म छोरा हुँ
०४ फागुन २०८१
•
२ मिनेट पाठ
म छोरा हुँ
एक मात्र छोरी गार्गीलाई उनकी आमा भन्छिन्, ‘छोरी तिम्रो बिहे गर्ने बेला भैसकेकाे छ। धेरै ठाउँबाट माग्न आएका छन्। कुरा चलाऊँ है।’




आमाको कुरा सुनेर रिसाउँदै तपाइँहरूलाई मलाई घरबाट निकाल्न हतार लागेको छ। त्यो मलाई थाहा छ। म निक्लिऊँ त भन्छे।

आमा बिस्तारै त्यसो होइन छोरी, बिहे भनेको बेलैमा गर्नुपर्छ। तिमीले आफैं छानेको छ भने पनि भन भन्छिन्।

आजको जमानामा बिहे गर्न केटाकेटी अरूले खोज्ने हो र? जसले बिहे गर्ने हो त्यसले नै सबै निर्णय गर्छ। बिहेभन्दा पहिले सँगै घुम्ने, रमाइलो गर्ने। मन लागेको शाेख जति सबै पूरा गर्नुपर्छ। जीवन छोटो छ। आजको दिन रमाएर बाँच्नुपर्छ। मलाई मेरो जीवन बाँच्न दिनुस्। तपाईहरू हस्तक्षेप नगर्नुस् भनेर फलाक्दै ऊ आफ्नो कोठातिर पस्छे।

बिहे गरेको दश वर्षपछि जन्मिएकी एउटा मात्रै छोरीका लागि आमाबाबुले कुनै कुराको अभाव हुन दिएनन्। नर्सरीदेखि नाम चलेको स्कुल भर्ना गरे। छोरी पनि पढाइमा तेज थिइन्। राम्रो स्तरमा परीक्षाहरू उतीर्ण हुँदै गई। ऊ जति ठुली हुँदै जान्थी आमाबाबु छोरीको अनाैठो व्यवहार देखेर सशङ्कित हुन्थे।

ऊ आमाबाबुको कुरा पट्टकै सुन्दिन थिई। छोरीको भविष्य बिग्रेला भनेर उनीहरू भने चिन्तित हुन्थे। त्यसैले बैलैमा उसकाे बिहे गरिदिने सोचमा थिए। तर ऊ भने स्वतन्त्र भएर आफनै तालमा हिँड्न रमाउँथी। राति अबेर घर आउने, केटाको जस्तो लुगा लगाउने गर्थी। राति पिएर आए पनि बाबुआमा धैर्य रहेर भोलिपल्ट बिहान शान्त भएको बेला कुरा गर्दथे।

त्यसबेला पनि ऊ भन्थिन्, ‘तपाईहरू मेरो चिन्ता लिन छोडिदिनुस्। म केटी होइन, केटा हुँ। मलाई कसैले केही गर्न पनि सक्दैन।’

छोरीको त्यस्तो व्यवहारले उनीहरू दुःखी हुन्थे।

एकदिन मध्यरातसम्म छोरी घर नअएकीले उनीहरू कुरेर बसिरहेका थिए। बिहान हुने बेलामा नशाले मदहोश भएर लरबराउँदै आइपुगे।

उनीहरूको अगाडि ठिङ्ग उभिएर भनिन्, ‘म तपाईहरूको छोरा हुँ। तपाईहरूले मेरो छोरी बाह्य आवरणभित्र छोराको चरित्र हेर्ने प्रयास नै गर्नु भएन। बाह्य बनोट छोरीको भए पनि आन्तरिक बनोट मेरो छोराको छ। त्यसैले म भोलि नै सेक्स परिवर्तन गर्न विदेश जाँदैछु। फर्केर आएपछि तपाईहरूका लागि बुहारी भित्र्याउने छु। भोलि बिहानै विदेश उड्दै छु।’  केहीबेरमै आमाबाबुको जवाफको प्रतीक्षा नै नगरी आफ्नो कोठा भित्र पसी।  
अर्को समाचार
माइला बढाउ
२३ साउन २०७८
•
८ मिनेट पाठ
माइला बढाउ

टङ्क भट्टराई

 




माइला बढाउको नाम रङ्गबहादुर। नामजस्तै मान्छे पनि साह्रै रङ्गिला। ऊ बेलामा पनि नाच्न, गाउन र मुरली बजाउनमा औधी सिपालु । मायाप्रीति लाउन त्यस्तै खप्पिस।

‘माझाघरको रङ्गे साह्रै रसिलो थियो । रमाइलो थियो।’ यसै भन्थे उनीसँगका दौंतरीहरू। गाउँमा उनलाई थाहा पाउने अघिल्ला पुस्ताकाहरू।

हाम्रा बाहरू तीन जना। जेठा नर्दल जो २०५६ सालमा बिते। माइला उनै रङ्गबहादुर जो इन्डियाको सिक्किममा २०६८ सालमा बिते। कान्छाचाहिं मेरा बा लालबहादुर जो असी वर्ष नाघिसकेर पनि अझै जीवितै छन्।

फुपूहरू तीन जना। दुई जना उहिल्यै बिते। कान्छी फुपू कृष्णमाया (सबैकी बहिनी) आजसम्म बाँचेकै छिन्।

मैले दुईटा फुपूहरू देखिनँ। एउटी खाम्तेल सान्नेका कार्कीलाई दिएको । एउटी लफ्याङ काफ्लेका विष्टलाई दिएको। उनीहरू म सानै हुँदा मरे। त्यसैले उनीहरू कस्ता थिए ? मैले थाहा पाइनँ।

माइला बढाउ रङ्गबहादुरलाई पनि मैले देखिनँ । म २०२७ सालमा जन्मिएको। माइला बढाउ २०१८ सालमै हिंडेका।

गाउँको पुछार आठमुरेमा हाम्रो गोठ थियो। गोठमा प्रायः हजुरबा नै बस्नुहुन्थ्यो। कहिलेकाहीँ हजुरबा नबसेको बेला हाम्रा बा र माइला बढाउ गोठमा बस्ने गर्थे। रात परेपछि भाइ (लाल) लाई एक्लै छोडेर माइला बढाउ मुरली बजाउँदै उकालो निस्किन्थे।

माथि बाँझे, सिउरामेमा एकजना सुवेदी बाउनको घर थियो। तिनकी छोरी राधिका निकै राम्री थिइन्। माइला बढाउ मीठो मुरली बजाउने, गीत गाउने, नाच्ने र हँसीमजाक गर्ने निकै प्रेमिल मान्छे। उनको तिनै राधिकासँग माया प्रीति बसेछ।

उता परम सुन्दरी राधिका। यता मुरली बजाउने रङ्गीन स्वभावका रङ्ग बहादुररूपी कृष्ण। उनी बाउनकी छोरी। रङ्गबहादुर क्षेत्रीका छोरा । ऊबेला यो सम्बन्ध कसैका लागि पाच्य थिएन। त्यहाँमाथि घर–परिवार र समाजको आँखा छलेर मायाप्रीति लाउनु भनेकै ठूलो जोखिमको काम थियो तर यी दुवैको जोडी नियतिले जुराइदियो।

च्यानडाँडा बाघवीर भुजेल भनेपछि औधी रसिला र पराक्रमी मान्छे । उनका छोरीहरू पनि निकै राम्रा।  माइला बढाउ बेला–बेला गफसफ गर्न त्यता पनि जाने गर्थे। एक दिन बेलुका उनी बाघवीर भुजेलका घरभित्र अबेलासम्म बसेछन्। ऊ बेला गाउँमा वरपर छरछिमेकका मान्छे भेला भएर राति अबेरसम्म अगेनाका डिलमा बसेर बात मार्ने चलन। त्यहीबेला गाउँका एकजना मुखिया (अर्कै थरी) त्यहाँ पुगेछन् । बाहिरबाट यसो चियाउँदा भित्र मान्छे गुनुमुनु गरेका। दैलामा आग्लो लागेको। दैलोनेरि सिकुवामा एउटा लौरो ठडिएको। हजुरबाले बनाको त्यो घँघरुको लौरो ती मान्छेले चिनेछन्। त्यसपछि किन हो रिसले मुर्मुरिंदै उनी त्यही लौरो बोकेर घर आएछन् र ‘फलानाका घरमा फलानो चोर पसेछ’ भनेर त्यही लौरो देखाउँदै गाउँमा हल्लाखल्ला गरेछन्। उनी गाउँका ठूलाठालु भएका कारण ‘अब मलाई मार्ने भए’भनेर माइला बढाउ भोलिपल्टैदेखि गाउँबाट भागेछन् ।  

२०१८ सालको जेठ महिना। चोरको आरोप खेपी डरले गाउँबाट भागेका माइला बढाउ कता गए कसैले पत्तो पाएन। त्यसको केही दिनपछि गाउँमा यस्तो हल्ला चल्यो–माझाघर रङ्गेले बाँझे सुवेदीकी छोरी राधिकालाई भगायो।

ऊ बेला आजको जस्तो न फोन सम्पर्क थियो न चिठी–चपेटो लेख्न पढाइ–लेखाइ नै। डरका मारे गाउँबाट भागेका माइला बढाउले राधिकासँग कहाँबाट कसरी सम्पर्क राखे होला ? घर–परिवारसँगै भाको बेला कुन जुक्तिले एकाएक आफ्नी प्रेयसीलाई त्यति मध्यराति भगाउन सके होला ? आज निकैबेर निधार खुम्च्याएर सोच्दा पनि पत्तो पाउन धेरै हम्मे पर्छ।

जे होस्, उनीहरूको साँचो प्रेमलाई कसैले रोक्न सकेन। छेक्न सकेन । जति खोजी गरे पनि कसैले भेट्न सकेन। उनीहरूले गाउँ छोडे। देशै छोडे। सीमापारि इण्डियातिर भासिए।

माइला बढाउका माथि उल्लिखित कुराहरू मैले आमा र गाउँका अरूबाट सुनेको हुँ।

नदेखे पनि हराएका परिवारका सदस्यहरूको सम्झना सबैलाई हुँदो रहेछ। जन्माउने, हुर्काउने र सँगै खेले–हुर्केकाहरूलाई त झन् कति हुँदो हो। त्यही भएर बाहरूले पैतृक अंश लाउँदा माइला बढाउ अब आउँदैनन् भनेर जाने पनि भए जति खेतबारी सबैको एक भाग अंश उनलाई छुट्याइदिएका थिए।

“तेरो माइलो बढाउ त यति रमाइलो थियो र गाँठे, गाउँमा कसैको बिहा हुँदा धुलो उडाएर नाच्थो। कहिले आइमाईका लुगा लाएर मारुनी पनि नाच्थो। गीत गाउन उल्लाई कसैले भेटदैनथो। मुरली त्यस्तै बजाउँथो। ज्यान पनि अग्लो, खाइलाग्दो। आँटिलो, हिम्मतिलो। केटीहरू त उल्लाई देखेपछि हुरुक्कै पो हुन्थे त, ऊ बेलाको त्यस्तो कडा जमानामा पनि बाउनकी छोरी भगाइदियो । राधिका भन्ने त्यो सुवदी बाउनकी छोरी यति राम्री थिइँ र गाँठे।” वस्तु चराउन जाँदा पल्लाघरका साइँला बा पछिसम्म पनि कुरा गर्थे।

माइला बढाउ सिक्किमको रिनाकमा छन् भन्ने कसैबाट सुनेपछि हजुरबा (मण्डलमान) सोध्दै–खोज्दै पुग्नुभएछ । केही दिन बसेपछि ‘हिंड् घर जाऊँ’ भनेर निकै बल गरेपछि हजुरबासँग हिंडेका माइला बढाउ ‘म पछि आउँछु’ भनेर बाटैबाट फर्केछन् । तर, पछि कहिल्यै गएनन्। ‘मैले पनि घर जाऊँ भनेर कति बले गरें तर मानेन’ सिमलबोटे टेकबहादुर बा बेलाबेला यसो भन्थे। सँगै खेलेको, हिंडे–डुलेको साथी भएकाले उनले एक दुईचोटिसम्म रिनाक गएर भेटेछन् । निकैपछि च्यानडाँडाका भुजेल भिनाजु रङ्गबहादुरलाई भेटेर आएँ भनेर सुनाउँथे। पछि जेठा बढाउका छोरा ज्ञान बहादुरले पनि उनलाई भेटेर आए।

भाइ अर्जुन इन्डिया आर्मीमा भर्ती भएको केही वर्षपछि माइला बढाउलाई भेट्न गयो। रोशी खोलापारि यताउति घर सोध्दै–खोज्दै जाँदा एउटा घरमा अग्ला ज्यानका काला–काला मान्छे घरका दलानमा बसेर डोका बन्दै गरेको देखेपछि माइला बढाउ पक्कै यिनै हुन् भनी उसले एक्कासि गोडा समातेर ढोगिदिएछ। पछि तिमी को हौ भनेर सोधी–खोजी गर्दा भाइले सबै कुरा बताएपछि माइला बढाउ पनि भक्कानिएर रुन थालेछन्। त्यो बेला समय छोटो भएकाले त्यत्तिकैमा ऊ फर्किहालेछ।

पछि केही दिनको समय लिएर माइला बढाउलाई भेट्न बुहारी मञ्जुलाई लिएर भाइ अर्जुन फेरि एकचोटि गयो। उनीहरू एकदुई दिन बसे। डुले । अघाउँजी बात मारे।

त्यसको केही समयपछि माइला बढाउकी नातिनी पद्मा (भगती दिदीकी छोरी) र जुवाइँ भएर ०६३–६४ सालतिर खोर्साने मोरङबाट बुबा–आमालाई लिएर सिक्किम गए। झन्डै पैंतालीस वर्षपछि दाजुभाइको भेट भयो। धेरैबेर रोए । ऊ बेला गाउँका दुःखका कुरा गरे। त्यसपछि जीवनका कठोर सङ्घर्षका कहानीहरू गरे। मरेका बाँचेका छोराछोरीका कुरा गरे। चार–पाँच दिनसम्म बसेर बुवा–आमा फर्किने बेलामा माइला बढाउले रुँदै ‘म पनि जान्छु’  भनेछन् । तर, त्यो बेला रोगले निकै गालिसकेको हुँदा उनी भाइ–बुहारीसँग नेपाल आउन सकेनन्।

पछिल्लो समय माइला बढाउ र बढेमा (राधिका) बीचको सम्बन्ध सुमधुर नभएको कुरा भाइ अर्जुन र बुबा–आमाबाट थाहा भयो। कति वर्षदेखि बोलचाल नै बन्द भएर उनीहरूको चुलो–चौकै अलग भएको रहेछ। ऊ बेलाको त्यस्तो प्रेमिल जोडीको एउटै घरमा बसेर पनि भात–भान्सा नै कसरी अलग भयो ? बुढेसकालमा एक–अर्काको सहारा चाहिने बेलामा उनीहरूको सम्बन्धमा किन पानी बाराबारको अवस्था आयो? सायद घरायसी व्यवहारको कारण होला। अथवा माइला बढाउ बेस्मारी रक्सी खान्थे अरे। यही आदतका कारण उनीहरूबीच झगडा र मनमुटाव भएको पनि हुन सक्छ।

अन्ततः २०६८ साल कात्तिकमा माइला बढाउ मरेको खबर आयो। त्यसको पाँच वर्षपछि २०७३ साल असारमा बढेमा (राधिका) पनि बितिछन्।

माइला बढाउलाई एकचोटि भेट्ने धोको मेरोचाहिं पूरा भएन। पछिल्लो समय घरका त्यति जनाले भेटिसक्दा पनि मचाहिं समय मिलाएर उनी छँदै जान सकिनँ। अहिले निकै पछुतो लागेको छ। काठमाडौंको व्यस्त जिन्दगी नै भनौं, नियमित जागिर र अतिरिक्त थप कामको बोझले गर्दा पनि एकचोटि पुगूँला भन्दाभन्दै समय त्यत्तिकै घर्कियो।

माइला बढाउ र बढेमा त बितेर गए। मेरा लागि उनीहरू रहस्यमयी कथाका पात्र थिए। जीवित भएसम्म भेट्न सकिएन। अब खालि कथामै सीमित भए तर एकचोटि उनीहरू बसेको ठाउँ जसरी पनि पुग्नुपर्छ भन्ने हुटहुटीले कुसुमजी र म २०७६ मङ्सिरमा सिक्किम पुग्यौं। घुम्दै–फिर्दै कालेबुङबाट रेशी खोला तरेर भाइ अर्जुनले बताएको ठेगाना पहिल्याउँदै माइला बढाउको घर पुग्यौं।

रिनाकस्थित माइला बढाउ बसेको ठाउँलाई रेशी गाउँभन्दा रहेछन् । सिक्किम पहिला नेपालकै भूभाग। थुप्रै खोलानाला, हरिया वन–वनेली, भीर–पाखा र उत्तरतर्फ हिमाली श्रृङ्खलाहरूले सजिएको सुन्दर पहाडी गाउँ। सबै नेपाली भाषी दाजुभाइ। उही नेपालीपनको रैथाने आत्मीयता।

बाटामुनि माइला बढाउको घर। नजिकै केटाकेटी पढ्ने स्कूल। उनले बनाएको काठको पुरानो घर भत्काएर जेठो छोरा राजनले सानो भुइँघर बनाएको रहेछ। आँगनको माटोलाई हातले छोएर ढोगें। भित्तामा माइला बढाउ र बडेमाको फोटो । देख्नेबित्तिकै मन कस्तोकस्तो भएर आयो। जिन्दगी रहँदै भेट्न नसकेकोमा भित्र–भित्रै क्षमा मागें।

नेपालमा बाउनले जुराएको नाम रङ्गबहादुर तर सिक्किममा उनले नाम फेरेर पर्शुराम क्षेत्री बनाएका रहेछन्।

बढाउको जिन्दगी दुःख–दुःखैमा बितेछ। उनले लामो समय सडक मजदुर (पक्की सडक बनाउने) को रूपमा काम गरेछन्। जीवनको उत्तरार्धमा रोगले गाल्न थालेपछि भने डोका बुन्दै र अरू खत्र्याकखुत्रुक कामहरू गर्दै घरमै बस्न थालेका रहेछन्। तीनटी छोरी र चार भाइ छोरा भएकोमा दुईटा छोरा सानैमा र साहिंलो छोरा सन्तोषचाहिं बिहा गरेर जुम्ल्याहा छोरा जन्मेपछि झुँिडएर मरेछ। छोरीहरूमा ठूली र माइली केही पर सालघारी भन्ने ठाउँमा र कान्छीचाहिं अलिमाथि रम्फुतिर दिएका रहेछन्।

दुईटा छोराहरू ठूला भएपछि उनीहरू समेतको सहयोगले माइला बढाउले जोडेको तीस–चालीस रोपनी जति बारी। त्यही बारी सिरानमा घर। बारीहुँदि बाक्ला बाँस झ्याङ, चिलाउने, उत्तिस आदिका अग्ला–अग्ला रुखहरू। घर अलि पर्तिर वस्तुभाउको गोठ। रुखहुँदि जताततै रहरलाग्दा स्कुस फलेका।

हामीले राजनकोमा बिहानको खाना खायौं। बढाउ–बढेमाको विषयमा धेरै कुराहरू ग¥यौं। दिउँसोतिर स्कुस उसिनेर खाईवरी सालघारीस्थित बढाउकी जेठी छोरी भगतीकोमा गएर बेलुका बास बस्यौं।

माइली दिदी तारालाई पनि त्यहीं नजिकै दिएको रहेछ। भोलिपल्ट हामी उनकोमा पनि गयौं। कान्छी सङ्गीताको घरचाहिं त्यहाँबाट अलिक टाढा भएकाले उनलाई भेट्न सकिएन।

जेहोस् माइला बढाउलाई नभेटे पनि उनी बसेको ठाउँ पुगियो। आफन्तजनहरूलाई देखियो, भेटियो। देखभेट नयाँ भए पनि एउटै रगत। एउटै मन। एउटै पन। वषौंदेखि भेटेजस्तो। वर्षौंदेखि हाँसखेल गरेजस्तो। उहिल्यैदेखि बोलेजस्तो।  

भेट्दा खुसी भइयो तर छुट्दा मन भरिएर आयो। नछुटौं–नहिंडौं जस्तो भयो। भौतिक शरीर छुटे पनि उनीहरूका मायालु तस्वीरहरू मनभरि सजाइयो। जुगौंसम्म माइला बढाउ बसेको माटोलाई ढोगियो । उनी हिंडेडुलेका ठाउँहरू हेरियो। पसिना बगाएका बारीका गराहुँदि घुमियो । भिराला बारीका बाँस र रुखहरूलाई मायाले छोइयो।  

मैले सानैदेखि सुन्दै आएका रहस्यका पात्र ती अग्ला ज्यानका काला–काला माइला बढाउ त्यतैहुँदि कतै डुलिरहेजस्तो अनि तिनै रुखका फेदमा बसेर मुरली बजाइरहेजस्तो लाग्यो। भावुक मनका साथ बढाउलाई सम्झिंदै एकछिन त्यताहँुदि डुलिरहेका बेला शीरमा हात राखेर उनले आशिष दिएजस्तो लाग्यो।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस