रुपन्देहीमा पछिल्लो २४ घन्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना बिशेष अस्पतालमा २ जना र भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा एक जना गरि तीन संक्रमितको मृत्यु भएको हो।
बुटवल कोरोना अस्पतालमा बिहीबार थप एक जना संक्रमितको मृत्यु भएको छ। ज्वरो, दम, मधुमेह र प्रेसरका बिरामी गुल्मी स्थायी घर तथा हाल बुटवल ६ का ८० वर्षीय पुरुषको बिहीबार दिउँसो १ बजेर २५ मिनेटमा मृत्यु भएको हो।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार बुधबार कोरोना बिशेष अस्पतालमा कोरोना पुष्टि भएको थियो। श्वासप्रश्वासमा समस्या आएपछि सघन उपचार कक्षमा राखेर वृद्धको उपचार गरिएको थियो।
कोरोना विशेष अस्पतालमै बुधबार बेलुका बुटवल ६ का ४७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। असोज १५ गते कोरोना पोजेटिभ देखिएका पुरुषको स्वास्थ्यमा थप समस्या आएपछि संघन उपचार कक्षमा राखिएको थियो। ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि कोरोना विशेष अस्पतालमा उपचार गरिएको थियो।
लुम्बिनी प्रादेशिक अस्पताल र कोरोना बिशेषमा गरि हालसम्म ३४ जना संक्रमितको मृत्यु भएको सूचना अधिकारी डा. गौतमले बताए। यसैगरि रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्यको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत सदस्यको मृत्यु भएको हो। उनी इञ्जियिनर समेत हुन्।
२२ असोज २०७७
•
१ मिनेट पाठ