खेलमा रुचि लिएर फलो गर्ने थोरै सेलिब्रेटीमध्ये पर्छन् जीवन लुईंटेल। खास गरी फुटबल र क्रिकेटमा रुचि राख्ने जीवन क्लबमा आर्सनलका फ्यान हुन् भने इटाली उनको मनपर्ने देश हो।जीवन स्कुलेदेखि नै फुटबलको प्रशंसक रहेको बताउँछन्। ‘क्रिकेट खेल नेपालमा लोकप्रिय हुन थालेको केही वर्ष मात्र भयो नत्र नेपालमा फुटबल नै लोकप्रिय थियो। म पनि त्यही पुस्ताको हुँ,' जीवनले भने।
जीवनसँग बाल्यकालमै फुटबल खेल्ने र हेर्ने गरेको धमिलो अनुभव छ। तर सन् १९९४ को विश्वकपयता भने उनी फुटबलका नियमित दर्शक भएको बताउँछन्। ‘अरु समयमा फाट्टफुट्ट फुटबल हेरेको भए पनि सन् १९९४ को विश्वकप मेरो फुटबल हेर्ने अनुभवको साल थियो। त्यसयता मैले भ्याएसम्म विश्वकप छुटाउने गरेको छैन,' उनले स्मरण गरे।
सन् १९९४ मा रोबर्टो बाजियोको खेल हेरेर दंग परेका जीवन आफ्नो सबैभन्दा मनपर्ने खेलाडी बाजियो नै रहेको बताउँछन्। उनको खेल प्रभावले नै होला सन् १९९४ यता जीवनले विश्वकपमा सधैं इटालीको समर्थन गर्दै आएका छन्। ‘खोइ, त्यो बेला ममा के इम्प्रेसन पर्यो थाहा छैन, जहिले पनि विश्वकपमा इटालीले जितोस् जस्तो लाग्छ,' जीवनले भन्छन्। सदाझैं यसपालि पनि आफ्नो समर्थन इटालीलाई रहने जीवनले बताए।
इटालीबाहेक नेइमारको खेल हेर्न उत्सुक छन् उनी। ‘मेसी र रोनाल्डोको खेल पनि सकभर हेर्ने प्रयास गर्नेछु,' जीवनले भने। अघिल्लो पुस्तामा भने अर्जेन्टिनाका ग्य्राबियल बाटिस्टुटा र म्याराडोना उनका प्रिय खेलाडी हुन्।
ब्ल्याक एन्ड ह्वाइट टिभीमा पहिलो विश्वकप हेरेको अनुभव संगालेका जीवनले पछिल्ला दिनमा भने स्पोर्टस बारमा समेत गएर फुटबल हेरेका छन्। यसपालिको विश्वकपका खेल मध्यरातमा पर्ने हुनाले बाहिर गएर हेर्ने सम्भवना नहुँदा साथीभाइसँग रमाइलो गर्दै घरमै हेर्ने योजनामा छन् जीवनले।
फुटबलसँगको जीवनको अनुभव फिल्मले पनि बेलाबखतमा जोड्ने गरेको छ। सुटिङक्रममा सिक्किम पुगेका जीवनले फिल्म ‘शिशा' मा भारतीय फुटबल स्टार भाइचुङ भुटियासँगै फिल्म खेलेका छन्। ‘फुटबलप्रतिको प्रेमकै कारणले होला भाइचुङ भुटिया सँगै देखिने मौका पाएँ। फुटबलको दर्शकको नाताले पनि फुटबलको स्टारसँग भेटघाट हुनु गौरवको कुरा हो,' जीवनको बुझाइ छ।
१६ जेष्ठ २०७१
•
३ मिनेट पाठ