बाइनान्समार्फत दुई अर्ब १६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा २८ वर्षीय सुनिल कुमार यादव पक्राउ परेका छन्।
धनुषाको सबैला नगरपालिका-१२ स्थायी घर भएका यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार यादवले बाइनान्स आईडीमार्फत दुई करोड ६९ लाख ९१ हजार ३८८.५० यूएसडीटी बराबरको कारोबार गरेका थिए। उक्त रकम नेपाली रुपैयाँमा दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ बराबर हुन्छ।
नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत विभिन्न विद्युतीय माध्यम र अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने तथा खेलाउने र अवैध रूपमा क्रिप्टोकरेन्सीको ठूलो कारोबार भइरहेको विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो।
सोही सूचनाका आधारमा प्रहरीले सूक्ष्म निगरानी र प्राविधिक विश्लेषण गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा यादवको संलग्नता खुलेपछि जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यादवविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) र दफा २६२ (क) को उपदफा १ (अभौतिक मुद्राको प्रयोग गर्न नहुने) अनुसार अनुसन्धान भइरहेको छ।
प्रहरीले यादवलाई काठमाडौं जिल्ला अदालत, बबरमहलबाट म्याद थप गरी थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाएको जनाएको छ।
अफलाइन पठाओ सेवामार्फत सामान डेलिभरी गरिदिने बहानामा यात्रुहरूको सामान लिएर फरार हुने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–११ घर भई हाल काठमाडौंको बानियाटार बस्ने ६१ वर्षीय हरिबहादुर पोखरेल रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई आज पक्राउ गरिएको हो।
काठमाडौंको बसपार्क क्षेत्रमा अफलाइन पठाओ स्कुटर सञ्चालन गर्ने व्यक्तिले उपत्यकाबाहिरबाट आएका यात्रुलाई सामान गन्तव्यसम्म पुर्याइदिने भन्दै सामान लिएर फरार हुने गरेको जनगुनासो प्रहरीसमक्ष पुगेको थियो।
उक्त गुनासोका आधारमा प्रहरी प्रभाग गोँगबु र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पोखरेललाई फेला पारेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पोखरेललाई बा६३ प ८३४३ नम्बरको स्कुटरसहित नियन्त्रणमा लिइएको हो।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...