आज उदाउँदो सूर्यलाई अर्घ्य
१४ कार्तिक २०७९
•
२ मिनेट पाठ
आज उदाउँदो सूर्यलाई अर्घ्य
सूर्य उपासनाको महापर्व छठअन्तर्गत आइतबार अस्ताउँदो सूर्यदेवलाई अघ्र्य दिइएको छ भने सोमबार (आज) बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइँदैछ। आइतबार अपराह्नदेखि नै यहाँका पोखरी, नदीलगायत जलाशयमा श्रद्धालुको भिड लागेको थियो। उनीहरू विभिन्न पूजासामग्रीसहित पूजास्थलमा पुगेका थिए।




अस्ताउँदो सूर्यदेवलाई अघ्र्य अर्पण गरी कतिपय स्थानमा श्रद्धालुले पूजासामग्री घर लग्ने र बुधबार बिहान पुनः जलाशयमा पूजासामग्रीसहित जाने गर्छन्। तर लहान नगरपालिका–३ को रघुनाथपुर पोखरीमा भने श्रद्धालुका पूजासामग्री छठघाटमै राख्ने व्यवस्था पूजा समितिले मिलाएको छ। पूजासामग्री लिएर घर जाने र पुनः आउने झन्झटबाट मुक्त गर्न सुरक्षाको प्रबन्ध मिलाइएको समितिका अध्यक्ष भुवनेश्वर महतोले बताए। उनका अनुसार छठघाटमा बस्ने श्रद्धालुको मनोरञ्जनका लागि धार्मिक नाचगानको व्यवस्थासमेत गरिएको छ। चार दिवसीय छठपूजाको अन्तिम दिन सोमबार उदाउँदो सूर्यदेवलाई अघ्र्य प्रदान गरी पूजा सम्पन्न हुनेछ।  

पूजाको पहिलो दिन शुक्रबार बर्तालु महिला र पुरुष पवित्र जलाशयमा स्नान गरी अर्वाअर्बाइन खाई व्रतको सुरुवात गरेका थिए। शनिबार खरनाको खिर भगवान्लाई भोग लगाई सपरिवार खाएर निर्जल र निराहार व्रतको सुरुवात गरेका बर्तालुले सोमबार बिहान उदाउँदो सूर्यदेवलाई अघ्र्य दिएपछि मात्र अन्नजल गर्नेछन्।  

छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो। छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो। अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोका रूपमा लिनु हो। धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ।

आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो, जो आडम्बरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ। सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ।

छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि रहेका छन्। वैज्ञानिक र ज्योतिषी तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी बर्तालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको जनाइएको छ। छठका अवसरमा बेहुलीझैं सिँगारिएका पोखरी र तलाउमा नववस्त्रमा सजिएका श्रद्धालुको भिड उल्लेखनीय थियो।
अर्को समाचार
कालिमाटीको विष्णुमतीमा ९० वर्षदेखि छठ, उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व सम्पन्न
३० कार्तिक २०८३
•
४ मिनेट पाठ
कालिमाटीको विष्णुमतीमा ९० वर्षदेखि छठ, उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व सम्पन्न
काठमाडौंको कालिमाटीस्थित विष्णुमती नदी किनारमा करिब ९० वर्षदेखि मनाइँदै आएको छठ पर्व यस वर्ष पनि धार्मिक आस्था र उल्लासका साथ सम्पन्न भएको छ। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म मनाइएको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको हो।




तराई–मधेसमा विशेष महत्त्वका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकामा पनि व्यापक रूपमा मनाउन थालिएको छ। काठमाडौंको कालिमाटी–टंकेश्वर क्षेत्रमा भने पुस्तौंदेखि छठ मनाउने परम्परा रहँदै आएको छ। करिब नौ दशक पुरानो यो परम्पराले काठमाडौंको धार्मिक तथा सांस्कृतिक विविधतालाई समेत झल्काउँदै आएको छ।

सोमबार बिहानैदेखि कालिमाटीस्थित विष्णुमती नदी किनारमा व्रतालु तथा श्रद्धालु भक्तजनको चहलपहल देखिएको थियो। पूजाका सामग्रीले सजिएका बाँसका ढाकी, सुपली र नाङ्लो बोकेर व्रतालुहरू नदी किनारमा पुगेका थिए। उनीहरूले जलाशयमा उभिएर उदाउँदो सूर्यलाई दूध, जल तथा विभिन्न पूजा सामग्रीसहित अर्घ्य अर्पण गरेका थिए।

घाँटमा परिवारका सदस्यसहित छठीमाताको भजन किर्तन गरिरहेका थिए भने भजनकै सांगितीक माहौलले पनि उत्तिकै रौनक थपिदिएको थियो। महिला व्रतालुहरू एक आपसमा नाकबाट सिन्दुर लगाएर श्रीमानको दीर्घायुको कामना समेत गरिरहेका थिए।  

छठ व्रतालु पुनम रौनियारले आफू विगत १३ वर्षदेखि छठ व्रत बसेको बताइन्। उनले सासू आमाले समेत व्रत बसेको बताइन्। तराई–मधेशमा मनाइँदै आएको छठ पर्व काठमाडौंको कालिमाटी टंकेश्वरको विष्णुमति नदी किनामा ९० वर्षअघि पहिलो पटक विशेष गरी मधेशी समुदायका रौनियार तथा अन्य जातजाति मिलेर व्रत बस्दै आएको उनले सुनाइन्। ‘तराईबाट आएका मधेशीहरू बढी जसो कालिमाटी तथा कलंकी क्षेत्रमा बसोबास गर्दै आएका छन्। यस कारण कालिमाटी विष्णुमति नदी किनारमा छठ पर्वको सुरुवात ९० वर्ष अघि भयो,’ पुनमले भनिन्, ‘अहिले छठमा प्रयोग हुने सबै प्रसाद सामग्री कालिमाटीमा पाइने भएकाले पनि मधेशी समुदायहरू अब यही छठ मनाउन थालेको पाइयो।’

परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गर्दै व्रतालुहरूले सूर्यदेव र छठी माताको पूजा आराधना गरेका थिए। अर्घ्यका लागि ठकुवा, भुसुवा, केरा, नरिवल, उखु, स्याउ, सुन्तला, अदुवालगायतका प्रसाद प्रयोग गरिएको थियो। उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरूले प्रसाद ग्रहण गरी व्रत समापन गरेका थिए।

चार दिनसम्म मनाइएको छठ पर्वका व्रतालुहरूले सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजापाठ गरी व्रत सम्पन्न भएपछि मात्र नुनिलो खानेकुरा खाने गर्छन्।  

छठ घाँटमा भेटिएकी व्रतालु सीता साह विगत ४० वर्षदेखि छठ व्रत बस्दै आएकी छिन्। उनको पहिलो छोरा पाउनासथा सासूले सीतालाई व्रत बस्न भनेको उनले जनाइन्। ‘हाम्रो घरमा म जेठी बुहारी भएकोले सासूले आफूले गर्दै आएको व्रत मलाई दिनु भयो। यो हाम्रो परम्परा नै हो,’ अर्घ्य दिएपछि सीताले नागरिकसँग भनिन्, ‘मेरो जेठी बुहारीले पनि व्रत बसेकी छिन्। मैले विष्णुमतीमै छठ गरेको ४० वर्ष भयो।’

उनले थपिन्, ‘त्यसअघि मेरो सासू आमाले पनि यही विष्णुमती नदी किनारमै छठ व्रत बस्नु हुन्थ्यो। परिवारको सुख, शान्ति, दीर्घायु र समृद्धिको कामनाको लागि व्रत बसेका हौं।’

यसअघि आइतबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका थिए। रातभर नदी किनारमा जाग्राम बसेर भजनकीर्तन तथा छठी माताको आराधना गरेका उनीहरूले सोमबार बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएका हुन्।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई उषा अर्घ्य दिने परम्परा छ। खरनापछि सुरु हुने निर्जला व्रत उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पारन गरी समापन गरिन्छ।

छठ पर्व नेपालमा कति ठाउँमा मनाइन्छ भन्ने यकिन राष्ट्रिय तथ्यांक भने उपलब्ध छैन। संस्कृति तथा पर्यटनसम्बन्धी सरकारी निकाय र स्थानीय तहबाट देशभरका छठ घाट तथा पूजा स्थलको एकीकृत अभिलेख सार्वजनिक भएको देखिँदैन। तर विभिन्न स्थानमा हुने पूजा व्यवस्थापन र स्थानीय तहका विवरणले यसको विस्तार व्यापक हुँदै गएको गौरीघाँट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहले जनाए।  

अध्यक्ष सिंहका अनुसार यस वर्ष काठमाडौं उपत्यकामा मात्रै १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ र व्यवस्थापन भइरहेको छ। टंकेश्वरको विष्णुमती, गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, थापाथली, टेकु, वंशीघाट, कुपण्डोल, बल्खु, नख्खु नदी किनार, तीनकुने दोभान, टंकेश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट र बालाजुको बाइसधारालगायत स्थानमा छठ पूजा गरियो।  

अध्यक्ष सिंहका अनुसार तराई–मधेसमा भने जनकपुरधाम, वीरगन्ज, राजविराज, विराटनगर, लहान, सिरहा, कलैया, गौर, मलंगवा, जलेश्वर, इनरुवा, भैरहवा, नेपालगन्जलगायत सहर तथा ग्रामीण बस्तीका नदी, पोखरी र जलाशयमा छठ मनाइन्छ। मधेस प्रदेशका आठवटै जिल्लामा यो पर्वको विशेष महत्त्व छ। पछिल्लो समय पोखरा, चितवन, बुटवल, दाङ, सुर्खेत र धनगढीलगायत सहरमा पनि छठ मनाउने समुदायको उपस्थिति बढेको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस