना र आदर्श ठान्नु अस्वाभाविक होइन। तसर्थ उनका लघुकथाहरू पढ्नेले उनीबाट ठूलो अपेक्षा मात्र राखेका हुँदैन “म उहाँको जस्तो लघुकथा लेख्छु” भनेर आदर्श व्यक्तिको रूपमा पनि मान्यता दिइरहेका हुन्छन्।

पाठकको उक्त अपेक्षा ख्याल गर्दै आगामी दिनमा आकर्षक छोटो वाक्यबाट लघुकथाको सुरुवात गर्ने, श्रीमान् श्रीमती, पारपाचुके, यौन र अन्य सामान्य विषयभन्दा पनि अलि फराकिलो र गम्भीर विषय छनौट गर्ने, स्थानीय भाषालाई सोही भाषा र लवजमा उद्धरण दिएर उल्लेख गर्ने, कथालाई अलमल नगरी टुङ्ग्याउनु, छोटो र बिस्ताररहित झड्केदार समापन गर्न र नेपालीबाहेक अन्य भाषाको कम प्रयोग गर्न सके उनका लघुकथाहरूले सगरमाथा चुम्ने थिए।

आदर्श र दर्शनका विषय र प्रसंगहरू उनका लघुकथाहरू विशिष्ट छन् भन्ने बलियो प्रमाण हुन्। धेरै राम्रा र सामान्य सबै खाले लघुकथा यस सङ्ग्रहमा अटाएकाले अग्रज, समकालीन र नवआगन्तुक सबै खाले लघुकथाप्रेमीका लागि उनको एकालाप सङ्ग्रहणीय पुस्तक हुन सक्छ। लघुकथाको उन्नयनमा लामो समयदेखि योगदान पुर्‍याउदै आएका पोखरेललाई उनले नेपाली साहित्य र लघुकथाको क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै अनवरत साहित्यिक यात्राको शुभकामना!
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
सलल बगिरहने खोला हुँँ
सलल बगिरहने खोला हुँँ
नागरिक नागरिक • · १४ असार २०८२ · २ मिनेट पाठ
यो तस्बिरमा वस्त्र
गाेपाल पराजुली गाेपाल पराजुली • · १४ असार २०८२ · १ मिनेट पाठ
यो शब्दमा श्रीपेच
गाेपाल पराजुली गाेपाल पराजुली • · १७ जेष्ठ २०८२ · १ मिनेट पाठ
कवयित्री
कवयित्री
बिसुकुमार केसी बिसुकुमार केसी • · १४ असार २०८२ · १ मिनेट पाठ
‘पिताम्बर’ टीमले मनायो ५१ दिन
नागरिक नागरिक • · २३ जेष्ठ २०८२ · १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस