भेरीगंगा नगरपालिकाले चालू आर्थिक वर्षका लागि छिन्चु खोला, तोली खोला र कालपानी खोलामा २४ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन तथा संकलनको अनुमति दिएको छ।
नदीजन्य पदार्थको संकलन तथा उत्खनन्का लागि दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–८ ठेगाना रहेको हिमाल कन्ट्रक्सनले ६८ लाख ९६ हजारमा ठेक्का लिएको छ।
प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनमा नदीजन्य पदार्थको उत्खनन तथा संकलनमा ठूला मेसिनरी औजार प्रयोग निषेध गरिएको छ। बेल्चा, गैटा, खन्टी, घनलगायतका हाते औजार प्रयोग गरेर नदीजन्य पदार्थ संकलन गर्ने उल्लेख भएपनि छिन्चु, तोली र कालपानी खोलामा एक्स्काभेटर र डोजर प्रयोग गरेर नदीजन्य पदार्थको दोहन भइरहेको छ।
नदीजन्य पदार्थ उत्खनन तथा संकलनको ठेक्का सम्झौता दैलेखको हिमाल कन्स्ट्रक्सनसँग भएपनि काम भने मेयर यज्ञप्रसाद ढकालका छोरा मेघराज ढकालले गरिरहेका छन्।
‘मेयरकै छोराले काम गरिरहेकाले यो विषयमा बोल्ने र कानुन कार्यान्वयन गर्ने हिम्मत कसैले गरेका छैनन्,’ एक कार्यपालिका सदस्यले भने, ‘खोलामा मेयरका छोराको पूरै मनपरी चलिरहेको छ।’
हुन पनि केही दिनअघि इलाका प्रशासन कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक मन्दिप चौहान, नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीले उल्लेखित खोलाहरुको स्थलगत अनुगमन गरेका थिए।
अनुगमनका क्रममा ठूला मेसिनरी औजार प्रयोग गरेर नदीजन्य पदार्थको दोहन भइरहेको पाइएको थियो। ०.७५ सेन्टिमिटरसम्म मात्रै नदीजन्य पदार्थको उत्खनन गरिनुपर्ने सम्झौतामा उल्लेख भएपनि ८० सेन्टिमिटरभन्दा बढी गहिरो गरेर खोला उत्खनन गरिएको छ। जसले गर्दा छिन्चु खोला, मुरली खोला र कालपानी खोलामा ठूलाठूला ताल बनेका छन्।
अवैध उत्खनन्ले ताल बनेको क्षेत्र।छिन्चु खोलाको किनारै किनार रत्न राजमार्ग छ। नगरपालिकाका कर्मचारी र प्रहरी यहीँ बाटो दैनिक आउजाउ गर्छन्। सम्झौतामा ठूला मेसिनरी औजार प्रयोग नगर्ने उल्लेख गरिएपनि दिन दहाडै एक्स्काभेटर र डोजर खोलामा देखिन्छन्। तर, अनुगमन गर्ने, ठेक्का लगाउने र कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने निकायहरु भने मौन छन्।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पोखरेल खोलाको अनुगमन गर्दा सम्झौता विपरीत काम भएको पाइएपनि कारबाही प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा अन्योल भइरहेको बताए।
‘कार्यपालिकाले दिएको निर्देशन हामी कर्मचारीले पालना गर्ने हो,’ उनले भने, ‘खोलामा सम्झौता विपरीत काम भइरहेको देखिन्छ, कारबाही गर्न कार्यपालिकाले अनुमति दिँदैन।’
उनले मेयरका छोरा नदीजन्य उत्खनन्मा संलग्न भएको बारे आफूलाई जानकारी नभएको बताए। ‘हामीले प्रक्रिया अनुसार नै ठेक्का लगाएका हौं, ठेक्का दैलेखको एक कम्पनीले पाएको छ,’ उनले भने, ‘मेयरका छोराको संलग्नताका विषयमा मलाई जानकारी छैन।’
उनले यसो भने पनि नगरपालिकाबाट हिमाल कन्स्ट्रक्सन कम्पनीको प्रतिनिधिका रुपमा मेयरका छोराले आम्दानी रसिद बुझेको देखिन्छ।
नगरपालिकाबाट मेयरका छोराले बुझेको आम्दानी रसिद ।‘नदीजन्य पदार्थको ठेक्का लिएकाले जसलाई प्रतिनिधिका रुपमा खटाउँछ, हामीले उसैलाई रजिष्टरमा हस्ताक्षर गराएर दिन्छौं,’ प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भने, ‘मेयरका छोराले रसिद बुझेको बारेमा मलाई जानकारी भएन।’
उनले चार दिनका लागि नदीजन्य पदार्थको उत्खनन रोक्न पत्राचार गरिएको बताए। उनले यसो भनिरहँदा छिन्चु खोलामा एक्स्काभेटर र डोजर प्रयोग गरेर नदीजन्य पदार्थको दोहन भइरहेको थियो।
‘हामीले त पत्राचार गरिसकेका थियौं,’ उनले आश्चर्य भावमा भने, ‘अहिले पनि खोलामा डोजर पसेका छन् र ?’ उनले आइतबार फेरि नदीजन्य पदार्थको उत्खनन भइरहेको विषयमा अनुगमन गर्ने तयारी भइरहेको बताए।
‘पहिले पनि अनुगमन भएको हो, सम्झौता र आईइइ प्रतिवेदन भन्दा धेरै उत्खनन भएको पाइएको थियो,’ उनले भने, ‘आइतबार फेरि अनुगमन गर्ने तयारी गरिरहेका छौं।’
भेरीगंगा–१२ का वडाध्यक्ष रामबहादुर डाँगीले जथाभाबी नदीजन्य पदार्थको उत्खनन्ले खोलाहरु उडान भएको बताए। ‘कहीँ तालजस्ता खाडल छन्, कहीँ नदीलाई पनि फर्काइएको छ,’ उनले भने, ‘यस्तै अवस्था रह्यो भने ठूलो विनास हुने सम्भावना छ।’
उनले उत्खनन रोक्न पटक–पटक प्रमुख प्रशासकीय अधिकृत र मेयरलाई भने पनि सुनुवाइ नभएको बताए। ‘म सहित अनुगमनमा जाँदा सम्झौता विपरीत उत्खनन गरिएको, आईइइ प्रतिवेदन भन्दा धेरै नदीजन्य पदार्थ संकलन गरिसकेको, खोला, कुला र खानेपानीका मुहानमासमेत क्षति पुर्याएको पाइएको थियो,’ उनले भने, ‘हामीले तत्काल उत्खनन रोकेर छानबिन गर्न माग गरेपनि सुनुवाइ भएको छैन।’
वडाध्यक्ष डाँगीले सम्झौता एउटा फर्मसँग भएपनि मेयर यज्ञप्रसाद ढकालका छोरा मेघराज ढकालले काम गरिरहेको बताए। ‘त्यसैले त मेयरले पनि उत्खनन रोक्ने, अनुगमन गर्ने विषयमा आलटाल गर्दै आएका छन्,’ उनले भने। एक कर्मचारीका अनुसार मेयरका छोरा नै प्रत्यक्ष संलग्न भएकाले कर्मचारीले मात्रै चाहेर केही सम्भव छैन।
नदीजन्य पदार्थको दोहनमा प्रहरीको मौन समर्थन देखिन्छ। इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक चौहानले पाँच दिनका लागि खोलामा नदीजन्य पदार्थ उत्खनन रोक्ने पत्र आए अनुसार काम भइरहेको बताए।
उनले यसो भनिरहँदा छिन्चु खोलामा एक्स्काभेटर लगाएर नदीजन्य पदार्थ संकलन भइरहेको थियो। उनले आईइइ गरेको ठाउँहरूमा मापदण्ड अनुसार नदीजन्य पदार्थ संकलन गर्न पाउने भएपनि बाँकी ठाउँको विषयमा प्रहरीलाई जानकारी नहुने बताए।
‘कहाँ–कहाँबाट नदीजन्य पदार्थ संकलन गर्न पाउने हो, कहाँ–कहाँ नपाउने हो त्यो हामीलाई जानकारी हुँदैन,’ उनले भने, ‘रिपोर्ट भएपछि सोही अनुसार गछौं।’
मेयर यज्ञप्रसाद ढकालका छोरा मेघराज ढकालले नदीजन्य पदार्थ उत्खननसँग आफ्नो सरोकार नभएको बताए। उनले नदीजन्य पदार्थको ठेक्का लिएको व्यवसायीले रसिद पठाइदिनु भनेकाले आफूले सहजीकरण मात्रै गरेको बताए।
‘नदीजन्य पदार्थको उत्खनन र संकलनमा मेरो संलग्नता छैन, सहजीकरण गरेको हुँ,’ उनले भने, ‘योसँग सम्बन्धित मान्छे म होइन, तपाईँको टाउको किन दुख्यो ?’
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कम्तीमा २० स्वर्ण पदक जितेर पदक तालिकामा चौथो स्थान हासिल गर्ने लक्ष्य राखेको छ।
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको हो।
मंसिर १६ देखि २७ गतेसम्म औपचारिक रूपमा प्रतियोगिता सुरु हुने भनिए पनि केही खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन्।
प्रतियोगिताका खेलहरूमध्ये पौडी र टेनिसका स्पर्धा सम्पन्न भइसकेका छन्। नेपालगन्जमा सम्पन्न पौडी प्रतियोगिताका २३ विधामा प्रतिस्पर्धा गर्दै एनआरएनएका खेलाडीले उल्लेखनीय सफलता हात पारेका छन्।
पौडीमा अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने मिखा थापाले ५ स्वर्ण र ३ कांस्यसहित कुल ८ पदक तथा अमेरिकाका खेलाडी लिली बोहराले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल १२ पदक जितेका छन्।
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएले कम्तीमा २० स्वर्ण, १० रजत र ५ कांस्य गरी कुल ३५ पदक जितेर चौथो स्थानमा पुग्ने लक्ष्य लिएको छ।
२०७६ सालमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विभागीय टोलीसरह मान्यता पाउने समझदारीपत्रमा हस्ताक्षर गरेसँगै एनआरएनएले पहिलो पटक आठौं राष्ट्रिय खेलकुद खेलेको थियो।
लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण, ३ रजत र ५ कांस्यसहित नवौं स्थानमा रहेको एनआरएनए गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद, २०७९ मा १२ स्वर्ण, ४ रजत र १० कांस्य जित्दै पदक तालिकाको छैटौं स्थानमा उक्लिएको थियो।
एनआरएनएले यसपटक ७९ विधा तथा तौल समूहमा प्रतिस्पर्धा गर्नेछ। एनआरएनएका उपाध्यक्ष एवं स्पोर्ट्स एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाका अनुसार विश्वभर छरिएर रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूमिसँग जोड्ने तथा नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले ११ खेलमा सहभागिता जनाइएको हो।
थापाका अनुसार व्यक्तिगततर्फ एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराँते, फुल-कन्ट्याक्ट कराँते, लन टेनिस, पौडी र टेबल टेनिस तथा सामूहिकतर्फ क्रिकेट गरी ११ खेलमा सहभागिता रहेको छ।
बक्सिङसहित कुल १२ खेलमा खेलाडी दर्ता गरिए पनि समयतालिकामा फेरबदल भएकाले बक्सिङमा सहभागी हुन नसकिएको स्पोर्ट्स एकेडेमीका सदस्यसचिव स्वयम्भूराज डंगोलले जानकारी दिए।
कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले डायस्पोरामा रहेका नेपालीलाई खेलकुदको माध्यमबाट मातृभूमिसँग जोड्ने अभियानमा रहेको बताए।
आगामी दिनमा नेपाल सरकारसँग मिलेर खेलकुदको क्षेत्रमा काम गर्न एनआरएनए तयार रहेको उनको भनाइ थियो।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एनआरएनएका व्यवस्थापन प्रमुख तथा आइसीसी उपाध्यक्ष मनोज श्रेष्ठ (गोर्खाली) ले विभागीय टिमहरूसँग प्रतिस्पर्धाभन्दा पनि विदेशमा हुर्किएको पुस्तालाई नेपालको खेलकुदबारे बुझाउन सहभागिता जनाएको बताए।
उनले आठौं र नवौंको तुलनामा यसपटक पदक तालिकामा सुधार हुने अपेक्षा व्यक्त गरे।
उपाध्यक्ष तथा दशौं राष्ट्रिय खेलकुदको आर्थिक संयोजक प्रवीण गुरुङले सबैको साथसहयोगले सहभागिता सम्भव भएको उल्लेख गर्दै खेलाडीको सुविधामा कुनै कसर बाँकी नराख्ने बताए। उनले सहयोगका लागि आइसीसीका सबैलाई अपिलसमेत गरे।
महासचिव डा. चिरञ्जीवी खड्काले खेलाडीको सुविधाका लागि सचिवालयले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै अहिले केही कमजोरी देखिएको भए सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
पत्रकार सम्मेलनमा एनआरएनए खेलाडी छनोट प्रक्रियालगायत विषयमा उठेको जिज्ञासामा प्राविधिक निर्देशक रवि शाहीले सबै कागजात हेरेरमात्रै खेलाडी खेलाइएको बताउँदै समस्या नहुने बताए।
एनआरएनएले शनिबार नै दशौं राष्ट्रिय खेलकुदमा सहभागी हुन जाने केही खेलाडीलाई बिदाइ गरेको छ।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...