प्रज्ञाको ‘विषाणु ऋ’उपन्यासमा धारावाहिकवाद
१२ पौष २०८०
•
८ मिनेट पाठ
प्रज्ञाको ‘विषाणु ऋ’उपन्यासमा धारावाहिकवाद
एक साँझ, समकालीन साहित्य प्रतिष्ठान, बेलायतका अध्यक्ष तथा पुस्तकका प्रकाशक कृष्ण बजगार्इँको फोन बाजा बज्यो ‘प्रज्ञाले लेखेको र समकालीन साहित्य प्रतिष्ठान बेलायतले प्रकाशन गरेको ‘विषाणु ऋ’उपन्यासकृतिमाथि आफ्नो विचार राखिदिनु न’। यो पत्याइका लागि हार्दिक आभार टक्य्राएँ कृष्ण बजगार्इँ सर।




२०८० सालमा प्रकाशित यो पुस्तकको अग्रभागमा घाइते रुखका बिम्बमा विषाणुका खाटा देखिन्छन्। पश्चभागमा उपन्यासकार प्रज्ञाको तस्बिर र अति छोटो अपुग परिचय छ। यसले उपन्यासकारमा परिचयविमुख हुने रहर देखिन्छ।

उपन्यासकार प्रज्ञासँग मेरो चिनाजानी छैन। यद्यपि त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल कमर्स क्याम्पसमा प्राध्यापन गराउँदै आउनुभएको तथा हाल उच्च शिक्षा अध्ययनका लागि अस्टे«लियामा बसोबास गर्दै आउनुभएकी प्रज्ञाले साहित्य, सङ्गीत तथा भ्रमण अनुसन्धानमा रुचि राखेको बताउँछ कृति आवरणले

उपन्यास मूलतः अठार पाठमा विभाजित छ। उपन्यासको मृष्टभूमिका रूपमा ‘म’ शीर्षकमा मनोरोगी म पात्रको अन्तर्य तथा सामाजिक विसङ्गति, महिलालाई गरिने विविध खाले शोषणबाट आत्तिएको अवस्थालाई टङ्कण गरिएको छ। मनोरोगी म पात्र पूर्वजीवन विशेषज्ञ डा. शंकर नै उपन्यासका प्रमुख पात्र हुन्। डा. शंकरले मनोरोगी म पात्रलाई हिप्नोटाइजका माध्यमबाट पूर्व जीवनमा पुर्याउने र त्यो बेलाको जनजीवन तथा असङ्गत परिदृश्य हेर्ने क्रमका कडीमा उपन्यास बुनिएको छ। पन्ध्र दिनका सेसनका आधारमा देखिएको पूर्वजन्मका घटनाहरूलाई लिपिबद्ध गरिएको छ।

पहिलो दिनको सेसनमा स्वैरकल्पनाका माध्यमबाट पूर्वजन्मका घटना ढुङ्गेधाराको संस्मरण गरिएको छ। दोस्रो दिन पहाडी बाटोमा पानी पनि नपाइने वातावरण, ग्रामीण परिवेश, हजुरआमाको माया तथा परिवेशलाई चित्रण गरिएको छ। तेस्रो दिन बालमनोविज्ञानमा असम्वेदनशील मान्छेको बेहोरा देखाइएको छ । पहाड र मधेसको फरक जीवन उल्लेख गरिएको छ। स्कुलमा दिइने भौतिक तथा मानसिक दण्ड, ट्रमाका कारणले बच्चा स्कुल नजाने र यातनामा पर्ने जस्ता शैक्षिक विसङ्गति देखाइएको छ। चौथो दिन विभुति र चन्द्रा पात्रका माध्यमबाट वाल यौन मनोविज्ञानका जिजिविषा प्रष्ट पारिएको छ। पाँचौँ दिन मालाको मृत्यु र त्यसले पारेको प्रभाव उल्लेख गरिएको छ।  

त्यसपछि सेसनबाहेकको एकदिन छ शून्य दिन, जसमा पारिजातको ‘शिरिषको फूल’ को पात्रका जिन्दगीसँग याने पारिजातको शून्यवादी थिममा बतासिएर चिन्तन गरिएको छ। छैटौं दिन प्रेममा जातले गर्दा विछोड भएको मार्मिक दृश्य देखाइएको छ। सातौं दिन भूत तथा महिनावारी हुँदाको मनोविज्ञान तथा अन्धविश्वास, महिला पुरुषको विभेदलाई उजागर गर्ने प्रयत्न गरिएको छ। आठौं दिन स्कुलमा गरिने बालबालिकाप्रतिको दण्डसजाय र त्यसले पार्ने प्रभावलाई उल्लेख गरिएको छ। नवौँ दिन माओवादी र सरकारी द्वन्द्व रमान्छे बच्चा मारिएको कारुणिक दृश्य समावेश गरिएको छ। दसौँ दिन प्रेममा विछोड र त्यसले पारेको प्रभावका बारेमा चित्रण गरिएको छ।

एघारौँ दिन मुखिया बाले गाउँलाई कब्जामा लिएको, सिमान्तीकृत जनजाति र महिलाको त श्वास जेनतेन चलेको, पुलिसको शोषण, सामाजिक विभेद, माओवादी विद्रोहका सुरुका अग्रगामी कार्य, तर परिणाम नकारात्मक आदिको चर्चा गरिएको छ। बह्रौ दिन मुसाको चटनी र सिद्राको अचारको माध्यमबाट पहाडबाट बसाईँ सराइ र मधेसमा वन फँडानी, मधेसको जनजीवन, थारु संस्कृतिको परिचय आदि व्यक्त्याइएको छ। तेह्रौं दिन सर्वसत्व प्रेम र मातृत्वको दृश्य देखाइएको छ। बच्चा जन्माउन नचाहने आमा तथा छोरीपछि छोरा जन्माउनै पर्ने पारिवारिक तथा सामाजिक बाध्यतालाई प्रकट गरिएको छ। चैधौं दिन पारिवारिक प्रेम र वैदेशिक रोजगारी, प्रेम र विछोड छन्। पन्ध्रौं दिन कृति शीर्षक समेत रहेको विषाण्ुा ऋ पाठमा वनस्पतिले आफ्नो सुरक्षाका लागि निकाल्ने विशेष चोप ऋ नामक विणाणुको चर्चा गरिएको छ। यो मानवका लागि घातक हुने बताइएको छ। प्राकृतिक विनाशप्रति तीव्र विद्रोह र चिन्ता गरिएको छ। पृथ्वीको उर्बरा शक्ति ह्रास भएको, वनस्पतिले जीवको थेटा वेभ पढ्ने कल्पना गर्दै मान्छेले पृथ्वीको नेतृत्वकर्ता हुँ भनेर सोच्न छोडेर आन्तरिक यात्रामा परिस्कृत हुनु जरुरी छ भन्ने सन्देश प्रवाह गरिएको छ । र, अन्तिमको ‘अहिले’शीर्षकमा वनस्पतीउन्मुख भएर याने वनस्पति र प्रकृति समुन्द्रको सम्बाद बुझौँ भन्ने सन्देश प्रवाह गरेर उपन्यास सकिएको छ।

उपन्यास लेखन लेखकको साधाना, पठन, चिन्तन, मननको उत्कट अभिलाषा तथा क्रियाबाट जन्मन्छ। उपन्यास आख्यानको विश्व प्रशिद्ध तथा स्थापित सिद्धान्तको कडीमा लेखिने हो। जसमा द्वन्द्व प्रधान कुरा हो । दुई विपरीत धारका घटनाका माध्यमबाट द्वन्द्व गराउने र उपन्यासकारलाई ठिक लागेको पात्र वा विचारलाई विजय गराउने क्रिया द्वन्द्व हो

यसैगरी कथानक निर्माणले द्वन्द्वको उठान, विकास र समापन गर्दछ। कथालाई अभिव्यक्त गर्न मानव वा मानवइतर पात्रको व्यवस्था गरिने हुन्छ। उपन्यासकारकारलाई सबैभन्दा चुनौती शिल्प भनेको बुनौट हो। उपन्यासमा वर्णित समय, ठाउँ, वातावरण, जीवन पद्धति, कथाको सम्वेदनशीलता, पाठकको पठनमा मुड बनाउन प्रयोग गरिने सम्वेदनशील तरीका आदिको व्यवस्थापन निकै चुनौती हो। यसो भए पनि उपन्यासकारको केन्द्रीय विचार, सन्देश, प्रयोजन तथा थिम नै उपन्यासको श्वास हो।

माथिका आधारबाट हेर्दा उपन्यास ‘विषाणु ऋ’ शीर्षकनै एकदम आकर्षक देखिन्छ। कृतिको आवरणको पश्चभागमा लेखिएको उपन्यासको अंश ‘ मभित्र अनन्त भोक छ, ...मेरो पाइताला मुनि पुरुष अहङ्कार लम्पसार शव भएको छ। .. मेरो योनिबाट असङ्ख्य जीवहरू जन्मिरहेका छन्। .... म एक्लै सर्जक र विनाशक भएर उभिइरहेकी छु’ ले पाठकलाई आश्चर्यचकित बनाउँछ र पुस्तक पढ्न मोहनी लगाउँछ। सरल शब्द चयन भएका छन्। सरल र ग्रामीण, बुझिने कथावस्तु तथा परिवेश छन्। कार्यपीठिका नेपालको सुदुरपश्चिमको पहाड तथा तराई रहेका छन्।

उपन्यासकारमा विषयवस्तु सङ्कलन, कल्पना तथा प्रस्तुतीमा शिल्प देखिन्छ। उपन्यासकारको अध्ययनको घेरा सायद फराकिलो हुनुपर्छ। बुनौटमा कथावस्तुलाई चाहिने वातावरण गजबसँग बनाइएको छ। अर्थात् यो उपन्यासमा कथानकलाई चाहिने भौतिक, मानसिक तथा प्राकृतिक वातावरणको चित्रण सुन्दर तरिकाले प्रायोजित गरिएको छ। उपन्यासको बुनौट शैलीमा स्वप्न शैली, पूर्वदीप्ति शैली, अचेतन मनका कथा भनेर वर्तमानका असङ्गतिमाथि प्रहार गर्ने शैली आदि रहेका छन्। प्रस्तुती शैलीमा आत्मपरकता, मनोवादात्मकता, कल्पनाशीलता, तिलस्मी आदिले प्रधान भूमिका खेलेका छन्। कथा प्रस्तुतीको मूल आधार स्वैरकल्पना देखिन्छ। नेपाली साहित्यका फेन्टासी लेखक कुमार नगरकोटीको जस्तो विश्वसाहित्यका कथाको कथ्य, पात्र, परिवेशको उद्धरण गर्ने शैली उपन्यासकारमा देखिन्छ। पारिजातको ‘शिरिषको फूल’ का पात्रसँग कथानक जोडेर शुन्यवादको छाया पनि देखाइएको छ। विश्वका विविध कृतिको प्रसङ्ग ल्याएर आफ्नो कथानकलाई दर्बिलो बनाउने प्रयत्न गरिएको छ। उदाहरणका लागि  विश्वप्रसिद्ध भर्जिनिया उल्फको ‘इफ सेक्सपियर ह्याड अ सिस्टर’ को उद्धरणलाई लिन सकिन्छ।

यो मानवजीवनका सबै पाटामा धेरथोर दृष्टि पुर्याएको उपन्यास हो। उपन्यासकारकै शब्द सापटी लिने हो भने ‘प्रस्तुत उपन्यासमा विषयवस्तु केही विशेष नभएर हामी वरपरकै प्रसङ्गहरू छन्। विशेषत ः विद्यार्थीकालीन भोगाइ, शिक्षण, प्रेम बिछोड, बाल्यावस्था, नारी, मनका भावना एवं भोगाइ, वातावरण, अध्यात्म, मृत्यु र नेपाली सामाजिक परिवेशका कथाव्यथाहरू मिसाएर पस्केकी छु’ ले यही कुरा पुष्टि गर्छ। आत्मपरकता उपन्यास प्रस्तुतीको आधार रहेको छ। अर्थात् प्रथम पुरुष दृष्टिविन्दुमा कथानक भनिएको छ। शिल्पमा कल्पनाशीलता, तिलस्मीपन देखिन्छ। आधुनिकमाथि उत्तरआधुनिक थिममा कल्पना गरिएको छ।

यद्यपि सर्जकको सिर्जनामा द्रष्टाचक्षु नपुग्न पनि सक्छ। पर्याप्त नहुन सक्छ। सर्जकले निर्माण गरेको कथ्य वैशिष्ट्यको उच्च विन्दु अभेद्य पनि हुन सक्छ। तथापि सर्सर्ती उपन्यास पढ्दा कथाको थिम आदर्शवादी देखिन्छ। विज्ञानका सूत्रहरू ल्याएर आदर्शवादी जीवनलाई पुष्टि गर्न खोजेको जस्तो लाग्छ। पुनरजन्म र पूर्वजन्मका विचारलाई स्थापित गर्न खोजेजस्तो लाग्छ। धर्म दर्शन तथा अध्यात्मको जस्तो लाग्छ उपन्यास तर सो मान्यताको स्थापना पनि भएको छैन। पात्रहरू कारुणिक छन् । विरोध वा विद्रोह छैन। यथास्थितिको चित्रण छ।

यद्यपि नेपाली भाषामा शुद्ध लेख्नु फलामका च्यूरा नै हो। तथापि पाठकले भने शुद्धाशुद्धि पनि खोज्ने अधिकार राख्दो रहेछ। कृतिभित्र अति सामान्य तरीकाका शुद्धाशुद्धिको समस्या नभएको भए हुने भनेर लाग्न सक्छ। पूर्व जन्मका कुरा छन्। तर त्यो बेला कथानकको कार्यपीठिकामा पनि बोर्डिङ स्कुलको चर्चा छ।

उपन्यासको कथावस्तुमा उपन्यासकारले प्रवाह गर्न खोजेको केन्द्रीय विचार, सन्देश पनि छिरोलिएको छ। जसरी कथावस्तु छरिएको छ, त्यसैगरी द्वन्द्व व्यवस्थापन पनि छरिएको छ। यस्तो उपन्यासको संगठनमा पाठक अभ्यस्त नभइरहेको अवस्था हो। उपन्यास वास्तवमा जोगी तरकारी भएको जस्तो लाग्छ। अर्थात् उपन्यासका पाठ एकाइ अलग थिममा तर समग्रमा स्वरूपमा एक भैको देखिन्छ। उपन्यासभित्र महिलाको अवस्था, शैक्षिक विसङ्गति, पृथ्वी तथा वनस्पतिको सुरक्षा, माओवादी तथा सेनाको अत्याचार, वैदेशिक रोजगारी, बालयौन मनोविज्ञान, भूत, महिनावारीको मनोविज्ञान जस्ता अनेक विषयलाई एकै ठाउँमा पकाएको जस्तो लाग्छ। यो उपन्यास कुन विषय वा थिममा लेखिएको हो?, कुन प्रकारको उपन्यासकार हुन् भन्ने अन्यौल पाठकमा रहिरहन्छ। बरु सेसनका कथावस्तुलाई अलगअलग कथा बनाएको भए बोधीय हुने थियो भन्ने लागेको छ।

र अब अन्त्यमा, उपन्यासको बुनौट उम्दा छ। प्रयोगलाई नमन। यो प्रयोग नेपाली साहित्यमा नौलो नै होला भन्ने लागेको छ। अङ्ग्रेजी साहित्यको सिरियालिज्म अर्थात् धारावाहिकवादको धरातलमा यो उपन्यास तयार गरिएको छ। अर्नोल्ड स्कोनबर्गले सन् १९२३ मा अङ्ग्रेजी साहित्यमा प्रयोग गरेको शैली अर्थात् अलग अलग टिप्पणीहरूको शृङ्खलालाई एकत्रित गरेर लेखिने रचना, घटना वा टिपोट यो शैलीको चूरो हो। यसो भएकाले उपन्यास पूर्वजन्म तथा पुनरजन्मवादका आधारमा लेखिएको छ। यसले शैलीमा मात्र रोचकता पस्केको छैन; विषयवस्तुको प्रचुरतामा पनि योगदान पुर्याएको छ।

वास्तवमा मान्छेको जीवन धारावाहिक घटनाहरूले निर्मित भएको छ। ती घटनाहरू अलगअलग प्रकृतिका हुन्छन्। तर जीवन एक हुन्छ। त्यसैले उपन्यासमा वर्णित कथावस्तुका विविधता तथा व्यापकताबाट संक्षिप्तताको सिद्धान्त अर्थात् आगमन सिद्धान्तमा उद्धृत भएका छन्। र, सारमा निकै शिल्पीय तथा मनमोहक छ उपन्यास।  
अर्को समाचार
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
१ घण्टा अघि
•
१ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
काठमाडाैं, नेपाली लोकसंस्कृतिका अनुसन्धाता तथा प्रजातन्त्रका सेनानी स्व. कालीभक्त पन्तले नेपाली संस्कृति, गीतसंगीतलगायत तत्कालीन नेपाली समाजका विविध विषय तथा क्षेत्रको खोज, अनुसन्धान मात्र गर्नुभएन, नयाँ पुस्तालाई त्यसको अभिलेखसमेत तयार गरिदिनुभयो। त्यसकै आधारमा अहिलेको पुस्ताले त्यो बेलाको नेपालको इतिहास थाहा पाएको छ। उहाँको अर्को परिचय भनेको गीतकार, लोकगीत संकलक तथा गायकको पनि हो। उहाँले लेखेको लोकगीत रेडियो नेपालबाट प्रसारण भइरहेका छन्। ‘क्या यस्तो चाल पर्‍यो, मायासित बोल्दैमा गाल पर्‍यो’ तीमध्ये एक हो। प्राध्यापक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पन्तको गायनको क्षेत्रमा प्रवेश गर्नुको उद्देश्य गायक बनी नाम कमाउने थिएन। उहाँले नेपाली समाज अशिक्षित भएकाले समाजमा लोकगीतमार्फत जागरण ल्याउन पुस्तक–पुस्तिका, पम्प्लेट आदिको माध्यमबाट मात्र सम्भव नहुने हुँदा गाउँलेहरूलाई बुझाउने लोकगीतहरू रचेर अनेकौं सांस्कृतिक कार्यक्रमहरू गर्नुहुन्थ्यो। उहाँलाई जनतामा कसरी राजनीतिक, सामाजिक चेतना बढाउने भन्ने तरिकाको ज्ञान थियो।




यसरी गाउँलेहरूमा राजनीतिक चेतनाको अभिवृद्धि गर्न उहाँले सांस्कृतिक टोलीहरूको गठन पनि गर्नुभएको थियो। सो समयमा पन्तले ब्यान्जोको आकारको ‘कालीबाजा’को निर्माण पनि गर्नुभएको थियो। यो पनि अब एउटा इतिहास बनिसकेको छ। पर्वत तथा बागलुङमा हुने चैते–दसैंजस्ता मेलामा पन्तले महिला जागरणको मात्र नभई कन्या बेच्ने बाबुआमाविरोधी गीत पनि गाउनुभएको थियो। उदाहरणका लागि ‘छोरी बेचा हे बाहुन बाजे/अझै तँलाई लाग्दैन सरम’, ‘बिहा मलाई गर्ने हो भने/ल्याउनु होला कत्तुवा, चर्खा, तान’ उहाँले समाजका छुवाछुतलगायतका रूढिवादी परम्पराको अन्त्य तथा महिला र जनजातिको उत्थान गर्ने उद्देश्य राखेर विविध चेतनामूलक कार्य गर्नुभएको थियो।

२००७ सालको राजनीतिक परिवर्तनको आन्दोलनका बेला पश्चिम ४ नम्बरको कमान्डरको जिम्मेवारी पाउनुभएका पन्तले क्रान्तिका नेताका रूपमा पर्वत कुस्मा र बागलुङको मुक्तिसेना सञ्चालन गर्नुभएको थियो। त्यस्तै, पन्तले सो क्षेत्र कब्जा गरी सर्वश्री ओमप्रसाद गौचनको नेतृत्वको प्रान्तीय सरकारमा उपप्रधानमन्त्री भई काम गर्नुभएको थियो। यस समयमा पन्तले सूचना विभाग हेर्नुपथ्र्यो। २०१७ सालको पञ्चायती व्यवस्थाविरुद्धसमेत लड्नुभएको थियो। सो क्रममा उहाँले भूमिगत तथा जेलजीवनसमेत बिताउनुपरेको थियो। २०१९ सालदेखि राजनीतिबाट टाढिनुभएका पन्त त्यसपछि पूर्ण रूपमा लेखनमा लाग्नुभएको थियो।

इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। सो क्रममा पन्त भारत (सिक्किम, दार्जिलिङ, कुमाउँ–गढवाल, आसाम, हिमाञ्चल प्रदेश), चीन, भुटान, पाकिस्तान, श्रीलंका तथा बेलायतमा पुग्नुभएको थियो। म्याट्रिक पास गर्नुभएका पन्तलाई नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, अंग्रेजी भाषाको समेत ज्ञान थियो।

उहाँको जन्म १९६४ साल भदौ ६ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो। पिता नरेन्द्र पन्त, माता निलकुमारी पन्तका कान्छा छोरा कालीभक्त २००९ सालदेखि भने पर्वतको फलेवासमा बस्दै आउनुभएको थियो। १७ वर्षको उमेरमा कालीभक्तको कृष्णा पन्तसँग विवाह भएको थियो। उहाँहरूका तीन छोरी र ६ छोरा भए। साहित्यकार देवीप्रसाद वनवासीका अनुसार पन्तको जन्मथलो तत्कालीन धौलागिरी अञ्चल, पर्वत जिल्लामा परे पनि उनी प. ४ नं. स्याङ्जा हो। ‘साइलादाइ कहाँ गयो’ भनेर दोहोरी गाउने मसानेका समकालीन पाथे भाइ हुन्। 
कालीभक्त पन्तका ‘पश्चिम ४ नम्बर (नेपाल) को इतिहास’ (२००९), ‘किसान गीता’ (२०१२), ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’ (२०२७), ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८), ‘गीत सुधारको राष्ट्रिय बाटो’ (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भबध’ (नाटक, निधनपश्चात् २०५० मा प्रकाशित) लगायतका कृति प्रकाशित छन्। यसबाहेक पन्तका विभिन्न विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन्।

विशेषगरी ‘हाम्रो सांस्कृतिक इतिहास’मा पन्तले राष्ट्रिय संस्कृति र यसको आवश्यकताको विषयबाट सुरु गरी राष्ट्रियता, हाम्रा गीत, भाषा आदिको प्रारम्भिक स्थिति, नेपालमा झ्याउरे गीतको बीजरोपण, हाम्रा देशका गीतहरूको बनावटको सिलसिला, गीतको आइनो गर्दा भाषा र लिपि, हाम्रा राष्ट्रिय ध्वनिको दिग्दर्शन र विश्वका गीतका ध्वनिहरू, हाम्रा गीतका बीजरोपक र परिवर्तनकर्ता, हाम्रा गीतका छन्दहरू, लोकगीत र तीबाहेकका गीत–बाजा, हाम्रा गीत–बाजाका भेद, गीतको संक्षिप्त महिमा, दार्जिलिङ–सिक्किम–भुटानका गोर्खालीका र हाम्रा गीतमा एकरूपता, हाम्रा देशमा शास्त्रीय संगीतलगायतका विषयमा केन्द्रित रहेर नेपालको समग्र सांस्कृतिक इतिहासलाई खोजी अभिलेख गर्ने काम गर्नुभएको छ।

दिवंगत संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पन्तको यसै कृति अध्ययन गरेर आफूलाई उहाँप्रति निकै श्रद्धा लागेको बताउनुभएको थियो। उहाँले पन्तलाई लोकसंस्कृतिको अगुवा बताउँदै सो समयमा लोकगीत, परम्परा र संस्कृतिका सम्बन्धमा कलम चलाई योगदान पुर्‍याउनु अतुलनीय रहेको बताउनुभएको थियो। भाषा तथा लोकसंस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुका अनुसार पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’मा लोकगीत र लोकनृत्यलाई राष्ट्रिय संस्कृतिका महत्त्वपूर्ण अंगका रूपमा विवेचना गर्नुभएको छ। उहाँका अनुसार यस कृतिमा धेरै कुरा पहिलोपटक प्रस्तुत गरिएका छन् र नेपाली भाषा र लोकगीतमा अनुसन्धान गर्नेहरूका लागि यी तथ्य र विश्लेषण स्रोतका रूपमा रहेका छन्।

बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई सहगान, सहनृत्य र सहकार्यमा अनिवार्य रूपले सहभागी बनाएर उपयोगी शिक्षा दिन सकिन्छ भन्ने उहाँको महत्त्वपूर्ण मान्यता पनि यस कृतिमा चर्चित छ। ‘गीत सुधारको राष्ट्रिय बाटो’ पुस्तक पन्तले नेपालीले आफ्नै सांस्कृतिक पद्धतिअनुसार गीत सुधार गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले तयार गर्नुभएको थियो। जसमा उहाँले गायन र नृत्यकलाको प्रारम्भ, नाच्ने–गाउने भावना र गला–कला, छन्दसाहित्य (तीजे, लहरी, झ्याउरे, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी आदि), हाम्रा पुर्खाकालीन सांगीतिक शाब्दिक सरजाम, गीतको संक्षिप्त महिमा, बहादुर सिंह बराल र नेपाली गीतका बनावटको इतिहास, आफ्नोपना र त्यसको पूर्ति, गीतका संज्ञा, परिभाषा र शब्दकोश, संगीत शब्द र भ्रम, हाम्रा गीत साहित्यले बदल्दै आएको ऐतिहासिक मोड, गीत रेकर्ड गर्नुभन्दा पहिले, केही फुटकर कुरा र गुनासाहरूलगायतका शीर्षकमा रहेर नेपाली गीतसंगीतका विविध विषय तथा पक्षको चर्चा गर्नुभएको छ।

संस्कृतिविद् तुलसी दिवस पन्तका ‘हाम्रो सांस्कृतिक इतिहास’ र ‘गीत सुधारको राष्ट्रिय बाटो’ पढेपछि उहाँबाट निकै प्रभावित हुनुभएको थियो। उहाँका अनुसार ‘नेपालको मेची–महाकालीलगायत पूर्वदार्जिलिङ, सिक्किमदेखि पश्चिम कुमाउँ–गढवालसम्म आफैं घुमेर लोकगीत, साहित्य र संस्कृतिको तथ्य संकलन र अन्वेषण गर्नु त्यो समयमा चानचुने कुरा थिएन, त्यो पनि आफ्नै खर्चले।’

यस्तै पन्तले लेखेका तथा संकलन गरेका थुप्रै रचना तथा कृतिहरू अझै अप्रकाशित देखिन्छन्। तिनलाई संकलन तथा सम्पादन गरी प्रकाशन गर्नु आवश्यक देखिन्छ।

उहाँको निधन भने २०४८ फागुन ६ गते भएको थियो। कालीभक्तको निधन हुनुभन्दा २२ वर्षअघि अर्थात् २०२६ माघ ११ गते नै धर्मपत्नी कृष्णा पन्तको ६० वर्षको उमेरमा निधन भइसकेको थियो। उहाँहरूको स्मृतिमा २०७४ वैशाख १ गतेदेखि कालीभक्त कृष्णा पन्त प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले ‘स्रष्टा कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’सँगै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, मानवीय सहयोग तथा सांस्कृतिक गतिविधि पनि गर्दै आएको छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस