रौतहटमा एक निजी विद्यालयका विद्यार्थीमाथि निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ।
रौतहटको सदरमुकाम गौरस्थित बाल निकेतन बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत दुई जना विद्यार्थी माथि पाइपले निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको हो।
उक्त बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत दुई जना विद्यार्थी लाई विद्यालयका प्रिन्सिपलकी छोरीले निर्घात कुटपिट गरेको पीडित पक्षको आरोप छ।
होमवर्कको निहुँमा विद्यार्थी माथि कुटपिट गर्ने व्यक्ति विद्यालयकी नियमित शिक्षिका समेत नरहेको पीडितको भनाइ छ।
पीडित विद्यार्थीका दुवै खुट्टामा पाइपले हानेको कारण रातो डाम तथा चोट देखिएको छ। शारीरिक चोटसँगै घटनापछि बालबालिका मानसिक रूपमा समेत त्रसित बनेको परिवारजनको भनाइ छ।
विद्यालयमा यसअघि पनि विद्यार्थीमाथि दुर्व्यवहार र शारीरिक दण्ड दिने प्रवृत्ति रहेको आरोप अभिभावकहरूले लगाएका छन्।
घटनाप्रति आक्रोश व्यक्त गर्दै अभिभावकहरूले विद्यालय प्रशासनमाथि कडा कारबाहीको माग गरेका छन्। बालबालिकालाई अनुशासनको नाममा शारीरिक यातना दिनु निन्दनीय कार्य भएको उनीहरूको भनाइ छ। घटनापछि आक्रोशित अभिभावकसँग विद्यालय प्रशासनले माफी समेत मागेको छ।
नेपालको प्रचलित कानुन तथा बाल अधिकारसम्बन्धी व्यवस्था अनुसार विद्यालयमा शारीरिक दण्ड पूर्ण रूपमा निषेध गरिएको छ।
यस्ता गतिविधिले बाल अधिकारको गम्भीर उल्लङ्घन गर्नुका साथै विद्यालयलाई सुरक्षित सिकाई स्थल बनाउने राज्यको नीतिमाथि समेत प्रश्न उठाउने शिक्षा क्षेत्रका जानकारहरू बताउँछन्।
पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
यता गौर नगरपालिकाका शिक्षा शाखा प्रमुख उत्तम भट्टराईले घटनाबारे आफूलाई सोमबार मात्र जानकारी प्राप्त भएको बताउँदै विद्यालयमा अनुगमन गरी यथार्थ छानबिन गरिने प्रतिक्रिया दिए।
‘घटनाको सत्य तथ्य बुझेर दोषी देखिए कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइनेछ,’ उनले भने।
बालबालिकाको संरक्षण र सम्मानजनक शिक्षाको अधिकार सुनिश्चित गर्ने दायित्व विद्यालय र राज्य दुवैको भएकाले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी माथिको कडा कारबाही हुनुपर्ने प्याब्सन गौर नगरका अध्यक्ष जमिल अख्तरले माग गरेका छन्।
काठमाडौं। देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। ती घटनाबाट रु २५ लाख ५१ हजार ८०० बराबरको आर्थिक क्षति भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर ११ देखि १२ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्नु तथा जनावरको आक्रमणका घटना भएका हुन्।
प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार उक्त अवधिमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा, दोलखा, कास्की र रुपन्देहीलगायत जिल्लामा आगलागीका घटना भएका छन्। त्यस्तै दोलखा र मोरङमा सर्पदंश, मुस्ताङमा लेक लाग्नु तथा उदयपुर र रौतहटमा जनावरको आक्रमणका घटना भएका छन्।
विभिन्न विपद्का घटनामा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ।
विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता केसीले जानकारी दिए। घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।
यसैबीच, प्राधिकरणले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...