साइबर अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता डा. अरनिको पाँडे धरौटीमा रिहा भएका छन् । उनीमाथि विद्युतीय माध्यमबाट महिलालाई ‘अश्लील गाली’ गरेको भनी मुद्दा दायर भएपछि अदालतले थुनछेक बहसबाट अदालतले रिहा गरेको हो ।
नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानअनुसार आफूसँग सम्पर्कमा रहेकी महिलालाई पाँडेले जिमेलमार्फत गाली गरेको अभियोग पत्रमा उल्लेख छ । उनले महिलालाई ‘....भएकै कारण तिम्रा पतिले छाडेका हुन् ?’ भन्ने प्रश्न समेत गरेको पनि पाइएको छ।
साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। सोही अभियोग पत्रमा उल्लेख भएको रास्वपा नेता पाँडेको बयानअनुसार उनले आफूले पीडित महिलालाई गाली गरेको पनि स्वीकार गरेका छन्।
के हो घटना?
साइबर ब्युरोले पीडित महिलाको नाम ‘साइबर ब्युरो–१३’ दिएर घटनाको अनुसन्धान गरेको छ। ती महिलाले आफ्नो छोराको विज्ञान विषयमा रुचि भएकाले पाँडेसँग सुझाव लिन सम्पर्क गरेकामा निजले जिमेल र वाट्सएपबाट अश्लील म्यासेज गरी मानसिक यातना दिएको, अपमान गरेको र हैरानी दिने काम गरेको भन्दै साइबर ब्युरोमा ‘विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही गरी पाऊँ’ भनेर जाहेरी दिएकी थिइन्। ब्युरो स्रोतका अनुसार पाँडेविरुद्ध भदौ ५ गते जाहेरी परेको थियो।
सोही जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले भदौ ११ गते(बुधबार) पाँडेलाई पक्राउ गरेको थियो। जाहेरीमा पीडित महिलाले पाँडेले आफूलाई गरेको गालीको ब्यहोरा पनि उल्लेख गरेको ब्युरोले जनाएको छ।
जिमेल र वाट्सएपमार्फत पाँडेले दिएको भनिएको गालीको ब्यहोरा हेर्नुस्:
जिमेलमा गरिएको गालीको नेपाली अनुवाद
तँ ...सँग .., .., .., त्यसमा मलाई पश्चात्ताप छ। तँ ..., तेरो छोराले पनि तँ प्रति घृणा गर्नुपर्ने हो। तँ सधैँ मलाई सम्पर्क गर्छस्, मसँग जिस्किन्छेस्, ....सहरबाहिर हुँदा प्रायः मलाई बोलाउँछेस्। स्विमिङ गर्दा मलाई प्रलोभनमा पार्ने कोसिस गर्छेस्। जबकि तँ डिभोर्स भएकीसँग धेरै प्रेमी छन्। तँ सधैँ मलाई सहयोगका लागि सम्पर्क गर्छस्। घृणित, नीच श्रेणीकी ....। तेरो नक्कली बोली बन्द गर । मलाई कहिल्यै पनि सम्पर्क नगर।
यस्तै पाँडेले वाट्सएपबाट ‘के तेरो श्रीमान्ले यस कारणले छाडेको हो?’ भन्ने आशयले लेखेकोको आरोप पत्रमा उल्लेख छ ।
पाँडेद्वारा गाली गरेको स्वीकार !
पक्राउपछि पाँडेले अधिकारप्राप्त अनुसन्धान अधिकारीसँग दिएको बयानमा आफूले पीडित महिलाले निवेदनमा खुलाएअनुसारको गाली गरेको स्वीकार गरेका छन्।
पाँडेले पीडित महिलासँग २०६९ सालदेखि चिनजान भएको बताएका छन्। आफ्नी पत्नीमार्फत चिनजान भएको र कहिलेकाहीँ पारिवारिक भेटघाट हुने पनि पाँडेले खुलाएका छन्। तर, पीडित महिलाले आफूप्रति आशक्ति राखेजस्तो महसुस भएपछि २०७५/७६ देखि उनी नेपाल आएर कल गर्दासमेत बेवास्ता गर्ने गरेको पनि प्रहरीसमक्ष बताएका छन्।
यसैबीचमा गत असार २५ गते आफ्नो दाँतको शल्यक्रिया गरेर दुखाइ कम गर्ने पेनकिलर खाएको अवस्थामा पीडित महिलाले फोन गरेर नेपाल आउन लागेको जानकारी दिएको पाँडेको बयान छ।
उक्त कुराकानीमा आफ्नो पत्नी नेपालमा भए/नभएको, भेट गरौँ भनेको, पत्नी घरमा नभएको पत्ता लगाएर भेट्न बोलाउने गर्ने गरेकामा त्यो व्यवहार आफूलाई मन नपरेर वाट्सएपमार्फत ‘के तेरो श्रीमान्ले यस कारणले छाडेको हो? भन्ने आशयको म्यासेज गरेको पाँडेले स्वीकारेका छन्।
यस्तै जिमेल म्यासेजको सन्दर्भमा उनले म्यासेज गएको जिमेल आफूले मात्रै चलाउने गरेको स्विकार्दै तर त्यो म्यासेज पठाए/नपठाएको याद नभएको बताएका छन्।
‘मैले प्रयोग गर्ने एकाउन्ट हो, उक्त एकाउन्ट मबाहेक अरू कसैले प्रयोग गर्दैन,’ प्रहरीसँगको बयानमा पाँडेले भनेका छन्,‘मेरो दाँतको अप्रेसन गरी दुखाई कम गर्ने पेनकिलर औषधी खाई आराम गरी रहेको अवस्थामा जाहेरवालाले प्रयोग गर्ने जिमेलमा के कस्तो म्यासेज मैले लेखि पठाए सो मलाई सम्झना भएन ।’ लेखिएको म्यासेज हेर्दा आफूले पठाएको हुनुपर्छ पनि उनले बयानमा भनेका छन्।
पाँडेले दिएको बयान२० हजार धरौटीमा छुटे
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरिसकेपछि बुधवारै पाँडेको थुनछेक बहस भएको थियो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको छ।
प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार सरकारी वकिल कार्यालयले पाँडेमाथि विद्युतीय कारोबार ऐन, २०६३ दफा ४७ अनुसारको सजाय माग दाबी गरेको छ।
यो मुद्दाको अन्तिम फैसला हुने बेला पाँडे दोषी ठहर भए एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...