शंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टिलले उत्पादन गरेका फलामे रडको गुणस्तर कमजोर भेटिएको छ । जगदम्बाले फलामे डण्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरलाई बेवास्ता गरेको भेटिएको हो ।
जगदम्बाले फलामे डण्डी उत्पादन गर्न उच्च गुणस्तरको ब्लेड प्रयोग गर्नुपर्नेमा कवाडीमार्फत संकलन गरेका फलामका टुक्रा पगालेर ब्लेड बनाई प्रयोग गर्दै आएको छ । यसले उत्पादन लागत केही कम हुन्छ । जगदम्बा स्टिल सञ्चालन गर्ने शंकर ग्रुपका प्रबन्ध सञ्चालक शाहिल अग्रवाल हुन् ।
नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको गुणस्तर परीक्षणमा जगदम्बा स्टिलको डण्डीमा कार्बन, फस्फोरस र सल्फरको मात्रा आवश्यकताभन्दा बढी पाइएको हो । केमिकल बढी भएपछि रडमा लचिलोपन कम हुन्छ र रड भाँच्चिने सम्भावना बढी हुन्छ ।
काठमाडौं महानगरपालिका–१६, खरिबोट, बोहोराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्दा जगदम्बा स्टिलको १६ एमएमको डण्डी भाँच्चिएको थियो । डण्डी गुणस्तरहीन भएको भन्दै भट्टराईले गुणस्तर परीक्षण, क्षतिपूर्ति र कारबाहीको माग गर्दै निवेदन दिएपछि विभागले जगदम्बाको डण्डी परीक्षण गरेको थियो ।
उपभोक्ताले गुनासो गरेपछि परीक्षण गर्दा जगदम्बा स्टिलमा केमिकलको मात्रा धेरै पाइएको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पुष्टि गरे । ‘प्रयोगकर्ताको उजुरी आएपछि परीक्षण गरेका थियौं,’ पुडासैनीले भने, ‘जगदम्बाको रड उत्पादनमा कमजोरी भेटियोे ।’
जगदम्बा रडमा कार्बन, फस्फोरस र सल्फर केमिकलको मात्रा तोकिएको मापदण्डभन्दा बढी पाइएको पुडासैनीले बताए । नेपालको गुणस्तर मापदण्ड अनुसार डण्डीमा कार्बनको मात्रा ०.३० प्रतिशत, फस्फोरस र सल्फरको मात्रा ०.०५५ प्रतिशत हुनुपर्छ । तर, जगदम्बाको रडमा कार्बनको मात्रा ०.३५ प्रतिशत र फस्फोरस र सल्फरको मात्रा ०.०६० प्रतिशत पाइएको छ । ‘मापदण्डभन्दा कार्बनको मात्रा ०.५ प्रतिशत धेरै देखियो,’ पुडासैनीले भने, ‘फस्फोरस र सल्फरको मात्रा पनि ०.०५ प्रतिशत बढी छ ।’
केमिकल बढी देखिएपछि जगदम्बालाई विभागले स्पष्टीकरण सोध्ने तयारी गरेको छ । ‘केमिकल कम्पोजिसनमा हेलचेक्र्याइँ गरेको देखियो,’ पुडासैनीले भने, ‘कम्पनीले गुणस्तरमा ध्यान दिनुपर्छ ।’ स्पष्टीकरण चित्त बुझ्दो नभए विभागले उद्योगको इजाजत निलम्बन गर्न सक्छ । गुनासो आएपछि विभागले गुणस्तर परीक्षण गर्ने गरेको छ । ‘उत्पादकले गुणस्तरमा सिरियसनेस देखाउनुपर्छ,’ उनले भने ।
भट्टराई रड भाँच्चिएर विभाग पुगे पनि क्षतिपूर्ति भराउने अधिकार गुणस्तर विभागलाई छैन । गुणस्तरहीन सामान भए वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले क्षतिपूर्ति भराउने काम गर्न सक्छ । गुणस्तर विभागले आवश्यक प्राविधिक सहयोग मात्र गर्छ ।
जगदम्बा स्टिलको उद्योग बाराको सिमरामा छ । नम्बर वान फलामे छड भनेर दाबी गर्दै आएको जगदम्बाको गुणस्तरमा प्रश्न उठ्नु गम्भीर भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।
नेपालमा सञ्चालन भएका स्टिल उद्योगले नयाँ प्रविधि भित्राएर गुणस्तरीय रड उत्पादन गरिरहेको अवस्थामा नाम चलेकै उद्योगबाट गुणस्तरमा खेलाँची गर्नु गम्भीर त्रुटी भएको एक उद्योगीले बताए । ‘एउटा उद्योगले गुणस्तरहीन रड बिक्री गरेपछि अरू उद्योगलाई पनि नकारात्मक रूपमा हेरिन्छ,’ ती उद्योगीले भने, ‘यसले समग्र उद्योगकै गुणस्तरमा प्रश्न उठ्छ ।’ सानो लोभमा गुणस्तरमा सम्झौता गर्न नहुने ती उद्योगीले बताए ।
शंकर ग्रुप सन् १९७९ मा स्थापना भएको थियो । यो ग्रुप अन्तर्गत अहिले करिब ३० कम्पनी सञ्चालनमा छन् । यो गु्रपले सन् १९९४ मा जगदम्बा स्टिल र सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको हो ।
मुलुकको एउटा ठूलो व्यापारिक घराना भए पनि यो विभिन्न समयमा विवादमा आइरहने कम्पनी होे । शाहिलका भाइ सुलभ अग्रवाल मुलुक कोरोना कहरमा परेका बेला थर्मल गन कालोबजारी गरेका कारण पक्राउ परेर केही समय जेलमा बसेका थिए । एक दशकअघिको चर्चित भ्याट छली विवादमा यो कम्पनीको नाम जोडिएको थियो । आन्तरिक राजस्व विभागले गरेको अनुसन्धानले यो कम्पनीले करोडौं रूपैयाँ भ्याट छलेको फेला परेको थियो । त्यसपछिका वर्षमा पनि यो कम्पनीको राजस्व छलीमा नाम जोडिँदै आएको छ । प्रबन्ध निर्देशक शाहिल नागरिक संवाददाताले जिज्ञासाका लागि पटकपटक प्रयास गर्दा पनि सम्पर्कमा आउन चाहेनन् । तर कम्पनीका एक उच्च अधिकारीले नाम उल्लेख नगर्न अनुरोध गर्दै जगदम्बा स्टिलको गुणस्तरमा बेलाबेलामा समस्या आइरहेको जानकारी दिए ।
उनका अनुसार समस्या आएका ठाउँमा कम्पनीले प्रतिनिधि पठाएर सम्झौता गर्दै आएको छ । जगदम्बा डण्डी प्रयोग गरेर निर्माण गरिएका घर लगायत भौतिक पूर्वाधारको सुरक्षाका लागि बिमा गरिदिने र थप केही दुर्घटना भए जिम्मेवारी लिने गरी उपभोक्तासँग सम्झौता गरिँदै आएको छ । उनले बोहोराटारका भट्टराईसँग पनि सम्झौताका लागि छलफल चलिरहेको जानकारी दिए ।
जगदम्बा लगायतका केही रड उद्योगले फलामका टुक्रादेखि, खिया लागेर काम नलाग्ने फलामका कवाडी भाँडा संकलन गरेर प्रशोधन गरी फलामे रड बनाउने गरेका छन् । जगदम्बाले थोत्रा फलाम पगाल्न भट्टी बनाएको छ । उच्च तापक्रममा फलामका थोत्रा सामान पगालेर लिक्विड आइरन बनाइन्छ । क्रमशः तापक्रम घटाएर फलामको ब्लेड बनाइन्छ । त्यसलाई रड बनाउन प्रयोग गरिन्छ । यस्तो फलाममा कार्बन, फस्फोरस र सल्फरको मात्रा बढी हुन्छ । यी तत्व धेरै हुँदा रड कडा बन्छ । रडमा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) कम हुँदा बंग्याउँदा भाँचिन्छ । फलामे छडमा प्रयोग हुने रसायन, रसायनको मिश्रण, तापक्रम, बयिलोपन, लचकताका आधारमा मापदण्ड तय भएको हुन्छ । लचकपन नभएको फलामे डण्डीले बनाएको घर भूकम्पका लागि ज्यादै खतरनाक मानिन्छ ।
कवाडी फलाम पगालेर बनाइने फलामे छडभन्दा प्राइमरी ब्लेडबाट बनाएको रड गुणस्तरीय हुन्छ । प्राइमरी ब्लेडभन्दा सेकेन्डरी ब्लेड प्रयोग गर्दा लागत कम पर्छ ।
नेपालका स्टिल उद्योगले टिएमटी बार बनाउने गरेका छन् । पाँच सय एक्सडी, ५ सय ५० एक्सडी, ६ सय एक्सडी गे्रडका रड बजारमा छन् । रडमा तीन किसिममा ब्लेड प्रयोग गरिन्छ । अधिकांश उद्योगमा प्राइमरी ब्लेड, सेकेन्डरी ब्लेड प्रयोग गर्ने गरिन्छ । प्राइम ब्लेडमा खानीबाट ल्याएको कच्चा पदार्थलाई पहिलोपटक प्रयोगमा ल्याइएको हुन्छ । सेकेन्डरी ब्लेडमा वेस्टेज कवाडी फलाम रिसाइकल गरेर ब्लेड बनाई प्रयोग गरिन्छ ।
नेपालका अधिकांश स्टिल उद्योगले सेकेन्डरी ब्लेड प्रयोग गर्दै आएका छन् । अधिकांश उद्योगले विदेशका उच्च प्रविधियुक्त कम्पनीले रिसाइकल गरेका ब्लेड ल्याएर प्रयोग गर्छन् । केही स्टिल उद्योगले नेपालभित्रनै कवाडी फलाम संकलन गरेर रिसाइकल गरेर प्रयोग गर्ने गरेका छन् । तीमध्ये जगदम्बा कम्पनी पनि एक हो । जगदम्बाले आफैं रिसाइकल गरेर ब्लेड बनाएर प्रयोग गर्दै आएको छ । प्राइमरी ब्लेडभन्दा रिसाइकल गरेको ब्लेड किलोमा तीन रूपैयाँ सस्तो पर्ने उद्योगी बताउँछन् ।
काठमाडौं महानगरपालिकाले निजी विद्यालयलाई नाम नेपालीमा राख्न ताकेता गरेको छ। महानगरपलिका शिक्षा विभागप्रमुख सरस्वती पोखरेलद्वारा बुधबार जारी सूचनामा निजी विद्यालयहरूले सात दिनभित्र विदेशी नाम परिवर्तनको प्रक्रिया नथाले नयाँ शैक्षिक सत्रको भर्ना रोकिने चेतावनी दिइएको छ।
सात दिनभित्र विभागमा सम्पर्क गरी प्रक्रिया सुरु गरेको जानकारी विद्यालयले गराउनुपर्ने र ३५ दिनभित्र नाम परिवर्तन भएको लिखित जानकारी गराउनुपर्ने सूचनामा उल्लेख छ। महानगरको यो सूचना पहिलो पटक भने होइन।
गत वर्ष पनि महानगरपालिका शिक्षा विभागले यस्तै सूचना जारी गरेको थियो। केहीले नाम परिवर्तन गरे त केहीले गरेनन्। यति मात्र होइन, २०२८ सालको नयाँ शिक्षा ऐन जारी भएपछि त्यसै बखत काठमाडौं जिल्ला शिक्षा समितिको बैठकले विद्यालयको नामकरण नेपालीमा गर्नुपर्ने निर्णयको सूचना जारी गेको थियो।
५२ वर्षअघि नै बनेको कानुन न त निजी विद्यालयले मानेका छन् न त विद्यालय सञ्चालन गर्न अनुमति दिने शिक्षाका कर्मचारीले नै। सञ्चालन अनुमतिअगावै शिक्षाधिकारीले नियमानुसार नै नेपाली नामकरणमा जोड दिनुपर्नेमा उल्टै साथ दिएको देखिएको शिक्षाविद् विद्यानाथ कोइरालाको विश्लेषण छ।
‘महानगरले कुनै नयाँ काम गरेको होइन। यो त ५२ वर्षअघिको शिक्षा ऐनमै व्यवस्था भएको विषय हो,’ कोइरालाले औंल्याए, ‘निजी विद्यालयहरूले विदेशी वा अंग्रेजी नाम राख्दा अभिभावकसँग अधिक पैसा असुली गर्न पाए भने शिक्षाका कर्मचारीले नाम, दाम र दलको प्रलोभनमा परी सञ्चालन अनुमति दिए। नियममै भएको व्यवस्था पालना गराउने सम्बन्धित निकायको पनि दायित्व हो।’
उनका अनुसार नेपालमा सञ्चालित स्कुल कलेजले नेपालीपन झल्कने नाम नै राख्नुपर्छ। नियम सबैले मान्नुपर्छ। कारबाही स्कुल सञ्चालन गर्न विदेशी नाम अनुमति दिने कर्मचारीलाई पनि हुनुपर्छ। नियमपालना नगर्ने स्कुललाई पनि कारबाही हुनुपर्छ।
शिक्षाविद् कोइरालाले महानगरले स्कुलको नाामकरणका साथै निजी विद्यालयले असुल्ने शुल्क, दिने सेवासुविधा र शैक्षिक गुणस्तर कायम गरेनगरेकोबारे पनि अनुगमन गर्नुपर्नेमा जोड दिए। राष्ट्रियता झल्कने नाम काठमाडौं महानगरभित्रका मात्र होइन, शिक्षा ऐनअनुसार देशभरिका संस्थागत वा सरकारी सबै विद्यालयले राख्नुपर्छ। कानुनको पालना सबैले गर्नुपर्छ।
शिक्षा विभागप्रमुख पोखरेलका अनुसार काठमाडौं महानगरभित्र ८५८ विद्यालय छन्। जसमध्ये निजीको संख्या ७७१ रहेको छ। ‘महानगरले पटकपटक सूचना जारी गरी ताकेता गर्दासमेत निजी विद्यालयले अटेरी गरी नाम परिवर्तन गरेनन्। यसकारण यो पटक कडिकडाउ गर्न महानगर शिक्षाविभाग बाध्य बनेको हो,’ शिक्षा विभाग प्रमुख पोखरेलले नागरिकसँग भनिन्, ‘शिक्षा ऐन २०२८, शिक्षा नियमावली, २०५९ को नियम १५४(१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएअनुसार नेपालीपन झल्कने गरी नामकरण गर्नुपर्ने व्यवस्था छ। विभागले महानगरभित्र सञ्चालित विद्यालयहरूलाई कानुनभित्र ल्याउन खोजेको हो।’
दूतावास र शिक्षा मन्त्रालयबाट सिधै अनुमति लिएर काठमाडौं महानगरभित्र सञ्चालित कूटनीतिक नियोगका विद्यालयबारे कस्तो नीति लिने भनेर महानगर शिक्षा विभागले छलफल अघि बढाएको छ। उता निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार सञ्चालन अनुमति लिने बेलामै सम्बन्धित निकायले सचेत गराएर रोक्नुपर्नेमा जिकिर गरे।
उनले हालको अवस्थामा विद्यालयहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हालकै नामबाट स्थापित भएको अवस्थामा नाम परिवर्तन गर्दा विद्यार्थीलाई नै अप्ठ्यारो हुने प्याब्सनका महासचिव आरबि कटुवालले बताए। यस विषयमा प्याब्सनले एकपटक महानगरसँग छलफल गरी अघि बढ्ने उनको भनाइ छ।
‘अहिले एसइई परीक्षा सञ्चालन भइरेको छ भने स्कुलहरूको वार्षिक परीक्षा पनि चलिरहेको छ। यस्तो अवस्थामा नाम परिवर्तनको प्रक्रिया सुरु गर्न मुस्किल हुन्छ,’ महासचिव कटुवालले नागरिकसँग भने, ‘दशकौं लगाएर समाज, देश र अन्तर्राष्ट्रिय स्तरमा विज्ञापन गरी विद्यालयको नाम स्थापित गरिएका विद्यालय छन्। यस्तो अवस्थामा नाम परिवर्तन गर्दा पुराना विद्यार्थीको शैक्षिक प्रमाणपत्रको आधिकारिता कसरी हुने यस विषयमा पनि छलफल हुनुपर्छ।’
उनका अनुसार विद्यालयमा नामभन्दा पनि शिक्षण सिकाइ, पठनपाठन तथा गुणस्तर महत्त्वपूर्ण हो। हो यदि राष्ट्रियतामाथि आँच आउने गरी कुनै विद्यालयको नाम छ भने त्यो परिवर्तन गरिनुपर्ने प्याब्सनको धारणा हो।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...