सत्तल निवासी स्वामी प्रपन्नाचार्य र म
२४ कार्तिक २०८१
•
८ मिनेट पाठ
सत्तल निवासी स्वामी प्रपन्नाचार्य र म
मृगस्थली मन्दिरमय छ, महिमामय छ। विभिन्न शैलीका मन्दिर मनग्यै छन्-डाँडैभरि। प्राकृतिक वातावरणको रमणीयता जुनसुकै बेला अनुभव गर्न सकिन्छ। पशुपति र गुह्येश्वरीबीचको केही अग्लो डाँडालाई अतीतदेखि नै मृगस्थलीका नामबाट चिनिँदै आएको बुझिन्छ। अतीतदेखि नै मृगको वासस्थान हो मृगस्थली।




डाँडामा पूर्व–पश्चिम लम्बिएको साँघुरो गल्ली छ। गल्लीको उत्तरपट्टि एउटा मध्यम आकारको सत्तल रहेको छ। बुइगलसहितको सत्तल पनि पूर्व–पश्चिम लम्बाइ भएको छ। त्यसको बीचको तलाका झ्यालहरूबाट गल्लीतिरका मठमन्दिरहरू देखिन्छन्। सत्तलको आँगनमा लहरै ६ वटा शिवालय छन्। तिनले सत्तललाई शोभायमान बनाएका छन्।

प्रत्येक शिवालयमा ठुलाठुला घन्ट स्थापित छन्। पदयात्रीहरू सत्तलका आँगनमा पुगे भने कसैकसैले घन्ट बजाउँछन्। त्यसबेला घन्टको ध्वनि मृगस्थली डाँडाभरि फैलिन्छ। रुखरुखका बालक बाँदरहरू घन्ट बजेको बेला निकै चनाखा देखिन्छन् र आमा भएतिर दौडिन्छन्।

घन्टको लामो ध्वनि बन्द भएपछि पहिलेकै जस्तो चराचुरुंगीको मधुरो कलरवले सत्तलको परिवेशलाई संगीतमय बनाइरहन्छ। त्यस शान्तस्थललाई सहरिया ध्वनि प्रदूषणको कोलाहलले हत्तपत्त खण्डित गर्न सक्दैन। रुखका चेपहरूबाट मात्र पश्चिमतिरको सहरिया परिवेशलाई चियाउन सकिन्छ। बिहानबिहान त्यहाँ आइपुगेका मानिसबाट द्वेष र तनावको प्रतिच्छाया प्रकट हुँदैन। तीमध्ये कोही सत्तलको आँगनमा आउँछन् र शिवालयको परिक्रमा गरेर बाहिरिन्छन्। उनीहरूको गन्तव्य गुह्येश्वरी वा पशुपतिनाथको दर्शन गर्नु रहन्छ। समयले भ्याएसम्म उनीहरू बाटामा पर्ने मठमन्दिरलाई अनदेखा भने गर्दैनन्। दिउँसो आउनेहरूको उद्देश्य भने केहीबेरका लागि भए पनि सहरिया कर्कश ध्वनि, प्रदूषण र धुलोधुवाँबाट मुक्त भएर सुरम्य प्राकृतिक रमणीयतामा आफूलाई  भुलाउनु रहन्छ ।

मृगस्थली क्षेत्रमा हरिण, मृग र बानरको चहलपहल राम्रै नियाल्न पाइन्छ। पक्षीहरूको सांगीतिक कोरसको मनमोहकताले लट्ठ भएर जंगलका एकान्त छहारीमा घण्टौं बिताउनेहरू हुन्छन्। डाँडामा बिहानै घाम झुल्केको बेला पात वा हाँगामा लुक्दै घामका थोपाहरू त्यहाँका मन्दिर, शिवालयहरूमा चुहिन्छन्। हिउँदका बेला त्यही तेर्सो गल्लीबाट निलो आकाशमा उडिरहेका चराका प्वाँखहरू टल्केका देखिन्छन्। त्यस ठाउँप्रति बानर र मृगको आत्मीयता बढी नै छ। ती निर्बोध प्राणीको पुख्र्यौली वासस्थान त्यही त हो नि।

१८/२० मिटरजति लम्बाइ भएको सत्तलको छाना टिनको छ। त्यसको निर्माण १९६३ सालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा भएको भन्ने थाहा हुन्छ। सत्तलको पूर्वपट्टिको चिलाउनेको बुढो रुखबाट बानरहरू सत्तलको छानामा फाल हान्छन्। त्यसबाट सत्तलभित्रको चकमन्नता केही खल्बलिएजस्तो हुन्छ। त्यसो त नजिकैका लप्सी र खरीका रुखहरूले पनि तिनीहरूलाई आश्रय दिइरहेकै हुन्छन्। मृग र बानरहरूको स्वभावजन्य चञ्चलताले मृगस्थलीलाई जाग्रत राखेका छन्।

सत्तलनजिकै पूर्वपट्टि गोरक्षपीठ छ। दक्षिणपट्टि अलिपर विश्वरूप मन्दिर छ। कैयौं मठ, शिवालय, मन्दिरहरू छन्। तिनको संरक्षण व्यवस्थापन अपेक्षित तवरमा भएको देखिँदैन तर प्राकृतिक र सांस्कृतिक तवरले मृगस्थली हरियालीयुक्त र सम्पदायुक्त छ।

मृगस्थलीको यही परिवेश र प्रकृतिसँग सन्निकट रहँदै सांस्कृतिक, धार्मिक गतिविधिले अतीतदेखि नै निरन्तरता पाइरहेका छन्। उल्लिखित चन्द्रशमशेरकालीन सत्तलमा नेपाल तथा भारतमा प्रसिद्धि प्राप्त गर्नुभएका एकजना विद्वान् बस्नुहुँदो रहेछ– स्वामी प्रपन्नाचार्य। उहाँलाई नेपाल टेलिभिजनका पर्दामा कहिलेकहीं देख्ने गरेको थिएँ।

पहेँलो धोतीमा बेरिएर कुनै औपचारिक धार्मिक–आध्यात्मिक कार्यक्रममा उहाँ देखिनु, सुनिनुहुन्थ्यो। ती गेरु वस्त्रधारी विद्वान्लाई भेट्न म उत्सुक थिएँ। उहाँबारे प्रकाशित समाचार र अन्य केही सामग्री पढ्दै आएको थिएँ। उहाँको ‘वेदमा के छ ?’ नामक कृति प्रकाशित भइसकेको थियो। त्यसले राम्रै चर्चा पनि पाएको थियो। म पहिलेदेखि नै नियमित रूपमा व्यक्तित्वमूलक कार्यक्रम उत्पादन गर्दै आएको थिएँ। त्यस कार्यक्रमले दर्शकहरूबाट लोकप्रियता पनि प्राप्त गरेको थियो। एकदिन विचार गरेँ, अब उनै स्वामीजीको व्यक्तित्वसम्बन्धि कार्यक्रम किन नबनाउने ?

मोबाइलको चलन थिएन। फोन नम्बर पत्ता लगाएर उनका सहयोगीसित समय मिलाई २०५५ सालको साउनको कुनै दिन स्वामीजीलाई भेट्न म मृगस्थली पुगेँ। त्यसताका म ‘समर्पण’ शीर्षकमा पाक्षिक कार्यक्रम सञ्चालन गर्थें। मैले स्वामीजीसँग उहाँलाई भेट्न आउनुको प्रयोजन बताएँ।

नेपाल टेलिभिजनले पहिलोपटक आफूलाई कार्यक्रमका लागि सम्झेकोमा उहाँ प्रसन्न हुनुभयो। स्वामीजीसँग सल्लाह गरी समय मिलाएर म भोलिपल्ट नै छायाङ्कन टोली (क्रयु) सहित छायाङ्कन गर्न जाने भएँ। उहाँको बिहानको दैनिकी एकघण्टा जति पाशुपत क्षेत्रको परिक्रमा गर्ने रहेछ। त्यसलाई पनि छायाङ्कन गराउने हेतु म भोलिपल्ट बिहान ७ बजे नै छायाकार सुरेशराज मानन्धर र ध्वनि रेकर्डिस्ट मधुर श्रेष्ठसहित स्वामीजीको निवासस्थल पुगेँ। उहाँ पाशुपत क्षेत्र परिक्रमा गर्न हिँड्न आँट्नुभएको रहेछ। उहाँ एकजना सहयोगी (वासुदेव) लाई साथमा लिएर गुह्येश्वरीतिरबाट गौरीघाट हुँदै पशुपतिनाथ उत्तरपट्टिको डाँडामा उक्लेर पशुपतिको दर्शन गरी, बिसाउँदै सत्तलको प्राङ्गणमा पुग्नुभयो।

सुरेशराजजीले बीचबीचमा उहाँको पदयात्राका दृश्यहरू खिच्नुभयो। म साथैमा थिएँ। स्वामीजी बस्ने सत्तलको बीचको तलामा छायाङ्कन गरियो। दोस्रो दिनको छायाङ्कन पनि उहाँको अध्ययन तथा शयन कक्षमा भयो। छायाङ्कन बाँकी नै रह्यो। अन्तर्वार्ता लिने सल्लाह भएअनुसार हामी तेस्रो दिन पनि पुग्यौं। स्वामीजीले त्यस दिन सँगै खाना खाने गरी आउनुहोला है भन्नुभएको थियो। हामीले तेस्रो दिन छायाङ्कनका क्रममा स्वामीजीकै साथमा बसेर खाना खायौं। उहाँका साथमा बस्ने, अध्ययन गर्ने ५/६ जना शिष्य थिए। छायाङ्कनका बाँकी काम सकेर हामी फक्र्यौं।

छायाङ्कन सकिएपछि आलेख परिमार्जन, स्टुडियोको काम, श्रव्यदृश्य सम्पादनलगायत काम सकेपछि अर्को हप्तातिर कार्यक्रम प्रसारण भयो। सनातन हिन्दु धर्म संस्कृतिका एक मूर्धन्य विद्वान्, आध्यात्मिक निष्ठाका सुप्रसिद्ध व्यक्तित्व स्वामी प्रपन्नाचार्यको व्यक्तित्व, कीर्तित्व र कृतित्वमा आधारित आधा घण्टा समयावधिको वृत्तचित्रात्मक कार्यक्रम प्रस्तुत गर्न पाएकोमा मलाई सन्तोष लाग्नु स्वाभाविकै थियो ।

१९८० साल असोजमा पूर्वी नेपालको पाँचथरमा जन्मनुभएका स्वामी प्रपन्नाचार्यले पारिवारिक एवं तत्कालीन सामाजिक आर्थिक अवस्थाका कारण युवा उमेरमा पुगेर मात्र अक्षरारम्भ गरी आफूलाई सनातन हिन्दु धर्मशास्त्रको अध्ययनमा पारङ्गत गराउनुभयो। उहाँले वाराणसी संस्कृत विश्वविद्यालयअन्तर्गतका गुरुकुल एवं संस्कृत कलेजहरूमा अध्ययन गर्दै राष्ट्रिय संस्थान दिल्लीबाट २०२७ सालसम्ममा वेदान्तमा विद्यावारिधि गर्नुभयो।

२०३७ सालमा काठमाडौं आउनुभएका स्वामीलाई २०४५ सालदेखि पशुपति क्षेत्र विकास कोषले मृगस्थलीस्थित सत्तलमा बस्ने व्यवस्था गरिदियो र आजीवन त्यहीं बसेर आफ्ना विद्वत् कर्मलाई निरन्तरता दिनुभयो। उहाँको वेदमा के छ?, प्राचीन हिन्दु विज्ञान, प्राचीन किराँत इतिहास एवं सयौं धार्मिक, आध्यात्मिक, सांस्कृतिक लेखरचना आदि प्रकाशित भएका छन्। हिन्दी, संस्कृत भाषामा पनि उहाँका कृति प्रकाशित छन्।

सयौं राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका संघसंस्थाबाट पुरस्कार एवं सम्मान प्राप्त गर्नुभएका आध्यात्मिक पुरुष स्वामी प्रपन्नाचार्यसँग छोटो समयकै निम्ति भए पनि नजिकबाट प्रत्यक्ष चिन्ने अवसर पाउनु र कार्यक्रम निर्माणको अवसर पनि पाउनु मेरा निम्ति सुखद स्मृतिको विषय बनेको छ।

२०७२ साल भदौ ४ गते स्वामी प्रपन्नाचार्यको देहावसानको समाचार सञ्चार माध्यमबाट प्रसारण हुन थालेपछि म मृगस्थली पुगेँ। उहाँको प्रार्थिव शरीरलाई सत्तलका आँगनको पश्चिमपट्टि नसुताईकन खुट्टा पसारेर बसेझैं गरी राखिएको थियो। फूलमालाले शरीर छोपिएको थियो। अनुहार खुलै थियो। उहाँ निदाउनु मात्र भएको जस्तो लाग्थ्यो। असंख्य मानिस लामबद्ध भई शोकाकुल मुद्रामा श्रद्धाञ्जली अर्पण गरिरहेका थिए। मैले पनि श्रद्धापुष्प अर्पण गरेँ। उहाँको व्यक्तित्व र कृतित्वबारे चिन्तामणि योगीलगायतका विद्वान्हरू बोलिरहनुभएको थियो। साँझतिर स्वामीजीको प्रार्थिव शरीरलाई सत्तलकै उत्तरतिर मृगस्थलीमै समाधिस्थ गरिने कुरा श्रद्धाञ्जलीकै क्रममा सुनेथेँ।

सामान्य राई परिवारमा जन्मेर सीमान्त संघर्ष गर्दै बौद्धिकता, आध्यात्मिकता र उच्च चैतन्यले स्वयंलाई आलोकित पार्दै समस्त नेपाली समाजलाई नै उज्यालो बाँड्न सफल हुनुभयो स्वामी प्रपन्नाचार्य।

वास्तवमा स्वामीजी सामाजिक परिवर्तनका विशिष्ट कर्मवीर हुनुहुन्थ्यो, कान्तिपुरुष हुनुहुन्थ्यो। उहाँले ‘बाहुनले मात्र वेद पढ्नुपर्छ’ भन्ने अन्ध विश्वासयुक्त बाहुन परम्पराविरुद्ध पहिले आफैं उठेर अरूलाई पनि उठ्ने प्रेरणा दिनुभयो। उहाँलाई नेपाली समाजले यस मननीय सुचिन्तन र  सुकर्मका लागि सदा स्मरण गरिरहनेछ। मैले यसै आशयका केही शब्दहरू श्रद्धाञ्जली पुस्तिकामा लेखेँ। उहाँको संघर्षशील जीवन ज्ञानको भोक मेट्न र ज्ञान प्राप्तिपछि त्यसलाई अरूको चैतन्यवृद्धि गर्न समर्पित रह्यो। ब्रम्हाचार्य जीवन व्यतित गर्नुभएका स्वामीजीले स्वयं उज्यालो स्तम्भ बनेर अरूलाई उज्यालो बाँड्नुभयो। उहाँको सदाचारयुक्त जीवन सबैका लागि प्रेरणादायी रहिरहेको छ। नेपालका यी महान् सत्पुरुष सदा अमर रहनेछन्।

मानिस कर्मले नै महान् हुँदो रहेछ, यो शास्वत् कुरालाई स्वामी प्रपन्नाचार्यले प्रमाणित गर्नुभयो। मानिसले अविश्रामरूपमा निष्ठायुक्त जीवन व्यतीत गर्दै लक्ष्य प्राप्तिखातिर समर्पित रहन सकेमा अमरत्वसहित कीर्तित्वको शिखरमा पदार्पण गर्न सक्छ भन्ने दृष्टान्त स्वामीजीले प्रस्तुत गर्नुभयो।

आडम्बरयुक्त आध्यात्मिक जीवनको कुपमण्डुकतामा रमाउँदै सतही आदर्शमा आत्मरति बखान्दै बाँच्ने मानिस नेपालमा धेरै छन्। स्वामी प्रपन्नाचार्यले आध्यात्मिक चैतन्यका सूत्रलाई जीवनसूत्रका रूपमा आत्मसात गर्दै आडम्बरहीन अध्यात्म कर्मलाई पछ्याउनुभयो र अध्यात्मको मण्डपमा बसेर जीवनको खोजी गर्नुभयो। यसैले उहाँलाई अमरत्व पनि प्रदान गर्‍यो। यी यशस्वी महामनाको कीर्तित्वको सम्मान गर्दै दिउँसो तीन बजेतिर म मृगस्थलीबाट ओरालो लागेँ। मृगस्थली डाँडो मानिसहरूले खचाखच थियो तर त्यहाँ अब कोही तपस्वी थिएन। म आफैले कार्यक्रम निर्माण गर्दाका पल सम्झिँदै ओर्लें।  
अर्को समाचार
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
३६ मिनेट अघि
•
१ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
काठमाडाैं, नेपाली लोकसंस्कृतिका अनुसन्धाता तथा प्रजातन्त्रका सेनानी स्व. कालीभक्त पन्तले नेपाली संस्कृति, गीतसंगीतलगायत तत्कालीन नेपाली समाजका विविध विषय तथा क्षेत्रको खोज, अनुसन्धान मात्र गर्नुभएन, नयाँ पुस्तालाई त्यसको अभिलेखसमेत तयार गरिदिनुभयो। त्यसकै आधारमा अहिलेको पुस्ताले त्यो बेलाको नेपालको इतिहास थाहा पाएको छ। उहाँको अर्को परिचय भनेको गीतकार, लोकगीत संकलक तथा गायकको पनि हो। उहाँले लेखेको लोकगीत रेडियो नेपालबाट प्रसारण भइरहेका छन्। ‘क्या यस्तो चाल पर्‍यो, मायासित बोल्दैमा गाल पर्‍यो’ तीमध्ये एक हो। प्राध्यापक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पन्तको गायनको क्षेत्रमा प्रवेश गर्नुको उद्देश्य गायक बनी नाम कमाउने थिएन। उहाँले नेपाली समाज अशिक्षित भएकाले समाजमा लोकगीतमार्फत जागरण ल्याउन पुस्तक–पुस्तिका, पम्प्लेट आदिको माध्यमबाट मात्र सम्भव नहुने हुँदा गाउँलेहरूलाई बुझाउने लोकगीतहरू रचेर अनेकौं सांस्कृतिक कार्यक्रमहरू गर्नुहुन्थ्यो। उहाँलाई जनतामा कसरी राजनीतिक, सामाजिक चेतना बढाउने भन्ने तरिकाको ज्ञान थियो।




यसरी गाउँलेहरूमा राजनीतिक चेतनाको अभिवृद्धि गर्न उहाँले सांस्कृतिक टोलीहरूको गठन पनि गर्नुभएको थियो। सो समयमा पन्तले ब्यान्जोको आकारको ‘कालीबाजा’को निर्माण पनि गर्नुभएको थियो। यो पनि अब एउटा इतिहास बनिसकेको छ। पर्वत तथा बागलुङमा हुने चैते–दसैंजस्ता मेलामा पन्तले महिला जागरणको मात्र नभई कन्या बेच्ने बाबुआमाविरोधी गीत पनि गाउनुभएको थियो। उदाहरणका लागि ‘छोरी बेचा हे बाहुन बाजे/अझै तँलाई लाग्दैन सरम’, ‘बिहा मलाई गर्ने हो भने/ल्याउनु होला कत्तुवा, चर्खा, तान’ उहाँले समाजका छुवाछुतलगायतका रूढिवादी परम्पराको अन्त्य तथा महिला र जनजातिको उत्थान गर्ने उद्देश्य राखेर विविध चेतनामूलक कार्य गर्नुभएको थियो।

२००७ सालको राजनीतिक परिवर्तनको आन्दोलनका बेला पश्चिम ४ नम्बरको कमान्डरको जिम्मेवारी पाउनुभएका पन्तले क्रान्तिका नेताका रूपमा पर्वत कुस्मा र बागलुङको मुक्तिसेना सञ्चालन गर्नुभएको थियो। त्यस्तै, पन्तले सो क्षेत्र कब्जा गरी सर्वश्री ओमप्रसाद गौचनको नेतृत्वको प्रान्तीय सरकारमा उपप्रधानमन्त्री भई काम गर्नुभएको थियो। यस समयमा पन्तले सूचना विभाग हेर्नुपथ्र्यो। २०१७ सालको पञ्चायती व्यवस्थाविरुद्धसमेत लड्नुभएको थियो। सो क्रममा उहाँले भूमिगत तथा जेलजीवनसमेत बिताउनुपरेको थियो। २०१९ सालदेखि राजनीतिबाट टाढिनुभएका पन्त त्यसपछि पूर्ण रूपमा लेखनमा लाग्नुभएको थियो।

इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। सो क्रममा पन्त भारत (सिक्किम, दार्जिलिङ, कुमाउँ–गढवाल, आसाम, हिमाञ्चल प्रदेश), चीन, भुटान, पाकिस्तान, श्रीलंका तथा बेलायतमा पुग्नुभएको थियो। म्याट्रिक पास गर्नुभएका पन्तलाई नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, अंग्रेजी भाषाको समेत ज्ञान थियो।

उहाँको जन्म १९६४ साल भदौ ६ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो। पिता नरेन्द्र पन्त, माता निलकुमारी पन्तका कान्छा छोरा कालीभक्त २००९ सालदेखि भने पर्वतको फलेवासमा बस्दै आउनुभएको थियो। १७ वर्षको उमेरमा कालीभक्तको कृष्णा पन्तसँग विवाह भएको थियो। उहाँहरूका तीन छोरी र ६ छोरा भए। साहित्यकार देवीप्रसाद वनवासीका अनुसार पन्तको जन्मथलो तत्कालीन धौलागिरी अञ्चल, पर्वत जिल्लामा परे पनि उनी प. ४ नं. स्याङ्जा हो। ‘साइलादाइ कहाँ गयो’ भनेर दोहोरी गाउने मसानेका समकालीन पाथे भाइ हुन्। 
कालीभक्त पन्तका ‘पश्चिम ४ नम्बर (नेपाल) को इतिहास’ (२००९), ‘किसान गीता’ (२०१२), ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’ (२०२७), ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८), ‘गीत सुधारको राष्ट्रिय बाटो’ (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भबध’ (नाटक, निधनपश्चात् २०५० मा प्रकाशित) लगायतका कृति प्रकाशित छन्। यसबाहेक पन्तका विभिन्न विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन्।

विशेषगरी ‘हाम्रो सांस्कृतिक इतिहास’मा पन्तले राष्ट्रिय संस्कृति र यसको आवश्यकताको विषयबाट सुरु गरी राष्ट्रियता, हाम्रा गीत, भाषा आदिको प्रारम्भिक स्थिति, नेपालमा झ्याउरे गीतको बीजरोपण, हाम्रा देशका गीतहरूको बनावटको सिलसिला, गीतको आइनो गर्दा भाषा र लिपि, हाम्रा राष्ट्रिय ध्वनिको दिग्दर्शन र विश्वका गीतका ध्वनिहरू, हाम्रा गीतका बीजरोपक र परिवर्तनकर्ता, हाम्रा गीतका छन्दहरू, लोकगीत र तीबाहेकका गीत–बाजा, हाम्रा गीत–बाजाका भेद, गीतको संक्षिप्त महिमा, दार्जिलिङ–सिक्किम–भुटानका गोर्खालीका र हाम्रा गीतमा एकरूपता, हाम्रा देशमा शास्त्रीय संगीतलगायतका विषयमा केन्द्रित रहेर नेपालको समग्र सांस्कृतिक इतिहासलाई खोजी अभिलेख गर्ने काम गर्नुभएको छ।

दिवंगत संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पन्तको यसै कृति अध्ययन गरेर आफूलाई उहाँप्रति निकै श्रद्धा लागेको बताउनुभएको थियो। उहाँले पन्तलाई लोकसंस्कृतिको अगुवा बताउँदै सो समयमा लोकगीत, परम्परा र संस्कृतिका सम्बन्धमा कलम चलाई योगदान पुर्‍याउनु अतुलनीय रहेको बताउनुभएको थियो। भाषा तथा लोकसंस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुका अनुसार पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’मा लोकगीत र लोकनृत्यलाई राष्ट्रिय संस्कृतिका महत्त्वपूर्ण अंगका रूपमा विवेचना गर्नुभएको छ। उहाँका अनुसार यस कृतिमा धेरै कुरा पहिलोपटक प्रस्तुत गरिएका छन् र नेपाली भाषा र लोकगीतमा अनुसन्धान गर्नेहरूका लागि यी तथ्य र विश्लेषण स्रोतका रूपमा रहेका छन्।

बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई सहगान, सहनृत्य र सहकार्यमा अनिवार्य रूपले सहभागी बनाएर उपयोगी शिक्षा दिन सकिन्छ भन्ने उहाँको महत्त्वपूर्ण मान्यता पनि यस कृतिमा चर्चित छ। ‘गीत सुधारको राष्ट्रिय बाटो’ पुस्तक पन्तले नेपालीले आफ्नै सांस्कृतिक पद्धतिअनुसार गीत सुधार गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले तयार गर्नुभएको थियो। जसमा उहाँले गायन र नृत्यकलाको प्रारम्भ, नाच्ने–गाउने भावना र गला–कला, छन्दसाहित्य (तीजे, लहरी, झ्याउरे, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी आदि), हाम्रा पुर्खाकालीन सांगीतिक शाब्दिक सरजाम, गीतको संक्षिप्त महिमा, बहादुर सिंह बराल र नेपाली गीतका बनावटको इतिहास, आफ्नोपना र त्यसको पूर्ति, गीतका संज्ञा, परिभाषा र शब्दकोश, संगीत शब्द र भ्रम, हाम्रा गीत साहित्यले बदल्दै आएको ऐतिहासिक मोड, गीत रेकर्ड गर्नुभन्दा पहिले, केही फुटकर कुरा र गुनासाहरूलगायतका शीर्षकमा रहेर नेपाली गीतसंगीतका विविध विषय तथा पक्षको चर्चा गर्नुभएको छ।

संस्कृतिविद् तुलसी दिवस पन्तका ‘हाम्रो सांस्कृतिक इतिहास’ र ‘गीत सुधारको राष्ट्रिय बाटो’ पढेपछि उहाँबाट निकै प्रभावित हुनुभएको थियो। उहाँका अनुसार ‘नेपालको मेची–महाकालीलगायत पूर्वदार्जिलिङ, सिक्किमदेखि पश्चिम कुमाउँ–गढवालसम्म आफैं घुमेर लोकगीत, साहित्य र संस्कृतिको तथ्य संकलन र अन्वेषण गर्नु त्यो समयमा चानचुने कुरा थिएन, त्यो पनि आफ्नै खर्चले।’

यस्तै पन्तले लेखेका तथा संकलन गरेका थुप्रै रचना तथा कृतिहरू अझै अप्रकाशित देखिन्छन्। तिनलाई संकलन तथा सम्पादन गरी प्रकाशन गर्नु आवश्यक देखिन्छ।

उहाँको निधन भने २०४८ फागुन ६ गते भएको थियो। कालीभक्तको निधन हुनुभन्दा २२ वर्षअघि अर्थात् २०२६ माघ ११ गते नै धर्मपत्नी कृष्णा पन्तको ६० वर्षको उमेरमा निधन भइसकेको थियो। उहाँहरूको स्मृतिमा २०७४ वैशाख १ गतेदेखि कालीभक्त कृष्णा पन्त प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले ‘स्रष्टा कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’सँगै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, मानवीय सहयोग तथा सांस्कृतिक गतिविधि पनि गर्दै आएको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस