घुम्नै पर्ने धार्मिक एवं पर्यटकीयस्थल बेथानचोक नारायणस्थान
१३ चैत्र २०८०
•
८ मिनेट पाठ
घुम्नै पर्ने धार्मिक एवं पर्यटकीयस्थल बेथानचोक नारायणस्थान
बूढापाकाहरू भन्ने गर्छन्, ‘नमरी स्वर्ग देखिँदैन।’ जुन ठाउँको वर्णन गरिएको छ त्यो ठाउँमा नगइकन त्यहाँको वातावरण, दृश्य, दुःख, सुख बुझ्न सकिँदैन। स्वर्गीय आनन्द लिने त ज्यूँदै छँदा हो, साँच्ची नै नारायणस्थान डाँडामा पुग्ने जो कोहीले पनि प्रकृतिको स्वर्गीय आनन्द भने अवश्य लिने छन्। यहाँ घुम्न आउने पर्यटकका लागि प्राकृतिक सुन्दरताको वर्णन गर्ने शब्द पाउनै गाह्रो पर्छ।




काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ मा पर्ने ‘बेथानचोक नारायणस्थान मन्दिर’ धार्मिक र पर्यटकीय दुवै दृष्टिकोणले प्रसिद्ध गन्तव्यस्थल बन्दै गएको छ। बेथानचोक नारायणस्थान मन्दिर समुद्री सतहदेखि ३०१८ मिटर उचाइमा अवस्थित छ। उक्त मन्दिर महाभारत पर्वत शृङ्खलामध्ये काभ्रेको सबैभन्दा अग्लो र शृङ्खलाभरमा चौधौँ अग्लो शृङ्खलामा रहेको छ। जिल्लाकै सबैभन्दा अग्लो स्थानमा रहेका कारणले पनि यो डाँडा अहिले निकै चर्चामा छ।

ढुङ्खर्क बजारदेखि सात किलोमिटर माथि देउराली चौरसम्म सवारी साधनमा जान सकिन्छ। त्यहाँबाट ४५ मिनेट अर्थात् दुई किलोमिटरको बाटो हिँडेर नारायणस्थान मन्दिरमा पुगिन्छ। 

पहिला पहिला नयाँ वर्षमा गोरेटो बाटो हिँडेर भक्तजन नारायणस्थान मन्दिरमा जाने गर्थे भने हाल उक्त मन्दिरसम्म पुग्ने पदयात्राका लागि रेलिङसहितको राम्रो बाटो व्यवस्था भएकाले सहजै आउन जान सकिन्छ।  
बेथानचोकको किंवदन्ती

भक्तपुरका मल्ल राजाको पालामा आफ्नो राज्यमा सङ्कट उत्पन्न भएपछि भगवान् नारायणलाई सम्झँदा भगवान् नारायणले आफू भक्तपुरबाट दक्षिणतर्फको सबैभन्दा अग्लो स्थानमा विराजमान भएको सन्देश दिएपछि मल्ल राजा भगवान् नारायणको खोजी गर्दै आउने क्रममा यसै स्थानमा विराजमान भएको पाएपछि यस स्थानको नाम बेथानचोक नारायणस्थान रहन गएको किंवदन्ती छ।

काठमाडौँ टुँडिखेलस्थित माहाङ्काल मन्दिरमा रहेका देवता पनि सोही मन्दिरबाट ल्याइएको तर पटकपटक फर्केर जाने गरेकाले सिक्रीले बाँधेर राखिएको किम्बन्ती छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रविन्दुका रूपमा रहेको बेथानचोक नारायणस्थान मन्दिरमा नयाँ वर्ष, जनैपूर्णिमा, फागुपूर्णिमामा विशेष मेला लाग्ने गर्दछ। 

बेथानचोक नारायणस्थान मन्दिर परिसरभित्र मासुजन्य पदार्थ र मदिरा पूर्णरूपले निषेध गरिएको छ। उचित सरसफाइ र प्रचार प्रसारको पर्खाइमा रहेको यस मन्दिर पर्यटकीय हव बन्दै गएकाले उक्त गाउँपालिकाले थप व्यवस्थित गर्नुपर्ने देखिन्छ।
बेथानचोक–३ का बासिन्दा तथा समाजसेवी रमेशप्रसाद तिमिल्सिनाले भने, ‘नारायणस्थान मन्दिरको इतिहास धेरै पुरानो छ, भक्तपुरबाट भूपतिन्द्र मल्लको पालामा बेथानचोक नारायण भनेर आएको र सो क्रममा बेथानचोक गाउँपालिका–३ को मसानघाटमा आएर बसेको किंवदन्ती छ। अहिले सो ठाउँलाई शिवालय भनिन्छ’। सो ठाउँको पारिपट्टि नेवार बस्ती रहेको र सो बस्तीमा बिहानै कुखुरा कराउने, ढिकीजाँतो चलाएको आवाज आएका कारण शान्ति भङ्ग भएकाले त्यहाँबाट बेथानचोक नारायणस्थान डाँडामा गएर बसेको भन्ने भनाइ रहेको उनले बताए। वि.सं. २०७६ मा भक्तपुरबाट इँटा ल्याएर गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय जनसमुदायबाट श्रमदान गरी नारायणस्थान मन्दिर निर्माण गरेको पनि उनले जानकारी दिए।

मल्ल राजाको पालामा नारायण भगवान भक्तपुरको कोलाहल मन नपरेर बेथानचोकमा प्रतिस्थापित भएको किंवदन्ती रहेको बेथानचोक–३ का स्थानीय बासिन्दा तथा समाजसेवी तिमिल्सिनाले बताए। उनका अनुसार गोकुल नाम गरेका एक व्यक्ति स्याउला काट्न जाँदा भिरबाट खसेको र खोज्दै जाँदा उनको शव खोल्सामा भेटिएका कारण नारायणस्थान जाने बाटोमा पर्नेे भिरको नाम गोकुले भिर रहेको छ।

उनले बेथानचोक नारायणस्थान क्षेत्रमा छ प्रकारका लालीगुराँस, लोपोन्मुख प्रजातिका जनावर, चराचुरुङ्गी तथा लौठसल्ला, ठिङ्ग्रेसल्ला, सुगन्धवाल, चिराइतो, कुरिलो, जेठीमधु आदि जडिबुटी पाइने बताए। 

तिमिल्सनाले यहाँ घुम्न आउने पर्यटकसँगै आफू पनि डाँडामा जाने र बाटोमा पर्ने विभिन्न स्थानको जानकारी गराउँदै नारायणस्थान मन्दिर दर्शनका साथसाथै हिमालका मनमोहक दृश्य, तराईको समथर भूभाग र जिल्लाका विभिन्न स्थानको दृश्य देखाउँदै र वर्णन गर्दै पर्यटकको मन तान्ने गरेको बताए। पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो दिन प्रतिदिन बढ्दै गएको छ।
नारायणस्थान मन्दिरको धर्मशाला बाहिर बिक्रीका लागि थोरै चाउचाउ, बिस्कुटलगायतका सामान राखेर बसेका महाँकालथान, बेथानचोक–३ घर भएका प्रकाश सत्यालले आफू केही महिनाअघि मात्र विदेशबाट आएको र अब विदेश नगई यही नारायणस्थान मन्दिरको रेखदेख गर्ने, सरसफाइ गर्ने, मन्दिरमा आउने पर्यटकको व्यवस्थापन गर्ने सोच रहेको बताए। 

उचित सरसफाइको पर्खाइमा रहेको यस मन्दिरको सरसफाइको जिम्मा पनि उनले पाएको बताएका थिए। यो स्थान पर्यटकका लागि अति नै रमणीय रहेको र यसको उचित प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने आफ्नो उद्देश्य रहेको पनि उहाँले बताए।

ललितपुरको सातदोबाटोबाट नारायणस्थान मन्दिर दर्शनसँगै घुम्न आएका श्याम गौतमले भने, ‘नारायणस्थान मन्दिर रहेको डाँडा घुम्नका लागि एकदमै रमणीय छ भनेको विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएको तर आज आफ्नै आँखाले देख्न पाउँदा आनन्द महसुस भइरहेको छ।’ यो ठाउँ हामी जस्तै घुम्नका लागि आउने आन्तरिक पर्यटकले पनि विभिन्न माध्यमबाट प्रचार प्रसार गरे आन्तरिक पर्यटकका साथसाथै बाह्य पर्यटकको हब बन्न सक्ने गौतमले बताए।

मध्यबानेश्वर, काठमाडौँबाट आएका सरगमजङ ठकुरी र विशाल वलीले काठमाडौँबाट नजिकको दूरीमा रहेको नारायणस्थान डाँडा हाइकिङका लागि जति माथि गयो त्यति रमणीय वातावरण रहेको बताए। 
नारायणस्थान डाँडा घुम्नका लागि आकर्षक छ भन्ने कसरी थाहा पाउनुभयो भन्ने प्रश्नमा उनीहरूले सामाजिक सञ्जाल र युट्युबबाट आफूहरूले जानकारी पाएको बताए। यहाँ आउने पर्यटकको सुविधाका लागि होमस्टेको पनि व्यवस्था गरिएको छ।

यहाँँ बिहानीको सूर्योदय तथा सूर्यास्त हेर्नका लागि पनि आन्तरिक पर्यटक जाने गरेको पाइएको छ। पर्यटकहरू बेलुका नै टेन्ट हालेर बिहानीको झुल्के घाम चराचुरुङ्गीको सुमधुर आवाज, नारायणस्थान मन्दिरको दर्शनका साथै वरिपरिको दृश्यावलोकन गरी भरपुर मनोरञ्जन लिएर फर्कने गरेको स्थानीय बासिन्दा बताउँछन्। यस स्थानमा जाँदा आकासै छुन खोजे जस्तो अनुभव हुने र लहरै देखिने हिमालले मोहित पार्ने गर्दछ। वरिपरि देखिने पहाड, डिलैमुनि रहेको गुफा वर्णन केको मात्र गर्नु सीमा नै छैन।

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बेथानचोक गाउँपालिकाको पूर्वाधार विकासको कामलाई नै आफूले पहिलो प्राथमिकतामा राखेको बताएका थिए। बेथानचोक घुम्न आउने पर्यटकले उचित सडकको निर्माण नहुँदा दुःख पाएकोदेखि आफू निर्वाचित हुने बित्तिकै पहिलो प्राथमिकतामा सडक निर्माण नै राखेको बताए। बेथानचोक नारायणस्थान मन्दिरमा घेराबारसहित सडक व्यवस्थित गर्नका लागि ढुङ्गा बिच्छ्याउने काम भइसकेको र थप काम पनि दु्रतगतिमा भइरहेको जानकारी दिए। सङ्घ सरकारको समपूरक कार्यक्रममा पनि बेथानचोक नारायणस्थान मन्दिरको पूर्वाधार विकासका लागि कार्यक्रम रहेको अधिकारीले बताए।

अध्यक्ष अधिकारीले काभ्रेको बेथानचोक गाउँपालिकाले नारायणस्थान मन्दिरलाई धार्मिक एवं पर्यटकीयस्थल बनाउनका लागि दीर्घकालीन योजना बनाई पूर्वाधार विकासको कामलाई पहिलो प्राथमिकतामा राखेको बताए। उनले यस ठाउँमा प्रशिक्षार्थीका रूपमा आउने विद्यार्थीहरूलाई मध्यनजर गरी घेराबार लगाएको बताए।
पनौतीको सिमानादेखि निजी स्रोतबाट दिगो विकास लक्षित कार्यक्रम गरेका छौँ, स्वदेशी तथा विदेशी पर्यटकको सहजताका लागि केबुलकारको व्यवस्था गर्ने र हेलिकप्टरबाट माथि जान सक्ने व्यवस्था गर्ने पालिकाको दीर्घकालीन सोचलाई अन्तर्राष्ट्रिय संघसंस्थाले पनि चासो व्यक्त गरेका जानकारी गराए।

अर्को वर्ष बेथानचोक महोत्सव गर्ने योजना बनाएका छौँ। यहाँसम्म पानी लैजान लिफ्टिङको प्रबन्ध मिलाइएको छ। बाटोका विभिन्न स्थानमा  फोहर सङ्कलन गर्ने भाँडाहरूको व्यवस्था गर्नाका साथै पदयात्रीका लागि ठाउँठाउँमा बस्ने बेन्चको व्यवस्था पनि गरिएको छ। खानेपानी व्यवस्थाका लागि पाइप बिच्छ्याइसकिएको र अब पानीको व्यवस्था पनि छिट्टै गर्ने योजना रहेको अध्यक्ष अधिकारीले बताए।

पर्यटकलाई बस्ने ठाउँको व्यवस्था, फोहर व्यवस्थापन, पर्यटकको विवरण सङ्कलन, स्वदेशी तथा विदेशी पर्यटकमा वृद्धि, पानीको व्यवस्थापन, वनभोज गर्ने ठाउँको व्यवस्थापन गर्न सके यो ठाउँ साँच्चै नै भविष्यमा ‘पर्यटकीय हव’ बन्ने निश्चतप्रायः छ।

ढकमक्क फुलेका लालीगुराँस, हिमाल, पहाड र तराईका मनोरम प्राकृतिक दृश्य एकैपटक अवलोकनसँगै भगवान नारायणको दर्शन गर्न पाइने भएकाले पनि यहाँ एकपटक अवश्य पुग्नै पर्ने देखिन्छ।
कसरी पुग्ने त नारायणस्थान डाँडा ?  

भूगोलको हिसाबले पनि निकै अग्लो स्थानमा रहेको यो मन्दिर राजधानी काठमाडौँदेखि ४५ किलोमिटरको दूरी पार गरेपछि पुगिन्छ। काठमाडौँदेखि ढुङ्खर्कसम्म बसमा सजिलै जान सकिन्छ। बेथानचोक गाउँपालिकाको ढुङ्खर्क बजारबाट करिब तीन घन्टा हिँडेरै नारायणस्थान मन्दिरमा पुग्न सकिन्छ। आफ्नै साधन हुनेहरू भने देउराली चौरमा साधन राखी करिब ४५ मिनेट पैदल हिँडेपछि सो डाँडामा पुग्न सक्छन्।

बेथानचोक गाउँपालिकाको ढुङ्खर्कबाट पैदल हिँडेर तीन घन्टामा पुग्न सकिने नारायणस्थान डाँडाले भविष्यमा राम्रै पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको छ। वरिपरि स्टिलको बारले घेरी बीचबीचमा उभिएर दृश्यावलोकन गर्न सकिने बनाइएको यस ठाउँमा उभिएर हेर्दा वारिपारि छर्लङ्ग देखिने चट्टाने ढुङ्गा, कुनै सुगाको ठोँड जस्तो देखिने, कुनै पर्वत जस्तो देखिने तलतिर गाउँ बस्ती हेरिरहुँ जस्तो देखिन्छ। नारायणस्थान डाँडाबाट नजिकै देखिने सूर्योदय र सूर्यास्त दृश्यावलोकन गर्न पाइने हुनाले पनि आन्तरिक पर्यटक विशेषगरी रात बस्ने गरी जाने गरेको पनि स्थानीय बासिन्दा बताउँछन्।

मन्दिर जाने बाटोमा विभिन्न प्रकारका लालीगुराँसले स्वागत गरेको पाइन्छ। मन्दिरको दर्शन गर्नाले मनले चिताएको पूरा हुने जनविश्वास रहेको छ। यो मन्दिरमा विशेष गरी फागुपूर्णिमामा ठूलो मेला लाग्ने गर्छ। उक्त मन्दिरमा जङ्गलै जङ्गलको बाटो हुँदै माथि डाँडोमा जानुपर्छ। छिनमै ड्याम्म तुवाँलेले ढाक्ने र छिनमै तुवाँलो हटेर छर्लङ्ग वारिपारि तलमाथिका रमणीय वनपाखा, बाटैभरि ढकमक्क फूलेका लालीगुराँस देख्दा त्यहाँ पुग्ने जो कोहीको पनि मन नलोभिने कुरै भएन। कमला पौडेल/रासस
अर्को समाचार
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
२० वैशाख २०८१
•
३ मिनेट पाठ
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
बस्ने घर, ओढ्ने ओछ्याउने, लत्ताकपडा र खाने अन्नपात सबै जलेर नष्ट भएको छ। पल्लो टोलको सानो धारामा प्लाष्टिकको बोतलमा पानी थापेर बसिरहेका रञ्जिता तामाङ र रजनी तामाङ भने टन्टलापुर घाममा पिउनका लागि पानी जोहो गरिरहेका छन्। बिहान पढ्नका लागि विद्यालय गएका उनीहरू बेलुका घर फर्किँदा सबै जलेर उराठ भएपछि बिचल्लीमा छन्।




जोगेश्वर माविमा कक्षा ६ मा अध्ययनरत रजनी र रङ्गीन प्राविमा कक्षा ३ मा अध्ययनरत रञ्जिता १७ महिनाको सानो भाइ र आमासहित चारजना दुई दिनदेखि टोलबाट अलि परको अर्को घरमा आश्रय लिइरहेका छन्। 

‘विद्यालय जाने बेलामा परेकाले पढ्ने किताब कापी त हामीसँगै छ’, रजनीले भने, ‘खाने अन्न, सुत्ने ओछ्यान र लगाउने कपडा सबै डढेर सखाप भएको छ, अलिअलि भएको बिस्कुट र चाउचाउ खाएर बसेका छौँ।’ बाबा विदेशमा भएकाले आफूहरू चारजना अर्कै घरमा सरेर बसेको दुवै जनाले सुनाए।

सोही गाउँका माथिल्लो टोलका सत्यलाल तामाङले घरभित्र जलिरहेको दलिनको ठुटोको प्वालबाट निस्किरहेको धुँवा नियाल्दै भने, ‘यो घरलाई जोगाउन सकिएन, तल्लोपट्टि रहेको एउटा घरलाई भने नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर पानी छर्केरै भए पनि जोगाउन सफल भइयो, अहिले त्यही बसिरहेका छौँ।’ जिउमा लगाउने कपडाबाहेक भएभरको सामान निकाल्न नभ्याएपछि विपद् व्यवस्थापन समिति र सहयोगी सङ्घसंस्थाले दिएको राहतको भरमा चलिरहेको उनले बताए।

सोही ठाउँका अर्का पीडित कान्छीमाया तामाङले एक्कासी भएको आगलागीका कारण घरभित्र भएको सबै जलेपछि केही निकाल्न नपाएको बताए। ‘अहिले के गर्ने कस्तो गर्ने भन्नेमा अन्योल छ’, उनले भने, ‘सबैको सरसहयोग रहे पनि हामी भने अलमलमै छौँ।’

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको आगलागीमा परी १५ घर जलेर नष्ट भएपछि यहाँको सिङ्गो तामाङ बस्ती नै बिचल्लीमा छन्। 

गाउँ नजिकै भएको सामुदायिक वनमा भएको आगलागीबाट सिङ्गो गाउँ नै सखाप हुनेगरी जलेपछि अहिले सो ठाउँमा वडा, गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समितिदेखि विभिन्न सङ्घसंस्थाले सहयोग गर्दै आइरहेको छ।

पीडामा परेका परिवारलाई राहतदेखि सान्त्वना प्रदान गर्न सानोपोटामा आफन्त र सहयोगी हातहरूको उपस्थिति हुने क्रम निरन्तर छ। घरभित्र भएको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै जलेपछि बिचल्लीमा परेका यहाँका बासिन्दा राहतको भरमा छन् भने दैनिक कायममा समेत फर्कन सकेका छैनन्।

गाउँपालिका अध्यक्ष दिनेश लामाले घटना भएपछि स्थानीय विपद् व्यवस्थापन समिति निरन्तर रूपमा सहयोगका लागि परिचालन भइरहेको बताए। तत्कालीन रूपमा राहत उपलब्ध गराउन गाउँपालिकाले बुधबार दुई बोरा चामल, दाल, मेष्ट्रिस, नुन, तेल वितरण गरेको उनले बताए।

त्यस्तै,नेपाल रेडक्रस र अन्य सङ्घसंस्थाको सहयोग पनि जारी रहेको समितिले जनाएको छ। त्यससँगै खानेपानीको पाइप जलेर समस्या भएको खानेपानीको आपूर्तिका लागि पालिका लागिरहेको र दीर्घकालीन व्यवस्थापन तथा पुनःस्थापना गर्ने विषयमा छलफल भइरहेको अध्यक्ष लामाले बताए।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले बुधबार स्थलगत अनुगमन गर्दै जिल्लामा एकैपटक धेरै घर जलेको पहिलोपटक भएको जनाएको छ।

घटनापश्चात तत्कालीन राहत तथा व्यवस्थापनका लागि काम भइरहेको र दीर्घकालीन व्यवस्थापनका लागि भएकोलाई मर्मत गर्ने तथा केहीलाई पुनःनिर्माण गर्नुपर्ने हुनसक्ने भएकाले प्राविधिक टोलीबाट क्षतिको पूर्ण विवरण आइसकेपछि तीनै तहका सरकारको सहयोगमा निजी आवास पुनःनिर्माण अनुदानभित्र रहेर व्यवस्थापन गर्न प्रयन्त गरिने उनले बताए।

प्रहरीको प्रारम्भिक विवरणअनुसार आगलागीबाट दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आगलागीबाट १५ घर, सात गोठ तथा चार शौचालय जलेर नष्ट भएका र अझै विस्तृत विवरण आउन बाँकी रहेको छ। -रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ३ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस