सानो झोला बोकेर आफ्नै देशको छहरा.पहरा घुम्न नपाएको पनि धेरै समय भएको थियो। कहिले कोभिड महामारी, कहिले डेंगु त कहिले के, कहिले के। कामको व्यस्तता पनि उस्तै। तर पनि गत हप्ता भिन्नै एउटा जिम्मेवारी लिएर प्रदेश १ को झापा–इलाम जाने अवसर मिल्यो। पहिलो पटक जाने भएकाले होला, जानुअघि नै मन प्रफुल्ल थियो।
उक्त क्षेत्रको चिया बगानको बखान निकै पहिलेदेखि नै सुन्दै आएकी थिएँ। अर्थाेडक्स र सिटिसी मिलाएको दुध चिया अनि दुधमा चिनी र अदुवा राखेर आगोको तापक्रम मिलाएर बनाइएको चिया। अझ कहिले सुकमेल र ल्वाङ अनि कहिले मरिचसमेत हालेको चिया। सम्झँदै पनि मुख मिठो भएर आउँछ। चियाको यस्तो पारखीलाई चियाकै खानी झापा–इलामका बगान पुग्न पाउनु ठुलो हर्षको विषय बन्ने नै भयो। त्यसैले चियाका बगान पनि हेर्न पाउने लालसाले मन पुलकित थियो।
धेरै ठाउँमा चिया पिएकी छु। कति ठाउँमा त यति मिठो स्वाद कि बयान गरिसाध्य नै छैन। ल्वाङ, सुकमेल, अदुवाजस्ता मसलाबिना पनि यति मिठो चिया कसरी बन्दो हो ? उत्तर दिनेहरू भन्थे– महिलाको हातले मलेको अर्थाेडक्स चिया भएकाले..., चिसोले खाएको अर्थाेडक्स हो नि त..., तीन पातको कलिलो मुना मात्रै प्रयोग गरेपछि मिठो हुन्न त... आदि। काठमाडौंमा कहाँ पाइन्छ भनेर सोध्थें। भन्थे– यस्तो चिया त विदेशतिर मात्र पाइन्छ।
जब आफूले खोजेको र चाहेको चिज भेट्न विदेश हैन, आफ्नै मुलुकको वास्तविक ठाउँ पुगें, आनन्दित नहुने कुरै भएन। त्यसैले कन्याम, फिक्कलका थुम्काहरू कलात्मक शैलीमा फिँजारिएका चियाका बुटालाई मन लागुन्जेल सुम्सुमाएँ। अनि प्रत्येकको घरमा बिहानै पाक्ने सुगन्धित चियाको वास्तविक रूप र स्वाद उत्पत्ति स्थलमै गएर नियालें। अहिलेको कालमा ‘चियाबारीमा हो... चियाबारीमा’ गुन्गुनाउँदै तस्बिर नखिच्ने त को नै होला र ?
यात्री न परियो। फिक्कल पुगेपछि श्रीअन्तु के छाडिन्थ्यो र ? फिक्कलबाट गाडीमा मात्र सवा घण्टा पर रहेछ श्रीअन्तु। थुम्कैथुम्काबीच जता हेर्यो उतै हरिया डाँडा। सयपत्री र लालुपाते अनि गोदावरीले थपिएको रमणीयताको रसास्वादन वर्णन गर्नै गाह्रो छ। लाग्थ्यो, प्रकृतिले श्रीअन्तुलाई बेहुलीको पहिरनमा सिँगारिदिएको छ। जति हेरे पनि नअघाउने। सुन्दरी... असाध्यै सुन्दरी...।
होमस्टे पनि कस्तो आकर्षक। रङमा रातो, हरियो, पहेंलो अनि आकारमा चुच्चे चुच्चे, फुच्चे फुच्चे घरहरू। श्रीअन्तुका अगाडि तिनको पनि कम्ता थिएन आकर्षण। मानौं, जन्तीलाई स्वागत गर्न हतारिएका घरगाउँलेजस्ता। यी सबै दृश्य नियालिसकेपछि लाग्यो– मानिस त्यत्तिकै झुम्मिएका हैनन् श्रीअन्तु पुग्न। चियाका बगान, थुम्के बनावट र बाटाका फूलहरू मात्र हैन, घर र मानिसका शैली पनि कम्ता लोभ्याउने देखिएनन्।
दुई तीन वर्षयताको महामारी अनि डेंगुका कारण व्यवसाय मन्दप्रायः बनेका थिए। जसले सोच्ने शक्तिमा समेत ह्रास ल्याएको थियो। चिन्तनमननलाई प्रभावित तुल्याएको थियो। आशा अनि सकारात्मकतालाई डाँडो कटाएको थियो। तर धेरैपछि मन हल्का भयो श्रीअन्तुको काखमा बस्न पाएपछि। मनमा आशा पलायो। सकारात्मकताको गुन्जायस मिल्यो।
हुन पनि नेपाल प्रकृतिकै देन हो। जसलाई श्रीअन्तुले पनि पुष्टि गर्यो। के छैन यति सानो भूभागमा ? हिमाल, पहाड र तराई यही देशमा छ। विश्वको अग्लो हिमाल सगरमाथादेखि तिलिचो तालसम्म यहीं रमाएका छन्। एकाध घण्टाकै यात्रामा अत्यन्त चिसोदेखि अत्यन्त गर्मीसम्मको मौसमी विविधता यहीं छ। गगनचुम्बी चुचुरादेखि पानीसमेत टक्क अडिने समथर स्थलसमेत यही मुलुकको आकर्षण हो। त्यसैले त प्रकृतिप्रेमीहरू यहाँ भौतारिइरहन्छन् मात्र साङ्ग्रिलाको खोजीमा, पाखा-पखेरा, खोल्सी, कुलेसो केही नभनी। भिर र कन्दरालाई अँगालो हाल्दै, ढुङ्गाको सिरानीमा रमाउँदै श्रीअन्तुको काखमा केही छिन थकाइ मार्दा यस्तै यस्तै भावना एक एक गरी मनभरि आइरहे।
‘अतिथि देवो भवः’ नेपालकै विशेषता हो। जुन श्रीअन्तुमा नहुने कुरै भएन। करिब ९४ प्रतिशत भूभाग होमस्टे र चियाबगानले ढाकिनु आफैमा पृथक विशेषता हो। अझ सिरानीमा विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८५८६ मिटर) टल्काउन सक्नु श्रीअन्तुको अर्को सफलता मान्न सकिन्छ। राई, लिम्बु, तामाङ जातको रहनसहन, रीतिरिवाज र परम्परा पर्यटकलाई लोभ्याउन निकै सफल देखिए। फापरको रोटी, रुख टमाटर, अकबरे अनि भक्काको अचारको स्वाद अझै पनि जिब्रोमै टाँस्सिइरहे जस्तो। करम करम गर्ने नरम नरम रायोको साग, लोकल कुखुराको रस, झ्वाइँय पारेको इलामे तातो घिउ, भातलाई त ठेलेको छ, ठेलेको छ, ओरालोको गाडीजस्तो रोकिँदै नरोकिने। हेर्ने मान्छे पनि छक्कै पर्ने गरी खाइयो। काठले बनाएको चुच्चे घरको सफा ओछ्यानले निद्रालाई डग्मगाउन दिने कुरै भएन।
श्रीअन्तु खासगरी सूर्योदयको दृश्य हेर्नका लागि विख्यात छ। हामी पनि यहाँ आइसकेपछि यो अवसरलाई गुम्न दिने पक्षमा थिएनौं। त्यसका लागि अन्तु टावर हाम्रो अबको गन्तव्य थियो। होटलकी दिदीले अन्तु टावर जानका लागि ४ बजे नै उठाउने वचन दिनुभयो। त्यसैले तोकिएको समयमा नउठिएला भनेर सुत्ने तरखरमा लाग्यौं। फेरि चिसो पनि कम्ता थिएन। जसले सिरकतर्फ जान घच्घच्याइरहेको थियो।
बिहान हिँड्दा सवा ४ बजेको थियो। आधा बाटोसम्म जानका लागि ट्याम्पो र गाडीको व्यवस्था थियो। त्यहाँबाट माथि जान घोडाको व्यवस्था पनि थियो तर हामीले भने मर्निङ वाकको अवसर गुमाउन चाहेनौं। ६ बजेर १० मिनेटमा सूर्याेदय हुने जानकारी दिइएको थियो। त्यसैले अन्तु टावर पुगिसकेपछि पनि हामीसँग केही समय बाँकी रह्यो। यो मौकामा हामीले तातो तातो भक्कासँग अर्थाेडक्स चिया पियौं। मैले त चिया पनि एकैपटक २ ग्लास पिएँ, के थाहा फेरि पिउन पाइन्छ कि पाइँदैन ?
‘एक छेउबाट अर्काे छेउसम्मै राताम्मे आकाश’– आम्मामा सूर्योदयअगाडिको त्यो दृश्य ! वर्णन गर्ने कुनै शब्द नै भेटिएन। हामी सबै मन्त्रमुग्ध भयौं। हामी सबै सूर्यलाई आफ्नो पोल्टामै कैद गर्न चाहन्थ्यौं। त्यसैले हात फैलायौं पनि तर दुनिया हाम्रो चाहनामा मात्र के चल्थ्यो र ? प्रकृति हाम्रो वशमा के हुन्थ्यो र ? जे होस्, जिन्दगीको अविस्मरणीय मजा लिइयो। त्यत्तिकैमा एकजना आध्यात्मिक साथीले भन्नुभयो कि यो क्षण शक्तिशाली हो, यसबखत धेरै ऊर्जा हुन्छ, हामी सूर्यलाई सम्झेर ध्यान गरौं। नभन्दै यो क्षण यति शान्त अनि मनमोहक र यति सकारात्मक ऊर्जाशील थियो कि वर्णन गर्नै सकिन्न।
यो दिन मात्र ३–४ सय थिए सूर्योदय हेर्ने। अझ सार्वजनिक बिदाका दिन त यस्तो सङ्ख्या १२–१३ सय पुग्छ भन्दै थिए स्थानीय। म भने त्यहाँ पुग्नु त के, यस्तो ठाउँको जानकारी पाउनबाट समेत वञ्चित रहेछु। त्यसैले ती झापाली महिला उद्यमीप्रति आभारी छु, जसले झापा आएका बेला यस्तो धार्मिक, आध्यात्मिक र पर्यटकीय भूगोलमा जान सुझाए।
काठमाडाैं, नेपाली लोकसंस्कृतिका अनुसन्धाता तथा प्रजातन्त्रका सेनानी स्व. कालीभक्त पन्तले नेपाली संस्कृति, गीतसंगीतलगायत तत्कालीन नेपाली समाजका विविध विषय तथा क्षेत्रको खोज, अनुसन्धान मात्र गर्नुभएन, नयाँ पुस्तालाई त्यसको अभिलेखसमेत तयार गरिदिनुभयो। त्यसकै आधारमा अहिलेको पुस्ताले त्यो बेलाको नेपालको इतिहास थाहा पाएको छ। उहाँको अर्को परिचय भनेको गीतकार, लोकगीत संकलक तथा गायकको पनि हो। उहाँले लेखेको लोकगीत रेडियो नेपालबाट प्रसारण भइरहेका छन्। ‘क्या यस्तो चाल पर्यो, मायासित बोल्दैमा गाल पर्यो’ तीमध्ये एक हो। प्राध्यापक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पन्तको गायनको क्षेत्रमा प्रवेश गर्नुको उद्देश्य गायक बनी नाम कमाउने थिएन। उहाँले नेपाली समाज अशिक्षित भएकाले समाजमा लोकगीतमार्फत जागरण ल्याउन पुस्तक–पुस्तिका, पम्प्लेट आदिको माध्यमबाट मात्र सम्भव नहुने हुँदा गाउँलेहरूलाई बुझाउने लोकगीतहरू रचेर अनेकौं सांस्कृतिक कार्यक्रमहरू गर्नुहुन्थ्यो। उहाँलाई जनतामा कसरी राजनीतिक, सामाजिक चेतना बढाउने भन्ने तरिकाको ज्ञान थियो।
यसरी गाउँलेहरूमा राजनीतिक चेतनाको अभिवृद्धि गर्न उहाँले सांस्कृतिक टोलीहरूको गठन पनि गर्नुभएको थियो। सो समयमा पन्तले ब्यान्जोको आकारको ‘कालीबाजा’को निर्माण पनि गर्नुभएको थियो। यो पनि अब एउटा इतिहास बनिसकेको छ। पर्वत तथा बागलुङमा हुने चैते–दसैंजस्ता मेलामा पन्तले महिला जागरणको मात्र नभई कन्या बेच्ने बाबुआमाविरोधी गीत पनि गाउनुभएको थियो। उदाहरणका लागि ‘छोरी बेचा हे बाहुन बाजे/अझै तँलाई लाग्दैन सरम’, ‘बिहा मलाई गर्ने हो भने/ल्याउनु होला कत्तुवा, चर्खा, तान’ उहाँले समाजका छुवाछुतलगायतका रूढिवादी परम्पराको अन्त्य तथा महिला र जनजातिको उत्थान गर्ने उद्देश्य राखेर विविध चेतनामूलक कार्य गर्नुभएको थियो।
२००७ सालको राजनीतिक परिवर्तनको आन्दोलनका बेला पश्चिम ४ नम्बरको कमान्डरको जिम्मेवारी पाउनुभएका पन्तले क्रान्तिका नेताका रूपमा पर्वत कुस्मा र बागलुङको मुक्तिसेना सञ्चालन गर्नुभएको थियो। त्यस्तै, पन्तले सो क्षेत्र कब्जा गरी सर्वश्री ओमप्रसाद गौचनको नेतृत्वको प्रान्तीय सरकारमा उपप्रधानमन्त्री भई काम गर्नुभएको थियो। यस समयमा पन्तले सूचना विभाग हेर्नुपथ्र्यो। २०१७ सालको पञ्चायती व्यवस्थाविरुद्धसमेत लड्नुभएको थियो। सो क्रममा उहाँले भूमिगत तथा जेलजीवनसमेत बिताउनुपरेको थियो। २०१९ सालदेखि राजनीतिबाट टाढिनुभएका पन्त त्यसपछि पूर्ण रूपमा लेखनमा लाग्नुभएको थियो।
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। सो क्रममा पन्त भारत (सिक्किम, दार्जिलिङ, कुमाउँ–गढवाल, आसाम, हिमाञ्चल प्रदेश), चीन, भुटान, पाकिस्तान, श्रीलंका तथा बेलायतमा पुग्नुभएको थियो। म्याट्रिक पास गर्नुभएका पन्तलाई नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, अंग्रेजी भाषाको समेत ज्ञान थियो।
उहाँको जन्म १९६४ साल भदौ ६ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो। पिता नरेन्द्र पन्त, माता निलकुमारी पन्तका कान्छा छोरा कालीभक्त २००९ सालदेखि भने पर्वतको फलेवासमा बस्दै आउनुभएको थियो। १७ वर्षको उमेरमा कालीभक्तको कृष्णा पन्तसँग विवाह भएको थियो। उहाँहरूका तीन छोरी र ६ छोरा भए। साहित्यकार देवीप्रसाद वनवासीका अनुसार पन्तको जन्मथलो तत्कालीन धौलागिरी अञ्चल, पर्वत जिल्लामा परे पनि उनी प. ४ नं. स्याङ्जा हो। ‘साइलादाइ कहाँ गयो’ भनेर दोहोरी गाउने मसानेका समकालीन पाथे भाइ हुन्। कालीभक्त पन्तका ‘पश्चिम ४ नम्बर (नेपाल) को इतिहास’ (२००९), ‘किसान गीता’ (२०१२), ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’ (२०२७), ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८), ‘गीत सुधारको राष्ट्रिय बाटो’ (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भबध’ (नाटक, निधनपश्चात् २०५० मा प्रकाशित) लगायतका कृति प्रकाशित छन्। यसबाहेक पन्तका विभिन्न विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन्।
विशेषगरी ‘हाम्रो सांस्कृतिक इतिहास’मा पन्तले राष्ट्रिय संस्कृति र यसको आवश्यकताको विषयबाट सुरु गरी राष्ट्रियता, हाम्रा गीत, भाषा आदिको प्रारम्भिक स्थिति, नेपालमा झ्याउरे गीतको बीजरोपण, हाम्रा देशका गीतहरूको बनावटको सिलसिला, गीतको आइनो गर्दा भाषा र लिपि, हाम्रा राष्ट्रिय ध्वनिको दिग्दर्शन र विश्वका गीतका ध्वनिहरू, हाम्रा गीतका बीजरोपक र परिवर्तनकर्ता, हाम्रा गीतका छन्दहरू, लोकगीत र तीबाहेकका गीत–बाजा, हाम्रा गीत–बाजाका भेद, गीतको संक्षिप्त महिमा, दार्जिलिङ–सिक्किम–भुटानका गोर्खालीका र हाम्रा गीतमा एकरूपता, हाम्रा देशमा शास्त्रीय संगीतलगायतका विषयमा केन्द्रित रहेर नेपालको समग्र सांस्कृतिक इतिहासलाई खोजी अभिलेख गर्ने काम गर्नुभएको छ।
दिवंगत संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पन्तको यसै कृति अध्ययन गरेर आफूलाई उहाँप्रति निकै श्रद्धा लागेको बताउनुभएको थियो। उहाँले पन्तलाई लोकसंस्कृतिको अगुवा बताउँदै सो समयमा लोकगीत, परम्परा र संस्कृतिका सम्बन्धमा कलम चलाई योगदान पुर्याउनु अतुलनीय रहेको बताउनुभएको थियो। भाषा तथा लोकसंस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुका अनुसार पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’मा लोकगीत र लोकनृत्यलाई राष्ट्रिय संस्कृतिका महत्त्वपूर्ण अंगका रूपमा विवेचना गर्नुभएको छ। उहाँका अनुसार यस कृतिमा धेरै कुरा पहिलोपटक प्रस्तुत गरिएका छन् र नेपाली भाषा र लोकगीतमा अनुसन्धान गर्नेहरूका लागि यी तथ्य र विश्लेषण स्रोतका रूपमा रहेका छन्।
बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई सहगान, सहनृत्य र सहकार्यमा अनिवार्य रूपले सहभागी बनाएर उपयोगी शिक्षा दिन सकिन्छ भन्ने उहाँको महत्त्वपूर्ण मान्यता पनि यस कृतिमा चर्चित छ। ‘गीत सुधारको राष्ट्रिय बाटो’ पुस्तक पन्तले नेपालीले आफ्नै सांस्कृतिक पद्धतिअनुसार गीत सुधार गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले तयार गर्नुभएको थियो। जसमा उहाँले गायन र नृत्यकलाको प्रारम्भ, नाच्ने–गाउने भावना र गला–कला, छन्दसाहित्य (तीजे, लहरी, झ्याउरे, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी आदि), हाम्रा पुर्खाकालीन सांगीतिक शाब्दिक सरजाम, गीतको संक्षिप्त महिमा, बहादुर सिंह बराल र नेपाली गीतका बनावटको इतिहास, आफ्नोपना र त्यसको पूर्ति, गीतका संज्ञा, परिभाषा र शब्दकोश, संगीत शब्द र भ्रम, हाम्रा गीत साहित्यले बदल्दै आएको ऐतिहासिक मोड, गीत रेकर्ड गर्नुभन्दा पहिले, केही फुटकर कुरा र गुनासाहरूलगायतका शीर्षकमा रहेर नेपाली गीतसंगीतका विविध विषय तथा पक्षको चर्चा गर्नुभएको छ।
संस्कृतिविद् तुलसी दिवस पन्तका ‘हाम्रो सांस्कृतिक इतिहास’ र ‘गीत सुधारको राष्ट्रिय बाटो’ पढेपछि उहाँबाट निकै प्रभावित हुनुभएको थियो। उहाँका अनुसार ‘नेपालको मेची–महाकालीलगायत पूर्वदार्जिलिङ, सिक्किमदेखि पश्चिम कुमाउँ–गढवालसम्म आफैं घुमेर लोकगीत, साहित्य र संस्कृतिको तथ्य संकलन र अन्वेषण गर्नु त्यो समयमा चानचुने कुरा थिएन, त्यो पनि आफ्नै खर्चले।’
यस्तै पन्तले लेखेका तथा संकलन गरेका थुप्रै रचना तथा कृतिहरू अझै अप्रकाशित देखिन्छन्। तिनलाई संकलन तथा सम्पादन गरी प्रकाशन गर्नु आवश्यक देखिन्छ।
उहाँको निधन भने २०४८ फागुन ६ गते भएको थियो। कालीभक्तको निधन हुनुभन्दा २२ वर्षअघि अर्थात् २०२६ माघ ११ गते नै धर्मपत्नी कृष्णा पन्तको ६० वर्षको उमेरमा निधन भइसकेको थियो। उहाँहरूको स्मृतिमा २०७४ वैशाख १ गतेदेखि कालीभक्त कृष्णा पन्त प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले ‘स्रष्टा कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’सँगै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, मानवीय सहयोग तथा सांस्कृतिक गतिविधि पनि गर्दै आएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...