आत्मीयता गुमाउँदै ‘बलिराजाको आँगन’
२१ कार्तिक २०८३
•
५ मिनेट पाठ
आत्मीयता गुमाउँदै ‘बलिराजाको आँगन’
हुम्लाको सर्केगाड निवासी हर्कबहादुर मल्लको मूलघरको आँगन अचेल तिहारमा चिनियाँ झिलिमिली बत्तीले जगमगाउँछ तर ७६ वर्ष पार गरिसकेका वृद्ध हर्कबहादुरका आँखाहरू भने त्यो आधुनिक चमकमा रम्न नसकिएझैं लाग्छन्। त्यो झिलिमिलीमा न त हिजो जस्तो सल्लाको झरो (दियालो) बाल्दा आउने रैथाने चोपको सुगन्ध छ न त मासको ‘बडा’ पकाउँदा टोलै थर्किने तिहारको त्यो पुरानोपन नै।




वैदेशिक रोजगारीले तन्नेरी उमेर रित्तिएका लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका गाउँहरूमा अचेल प्लास्टिकका कृत्रिम दियो त बलिरहेछन् र आँगनमा स्पिकरले तिहारका गीत पनि फ्याँकिरहेका छन् तर सात समुद्रपारि रहेका छोराछोरीलाई सम्झिँदै मोबाइलको भिडियो कलमा आशिष दिने बुढा बाजेका आँखाहरू अझै पनि आँगनको त्यो गोलो घेरामा खेलिने जीवित ‘देउडा’ र पौराणिक ‘बलिराजा’को रैथाने गाथा खोजिरहेका हुन्छन्। प्रविधिले भित्र्याएको आधुनिकता र परम्पराले जोगाएको मौलिकताको दोसाँधमा उभिएको छ, आजको पश्चिम नेपालको तिहार।

सयपत्री र मखमली फूलका मालाले सजिएका घरआँगन, साँझ परेपछि झिलिमिली बत्ती र माटाका दियाको उज्यालो, गाउँबस्तीमा गुन्जिने देउसीभैलोका भाका अनि दिदीबहिनी र दाजुभाइबिचको आत्मीयता।

तिहार आउँदा पश्चिम नेपालका गाउँदेखि सहरसम्म यस्तै उल्लास र उमंग छाउँछ तर यहाँको तिहार सात दिनको धार्मिक उत्सवमा सीमित छैन। यसले सुदूरपश्चिमको देउडा संस्कृति, कर्णालीको मौलिक भैली परम्परा, थारू समुदायको सांस्कृतिक पहिचान र पहाडी जनजीवनको आत्मीयतालाई समेत उजागर गर्छ। भौगोलिक र जातीय विविधताका कारण लुम्बिनीको तराई (बाँके, बर्दिया, दाङ) का रैथाने थारू समुदायले तिहारलाई ‘दिवाली’का रूपमा मनाउँछन्। थारू समुदायमा आफ्नै मौलिक परम्परागत पहिरनमा मयूरको प्वाँख र परम्परागत बाजा बजाउँदै ‘सोटिया’जस्ता मनमोहक सांस्कृतिक नृत्यहरू प्रदर्शन गर्ने गरिन्छ।

कर्णालीका पहाडी जिल्लाहरू (जुम्ला, कालीकोट) मा तिहारको बेला जंगलबाट सल्लाको चोपयुक्त चोक्टा अर्थात् ‘झरो’ संकलन गरेर घर उज्यालो पारिन्थ्यो। यहाँ भाइटीका सकिएको करिब दुई महिनापछि पौष शुक्ल प्रतिपदाका दिन आमाहरूले छोराहरूलाई अक्षताको टीका लगाई ‘छोरा तिहार’ मनाउने अनौठो चलन आज पनि जीवितै छ।

सुदूरपश्चिममा तिहारको मुख्य मेरुदण्ड भनेकै ‘देउडा खेल’ र ‘हुड्केली नाच’ हुन्। यहाँ खेलिने भैलोमा पौराणिक धार्मिक राजा बलिको गाथालाई स्थानीय भाषामा भट्याउँदै आँगनमा गोलो घेरा हालेर सुख–दुःख र सामाजिक विकृतिविरुद्धका भाकाहरू प्रस्तुत अछामकी वृद्धा विमला शाहीले बताइन्।

हिजोको तिहारमा जति आत्मीयता र रैथानेपन थियो, त्यो आज हराउँदै गएकोमा पुरानो पुस्ता निकै चिन्तित देखिन्छ। डोटीका हर्कबहादुर मल्ल पुराना दिन सम्झिँदै भन्छन्, ‘हाम्रो पालामा तिहार आउनु एक महिनाअघिदेखि नै गाउँका युवाहरू जंगल गएर सल्लाको झरो (दियालो) काटेर सुकाउँथ्यौं। लक्ष्मीपूजाको रात तोरीको तेलको दियो र सल्लाको झरो बाल्दा गाउँभरि आउने त्यो सुगन्ध अचेल कहाँ पाउनु? आजभोलि त गाउँभरि चिनियाँ झिलिमिली बत्ती जोडिएका छन्, उज्यालो त छ तर तिनमा त्यो दियालोको जस्तो न्यानोपन र आत्मीयता छैन।’ मल्लका अनुसार हिजो भैलो खेल्दा गाउँका सबै दिदीबहिनी र दाजुभाइ एउटै आँगनमा रातभर देउडा खेल्थे, जसले गाउँको आत्मीयता बलियो बनाउँथ्यो।

त्यस्तै बर्दियाकी ६८ वर्षीया फूलमती थारू आफ्नो समुदायको पहिलेको दिवाली सम्झिँदै भन्छिन्, ‘पहिले गाउँका हरेक घरमा लहरै माटाका दियाहरू बालिन्थे। हामी युवतीहरू मयूरको प्वाँख र लेहंगा–चोलिया लगाएर गाउँभरि सोटिया नाच्दै हिँड्थ्यौं। घरघरमा अनदी चामलको बग्जा र ढिक्री पकाइन्थ्यो। अहिलेका केटाकेटीहरू त घरमा परिकार बनाउनै झन्झट मान्छन्, बजारबाट मिठाई किनेर ल्याउँछन् र बाहिरका आधुनिक गीत बजाएर नाच्छन्। हाम्रो संस्कृति त हराउनै लागिसक्यो।’

जुम्लाका ७२ वर्षीय तीर्थराज अधिकारी कर्णालीको तिहारको सामाजिक पाटो खोतल्दै भन्छन् ।

उनले अगाडि भने, ‘पहिले मुग्लान (भारत) गएका मानिसहरू पनि तिहारमा त जसरी पनि घर आइपुग्थे। चाडबाड भनेकै सबै जना आँगनमा भेट हुने माध्यम थियो। अचेल त गाउँका युवाहरू खाडी र युरोप पुगेका छन्। गाउँघर बुढाबुढीले मात्र कुर्दै छन्। भाइटीकाको दिन मोबाइलको स्क्रिनमा भिडियो कल गरेर आशिष दिनुपर्छ। प्रविधिले संसार त नजिक ल्यायो तर आँगनको त्यो प्रत्यक्ष न्यास्रोपन मेट्न सकेन।’

अर्कातर्फ आजको युवा पुस्ता आधुनिकता र प्रविधिलाई समयको माग ठान्छ, यद्यपि उनीहरूमा पनि आफ्नो संस्कृतिप्रतिको लगाव र गाउँ रित्तिँदाको एक किसिमको पीडा भने स्पष्ट देखिन्छ। कैलालीका २४ वर्षीय दिनेश चौधरी अहिलेको तिहारलाई फरक ढंगले हेर्छन्। ‘अहिले समय फेरिएको छ। हिजो जस्तो सल्लाको झरो बालेर बस्ने समय अहिले छैन र वन संरक्षणका हिसाबले पनि त्यो सम्भव छैन। झिलिमिली बत्ती र साउन्ड सिस्टमले तिहारलाई थप रमाइलो र सजिलो बनाएको छ तर यो पनि सत्य हो कि हामीले आधुनिक बन्ने नाममा आफ्नो थारू नाच र देउडालाई बिर्सिनु हुँदैन,’ उनी भन्छन्, ‘हामी साथीहरू मिलेर अचेल तिहारमा फेसबुक र टिकटकमा आफ्नै परम्परागत पहिरनमा भिडियो बनाएर पोस्ट गर्छौं, जसले गर्दा विश्वभर रहेका नेपालीले हाम्रो संस्कृति देख्न पाएका छन्।’

वैदेशिक रोजगारीका कारण कतारमा कार्यरत कालीकोटका २८ वर्षीय रमेश विष्ट यसपालिको तिहारमा गाउँ फर्किएका छन्। गाउँको वातावरण देख्दा उनी निकै भावुक सुनिए। ‘खाडीको गर्मीमा रहँदा मलाई सधैं तिहारमा गाउँको त्यो देउडा र आमाले पकाएको मासको बडाको सम्झना आउँथ्यो तर यसपालि गाउँ आउँदा खिन्न लाग्यो। मेरो उमेरका धेरै साथीहरू गाउँमा छैनन्। भैलो खेल्ने टोली त छ तर उनीहरू मादल बजाउन छाडेर मोबाइल फोनमा युट्युबको गीत ठुलो स्पिकरमा बजाएर नाचिरहेका छन्,’ उनी भन्छन्, ‘हामीले प्रविधि त अपनायौं तर मौलिकता भने गुमाउँदै गएका रहेछौं जस्तो लाग्छ।’

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको तिहार एउटा चाड मात्र नभई यहाँको भूगोल, खस थारू सभ्यता र प्रकृतिसँगको सामीप्यको जीवन्त दस्ताबेज हो। समयको परिवर्तनसँगै प्रविधि भित्रिनु, उज्यालोका आधुनिक साधनहरू प्रयोग हुनु र टाढा रहेका दाजुभाइ दिदीबहिनी भिडियो कलमार्फत जोडिनु सकारात्मक पक्ष हुन् तर यसको नाममा रैथाने देउडा भाका, हुड्केली नाच, सल्लाको दियालोको प्रतीकात्मक महत्त्व र परम्परागत खानपानको मौलिकतालाई ओझेलमा पार्नु हुँदैन।

आधुनिकता र परम्पराको यो दोसाँधमा उभिएको पश्चिम नेपालको तिहारलाई अझै पनि सुन्दर बनाइराख्न नयाँ पुस्ताले प्रविधिको प्रयोगसँगै आफ्नो पहिचान र संस्कृतिलाई पनि सँगै डोर्‍याउनु आवश्यक छ। किनभने उज्यालो चिनियाँ बत्तीमा मात्र होइन, हाम्रो आफ्नै रैथाने संस्कृति र मनहरूमा बलेको बेला नै तिहार साँचो अर्थमा जीवन्त बन्छ।
अर्को समाचार
किरात ऐतिहासिकस्थल साल्पा-सिलिचुङमा मुन्दुमी संरचना निर्माण
१७ घण्टा अघि
•
५ मिनेट पाठ
किरात ऐतिहासिकस्थल साल्पा-सिलिचुङमा मुन्दुमी संरचना निर्माण
किरात ऐतिहासिकस्थल साल्पा-सिलिचुङमा मुन्दुमी संरचना निर्माण गरिएको छ।




खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बूको सङ्गमस्थलमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल साल्पा-सिचिलुङमा सुम्निमा, पारुहाङ, नाक्छुङ (धामी), नाक्छुङ चरा (कल्चुडा), तीन चुल्हासहितको मुन्दुमी माङथाम, वाबु (चिण्डो) सहितको प्रवेशद्धार र स्वागतद्धार लगायतका मुन्दुमी संरचना निर्माण गरिएको हो।

देश/विदेशका किराती तथा गैरकिरातीबाट बटुलेको करिब दुई करोड ८४ लाख रकममध्ये दुई करोड ६२ लाख रुपैयाँमा भौतिक संरचना निर्माण गरिएको आयोजक साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका अध्यक्ष राजेन खिम्बुले राई ‘मूलघरे कान्छा’ले बताए।

“साल्पा-सिलिचुङ विश्वभर छरिएर रहेका किरातीहरूको मुन्दुम तथा रिसियामा आउँछ। यसलाई संरक्षण र प्रवर्द्धन गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने उद्देश्य राखिएको छ”, उनले भने, “किराती मुन्दुम अनुसार साल्पा-सिलिचुङ नै किरातीहरूको सृष्टि र मुन्दुमको उत्पत्ति केन्द्र भएको जनविश्वास छ।

मुन्दुमी मिथकलाई भौतिकीकरण गर्न किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ क्षेत्रमा मुन्दुमी संरचना निर्माण गरिएको हो। यसले भावी पुस्तालाई मुन्दुमी ज्ञानको अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।”

साल्पा–सिलिचुङको चौतर्फी विकासका लागि २०७९ सालमा अन्तर्राष्ट्रिय समिति स्थापना गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेर स्तरोन्नतिको काम सुरु गरिएको थियो।

तीन चरणमा सञ्चालन गरिएको अभियानअन्तर्गत पहिलो वर्ष २०८१ साल वैशाख ७ गते सुम्निमा र पारुहाङ तथा नाक्छुङको प्रतिमा स्थापना, दोस्रो वर्ष २०८२ साल वैशाख १ गते सुम्निामा र पारुहाङको प्रतिमा तथा साल्पापोखरीमा तीन चुल्हासहितको मुन्दुमी माङथाम र यस वर्ष ३५ फिट अग्लो पित्तलको जोडी वाबुक/सोलोन्वा (चिण्डो), पोखरीभित्र पारुहाङ अन्तरध्यानमा बसेको प्रतिमा तथा नाक्छुङ चरा (कल्चुडा)को प्रतिमा स्थापना गरिएको हो।

‘सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा-सिलिचुङ संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु गरिएको अभियानमा नेपालसहित बेलायत, हङ्कङ, कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान, इजरायल लगायत विश्वभर छरिरहेका नेपाली जोडिएका छन्। बृहत् योजनासहित सुरु गरिएको अभियानका लागि साउदी अबरमा रहेका भोगिन्द्र चाम्लिङ राईको संयोजकत्वमा आर्थिक सङ्कलन समिति गठन गरिएको थियो।

समुद्री सतहबाट तीन हजार ४४३ मिटर उचाइमा अवस्थित साल्पा–सिलिचुङ क्षेत्रको चौतर्फी विकास गर्ने उद्देश्यसहित सुरु गरिएको अभियानको अध्ययन तथा अनुसन्धानका लागि यसअघि अध्ययन तथा अनुसन्धान समितिसमेत निर्माण गरिएको थियो।

करिब चार वर्ष सञ्चालन गरिएको अभियानका क्रममा भएका आर्थिक तथा भौतिक प्रगतिबारे यही मङ्सिर १८ गते काठमाडौँमा बृहत् कार्यक्रम गरी सार्वजनिकीकरण गरिने समितिका अध्यक्ष मूलघरे कान्छाले बताए।

धार्मिक तथा पर्यटकीयस्थल सिचिलुङबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण, मेरापिक हिमाललगायत उच्च हिमशृङ्खला, तराईका फाँट तथा विभिन्न नदी, वनजङ्गल र किराती वस्ती प्रष्ट देख्न सकिन्छ। साल्पापोखरीबाट उत्तरपूर्वी भेगमा पर्ने सिलिचुङको उचाइ समुद्री सतहदेखि चार हजार १५५ मिटर अग्लो छ।

सिलिचुङ आसपासमा रहेका टेम्के, मैयुङ, लौरे, चिलिमढुङ्गा लगायत डाँडामध्ये सबैभन्दा अग्लो डाँडाका रूपमा स्थापित छ। टेम्के समुद्री सतहबाट तीन हजार १६५ मिटर उचाइमा छ भने मैयुङको उचाइ तीन हजार ३३३ मिटर अग्लो छ।

किरात समुदायको आस्थाको केन्द्र मानिने सिलिचुङको फेदमा अवस्थित साल्पापोखरीमा आन्तरिक तथा बाह्य पर्यटक आफ्नो मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ पूजाआजा गर्दै आएका छन्।

साल्पापोखरीमा हरेक वर्ष चार पटक (वैशाख, भदौ, कात्तिक र फागुनको पूर्णिमामा) मेलासमेत लाग्ने गरेको छ।

बिनामुहान तथा बिनानिकासको पानी जमेर बनेको साल्पापोखरीमा लाग्ने मेलामा खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बू लगायत विभिन्न जिल्लाबाट भक्तजन पुग्ने गरेका छन्। साल्पापोखरीमा पूजाआजा गर्दा बोली नफुट्नेहरू बोल्न सक्ने, सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने, धामी तथा झाँक्रीहरूले मुन्दुमी शक्ति प्राप्त गर्ने लगायतका धार्मिक जनविश्वास छ।

कचौरा आकारमा फैलिएको साल्पापोखरी समुद्री सतहदेखि तीन हजार ६७२ मिटर उचाइमा अवस्थित छ। पहिलोपटक सगरमाथा चढ्ने एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले साल्पापोखरीकै मार्ग प्रयोग गरेको बताइएको छ।

नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र पर्ने मुन्दुम पदमार्ग यो क्षेत्र (साल्पा–सिलिचुङ)सम्म विस्तार गरिएको छ। मुन्दुम पदमार्गले छोएको स्थानलाई जोड्दै चारवटै जिल्ला (खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्ब)का स्थानीय तहहरूले आआफ्नो क्षेत्रमा पदमार्गसमेत निर्माण गरिहेका छन्।

प्रचारप्रसारको अभावमा ओझेलमा रहेको धार्मिक एवं पर्यटकीयस्थल साल्पा–सिलिचुङ आसपास निर्माण गरिएका पदमार्गमा पछिल्लो समय होटल तथा होमस्टे (घरबास)हरूसमेत विस्तार हुन थालेका छन्। होटल तथा होमस्टे विस्तार हुन थालेपछि मुन्दुम पदमार्ग हुँदै साल्पा–सिलिचुङ जाने आन्तरिक तथा बाह्य पर्यटकसमेत वृद्धि हुँदै गएको स्थानीय बासिन्दा बताउँछन्।

होटल तथा होमस्टे स्थापना हुनुअघि साल्पा–सिलिचुङ जाने आन्तरिक तथा बाह्य पर्यटक चाैंरीगोठ तथा भेँडीचोकहरूमा बास बस्दै आएका थिए। धार्मिक आस्थाका रूपमा मात्र नभई प्राकृतिक रूपमा समेत पर्यटकीय गन्तव्यमा पर्ने साल्पा–सिलिचुङ जाने मुन्दुम पदमार्ग आसपास ठुल्ठूला घाँसेमैदान, चौँरीखर्क, भेँडीचोक, घोडचढी लगायतका दृष्य प्रत्यक्ष अवलोकन गर्न पाइन्छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस