गौर भन्सार कार्यालयले गत सोमबार बीस लाखको मल दश लाखमै तस्करको हातमा लिलामी दिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी कार्यवाहीको लागि सम्बन्धित निकायमा प्रतिवेदन पठाएको छ।
प्रहरीले असहज पस्थितिका बाबजुद राजपुरबाट चार राउन्ड गोली चलाएर भारतबाट तस्करी भएर आएको १,३०६ बोरा रासायनिक मल बरामद गरी २० लाख रुपैयाँ मूल्य कायम गरी प्रतिवेदन आइतबार गौर भन्सार कार्यालयको जिम्मा लगाएको थियो। भन्सार प्रमुख वासुदेव नेपाल बिदामा रहेको बेला भन्सारमा कार्यरत नासुहरूले तस्करसँग मिलेर फास्टट्रयाकको बाटो अपनाएर मल लिलामी प्रक्रिया अगाडि बढाएको थियो।
२० लाखको मल १० लाख दुई हजारमै लिलामी गरेको नागरिक न्युजले बारम्बार समाचार प्रकाशन गर्न थालेपछि रासायनिक मल लिलाम प्रक्रियामा ठूलो रकमको चलखेल भएको रहस्यहरू बाहिरिँदै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले लिलाम प्रक्रियामा सहभागी तिनवटै फर्म र भन्सार प्रमुख वासुदेव नेपाल, नायब सुब्बाहरू शिव हरि निरौला, गजेन्द्र थापा, रेवती रोक्का, नवीन कुमार ठाकुर र निशा सराफसँग बयान लिएको छ।
लिलाम प्रक्रियामा जय माता दी जेनरल सप्लायर्स गौर, जैएमडी सप्लायर्स गौर र जय मा दुर्गा सप्लायर्स राजपुरलाई भन्सारका कर्मचारीहरुले मिलेमतो गरेर समावेश गराएका थिए। लिलामीको तारतम्य सबै नासु रेवती रोक्काले मिलाएर औपचारिक पूरा गर्न सम्बन्धित निकायलाई बोलाएका थिए। मिलेमतोमा आधा मूल्यमा मल खाद लिलाम भएको खबर बाहिरिएपछि जिल्ला प्रशासन कार्यालयसहितको ध्यान आकृष्ट भएको थियो।
जिल्ला प्रशासन कार्यालय रौतहट स्रोतका अनुसार गौर भन्सार प्रमुख वासुदेव नेपालले आफू बिदामा रहेको बेला भन्सारमा कार्यरत नासुहरूले गुड फेजमा लिलाम प्रक्रियामा सही गराएको स्वीकार गरेका छन्। पानीले रासायनिक मल नष्ट भइरहेको तारन्तार फोन गर्न थालेपछि बिदामा रहेका नेपालले लिलाम प्रक्रिया अगाडि बढाउन भनेका थिए।
मल खाद लिलामी भएको दिन गत सोमबार बेलुकी छ बजेको समयमा कार्यालय पुगेपछि भन्सारमा कार्यरत सबै नासुहरूले सही गरिसकेको तपाई स्वीकृत गर्दिनू भन्दै मुद्दामा कार्यरत नासु रेवती रोक्का र भन्सारको तत्कालीन निमित्त जिम्मेवारी पाएका नासु शिव हरि निरौला तथा गजेन्द्र थापाले दबाब दिएको नेपालले बताएका छन्। कार्यालयका कर्मचारीहरु सबैको एकमत हुँदा आफूलाई विश्वास लागेर लिलामीमा हस्ताक्षर गरेको भन्सार प्रमुख नेपालले बयानमा स्वीकार गरेका छन्।
लिलामी प्रक्रियाबारे केही जानकारी नभएको भन्सारमा कार्यरत अन्य सुब्बाहरूले हस्ताक्षर गरेको कारण आफूलाई पनि हस्ताक्षर गर्न भनेपछि वहाँहरूको गुड फेथमा लिलामी प्रक्रियामा हस्ताक्षर गरेको नासु निशा सर्राफले बयान गरेकी छिन। भन्सारकै अन्य शाखामा कार्यरत नासु नवीन कुमार ठाकुरले तीन जना नासुले हस्ताक्षर गरिसकेपछि मलाई सही गर्न भनेको आधारमा हस्ताक्षर गरेको स्वीकार गरेका छन्।
जिल्ला प्रशासन स्रोतका अनुसार लिलामी प्रक्रिया भन्सार ऐनमा टेकेर ऐन नियम कानुन अनुसार गरिएको सुब्बात्रय शिव हरि निरौला, रेवती रोक्का र गजेन्द्र थापाले जिल्ला प्रशासन कार्यालय रौतहटमा बयान दिएका छन्।
जिल्ला प्रशासन कार्यालयले अवैध रूपमा रासायनिक मल लिलाम प्रक्रियामा सहभागीहरूलाई प्रारम्भिक चरणको अनुसन्धान र बयान सकेर कार्यवाहीको लागि सम्बन्धित निकायमा पठाउनको लागि प्रतिवेदन तयार भइरहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताएका छन्।
लिलाम प्रकरणमा दोषी देखिएका कर्मचारीहरुलाई कार्यवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भन्सार विभाग, अर्थ मन्त्रालय पठाउने तथा लिलामी प्रक्रियामा सहभागी फर्मका सञ्चालकलाई कार्यवाहीको लागि अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा पठाइने स्रोतबाट बुझिएको छ।
प्रहरीले अवैध मल बरामद गरी भन्सारलाई बुझाएकोमा भन्सारले पनि अवैध तरिकाले लिलामी गरेपछि गौर भन्सार कार्यालयको बदनामी भएको छ।
मोटो कमिसन आउने मललाई एक दिनमै लिलामी गरेको भन्सार कार्यालयले चार सय भन्दा बढी बोरा मल भन्सारमा आएको कैयौँ दिन बितिसक्दा पनि लिलामी गर्न सकेको छैन।
नवलपुर। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु भएको छ।
सडक किनारमा रोकेर टायर फेर्दै गरेको बा प्र ०१–०३० च १०९७ नम्बरको पिकअपलाई गैँडाकोटबाट बुटवलतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०४५० नम्बरको ट्रकले आज दिउँसो पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पिकअप चालक मकवानपुरको हेटौँडाका ३० वर्षीय अमर देउलाको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनापछि उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याइएका देउलालाई चिकित्सकले मृत घोषणा गरेका थिए।
ठक्कर दिने ट्रक र त्यसका चालक मकवानपुरको मनहरि गाउँपालिका–५ का ३० वर्षीय खुसिलाल घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घलानविरुद्ध सवारी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए।
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...