पात्र र प्रवृत्तिसँगै फेरिएका आफन्तका परिभाषा
१२ फागुन २०८०
•
७ मिनेट पाठ
पात्र र प्रवृत्तिसँगै फेरिएका आफन्तका परिभाषा
अध्ययन गर्न अत्यन्तै कठिन, अत्यन्तै गम्भीर कृति मान्छे हो। त्यसैले साथी बनाउन हतारिनु हुँदैन। पार्टीमा लाग्नु र छाड्नु पनि त्यस्तै हो। झन् बनिसकेका साथीसँग त मित्रता तोड्न हतारिनै हुँदैन।




सशरीर परिचित वा अपरिचितसँग संवाद हुन्छ। जीवन र जगत् कसले कसरी बुझेको छ ?  कुन विषयमा परिष्कृत हुन समयले मागिरहेको छ? भनेर सिक्न र समकालीन समाज पढ्न मान्छे पढ्नु आवश्यक हुन्छ।

अझ समाज पढ्न सामाजिक सञ्जालका स्टाटस र प्रतिक्रिया सन्दर्भसामग्री बन्छन्। सबैसँग आफू ठिक भएका तर्क हुन्छन् नै। म अहिले अध्ययन सामग्रीमा समाज, साथी, सरकार र अदालतका फैसला सूक्ष्म नियालिरहेको छु।

म ‘बाउँठिएको’ मान्छे। पहिलाका साथीहरू तर्कन्छन्, न्यास्रो त लाग्छ नै।आफन्तसँग आमनेसामने भएर पनि नबोल्दा वैराग्य छाउँछ। अझ प्रेमीप्रेमिका आमनेसामने हुन् तर एकअर्कालाई नदेखेझैं गरून्, अनि उनीहरू आफैं के सोच्दा हुन्? केही मान्छे सम्बन्धहरू कपडा फेरेझैं फेर्छन्।  सर्तले सम्बन्ध निर्धारण गर्ने याममा सफलताको सूत्र नै हृदयले होइन, मस्तिष्कले तय गर्छ। आफन्तसँग धेरै बेर आमनेसामने भएँ तर संवाद भने गरेनौं।

मान्छेसँग स्वत्वले अहङ्कारको रूप लिएपछि जटिलता सुरु हुन्छ। विकसित चिन्तनको स्तरअनुसार धारणा बनाएर व्यवहार गर्छ। बनिसकेको तस्बिर च्यात्न भने गाह्रै पर्छ। अपराधी, मानसिक रोगी, तानाशाह, व्यभिचारी र भ्रष्टाचारीसँग पनि आफू ठिक भएको विश्वस्त हुने तर्क र आधार हुन्छन्। नत्र गलत काम, अपराध र कुकृत्य गर्नै सक्दैनन्। विभिन्न पात्र र प्रवृत्तिसँग म संवादमा हुन्छु। त्यसका केही बान्की राखौं।

आज एकजनाले प्रेम र सत्यबारे सोध्यो। भनें– सत्य सार्वभौम हुँदैन। अझ भ्रमित सत्यले अविश्वास र आशंका जन्माउँछ। सत्य पनि फेरिँदा रहेछन्। फेरिएका सत्यसँगै आचरण र सौन्दर्यशास्त्र पनि  फेरिन्छन्।

मित्र र विरोधी दुस्मन  फेरिँदारहेछन्। नायक र खलनायक फेरिन्छन्। फेरिँदारहेछन् चस्मासँगै दृश्यहरू, दृश्यसँगै ओझेलिँदा रहेछन् सपनाहरू। भ्रमभन्दा ठुलो खतरा संसारमा केही हुँदैन।

जिज्ञासारहित अविश्वासले सधैं समर्पणको प्रमाणपत्र खोज्छ। प्रेममा कुनै  तमसुक हुँदैन, समर्पण मात्र हुन्छ। प्रमाणपत्र देखाएर बन्ने प्रेमी र गेरुवस्त्र लगाएर बन्ने धार्मिक एकै खाले हुन्। जब प्रेम र धर्मले विश्वासको प्रमाणपत्र खोज्न थाल्छन्, तब प्रेमी र धार्मिक रहिरहँदैनन्।

प्रेमले विलीनको माग गर्छ। प्रेममा कुनै प्रमाणपत्र हुँदैन, न त्यो बजारमा खरिदबिक्री गर्ने वस्तु हो। प्रेमका तराजु हुँदैनन्। आवेग हुन्छ, समर्पण मात्र हुन्छ। प्राप्ति अपेक्षा हुँदैन। नत्र मान्छेमा बलिदानी भाव हुँदैन। मैले दर्शनप्रेमी सुकरातले विष पिएको, विज्ञानप्रेमी जियोड्रानो ब्रुनो जलाइएको पढेको छु।

धेरै देशप्रेमीका इतिहास पढेको छु। उनीहरूका हकवाला पनि देखेको छु। उनीहरूमा विधागत प्रेम हुँदैनथ्यो भने समपर्ण भाव नै जन्मिँदैनथ्यो। त्यसैले भ्रमित प्रियजनसँग औधी डराउँछु।

समय घर्कंदै जाँदा हुने सकारात्मक व्यवहारले भने भ्रम टुट्छ। मूर्खताबाट सुरु भएको रिस र भ्रमित सत्य पनि पछुतोमा गएर टुंगिने गर्छ। अर्काले के भन्यो? के गर्‍यो? त्यसले कुनै अर्थ राख्दैन। भ्रम उत्पादन हुने आधार त हुन्छन् तर त्यसलाई ध्वस्त गर्न तथ्यमा आधारित तर्क र जीवन व्यवहार हुनेगर्छ।

मान्छेको भ्रम जति शक्तिशाली दुस्मन अरू कोही हुँदैन। बिरालोलाई बाघ देख्छ, आफन्तलाई दुस्मन। अर्को पक्षको अवस्था, सोच, चिन्तन के छ? कुन मनोदशाबाट गुज्रिएको छ?  बनाएका प्रतीक कोप्रति लक्षित छन्? भनेर सोच्ने कष्टै गर्दैन।

यथार्थको साक्षात्कार गर्न नसक्ने कविहरू धेरै भावुक हुन्छन्। भावनामा बगेर अझ भ्रमित हुन पनि सक्छन्। कतै आग्रहले अरूप्रति धारणा गलत त बनाइँदिँदैन भनेर  आफ्नै विश्वासलाई पनि पुनर्मूल्याङ्कन गर्नुपर्छ।

क्रोधमा रहेका, आवेगमा आएका, मदहोस भएका, वासनामा लिप्त भएका, खुसीले अति उत्साहित भएका बेला मान्छे दिल र दिमाग छताछुल्ल पार्छन्। रिसाउन नहुने मान्छे रिसाए भने आफ्नै समस्या छ, खुसाउन नहुने मान्छे खुसाउँछ भने अवश्य गम्भीर षड्यन्त्र रचिँदै छ भनेर बुझे हुन्छ।

अझ खुसामदी व्यवहार कोही गर्छ भने गलत काम गराउन खोज्दैछ भनेर बुझे हुन्छ । स्वार्थ र सर्तमा कोही आफन्त हुनै सक्दैनन्। तितो बोल्ने मित्रहरू साँच्चिकै आफन्त हुन्छन्।

उनलाई दुःखित बनाउनु दुःख बेसाउनु हो। शत्रु कमाउन सजिलो हुन्छ, आफन्ती कमाउन औधी गाह्रो। तृष्णा र सन्तुष्टिबिचको द्वन्द्वमा हरेक व्यक्ति अल्झिरहेका हुन्छन्। रूप, मर्म र अवस्था भने एकैनास हुँदैनन्।

इच्छाको  कहींकतै अन्त हुँदैन, अनन्त हुन्छ । आन्तरिक चेतबिचको विरोधाभाषी चिन्तन र अपेक्षा सहज रूपमा बुझ्न सक्ने चिन्तनशील व्यक्तिले नै जीवन र जगत्को  सुखभोग गर्न सक्छन्। त्यस्ता मान्छेलाई सकभर पछ्याउने र संवाद गर्ने कोसिस गर्छु पनि।

बाधक नियाल्दा भने कहिलेकाहीं उत्पातै झोक चल्छ। तब म चिच्याउन छोडेर मौन बस्दै लेख्न थाल्छु। सम्झनाले पनि कहिलेकाहीं सम्हालिनै नसकिने गरी भक्कानो फुटाइदिन्छ।

सामाजिक चेत, अवस्था र मनोभावबाट म पनि टाढिन सक्दिनँ। सौन्दर्यबोध, विश्वासको आधारमा सुन्दरता र कुरूपता उम्रन्छन्। सुँगुरदृष्टिमा त फोहोरको डङ्गुर सुन्दर र गन्धेनाला बास्नादार लाग्न सक्छ। को, कहाँ, कसरी कुन वस्तु हेर्छ? सुन्दरता र कुरूपताका अर्थ पनि त्यस्तै लाग्छन्। शक्ति, धन  र रूपको नसा अद्भुत नै हुन्छ। रक्सीजस्तै तुरुन्त उत्रिँदैन। गुमेपछि मात्र शक्ति र धनको नसा उत्रिन्छ।

व्यक्तित्वका अनुयायी भनेको विचार, भावना, भूमिका र जीवन व्यवहार पछ्याउनु हो। मान्छे मेसिन होइन। सबै सहन्छ, हेपेको सहँदैन। दुख्छ। दुःख पोखिन्छ–कहिले आक्रोशमा, कहिले आक्रमणमा, कहिले गुनासोमा र कतिपय अवस्थामा आफैंसँग झगडिएर पनि। समाजमा धेरैथरी सोच, चिन्तन, सक्रियता, मान्यता र विश्वास सक्रिय हुन्छन्। ती कतिपय तथ्यमा टेकेर तर्क उत्पादन भएर विश्वासमा फेरिन्छन्।

तिनै विश्वास अर्को सन्दर्भ र अनुसन्धानले नयाँ विश्वासका आधार बन्छन्। मान्छे परिष्कृत हुँदै नयाँ विश्वास गर्न थाल्छ। अध्ययन, अनुसन्धान, सङ्गत, अन्तरक्रिया र वादविवादले सिमेन्टेड सोच भत्काउँछ। जडसोच भत्काउने उत्तम थलो विश्वविद्यालय, पुस्तकालय, प्रयोगशाला र ज्ञानीजनका संगत हुने गर्छन्।

सबै मान्छेमा कुनै न कुनै स्तरको डिप्रेस हुन्छ। डिप्रेस बढेपछि त्यसलाई मनोरोगी भनिन्छ। रोगीले  रोग लागेको पत्तै पाउँदैन। मनोरोगीलाई घृणा नभई माया, प्रेम र सम्मानको खाँचो हुन्छ। अपेक्षा र महत्त्वाकांक्षाको सबल व्यवस्थापन हुन नसक्दा उत्पन्न समस्याग्रस्त मान्छे नै मनोरोगी हुन्छन्।

दबाब र तनावलाई व्यवस्थापन गर्न सकिएन भने  सोच र भूमिकामा प्रभाव पार्छ। शंकालु र भ्रमित स्वभाव देखिन्छन्। अरूबाट माया, सम्मान र सहयोगको  अपेक्षा त हुन्छ तर आफ्नै शब्दवाणले अन्यलाई चोट पनि लाग्दो हो, पीडा पनि पुर्‍याउँदो हो भन्ने मनोरोगीले हेक्का राख्दैनन्। नकारात्मक र व्यक्ति केन्द्रित कुरा गर्नु स्वभाव नै बन्न पुग्छ।

हीनताबोध,  उच्चताबोध र  व्यक्ति केन्द्रित सोच मनोरोगीका लक्षण हुन्छन्। नेगेटिभ सोचका हुन्छन्।  रोगको उपचार भनेकै आफन्तीको माया र विश्वास हो। चौतर्फी विरोधी देख्नु र चापलुसबाजलाई साखुल्ले सोच्नु अनि भजनमा रमाउनु स्वभाव बन्दै जान्छ।  आलोचना, सुझाव र सल्लाह पचाउनै नसक्ने बन्न थाल्छन्। त्यस्ता बिरामीको संगत भने गर्नुहुँदैन, रोग सर्न सक्छ।

स्वीकार हो कि रोगले चापेर हो, डिप्रेसनले सताइएका आफन्तीले एकपटक भने– ‘समस्या ममा नै छ। खोट ममा नै छ। स्वभाव बनिसक्यो त के गरौं?’  मैले जीवनको अन्तसम्म अब यसैलाई भोग्नुपर्छ। अरूले आदर गर्दा  अहंकारी बन्दो रहेछु। प्रेम गर्दा बैगुनी हुँदोरहेछु।

औलो दिँदा डुँडुलो निल्दोरहेछु। प्रशंसाको भोको चाकडीमा रमाउने पो भएछु। अरूको हैसियत, क्षमता बढेको पटक्कै देख्नै सक्तिनँ। अरूलाई हेपेपछि मनसुख हुन्छ। अरूको छिद्र खोज्न क्षमता र दक्षता खर्च गर्दो रहेछु।

अरूलाई संकेत गरिएका कुरा पनि आफैंलाई नै आक्रमण गरिएको सोच्छु। झगडिन्छु। अरू पाइएन भने नक्कली शत्रु बनाएर झगडिँदो रहेछु। अरूलाई हेप्न, दाप्न म जतिको सिपालु कोही छैन। चिनेका, जानेका र संगत गरेकालाई नै मैले हेप्ने हो। आदर्श छाँटिने हो।

अरूको हैसियत बढ्यो भने मलाई डाहा छुट्दोरहेछ। टाउको रिँगाउँछ। नचिनेका, नबुझेकाको  त मैले रौं पनि हल्लाउन सक्तिन, थाहा छ। तर अरूलाई माया, प्रेम र आदर दिन म कन्जुस छु। हो, मेरो समस्या मनै हुँ।

मलाई फेरिन उपदेश दिने मूर्खजन, म फेरिनेवाला छैन।  म यो लोकको सर्वज्ञ हुँ।’ चुपचाप उनको कुरा सुनें। उनले मलाई कमजोर, मूर्ख, तर्कहीन सोचे। म भने उनको रोगबाट चिन्तत भएँ।

संसारभरि विभिन्न आकारप्रकार, बास्ना, स्वादका चार लाखभन्दा बढी फूल फुल्ने बिरुवाका प्रजाति छन्। पात्रहरू पनि सबै सबैजस्तो हुन सक्दैनन्। स्वार्थ होस् या मानव केन्द्रित सोचले एकै भावमा देखिन सक्छ। तब मेरो बकपत्र बन्यो– उनीजस्तो म हुनै सकिनँ, उनी मजस्तो।

धेरैले हिँड्ने बाटाहरू नहिँडेपछि बाटो फरक भयो। फरक परे– विश्वास, मूल्य, मान्यता र सौन्दर्य। तब म भिडमा अकेला। उनलाई खुसी पार्न भिडसामु आत्मसमर्पण गर्नुपथ्र्यो। मिथकलाई इतिहास मान्नुपर्थ्याे। पत्थरमा प्राण भर्न सकिन्छ, स्विकार्नुपरथ्याे। पीतवस्त्र धारण गरेर संस्कारी बन्नुपथ्र्यो। सकिनँ। तब फेरिए आफन्तका परिभाषा।
अर्को समाचार
दिल्लीसँग गाँसिएको साहित्य साइनो
५ मिनेट अघि
•
१ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
काठमाडाैं, धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
‘दिल्ली दूर है’ को भाष्य अहिले गलत साबित भएको छ। अब हवाईमार्गबाट दुई घण्टाको दुरीमा भारतको राजधानी दिल्ली अवस्थित छ तर यहाँ जान र आउनका लागि दिनभरिको समय लाग्दो रहेछ। दिल्लीसँग मेरो साइनो वर्षौं पुरानो छ। सर्वप्रथम म दिल्ली गएको २४ अक्टोबर १९७१ मा हो।




यो संयुक्त राष्ट्रसंघ दिवस पनि हो। हो, म यसै दिन कोलम्बो योजनाअन्तर्गत विद्यावारिधिको उपाधिका लागि दिल्ली प्रस्थान गर्दा धेरै प्रसन्न थिएँ। म पद्मकन्या कलेजमा प्राध्यापन गरेको चार वर्ष बितिसकेको थियो। आर्थिक र एकेडेमिक दुवै किसिमबाट सन्तुष्ट नै थिएँ तर प्राध्यापन सेवामा विद्यावारिधिको डिग्री आवश्यक थियो भनेर छिमेकी मुलुक भारतबाट विद्यावारिधिको उपाधिका लागि केही विषयहरूमा विद्वत्वृत्तिको अनुरोध कलेजमा आएकाले मेरो मनोनयन तत्कालीन प्राचार्य अंगुरबाबा जोशीले गर्नुभएको थियो। म सहर्ष स्वीकार गरेर उहाँप्रति कृतज्ञतापूर्वक धन्यवाद दिएँ र म तन, मन, धनले दिल्ली जानका लागि तमतयार भएको थिएँ। मैले दिल्ली जानका लागि नै आफ्नो रुचि प्रकट गरेको थिएँ। मैले दिल्ली जाने अवसर पाएको थिइनँ।

हुन त मेरो प्राध्यापक पदको नियुक्तिका निमित्त अन्तर्वार्ता लिन दिल्ली विश्वविद्यालय, हिन्दी विभागका विभागाध्यक्ष तथा प्रसिद्ध समीक्षक डा. नगेन्द्र आउनुभएको थियो। तसर्थ पनि दिल्ली जान मैले आफ्नो रुचि र स्वीकृति दिएको थिएँ। उहाँले मेरो नियुक्तिका लागि सिफारिस गर्नुभएको थियो। उहाँ दिल्ली फर्केपछि तत्कालीन हिन्दी साप्ताहिक पत्रिकामा एउटा आलेख लेख्नुभएको थियो, ‘मेरी पहली विदेश यात्रा’। त्यो आलेख धेरै लोकप्रिय भएको थियो। गोरखापत्र दैनिकका तत्कालीन सहायक सम्पादक र साहित्यकार भैरव अर्यालले मलाई अनुरोध गर्नुभएको थियो कि यसको नेपाली अनुवाद गरिदिनुहोस्, हामी गोरखापत्र दैनिकमा प्रकाशित गर्नेछौं।

मैले उहाँको अनुरोधलाई स्वीकार गर्दै त्यो आलेख नेपालीमा अनुवाद गरेँ र उहाँले सुन्दर साजसज्जासाथ प्रकाशित गर्नुभयो। धेरै नेपाली पाठकले त्यो आलेख पढ्ने अवसर पाए। यसप्रकार डा. नगेन्द्रजस्ता विद्वान् समीक्षकसँग मेरो साइनो जोडियो। म काठमाडौंबाट इन्डियन एयरलाइन्सको हवाईजहाजबाट दिल्ली प्रस्थान गर्ने अवसर प्राप्त गरेँ। त्यसबखत इन्डियन एयरलाइन्सको उडान बनारस, आगरा हुँदै दिल्ली जाने गर्थ्याे। मलाई खुबै मजा आएको थियो। दिल्ली हवाई अन्तर्राष्ट्रिय अड्डामा ओर्लिंदा मलाई लिन भारतीय सांस्कृतिक परिषद्का कर्मचारी आएका थिए। उनले मलाई पहाडगन्जस्थित इन्टरनेसनल होटलमा बसोबासको व्यवस्था गरिदिए। म आरामपूर्वक खाना खाएपछि सुतेँ।

भोलिपल्ट बाराखम्बा रोड, नयाँदिल्लीस्थित नेपाली दूतावासमा प्रा. इन्द्रराज मिश्र सांस्कृतिक सहचारीको पदमा नियुक्त भएर जानुभएको थियो, म उहाँलाई भेट्न गएँ। उहाँले मलाई दिल्ली विश्वविद्यालयमा आफ्नो दूतावासको वाहनमा लगेर त्यहाँको रजिस्ट्रारसँग परिचय गराउनुभयो।मेरो नामांकन विधिवत् सम्पन्न भयो।
म होटलबाट दिल्ली विश्वविद्यालय परिसरमा अवस्थित अतिथिगृहमा केही दिनका लागि बसेँ। त्यसपछि ग्वाएर हलमा मेरो बसोबासको व्यवस्था गरियो। ग्वाएर हलमा विराटनगरका शोधार्थी आनन्द नेपाल र काठमाडौंका दुर्गेशमान सिंह पहिलादेखि नै बस्नुभएको थियो। उहाँहरू अर्थशास्त्रमा विद्यावारिधिका लागि पञ्जीकृत हुनुभएको थियो। पछि उहाँ दुवै जना आफ्नो शोधकार्य स्थगित गरेर नेपाल फर्किनुभयो। आफ्नो–आफ्नो व्यक्तिगत कारणले म दिल्ली बस्दा बस्दै भारत र पाकिस्तानमा युद्ध सुरु भयो। रातभरि ब्ल्याकआउट हुने, साइरन बज्ने आदिले गर्दा म पनि त्रसित भएँ।

मैले सांस्कृतिक सहचारी इन्द्रराज मिश्रलाई नेपाल फर्काउने चाँजोपाँजो मिलाइदिनुहोस् भन्ने अनुरोध गरेँ। उहाँले ‘नडराउनुस्, तपाईंलाई केही हुँदैन’ भन्नुभयो। उहाँले आश्वासन दिनुभयो, मेरो सामुन्नेमा कुनै विकल्प थिएन। म बाध्य भएर आफ्नो विद्यावारिधिको उपाधिका लागि अनुसन्धानमा अनुरक्त भएँ।
एक दिन म डा. नगेन्द्रलाई भेट्न उहाँको क्वाटरमा गएँ। उहाँसँग ‘सिन्दूर की होली’ का लोकप्रिय लेखक लक्ष्मीनारायण लाल बिहानको खाजा खाँदै हुनुहुन्थ्यो। उहाँले मलाई पनि खाजा खुवाउनुभयो। मैले डा. नगेन्द्रलाई पनि अनुरोध गरेँ कि मलाई यहाँ बस्न धेरै डर लाग्छ। लक्ष्मीनारायण लालले मलाई आश्वासन दिनुभयो, ‘सिकवे और सिकायत से जीवन यापन नहीं होता है, धैर्य रखकर अपनी उद्देश्यपूर्ति में लग जाइए।’ म पनि धैर्य धारण गरेर अनुसन्धान कार्यमा जुटिहालेँ। यसप्रकार दिल्लीसँग मेरो दोस्ती गाँसियो।

केही दिनपछि त म सपरिवार त्यहाँ बस्न थालेँ। दिल्ली जाने क्रम जारी नै रह्यो र अहिले पनि यहाँ जाने क्रम जारी नै छ। कहिले संगोष्ठीमा भाग लिन र कहिले आफ्नो छोरा र श्रीमतीको स्वास्थ्योपचारका लागि अखिल भारतीय आयुर्विज्ञान संस्थान र मेदान्त अस्पतालमा जान बाध्य भएँ। आखिर मेरी श्रीमती त स्वर्गीय नै भइन् २०८३ माघ ३ मा।
दुई वर्षपहिला सार्क साहित्य सम्मेलनमा भाग लिने अवसर जुरेको थियो। यसपालि पनि सार्क साहित्य सम्मेलनमा भाग लिनका लागि म र साहित्यकार विधान आचार्यसँगै हवाईमार्गबाट दिल्ली पुग्यौं।

कवि र लेखक भीष्म उप्रेती बेलुकाको उडानबाट आउनुभयो। हामी सँगै साइधाम होटलमा बास बस्यौं। यसबाहेक साहित्यकार र पत्रकार अभय श्रेष्ठ, स्तम्भ लेखिका सरिता तिवारी, अनुषा शर्मा, सुन्दर कुरूप, चन्द्र गुरुङ, हेमन्त विश्वास, केशव सिग्देल, लक्ष्मी रुम्बा, प्रकाश थामसुहाङ, रजनी मिला, रमी प्रिया आदि सहभागी थियौं।
अनुवादक र कवि केशव सिग्देल सार्क लाइफटाइम एचिभमेन्टबाट पुरस्कृत हुनुभयो। मलाई चाहिँ सार्क साहित्यकारका रूपमा सम्मानित गरियो। प्रमुख अतिथि हुनुहुन्थ्यो तारा गान्धी भट्टाचार्य, महात्मा गान्धीकी नातिनी। विशेष अतिथि हुनुहुन्थ्यो भारतीय साहित्य अकादमीका अध्यक्ष माधव कौशिक।

श्रीलंकाकी राजदूत महिशिनी कोलन पनि आमन्त्रित हुनुहुन्थ्यो, तर उहाँहरू उपस्थित हुन सक्नुभएन। यसप्रकार उद्घाटन सत्र सफलतापूर्वक सम्पन्न भएको थियो। नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा पनि आमन्त्रित हुनुहुन्थ्यो तर विभिन्न कारणले गर्दा उपस्थित हुन सक्नुभएन। विधान आचार्य र भीष्म उप्रेतीबिच साहित्यिक संवाद आकर्षक ढंगबाट समाप्त भएको थियो। अभय श्रेष्ठजीले कविता पाठसहित कार्यपत्र पनि प्रस्तुत गर्नुभएको थियो।

मैले चाहिँ ‘द पावर अफ पेन’ अर्थात् कलमको शक्तिबारे कार्यपत्र प्रस्तुत गरेको थिएँ। अन्य नेपाली साहित्यकारहरूले विभिन्न सत्रमा कविता वाचन गर्नुभएको थियो। विधान आचार्य र भीष्म उप्रेतीले पनि कार्यपत्रसहित कविता वाचन गर्ने अवसर पाउनुभएको थियो। केशव सिग्देलले दुई सत्रको अध्यक्षता गर्ने अवसर पाउनुभएको थियो। समग्रतः नेपाली प्रतिनिधिहरूले सफलतापूर्वक आआफ्नो भूमिकाको निर्वाहमा सफल हुनुभएको थियो।
सोही सत्रमा मेरो पुस्तक ‘इलेभेन पोएटस’ को लोकार्पण सहभागी सबै साहित्यकारहरूद्वारा सामूहिक रूपमा सम्पन्न भएको थियो। यस संग्रहमा कविहरू विद्यापति, लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, सिद्धिचरण श्रेष्ठ, वानीरा गिरी, वासु शशि, दिनेश अधिकारी र भीष्म उप्रेतीबारे समीक्षात्मक लेखहरू समाहित छन्। यसका भूमिका लेखकहरू हुनुहुन्छ अंग्रेजी भाषाका अवकाशप्राप्त प्राध्यापक डा. मोहन लोहनी र डा. श्रीधर गौतम।

यो समारोह नोभेम्बर १५ देखि नोभेम्बर १८ सम्म अर्थात् चार दिनसम्म सफलतापूर्वक सञ्चालन भएको थियो। नेपाली प्रतिनिधिमण्डलबाहेक यस कार्यक्रममा अफगानिस्तानबाट कवि मोहम्मद मंसुर नासिमी एक मात्र प्रतिनिधिले अफगानिस्तानको प्रतिनिधित्व गरिरहनुभएको थियो, जबकि कवि मोहम्मद अफसर रहविन र कवि सोमिया रमिश पनि आमन्त्रित हुनुहुन्थ्यो।
यस्तै बंगलादेशबाट असरफ गेबेल, पकरुल आलम, फरिदुर रहमान, जतन कुमार देवनाथ, कादेसर पलास, लोपा मोमताज, मोहित कमल, मोहम्मद फोरिद हसन, मोहम्मद नुरे आलम पटवारी, नुरुल हक र नुरुनाहरमुनी, कामरुल बहर आरिफ, सौम्या सलेक आदिले कार्यपत्र प्रस्तुतिका साथसाथै कविता वाचन पनि गर्नुभएको थियो।

भुटानबाट वासुदेव आचार्य, चदोर वाग्मो, कुनजंग चोदेन, रिनजिन रिनजिन आदिले कविता वाचनसँगसँगै कार्यपत्र प्रस्तुत गरेर कार्यक्रमको शोभा बढाइरहनुभएको थियो। भारतबाट आलोक भल्ला, अमर मुडी, अमरेन्द्र खटुआ, अमित रञ्जन, अनिता भट्टनागर जैन, विमल सहगल, देवाशिष लहिरी, गुरुप्रती कौर, हरिन्दर सिक्का, के के मोहम्मद, काजल चक्रवर्ती, कविता सिंघल, मन्दिरा घोष, मिनाक्षी गोस्वामी, मौली जोसेफ, मुकुल कुमार, निरा कश्यप, नेहा कृष्णा, पायल नागपाल, परवेज सहरयार, पुरोवी तारा चौधरी, पुष्पेश पन्त, राधा चक्रवर्ती, रेणुका सिंह, ऋषिकेशकुमार सिंह, रविन्सन रोवर्ट, सविना पिल्लैइ, सञ्जुला शर्मा, सरस्वती पोस्वाल, सीमा जैन, शैश्वता महजवी, सोनाली पट्टनायक, सुजाता प्रसाद, सुक्रिता पाल कुमार, सुरेश के गोयल, सुसमिन्दर जित कौर, स्वाती पाल, श्वेता कुमारी, तनविर गौहर, ट्रिना चक्रवर्ती, वनिता, वर्षादास र विनिता बक्सी।
हिन्दी भाषा–साहित्यका सुप्रसिद्ध कविहरू अनामिका, अरुण आदित्य, अरुणकुमार पासवान, अरविन्द ओझा, विनोद खेतान, देवप्रकाश चौधरी, देवशंकर नवीन, देवप्रकाश चौधरी, जावेद आलम खाँ, निर्देश निधि, ओम निश्चल, पुनम वेदी, राजेन्द्र शर्मा, रुमी मल्लिक, रुपा सिंह, संगीता गुप्ता, संगीता अग्रवाल, सविता पाठक, शिखा सिंह, सुमन चौधरी र तेज प्रकाश।
उर्दू भाषामा कविता लेख्ने कविहरूमा ए नसिव खान, आलोक अविरल, असीम पिरजादा, अजरा नकवी र नोमन शौक र रहमान मुसावी आदिको सहभागिताबाट उर्दू भाषा–साहित्यको सफल प्रतिनिधित्व भएको थियो। यस्तै पन्जाबी भाषा–साहित्यका प्रसिद्ध कविहरू गगन दीप शर्मा, गगन दीप सिंह, गगनमित कौर, करणजित सिंह, तरिन्दर कौरको कविता वाचनबाट सार्क सम्मेलनको सर्वसहभागिता स्वयंसिद्ध भइराखेको थियो।
श्रीलंकाका प्रतिनिधि कविहरूको सहभागिताबाट सार्क साहित्य सम्मेलनको सार्थकता सिद्ध भइराखेको थियो। यसमा अमरासिरे विक्रमारत्ने, सिरिल पथिराना, कुमारा हेटिराची, प्रियन्धरा बन्डारा, थमिर मञ्जु, तिलक कापुगे, भूषण निसानसाला र रुवान वातावाला। यसप्रकार सार्क राष्ट्रका साहित्यकारहरूको सक्रिय सहभागिताबाट ६७औं सार्क साहित्य सम्मेलन सफलतापूर्वक सम्पन्न भएको थियो।
सार्कमा राजनीतिक–कूटनीतिक अभिरुचि क्रमशः कम हुँदै गएको स्थितिमा साहित्यिक–सांस्कृतिक अभिरुचि दिनानुदिन बढ्दै गएको स्वतः सिद्ध हुन्छ। सार्कको अस्तित्व र अस्मिता क्रमशः कम हुँदै गएको स्थितिमा सार्क साहित्यको दीप प्रज्ज्वलनमा पद्मश्री उपाधि प्राप्त साहित्यकार अजिन कौर तथा उनकी कलाकार सुपुत्री अर्पणा कौरको अभिरुचि उल्लेख्य पाइन्छ। यी दुईजना प्रसिद्ध साहित्यकार र कलाकारको भूमिका निःसन्देह सराहनीय भन्न सकिन्छ, जसले सार्क राष्ट्रका साहित्यकार आशावादी भएर यस सम्मेलनमा सक्रिय सहभागिता जनाउँदै आएका छन्।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस