जनकपुर– सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाले भारतीय सीमा क्षेत्रबाट ७४ किलो चाँदी नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालयलाई जिम्मा लगाएको छ।
सीमावर्ती लग्मा गाउँबाट ४५ किलो र नगराइनबाट २९ किलो चाँदीसहित चार जना भरिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा कपिलेश्वरका ज्ञानेन्द्र कर्ण, रमदैया भवाडी १ का दिलिप साह, भारत दरभंगाको छतरिया १३ का रोशनकुमार साह र सोही स्थानका प्रकाश गुप्ता छन्। उनीहरूलाई चाँदीसहित शुक्रबारै राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइसकेको सशस्त्र सीमा सुरक्षा कार्यालयका प्रमुख एसपी सुवर्ण थापामगरले जनाए।
भरियाहरूले जनकपुरकै व्यापारी राज ज्वेलर्सका सञ्चालक राजकुमार साहले आफूहरूलाई सीमा पार गरिदिन उक्त चाँदी दिएर पठाएको सञ्चारकर्मीलाई जनाएका छन्। प्रतिव्यक्ति पाँच हजार पारिश्रमिक पाउने सहमति अनुसार जनकपुरबाट चाँदी बोकेर हिँडेकोमा बाटोबाटै पक्राउ परेको कर्णले बताए। प्रहरीले भने भरियाले भने अनुसारको तस्करबारे प्रमाणित हुन नसकेको प्रतिक्रिया दिएको छ।
'पर्याप्त आधार नभेटेसम्म कसैको विरोधमा आरोप मात्र लगाएर हुँदैन,' एपी थापामगरले भने, 'भरियासहित राजस्व छलेर पैठारी भइरहेको चाँदी बरामद गरेर राजस्व अनुसन्धानलाई जिम्मा लगाएका छौं, तस्कर पत्ता लगाउन थप अनुसन्धान गर्ने जिम्मा राजस्वको हो।'