काठमाडौं- सोमपाल कामीको आक्रामक ब्याटिङसँगै नेपालले बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ मा उपस्थिति कायम राखेको छ। आइतबार नेदरल्यान्ड्सले दिएको १ सय ५९ रनको लक्ष्य हासिल गर्न नेपाललाई ६७ बलमा ४७ रन आवश्यक थियो। सातौं विकेट गएपछि सोमपाल गहन जिम्मेवारीसाथ क्रिजमा गएका थिए।
अघिल्लो दिन कमजोर मानिएको युगान्डासँग दुई रनको हार भोगेको नेपाललाई रेलिगेसनबाट जोगिन कम्तीमा जित आवश्यक थियो। सोमपालसामु आक्रामक ब्याटिङ गर्नुको विकल्प थिएन।
उनले २८ बलमा ३ चौकासहित २४ रन बनाएपछि नेपालको इनिङ सही ट्र्याकमा फर्क्यो।
नेपाललाई १४६–८ को अवस्थामा पुर्याकएपछि उनी मलिक एसान अहमद जामिलको बलमा पिटर बोरेनको हातबाट क्याच आउट भए। त्यतिखेर नेपाललाई १७ बल र दुई विकेट रहँदा १३ रनको खाँचो थियो। शरद भेषावकर र सोमपाललाई क्रिजमा स्थानान्तरण गरेका शक्ति गौचन (२) ले अविजित १३ रनको साझेदारी गर्दै निर्धारित ५० ओभरको तीन बल बाँकी रहँदै जित दिलाए।
एकदिवसीय विश्वकप खेल्ने देशमाथि नेपालको यो चौथो जित हो। नेपालले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) लाई दुई र बर्मुडालाई एकपटक हराएको थियो।
नौ नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले शरदसँग आठौं विकेटका लागि ४४ बलमा ४.५ को औसतमा ३३ रनको साझेदारी गरेका थिए। प्रशिक्षक पुबुदु दासानायके र कप्तान पारस खड्काले अघिल्लो दिनको ब्याटिङ क्रम परिवर्तन गर्दै सोमपाललाई नवौं नम्बरमा क्रिजमा उतारेका थिए।
विनोद भण्डारीको आक्रामक इनिङ र शरदको धैर्यपूर्ण ब्याटिङले नेपालका लागि विजयआधार निर्माण गरेको थियो। भण्डारीले ३० बलमा १ चौका र ३ छक्कासहित ३५ रनको योगदान गरेर नेपाली इनिङ उकासेका थिए। १५.५ ओभरमा नेपाल ३५–३ को संघर्षमय अवस्थामा पुग्दा क्रिजमा आएका विनोदले कप्तान पारससँग चौथो विकेटका लागि ३४ रनको साझेदारी गरे। पाँचौं विकेटका लागि उनले सागर पुनसँग १९ रन जोडे।
५३ बलमा अविजित २४ रन बनाएका शरदले छैटौं विकेटका लागि सागरसँग १८ तथा सातौं विकेटका लागि वसन्त रेग्मीसँग सात विकेटको साझेदारी गरे।
नामिबियाको विन्डहकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा विपक्षीलाई पछ्याउन सकिने स्कोरमा रोके पनि नेपालको सुरुआत निकै कमजोर थियो। ओपनर नरेश बुढाऐर १ तथा उपकप्तान ज्ञानेन्द्र मल्ल खाता खोल्न नसक्दै आउट भएपछि नेपाल २.४ ओभरमा ५–२ को दयनीय अवस्थामा पुगिसकेको थियो। त्यसपछि कुनै ब्याट्सम्यानले टिमलाई पुनरागमन गराउन सकेका थिएनन्।
अर्का ओपनर सुवास खकुरेल ५१ बलमा एक चौकासहित १५ रन बनाएर रिप्पनको बलमा एलबिडब्लु आउट हुँदा नेपालले ३५ रनमा तीन विकेट गुमाइसकेको थियो। त्यसपछि क्रिजमा आएका पारसले ५७ बलसम्म धैर्य गरे पनि १९ रनभन्दा बढी जोड्न सकेनन्। नेपालको विकेट खस्ने गति केही हदसम्म रोकेका सुवास र पारसले तेस्रो विकेटका लागि ३० रनको साझेदारी गरे। सागरले ५० बलमा १३ रन बनाए भने वसन्तले १९ बलमा ६ रन जोडे।
नेपाली टोलीका प्रशिक्षक पुबुदुले जितमा खुसी व्यक्त गर्दै आगामी खेलमा ब्याटिङ सुधार्नुपर्ने बताए। ...हाम्रो बलिङ उत्कर्षमा छ। तीव्र गतिका दुई बलर (सोमपाल र करण केसी) ले हाम्रो सम्भावना उजागर गरेका छन्,' उनले भने।
नेदरल्यान्ड्सका मुदासार भुखारी, रिप्पन र जामिलले समान दुई विकेट लिए भने पाउल भान मिकेरेन र पिटर सिलारले एक–एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले रिप्पनको अर्धसतकमा निर्धारित ५० ओभरको एक बलअगावै सबै विकेट गुमाएर १ सय ५८ रनको स्कोर बनाएको थियो। म्यान अफ द म्याच रिप्पनले १ सय १७ बलमा दुई चौकासहित ५३ रन बनाएका थिए। नेदरल्यान्ड्सका लागि ओपनर माइबर्गले ३६ र भुखारीले १९ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोर जोड्न सकेनन्। नेपालले अतिरिक्त १७ रन दिएको थियो।
नेपालका लागि सोमपाल, पारस, वसन्त र शक्तिले समान दुई विकेट लिए। वसन्तले १० ओभरमा एक मेडन राख्दै २२ रन खर्चिदा पारसले ९ ओभरमा २ मेडनसहित २५ रन दिए। यसैगरी शक्तिले १० ओभरमा ३७ रन खर्चिए भने सोमपालले ७.५ ओभरमा ३७ रन दिए। तीव्र गतिका बलर करण केसीले विकेट नलिए पनि ७ ओभर बलिङ गर्दा ३ मेडन राख्दै १० रनमात्र खर्चेर विपक्षीको स्कोर रोक्न महŒवपूर्ण भूमिका खेले।
आइतबार सम्पन्न अन्य खेलमा क्यानडा र नामिबियाले विजय हासिल गरे। क्यानडाले केन्यामाथि ४६ रनको विजय हात पार्दा नामिबियाले युगान्डालाई ४ विकेटको नतिजामा निराश पार्यो्।
निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५७ रन बनाएको क्यानडाले केन्यालाई ४८ ओभरमा २ सय ११ रनमा अलआउट गरेको थियो।
त्यस्तै, नामिबियाले युगान्डाबाट पाएको १ सय ८९ रनको लक्ष्य ४६.२ ओभरमा ६ विकेट गुमाउँदै हासिल गरेको थियो। युगान्डाले पूरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको थियो।
आइतबारका नतिजापछि डिभिजन २ को अंकतालिकामा दुवै खेल जितेको नामिबिया ४ अंकसहित शीर्ष स्थानमा रहँदा समान २ अंक जोडेका नेदरल्यान्ड्स, नेपाल, युगान्डा र क्यानडा क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन्। दुवै खेल हारेको केन्या पुछारमा छ। नेपालले मंगलबार क्यानडासँग खेल्नेछ।