समृद्धिको कामनासहित तिहार
२० कार्तिक २०८३
•
७ मिनेट पाठ
समृद्धिको कामनासहित तिहार
हिन्दु धर्मावलम्बीले समृद्धि, आरोग्य र पारिवारिक सुखको कामना गर्दै मनाउने धन्तेरस पर्व यस वर्ष कात्तिक २० गते आज शुक्रबार परेको छ। तिहार अर्थात् दीपावलीसँग जोडिएको यस पर्वमा धनकी देवी लक्ष्मी, धनका देवता कुबेर र आयुर्वेद तथा स्वास्थ्यका देवता धन्वन्तरीको पूजा गर्ने धार्मिक परम्परा छ। यस दिन सुन, चाँदी, तामा, पित्तललगायतका धातुका सामग्री खरिद गर्ने चलनसमेत छ।




धन्तेरसलाई धनत्रयोदशी पनि भनिन्छ। चन्द्रमासअनुसार कात्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइने भएकाले यसको नाम धन्तेरस रहन गएको धार्मिक मान्यता छ। ‘धन’ ले सम्पत्ति र ‘तेरस’ ले त्रयोदशी तिथिलाई जनाउँछ। यस पर्वलाई धन आर्जनको कामना गर्ने अवसरका रूपमा मात्र नभई स्वास्थ्य, दीर्घायु र सुखशान्तिको प्रतीकका रूपमा पनि लिइने भएकाले सर्वत्र धन्तेरस मनाइने अध्ययता ज्योतिष शिव पोखरेलको तर्क छ।

ज्योतिष शिव पोखरेल
 ‘धार्मिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा भगवान् धन्वन्तरी अमृतको कलश लिएर प्रकट भएका थिए’, ज्योतिषी पोखरेल भन्छन्,‘ धन्वन्तरीलाई आयुर्वेद र स्वास्थ्यका देवताका रूपमा पूजिने भएकाले यस दिन परिवारका सदस्य स्वस्थ र दीर्घजीवी होऊन् भन्ने कामनासहित पूजा गरिन्छ। त्यस्तै माता लक्ष्मी र भगवान् कुबेरको पूजा गरी घरमा धनधान्य, आर्थिक स्थिरता र समृद्धि कायम रहोस् भन्ने प्रार्थना गरिन्छ।’

नेपाल सरकार राष्ट्र बैंकले समेत धन्तेरसलाई लक्षित गरी बर्सेनि सरकारी दररेटमा सुन र चाँदीको सिक्का बेच्ने गरेको छ। धन्तेरस नेपाल, भारतलगायत अन्य देशका हिन्दुहरूले सबैतिर मनाउने गरेको पाइन्छ।

घर सफा गरी दीप प्रज्वलन

धन्तेरसका अवसरमा घर, आँगन र पूजाकोठा सफा गर्ने, प्रवेशद्वार सजाउने तथा साँझ दियो बाल्ने चलन छ। कतिपय परिवारले घरको ढोकामा रंगोली बनाउने, फूलले सजाउने र लक्ष्मीको स्वागतका लागि विशेष तयारी गर्ने गर्छन्। घर स्वच्छ र उज्यालो बनाउनुलाई शुभ र सकारात्मक ऊर्जा भित्र्याउने प्रतीकका रूपमा लिइन्छ। यस दिन साँझ लक्ष्मी, कुबेर र धन्वन्तरीको पूजा गरिन्छ।

पूजामा फूल, अक्षता, धूप, दीप, फलफूल र मिठाइ चढाउने चलन छ। परिवारका सदस्य एकै ठाउँमा भेला भएर पूजा गर्ने र सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा रहेको भनाइ पनि ज्योतिषी पोखरेलको छ। धन्तेरसमा यमदीप दान गर्ने धार्मिक प्रचलनसमेत रहेको छ। यमराजको नाममा घरबाहिर दियो बालेर परिवारका सदस्यको दीर्घायु र सुरक्षाको कामना गरिन्छ। कतिपय समुदायमा दियो दक्षिण दिशातर्फ राख्ने चलन छ।

सुनचाँदी तथा भाँडाकुँडा किन्ने परम्परा

धन्तेरसको अर्को विशेषता नयाँ सामग्री खरिद गर्नु हो। यस दिन सुन, चाँदीका गरगहना, सिक्का, तामा तथा पित्तलका भाँडाकुँडा किन्ने परम्परा छ । कतिपयले घरायसी प्रयोगका सामग्री तथा पूजाका सामानसमेत किन्ने गर्छन्। नयाँ सामग्री खरिद गर्दा घरमा धन र समृद्धि भित्रिने धार्मिक विश्वास छ।

धन्तेरसमा सुनचाँदी नै किन्नुपर्छ भन्ने अनिवार्यता भने छैन। आफ्नो आर्थिक अवस्थाअनुसार उपयोगी सामग्री खरिद गरेर वा सामान्य पूजाआजा गरेर पनि पर्व मनाउन सकिने उनी बताउँछन्। ‘धार्मिक आस्थाका नाममा ऋण लिएर वा आर्थिक क्षमताभन्दा बढी खर्च गर्नु उचित मानिँदैन’, उनले भने,‘पर्वलाई पारिवारिक आवश्यकता र आर्थिक सन्तुलनसँग जोडेर मनाउनु आवश्यक छ।’

विगतमा खासै धन्तेरसको आकर्षण नरहे पनि केही दशक यता नेपालमा पनि निकै उत्साहका साथ धन्तेरस मनाइने गरेको देखिन्छ। यही अवसरमा काठमाडौंलगायत नेपालका हरेक सुन, चाँदी तथा गरगहना र भाँडा पसलमा सरसजावट समेत गरेको देखिन्छ। धन्तेरस विशेषगरी भारतका विभिन्न भागमा व्यापक रूपमा मनाइन्छ भने नेपालमा तिहारका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिसँग यसको सम्बन्ध जोडिएको पाइन्छ।

नेपालमा काग तिहारसँग सम्बन्ध

नेपालमा तिहारको पहिलो दिन काग तिहार मनाउने परम्परा छ। यस वर्षको काग तिहार शनिबार परेको छ। कागलाई यमराजको सन्देशवाहकका रूपमा मान्दै खाना खुवाउने चलन छ। कागलाई खाना दिएर शुभ समाचार प्राप्त होस् र परिवारमा सुखशान्ति कायम रहोस् भन्ने कामना गरिन्छ।

धनतेरस र काग तिहारको धार्मिक परम्परा क्षेत्र तथा समुदायअनुसार फरक हुन सक्ने भएकाले दुवैलाई एउटै विधि वा मान्यता मान्नु उपयुक्त नहुने उनको ठहर छ। धनतेरसको सन्देश धनसम्पत्ति प्राप्त गर्ने कामनामा मात्र सीमित छैन। स्वास्थ्य, पारिवारिक सद्भाव, आर्थिक अनुशासन र सामाजिक सहयोग पनि जीवनका महत्त्वपूर्ण पक्ष हुन्। त्यसैले धन्तेरसलाई धनसँगै निरोगी जीवन, सुखशान्ति र समृद्धिको कामना गर्ने पर्वका रूपमा मनाउने गरिन्छ।

काग तिहार मनाउने परम्परा

ज्योतिषी पोखरेलका अनुसार नेपालमा धन्तेरसकै दिनदेखि यमपञ्चक सुरु हुने र कागलाई यमराजको सन्देशवाहक मानेर खाना खुवाउने परम्परा छ। कागलाई खाना दिएर शुभ समाचार प्राप्त होस् र परिवारमा सुखशान्ति कायम रहोस् भन्ने कामना गरिन्छ। यी विधि हिन्दु धार्मिक तथा सांस्कृतिक परम्परामा आधारित छन्। परिवार र समुदायअनुसार पूजाका सामग्री, मन्त्र र विधि फरक हुन सक्छन्।

यमपञ्चक: पाँच दिन, पाँच पर्व र प्रकृतिसँगको आत्मीय सम्बन्ध

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारलाई दीपावली तथा यमपञ्चक पनि भनिन्छ। पाँच दिनसम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक भनिएको हो। हिन्दु धार्मिक मान्यताअनुसार यमराज र उनकी बहिनी यमुनासँग जोडिएको यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम, पारिवारिक सम्बन्ध, आपसी सद्भाव र दीर्घायुको कामना गर्ने परम्परालाई जीवन्त बनाएको छ। यमपञ्चकका पाँच दिनमा काग, कुकुर, गाई, गोरु र दाजुभाइको पूजा गरिन्छ। यस पर्वले मानिस र प्रकृतिबिचको सम्बन्धलाई समेत उजागर गर्छ।

काग तिहार: यमपञ्चकको पहिलो दिन काग तिहार मनाइन्छ। कागलाई यमराजको दूतका रूपमा लिने धार्मिक विश्वास छ। यस दिन कागलाई मीठा परिकार तथा खानेकुरा दिएर पूजा गरिन्छ। कागले खबर ल्याउने विश्वासका आधारमा यस दिन कागको सम्मान गर्ने परम्परा बसेको मानिन्छ।

कुकुर तिहार: यमपञ्चकको दोस्रो दिन कुकुर तिहार मनाइन्छ। कुकुरलाई यमराजको द्वारपाल तथा मानिसको इमानदार साथीका रूपमा सम्मान गरिन्छ। यस दिन कुकुरलाई माला लगाइदिने, निधारमा टीका लगाउने र मीठा खानेकुरा खुवाउने चलन छ। यसले मानिस र जनावरबिचको आत्मीय सम्बन्धलाई दर्शाउँछ।

गाई तिहार तथा लक्ष्मी पूजा: यमपञ्चकको तेस्रो दिन गाई तिहार र लक्ष्मी पूजा मनाइन्छ। गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गरिन्छ। गाईलाई माला लगाएर पूजा गरिन्छ । साँझ घर, आँगन, झ्यालढोका र बाटोमा दीप प्रज्वलन गरी धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ। घरमा सुख, शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त होस् भन्ने कामना गरिन्छ। यस दिन देउसीभैलो खेल्ने परम्पराले पनि तिहारलाई थप उल्लासमय बनाउँछ।

गोरु तिहार तथा म्हपुजा: ज्योतिषी पोखरेलका अनुसार यमपञ्चकको चौथो दिन गोरु तिहार र नेवार समुदायमा म्हपुजा मनाइन्छ। कृषि कर्ममा महत्त्वपूर्ण योगदान पुर्‍याउने गोरुको पूजा गरी सम्मान गरिन्छ। यसै दिन नेपाल संवत्अनुसार नयाँ वर्ष पनि सुरु हुन्छ। नेवार समुदायले म्हपुजा गरी आफ्नो शरीर, आत्मा र जीवनको शुद्धता तथा दीर्घायुको कामना गर्छन्।

भाइटीका: यमपञ्चकको पाँचौं तथा अन्तिम दिन भाइटीका मनाइन्छ। यस दिन दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका लगाएर दीर्घायु, सुस्वास्थ्य र सुख समृद्धिको कामना गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर माया र सम्मान प्रकट गर्छन्।

धार्मिक कथाअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई घरमा बोलाएर टीका लगाइ पूजा गरेकी थिइन्। त्यसबाट प्रभावित भएर यमराजले दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने दिन मृत्युको भयबाट सुरक्षा मिल्ने आशीर्वाद दिएको विश्वास गरिन्छ।

यमपञ्चकको सांस्कृतिक तथा सामाजिक महत्त्व

यमपञ्चक धार्मिक आस्थाको पर्व मात्र होइन, प्रकृति, पशुपन्छी, कृषि, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावको उत्सव पनि हो। कागदेखि गोरुसम्मको पूजा गर्ने परम्पराले मानव जीवनमा सबै जीवजन्तुको महत्त्व रहेको सन्देश दिन्छ। दीपावलीले अन्धकारमाथि उज्यालो, निराशामाथि आशा र असत्यमाथि सत्यको विजयको प्रतीकात्मक अर्थ बोकेको छ।

देउसीभैलो, फूलमाला, सेलरोटी, झिलिमिली बत्ती र भाइटीकाले तिहारलाई नेपाली समाजको मौलिक सांस्कृति पहिचानको रूपमा स्थापित गरेको छ। ‘तिहारमा सेलरोटी पकाउने खाने र देउसीभैलो खेल्ने नेपालीको मूल सांस्कृतिक पहिचान हो,’ उनले भने।
अर्को समाचार
किरात ऐतिहासिकस्थल साल्पा-सिलिचुङमा मुन्दुमी संरचना निर्माण
१७ घण्टा अघि
•
५ मिनेट पाठ
किरात ऐतिहासिकस्थल साल्पा-सिलिचुङमा मुन्दुमी संरचना निर्माण
किरात ऐतिहासिकस्थल साल्पा-सिलिचुङमा मुन्दुमी संरचना निर्माण गरिएको छ।




खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बूको सङ्गमस्थलमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल साल्पा-सिचिलुङमा सुम्निमा, पारुहाङ, नाक्छुङ (धामी), नाक्छुङ चरा (कल्चुडा), तीन चुल्हासहितको मुन्दुमी माङथाम, वाबु (चिण्डो) सहितको प्रवेशद्धार र स्वागतद्धार लगायतका मुन्दुमी संरचना निर्माण गरिएको हो।

देश/विदेशका किराती तथा गैरकिरातीबाट बटुलेको करिब दुई करोड ८४ लाख रकममध्ये दुई करोड ६२ लाख रुपैयाँमा भौतिक संरचना निर्माण गरिएको आयोजक साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका अध्यक्ष राजेन खिम्बुले राई ‘मूलघरे कान्छा’ले बताए।

“साल्पा-सिलिचुङ विश्वभर छरिएर रहेका किरातीहरूको मुन्दुम तथा रिसियामा आउँछ। यसलाई संरक्षण र प्रवर्द्धन गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने उद्देश्य राखिएको छ”, उनले भने, “किराती मुन्दुम अनुसार साल्पा-सिलिचुङ नै किरातीहरूको सृष्टि र मुन्दुमको उत्पत्ति केन्द्र भएको जनविश्वास छ।

मुन्दुमी मिथकलाई भौतिकीकरण गर्न किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ क्षेत्रमा मुन्दुमी संरचना निर्माण गरिएको हो। यसले भावी पुस्तालाई मुन्दुमी ज्ञानको अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।”

साल्पा–सिलिचुङको चौतर्फी विकासका लागि २०७९ सालमा अन्तर्राष्ट्रिय समिति स्थापना गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेर स्तरोन्नतिको काम सुरु गरिएको थियो।

तीन चरणमा सञ्चालन गरिएको अभियानअन्तर्गत पहिलो वर्ष २०८१ साल वैशाख ७ गते सुम्निमा र पारुहाङ तथा नाक्छुङको प्रतिमा स्थापना, दोस्रो वर्ष २०८२ साल वैशाख १ गते सुम्निामा र पारुहाङको प्रतिमा तथा साल्पापोखरीमा तीन चुल्हासहितको मुन्दुमी माङथाम र यस वर्ष ३५ फिट अग्लो पित्तलको जोडी वाबुक/सोलोन्वा (चिण्डो), पोखरीभित्र पारुहाङ अन्तरध्यानमा बसेको प्रतिमा तथा नाक्छुङ चरा (कल्चुडा)को प्रतिमा स्थापना गरिएको हो।

‘सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा-सिलिचुङ संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु गरिएको अभियानमा नेपालसहित बेलायत, हङ्कङ, कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान, इजरायल लगायत विश्वभर छरिरहेका नेपाली जोडिएका छन्। बृहत् योजनासहित सुरु गरिएको अभियानका लागि साउदी अबरमा रहेका भोगिन्द्र चाम्लिङ राईको संयोजकत्वमा आर्थिक सङ्कलन समिति गठन गरिएको थियो।

समुद्री सतहबाट तीन हजार ४४३ मिटर उचाइमा अवस्थित साल्पा–सिलिचुङ क्षेत्रको चौतर्फी विकास गर्ने उद्देश्यसहित सुरु गरिएको अभियानको अध्ययन तथा अनुसन्धानका लागि यसअघि अध्ययन तथा अनुसन्धान समितिसमेत निर्माण गरिएको थियो।

करिब चार वर्ष सञ्चालन गरिएको अभियानका क्रममा भएका आर्थिक तथा भौतिक प्रगतिबारे यही मङ्सिर १८ गते काठमाडौँमा बृहत् कार्यक्रम गरी सार्वजनिकीकरण गरिने समितिका अध्यक्ष मूलघरे कान्छाले बताए।

धार्मिक तथा पर्यटकीयस्थल सिचिलुङबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण, मेरापिक हिमाललगायत उच्च हिमशृङ्खला, तराईका फाँट तथा विभिन्न नदी, वनजङ्गल र किराती वस्ती प्रष्ट देख्न सकिन्छ। साल्पापोखरीबाट उत्तरपूर्वी भेगमा पर्ने सिलिचुङको उचाइ समुद्री सतहदेखि चार हजार १५५ मिटर अग्लो छ।

सिलिचुङ आसपासमा रहेका टेम्के, मैयुङ, लौरे, चिलिमढुङ्गा लगायत डाँडामध्ये सबैभन्दा अग्लो डाँडाका रूपमा स्थापित छ। टेम्के समुद्री सतहबाट तीन हजार १६५ मिटर उचाइमा छ भने मैयुङको उचाइ तीन हजार ३३३ मिटर अग्लो छ।

किरात समुदायको आस्थाको केन्द्र मानिने सिलिचुङको फेदमा अवस्थित साल्पापोखरीमा आन्तरिक तथा बाह्य पर्यटक आफ्नो मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ पूजाआजा गर्दै आएका छन्।

साल्पापोखरीमा हरेक वर्ष चार पटक (वैशाख, भदौ, कात्तिक र फागुनको पूर्णिमामा) मेलासमेत लाग्ने गरेको छ।

बिनामुहान तथा बिनानिकासको पानी जमेर बनेको साल्पापोखरीमा लाग्ने मेलामा खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बू लगायत विभिन्न जिल्लाबाट भक्तजन पुग्ने गरेका छन्। साल्पापोखरीमा पूजाआजा गर्दा बोली नफुट्नेहरू बोल्न सक्ने, सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने, धामी तथा झाँक्रीहरूले मुन्दुमी शक्ति प्राप्त गर्ने लगायतका धार्मिक जनविश्वास छ।

कचौरा आकारमा फैलिएको साल्पापोखरी समुद्री सतहदेखि तीन हजार ६७२ मिटर उचाइमा अवस्थित छ। पहिलोपटक सगरमाथा चढ्ने एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले साल्पापोखरीकै मार्ग प्रयोग गरेको बताइएको छ।

नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र पर्ने मुन्दुम पदमार्ग यो क्षेत्र (साल्पा–सिलिचुङ)सम्म विस्तार गरिएको छ। मुन्दुम पदमार्गले छोएको स्थानलाई जोड्दै चारवटै जिल्ला (खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्ब)का स्थानीय तहहरूले आआफ्नो क्षेत्रमा पदमार्गसमेत निर्माण गरिहेका छन्।

प्रचारप्रसारको अभावमा ओझेलमा रहेको धार्मिक एवं पर्यटकीयस्थल साल्पा–सिलिचुङ आसपास निर्माण गरिएका पदमार्गमा पछिल्लो समय होटल तथा होमस्टे (घरबास)हरूसमेत विस्तार हुन थालेका छन्। होटल तथा होमस्टे विस्तार हुन थालेपछि मुन्दुम पदमार्ग हुँदै साल्पा–सिलिचुङ जाने आन्तरिक तथा बाह्य पर्यटकसमेत वृद्धि हुँदै गएको स्थानीय बासिन्दा बताउँछन्।

होटल तथा होमस्टे स्थापना हुनुअघि साल्पा–सिलिचुङ जाने आन्तरिक तथा बाह्य पर्यटक चाैंरीगोठ तथा भेँडीचोकहरूमा बास बस्दै आएका थिए। धार्मिक आस्थाका रूपमा मात्र नभई प्राकृतिक रूपमा समेत पर्यटकीय गन्तव्यमा पर्ने साल्पा–सिलिचुङ जाने मुन्दुम पदमार्ग आसपास ठुल्ठूला घाँसेमैदान, चौँरीखर्क, भेँडीचोक, घोडचढी लगायतका दृष्य प्रत्यक्ष अवलोकन गर्न पाइन्छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस