काठमाडौं-सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गराएको आरोप लगाउँदै डिल्लीबजार मालपोत कार्यालयका प्रमुख गोपाल गिरीलाई कालोमोसो दलिएको छ। काठमाडौं महानगर–४ का पूर्व वडा अध्यक्ष अच्युतप्रसाद सापकोटाको नेतृत्वमा गएको २० जनाभन्दा बढीको समूहले सोमबार बिहान सवा १० बजे गिरीलाई चारखालस्थित कार्यालयको कार्यकक्षमै कालोमोसो दलेका हुन्।सार्वजनिक कार्यालयमा काम गरिरहेका कर्मचारीलाई कार्यकक्षमै गएर कालोमोसो दलेपछि सापकोटालाई प्रहरीले पक्रेको छ। काठमाडौं भत्केको पुलनजिक धोबिखोला किरारमा रहेको ५ रोपनी ११ आना २ पैसा जग्गा मालपोत कार्यालय प्रमुख गिरीले मिलेमतोमा पूर्णबहादुर थापाको नाममा दर्ता गराएको सापकोटाको आरोप छ।
सापकोटालाई कमलपोखरी प्रहरी प्रभागमा राखिएको छ। प्रभागका अनुसार सापकोटालाई सार्वजनिक मुद्दा लगाउने तयारी भइरहेको छ। कालोमोसो दलेपछि मलपोतका कर्मचारीले कार्यालयमा बसेर काम गर्दा सुरक्षा नभएको भन्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर सुरक्षा माग गरेका छन्। कर्मचारीले कार्यालय प्रमुखमाथि नियोजित रुपमा कालोमोसो दलिएकाले दोषीलाई कारबाही नभएसम्म काम नगर्ने भन्दै काम रोकेका छन्। यसले गर्दा सोमबार दिनभर कार्यालय बन्द भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख एकनारायण अर्यालले कालोमासो दलेको विषयमा अनुसन्धान भइरहेको र दोषी देखिए निमयअनुसार कारबाही गर्ने जानकारी दिए। ‘कार्यालयमा गएर कालोमोसो दल्ने काम सरासर गलत हो,' उनले भने, ‘यस विषयमा छानबिन भइरहेको छ। दोषीलाई कडाभन्दा कडा कारबाही हुन्छ।' अर्यालले सुरक्षाको कारण देखाउँदै बन्द भएको कार्यालय मंगलबारबाट खुल्ने जानकारी दिए।
मालपोत कार्यालय प्रमुख गिरीले ०६७ मंसिर १४ गतेको मन्त्रिपरिषदको निर्णयका आधारमा नै प्रक्रिया पूरा गरी उक्त जग्गा गुठीका नाममा दिने निर्णय भएको बताए। ‘हामीले सरकारको निर्णयअनुसार नै प्रक्रिया पूरा गरेर काम गरेका छौं,' उनले भने, ‘तर नियोजित रुपमा आएर ममाथि कालोमोसो दल्ने काम भयो।'
मालपोत कार्यालय कर्मचारीका अनुसार धोबिखोला करिडोर र भत्केको पुल आसपास रहेको ५०५ कित्ता नम्बरको उक्त जग्गा गोकर्णेश्वर पञ्चामृत गुठीको नाममा छ। गुठीले उक्त क्षेत्रको १६ रोपनी जग्गामध्ये ८ रोपनी जग्गा २०१४ सालमा त्यहाँका सात जना थापा थरका व्यक्तिलाई मोहीका रुपमा दिएको थियो। तर, धोबिखोलाको बहाव जग्गातिर आएपछि करिब ८ रोपनी जग्गा खोलामा परेको थियो। ०२१ सालमा जग्गाको नापी हुँदा ८ रोपनी जग्गा खोलामा परेपछि गुठीले बाँकी रहेको ८ रोपनीको मात्र पुर्जा लिएको थियो। पछि खोलाको बहाव पुनः परिवर्तन भएर ०४४ सालमा जग्गा नापी हुँदा पहिलाको जग्गामा बगर बनेको थियो। उक्त बगर सरकारको नाममा ल्याइएको थियो।
तर, सात जना थापाहरुले सर्वोच्च अदालतमा मुद्दा हालेपछि ०६७ सालमा गुठीको नाममा रहेको उक्त जग्गा अधिनस्थ जनाई गुठीलाई दिनू भन्ने निर्णय भएको थियो। यो आदेशले उक्त जग्गा गुठीकै नाममा हुने गरी मोहीलाई भोगचलनको अधिकार दिएको थियो। सोही निर्णयका आधारमा मोहीहरुले जग्गा पाउनुपर्ने भन्दै मालपोतमा निवेदन दिएका थिए। सरकारका नाममा आइसकेको जग्गा दिन नमिल्ने भन्दै मालपोतले फिर्ता पठाएपछि मोहीहरु मन्त्रिपरिषदमा पुगेका थिए। सोही आधारमा मन्त्रिपरिषदले ०६७ सालमा उक्त जग्गा गुठीकै नाममा रहने गरी मोहीलाई भोगचलन गर्न दिने निर्णय गरेको थियो।
मन्त्रिपरिषदको निर्णयपछि पुनः मुद्दा तथा अन्य विभिन्न विवादका कारण जग्गाका विषयमा निर्णय गर्न ढिलाइ भइरहेको थियो। तर गत कात्तिकमा गुठीकै नाममा तर मोहीले चलाउन पाउने गरी निर्णय भएको गिरीले जानकारी दिए। गिरीले सर्वोच्च र मन्त्रिपरिषदको निर्णयअनुसार जग्गाको पुर्जा नदिइएको जनाए। ‘हामीले अघिल्ला निर्णयबाट जग्गा गुठीलाई दिएका छौं,' उनले दाबी गरे।
तर, मालपोतको भनाइप्रति स्थानीय सहमत छैनन्। मालपोतले जग्गा व्यक्तिका नाममा बनाएको भन्दै उक्त क्षेत्र तथा वडा नम्बर ४, ५ र ७ का स्थानीयले मुख्य सचिव लिलामणि पौडेललाई समेत उजुरी गरेका थिए। स्थानीयको उजुरीका आधारमा मुख्य सचिव पौडेलले एक साताअघि उक्त जग्गाको विषयमा तत्काल निर्णय नगर्नू भनी कार्यालयमा पत्र पठाएका छन्।
मुख्य सचिवले पठाएको पत्रको बेवास्ता गर्दै गिरीले जग्गा पास गरेको भन्दै विरोधमा उत्रनुपरेको वडा नम्बर ५ का पूर्व अध्यक्ष सुखराम महर्जनले बताए। ‘पहिला गुठीको नाममा रहेको जग्गा पछि सरकारका नाममा आइसकेकाले अब फेरि सार्वजनिक जग्गालाई व्यक्तिका नाममा बनाउनु सरासर गलत छ,' उनले भने, ‘त्यसकारण सार्वजनिक जग्गालाई व्यक्तिका नाममा गर्नेविरुद्ध आवाज उठाउन यस्तो कलम चाल्नुपरेको हो।' उनले साँचो कुरा लिएर आवाज उठाउने सापकोटालाई तत्काल रिहा गर्नसमेत माग गरे।
२१ पौष २०७१
•
७ मिनेट पाठ