जुम्लाको नेपाली सेनाको टुडिखेल मैदान बिहीबार बालबालिकाको हर्षोल्लासले भरिएको थियो। विद्यालयका झण्डा, शिक्षकहरूको उत्साह र सयौं फुटबलको बीचमा त्यो दिन केवल खेलको होइन, परिवर्तनको उत्सव बनेको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा) र जुम्ला जिल्ला फुटबल संघको सहकार्यमा, फिफा ‘फुटबल फर स्कुल’ कार्यक्रम अन्तर्गत पहिलोपटक जुम्लाका २५ विद्यालयलाई ६ सय २५ वटा फुटबल वितरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले पहिलो बल हस्तान्तरण गर्दै भने,‘हामी विद्यालयमा फुटबल पुर्याउँदैछौं ताकि खेल पढाइसँगै जीवन सिकाउने माध्यम बनोस्। फुटबल केवल खेल होइन, यो चरित्र निर्माणको प्रक्रिया हो।’
त्यो क्षण, टुडिखेलमा उपस्थित बालबालिकाका आँखामा बल होइन, भविष्य चम्किरहेको थियो।
फिफाको ‘फुटबल फर स्कुल’ कार्यक्रम
एन्फा ग्रासरुट हेड कोच पंकज शाहीका अनुसार फिफाको यो कार्यक्रम अन्तर्गत कर्णालीका १० जिल्लाका ६५ विद्यालयमा फुटबल वितरण गरिँदैछ, जसमा सबैभन्दा बढी जुम्लाका विद्यालयहरू परेका छन्।
जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष भरत बहादुर बुढ्थापा भने, ‘यो केवल बल वितरण होइन, यो परिवर्तनको सुरुवात हो।’
उनका अनुसार, तिला, तातोपानी, चन्दननाथ, गुठिचौर र पातारासी गाउँपालिकाका २५ वटा माध्यमिक, निम्न माध्यमिक र आधारभूत विद्यालयलाई फुटबल वितरण गरिएको हो।
माध्यमिक विद्यालयलाई २५, निम्न माध्यमिकलाई १०–१५ र आधारभूत विद्यालयलाई ५–७ वटा बल दिइएका छन्।
केल्मी ब्रान्डका प्रति बल पाँच हजार ५०० रुपैयाँ मूल्यका दरले ३४ लाख ३७ हजार ५ सय रुपैयाँ बराबरका फुटबल नि:शुल्क वितरण गरिएको उनले जानकारी दिए।
जुम्लाका विद्यालयहरूमा पहिले एउटा फुटबल वर्षौंसम्म खेलिन्थ्यो। फुटेको बल रबरले टाँसिन्थ्यो, धागोले सिउँथिन्थ्यो। तर अहिले ती बालबालिकाको हातमा नयाँ चम्किला बल छन् । आशा र आत्मविश्वासका प्रतीक केल्मी बनेका छन् ।
स्थानीय नेतृत्वको प्रतिबद्धता
चन्दननाथ नगरपालिकाकी उप–प्रमुख रामदेवी खड्काले भनिन्,‘जुम्ला अब खेलमैदानको अभावमा सीमित छैन। नगरपालिकाले सहरी विकास परियोजनासँग सहकार्य गरेर रंगशाला निर्माणको अन्तिम चरणमा पुगेको छ। अब छ महिनामा हामी आफ्नै रंगशालामा प्रतियोगिता आयोजना गर्नेछौं।’
एन्फा प्रशिक्षक महेश बुढ्थापाका अनुसार, ‘हामीसँग उत्साह र प्रतिभा त छ, तर खेल्न ठाउँ छैन।’ तर उनी आशावादी छन् । उनले भने, ‘फुटबल जुम्लाको पहिचान बन्न थालेको छ। अब पूर्वाधार पनि आउँछ। खेलाडीहरू त यहाँ हरेक गल्लीमा छन्।’
विद्यालयमा खेलको संस्कार
स्थानीय शिक्षकहरूका अनुसार, फुटबल आएपछि विद्यार्थीहरूको विद्यालयमा रुचि बढेको छ। ‘पहिले विद्यार्थीहरू खेलमा चासो देखाउँदैनथे, अब बिहानै आइपुग्छन् र भन्छन्, ‘सर, बल कहाँ छ?’’ अब विद्यालयका आँगनमा धूलोमात्र होइन, खुशी उड्छ। फुटबलले बालबालिकामा आत्मविश्वास, सहकार्य र अनुशासन सिकाउँदै जुम्लालाई फेरि जोड्न थालेको छ।
कार्यक्रममा प्रदेशसभा सदस्य देवेन्द्र बहादुर शाही र जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्य पनि सहभागी थिए।
मोरङ। झापामा भएको ‘दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। दुधे रंगशालामा शनिबार भएको फाइनल खेलमा एपिएफ अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनलमा रोकेको थियो।
खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। टाइब्रेकरमा एपिएफले ४ र आर्मीले २ गोल गरेको थियो।
एपिएफका लागि गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले गोल गरे भने आर्मीकी तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सकेका थिए। आर्मीकी यशोदा शाही र बिमला थापाको प्रहारलाई एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले बचाइन्।
निकै प्रतिस्पर्धात्मक खेलमा एपिएफले उपाधि जित्दै ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने उपविजेता आर्मीले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्यो।
खेलको ३१औँ मिनेटमा आर्मीले अग्रता लिएको थियो। आर्मीका लागि सुक्रिया मियाको क्रस पासमा बिमला चौधरीले गोल गरिन्। एपिएफका ३ जना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो। एपिएफले६०औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो। रश्मिकुमारी घिसिङले डी-एरियाको साइड एंगलबाट गरेको पावरफुल प्रहार गोल भएको थियो। खेलको प्लेयर अफ द म्याच एपिएफकी गोलरक्षक एञ्जिला तुम्बापोले १५ हजार रुपैयाँ पुरस्कार पाइन्।
प्रतियोगितामा सर्वाधिक ९ गोल गरेकी एपिएफकीरश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी हुँदै १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाइन्। त्यसैगरी, उत्कृष्ट गोलकिपर एपिएफकी एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर एपिएफकी गीता राना, सर्वाधिक गोलकर्ता एपिएफकीरश्मिकुमारी घिसिङ, उत्कृष्ट प्रशिक्षक एपिएफकाजिवेसकुमार पाण्डे र उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो। भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा-११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको सहभागिता थियो।
विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, झापा-११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका अध्यक्ष सन्तोष थोप्रालगायतले पुरस्कार प्रदान गरे।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...