काठमाडाैं। निबन्धकार ज्ञानेन्द्र विवशको ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्। यो निबन्धको संगालो हो, त्यसैले निबन्धकारका निर्बन्ध मन निबन्धमा खुलेका छन्। निबन्धमा लामो समयदेखि सक्रिय लेखकले शब्दहरूलाई पवित्र नदी बनाएर भावना बगाएका छन्। अनुभूतिका उचाइ हिमाल जस्तै चुल्याएका छन्। अभिव्यक्तिका शब्द गहिरिएर भित्री सौन्दर्य उतार्न निबन्धकार तल्लीन र सफल पनि छन्।
यस ‘इन्द्रेणी सौन्दर्य’ मा निबन्धकार ज्ञानेन्द्र विवशका अनुभूतिका अक्षरहरू ओल्टाइ–पल्टाइ गर्दै निबन्धको बान्की पस्किदैछु। साहित्यका अनेक विधाहरूमध्ये नियात्रा, निबन्धमा विशेष पहिचान बनाउन सफल लेखक हुन् विवश। सरल, मृदुभाषी र सज्जन स्वभावका यिनी आफ्ना लेखनमा पनि यस्तै भेटिन्छन्। त्यसैले निबन्ध पाठक मन छुन सफल हुने छन्।
उनको यो निबन्ध संग्रहमा लेखक र पाठकका हृदयका तारहरू सबैभन्दा नजिकबाट जोडिन्छन्। ‘इन्द्रेणी सौन्दर्य’ शब्दहरूको सङ्ग्रह मात्र नभएर मानवीय जीवन, प्रकृति र यात्राका क्रममा जन्मिएका सूक्ष्म संवेदनाहरूको एउटा जीवन्त दस्तावेज पनि हो। यो कुरा पाठकले केही निबन्धको अध्ययनबाटै महसुस गर्न सक्छन्।
वास्तवमा ‘इन्द्रेणी सौन्दर्य’ अनुभूतिमय निबन्धको मिठासले भरिभराउ खुराक हो, जहाँ पाठक मनले आफूलाई पनि भेटाउन सक्छ। आफ्नै जीवन भोगाइका कतिपय सन्दर्भ पनि यसमा भेट्न सकिन्छ। निबन्धकारले लेखेको तर हामी प्रत्येकको मनले देखेका र हृदयले महसुस गरेका र कानले सुनेका जीवनका सूक्ष्म तरङ्गहरूको शब्द–विस्तार यस निबन्धमा पाइन्छ।
यस निबन्ध सङ्ग्रहमा सङ्गृहीत विविध अनुभूति हाम्रै जीवन, हामीले नै भोगेका परिवेशका अनुभूतिहरू हुन् भन्दा फरक पर्दैन। निबन्धकारले त्यसलाई आफ्नो शैलीमा ढालेर निबन्धको रूपमा अभिव्यक्त गरेका मात्र हुन् तर यसका लागि लेखन शैली, क्षमता र अनुभवलाई अक्षरमा मीठो सिलसिला बनाउने सीपचाहिँ अवश्य चाहिन्छ। त्यो सीप लेखक विवशमा प्रशस्तै पाइन्छ।
‘इन्द्रेणी सौन्दर्य’ का रूपमा प्रकाशित निबन्धहरूले जीवनको सम्पूर्णता स्वीकार गर्छन्– जसरी छ, त्यसरी नै ! निबन्धहरूमा लेखक मन पाठकसँगै हिँड्ने, सँगै बस्ने, सँगै जिन्दगीको कुरा गर्ने शैली छ। ‘हतार विनाका फुर्सद’ र ‘फुर्सदको दिन’ जस्ता निबन्धहरूले आजको भागदौडको जीवनमा एकछिन रोकिन सिकाउँछन्। आफैँतिर फर्किन र एकछिन टक्क रोकिन लगाउँछन्।
निबन्धकार तथा समालोचक डा. माधवप्रसाद पोखरेलको विश्लेषणमा ‘इन्द्रेणी सौन्दर्य’ भित्र (१) यात्रा केन्द्रित, (२) दृश्य/दृष्टि केन्द्रित, (३) अनुभूति केन्द्रित, (४) स्मृति केन्द्रित, (५) फुर्सद केन्द्रित, ६) सौन्दर्य केन्द्रित र (७) अन्य/विविध विषयमा लेखिएका निबन्धहरू समाविष्ट छन् भनी विचार व्यक्त गरेका छन्। तर सबै निबन्धको मूलभूत विषय कुनै न कुनै पक्षको सौन्दर्य नै भएकाले सङ्ग्रहको शीर्षक पनि ‘इन्द्रेणी सौन्दर्य’ जुराएको हो जस्तो लाग्ने उनको टिप्पणी निबन्धकार विवशको लेखनकर्मको सही दृष्टिकोण हो भन्ने मेरो पाठकीय धारणा छ।
प्रस्तुत ‘इन्द्रेणी सौन्दर्य’ भित्रका ५७ वटै निबन्ध निबन्धकारकै शैलीमा भन्नुपर्दा निबन्धहरू खुसीका उत्सव हुन्, सम्झनाका बाडुली हुन् र आशाका बिहानी पनि हुन्। यद्यपि यहाँ ‘बिर्सिन नसकिने मान्छे’ छन्, ‘बिर्सेर सम्झेका यादहरू’ छन्, ‘टनकपुरमा दुखेको मन छ’ र ‘यौटा यस्तो कालो दिन’ पनि छ। रातको चकमन्न शून्यता र दिनको कोलाहलमय उपस्थिति जस्तै अनुभूतिका यस्तै भावना, विचार र विम्बहरू पनि प्रशस्तै पाउन सकिन्छ।
वास्तवमा ‘इन्द्रेणी सौन्दर्य’ निबन्धसंग्रह आफैँमा जीवन, प्रकृति, समय र अनुभूतिहरूको एकमुस्ट विवरण हो। यस पुस्तकको आवरण चित्र वरिष्ठ कलाकार विजय थापाले बनाएका छन् जुन उत्तिकै सुन्दर र निबन्धको भावलाई उतार्न सफल छ।
साहित्यमा प्रायः कल्पनाको प्रयोग धेरै हुने गर्छ तर ‘इन्द्रेणी सौन्दर्य’ को विशेषता यसको यथार्थपरक प्रस्तुति हो। यसमा कल्पनाको उडानभन्दा पनि भोगाइका जीवन्त क्षणहरू छन्। जीवन र मृत्युका शाश्वत सत्यहरूलाई प्रकृतिका विविध आयामहरूसँग जोडेर हेर्ने निबन्धकारको परिचित दृष्टि आफ्नै किसिमको छ। पाठकले यसमा कुनै बनावटी संसार भेट्दैनन्। आफैँलाई, आफ्नै जीवनलाई, घरआँगन, हिँडेका बाटा र भोगेका घाम–छायाँका विम्बहरू पाउँछन्। त्यसैले यो सङ्ग्रह यथार्थको धरातलमा उभिएको सौन्दर्यबोध हो भन्ने मेरो पाठक मत र मान्यता छ।
‘सुन्दर स्वदेश प्रकाशन’ ले प्रकाशित गरेको र रु. ५५० मूल्य रहेको यो ‘इन्द्रेणी सौन्दर्य’ निबन्धसंग्रह पठनीय, संग्रहणीय छ भन्दा अतिशयोक्ति हुँदैन। यति सुन्दर, यति मिठासले भरिएको र यति यथार्थ भावको संगम रहेको निबन्धकृतिका लागि निबन्धकार ज्ञानेन्द्र विवशज्यूलाई हार्दिक बधाई दिन्छु।
- अजय अंशु