काठमाडौं-इन्द्रजात्राको तेस्रो दिन सोमबार साढे चार बजे कुमारी रथ यात्रा सुरु हुने भएको छ। राष्ट्रप्रमुको रुपमा राष्ट्रपतिले कुमारीको पुजा गरेपछि रथलाई नगरपरिक्रमा गराइने प्रचलन छ।
इन्द्रजात्रा व्यवस्थापन समितीका कोषाध्यक्ष विश्व शाक्यका अनुसार चार बजे राष्ट्रपतिले कुमारीको रथमा पूजाआजा गर्ने समय छुट्टाइएको छ। राष्ट्रपतिसहित उपराष्ट्रिपति, संविधानसभा अध्यक्ष, विदेशी नियोगका प्रतिनिधि लगायतको पूजाआजा पछि रथलाई नगर परिक्रमा गराइने उनले जानकारी दिए।
अहिले वसन्तपुर दरवार क्षेत्रमा रथ सिंगार्ने काम भैरहेको छ। राष्ट्रपतिले गद्यी बैठक दरवारबाट सिक्का र पुष्प कुमारीलाई चढाउँने प्रचलन छ।
'हामीले तयारी सकाएका छौं,' उनले भने, 'विशिष्ट व्यक्तित्वहरुले रथलाई पुजा गरेपछि तीनदिने कुमारी जात्रा सुरु हुनेछ।' आठ दिने इन्द्रजात्राको तेस्रो दिनमा कुमारीलाई नगरपरिक्रमा गराउँने प्रचलन छ।
समितीका अनुसार वसन्तपुरस्थित कुमारी घरबाट चिंकमुगल, जैशीदेगल, ज्यावावाहाल, लगनखेल, ब्रम्हटोल, बण्डेटोल, जैशीदेवल, भीमसेनस्थान हुदै पुन कुमारी घर पुगेर पहिलो दिनको रथयात्रा सकिनेछ। कुमारीसँगै यात्रामा गणेश र भैरवको रथ पनि नगर परिक्रमा गराइन्छ।
त्यस्तै मंगलबार कुमारीघरबाट प्याफल, नरदेवी, असन, इन्द्रचोक, मखन, हनुमानढोका हुदै कुमारीघर पुगि यात्रा सकिनेछ। अन्तिमदिन २७ गते कुमारीघरबाट प्याफल, नरदेवी, किलागल, इन्द्रचोक, मखन, हनुमानढोका हुदै कुमारीघर पुगेर यात्रा सकिनेछ।
इन्द्रजात्राको पहिलो दिन शनिवार हनुमानढोका दरवार परिसरमा काभ्रेको नालाबाट ल्याइएको लिंगोमा स्थानीय मानन्दर समुदायले इन्द्रध्वज फहराएका थिए। शनिवार बिहान दुइ बजेर पाँच मिनेट जाँदा सो लिंगोलाई भुइमा ढलाएर इन्द्रजात्रा सम्पन्न हुनेछ।