सधैं त्रासको यात्रा
१५ असोज २०७३
•
१४ मिनेट पाठ
सधैं त्रासको यात्रा
चितवन- राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग हुन्— नारायणगढ–मुग्लिङ सडक र मुग्लिङदेखि सुरु हुने पृथ्वी राजमार्ग। यी सडकको लामो खण्ड त्रिशूली किनारैकिनार हुँदै गएको छ। साँघुरो सडकमा दुर्घटनाको उच्च जोखिम त छँदै छ, दुर्घटना पनि दोहोरिए।

नारायणगढ–मुग्लिङ सडकखण्ड विस्तार कार्य सुरु भएकाले पनि अहिले यहाँ लामो सवारीजाम खेप्नुपरेको छ। अर्कोतिर ठूला दुर्घटनाबाट यो खण्ड अछुतो रहेन। भदौ १० बिहानै गौरबाट पोखरा जाँदै गरेको यात्रु बस नारायणगढ–मुग्लिङ सडकको कालिखोलाबाट त्रिशूली नदीमा खस्दा २२ जनाको ज्यान गयो, १६ घाइते भए।

त्यसको एक महिना नबित्दै असोज ९ गते मुग्लिङ र कुरिनटारको बीचमा पर्ने पृथ्वीराजमार्गको घोप्टेभीरमा पूर्वमुख्यसचिव तथा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको जिप दुर्घटना भयो। सडकबाट लगभग डेढ सय मिटर तल त्रिशूली नदीमा खसेर जिपसहित घिमिरे र उनका दुई भाइ पनि बेपत्ता भए। घटनामा तीनको निधन भयो भने एक घाइते छन्।

धेरै यात्रु हताहत भएको कालिखोलाको बस दुर्घटना र घोप्टेभीर दुर्घटना अहिले चर्चामा छ। तर, यस क्षेत्रमा दुर्घटनाको खबर नौलो होइन। तथ्यांकहरूले देखाएअनुसार यस क्षेत्रमा दुर्घटनाका कारण वर्षमा औसत ३१ जनाको ज्यान जाने गरेको छ। चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाभर दुर्घटना भएर ज्यान जाने संख्यामध्ये एक तिहाइको निधन यही सडक खण्डमा हुन्छ।

नारायणगढ–मुग्लिङ सडकखण्ड ३६ किलोमिटर लामो छ। मुग्लिङदेखि सुरु हुने पृथ्वीराजमार्गको १७ किलोमिटर क्षेत्र चितवन जिल्लामा पर्छ। ५३ किलोमिटर सडकको अधिकांश भाग त्रिशूली नदी किनार हुँदै गएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिङको क्षेत्रभित्र पर्ने सो खण्डमा आर्थिक वर्ष ०६३/६४ देखि यो आर्थिक वर्षको पहिलो महिना साउनसम्म ३१० जनाको ज्यान गएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार सोही अवधिमा चितवनभर सडक दुर्घटनाका कारण ज्यान जानेको संख्या ९ सय ५८ थियो।

गाडी बढे बाटो बढेन

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख मुकुन्द अधिकारी सडकभन्दा गाडीको चाप धेरै भएकाले जोखिम बढेको बताउँछन्। 'सडक ४० वर्षभन्दा पहिले बनेका हुन्। गाडीको संख्या र आकार सबै बढे बाटो मात्रै बढेन। दुर्घटना धेरै हुनुको कारण यो पनि हो,' प्रमुख अधिकारीले भने। उनका अनुसार सुरुवाती समयमा दिनमा मुस्किलले हजार गाडी गुड्ने सडकमा अहिले १० हजारसम्म गुड्छन्।

'त्यो बेलाभन्दा अहिलेका ट्रकको साइज नै कति लामो कति फराकिलो छ। बाटो त साँघुरो नै हो। दुर्घटना हुनुमा यसको पनि भूमिका छ,' डिभिजन सडक कार्यालयमा प्रमुख अधिकारीले भने, 'सडक साँघुरो, घुमाउरो त छ नै, बिग्रे–भत्केको पनि उत्तिकै छ। नदीमै जोडिएर बनेको सडकमा उचित पर्खालसम्म छैन।'

भदौ १० गते यात्रु बस खसेको ठाउँमा रहेको सडक रेलिङ निकै कमजोर खालको थियो। जसलाई भत्काउँदै बस सडकबाट लगभग दुई सय मिटर तल त्रिशूली नदीमा खस्यो। पूर्वगृहमन्त्री घिमिरे चढेको जिप खसेको ठाउँको अवस्था पनि त्यस्तै देखिन्छ। अलि घुमाउरो ठाउँमा लगाइएको बार भत्केका कारण जिप रोकिन सकेन।

यहीं स्थानबाट भदौ २४ मा एउटा मालवाहक ट्रक त्रिशूलीमा खसेर हराएको थियो। त्यो बेला भत्केको बारको फलामे रेलिङ मर्मत नहुँदै घिमिरे चढेको जिप खस्यो। यो ठाउँबाट यी दुई गाडीबाहेक अरु पनि केही जिप र कार खसेर नदीमा बेपत्ता भएको स्थानीय बताउँछन्।

मर्मतमा बेवास्ता

भदौ १० को बस दुर्घटनापछि चितवन जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले दुर्घटनाका दृष्टिले जोखिममा रहेका सम्भावित स्थलको पहिचान गरे। प्रहरीले जोखिमयुक्त ३८ ठाउँ पहिचान गरी मर्मतका लागि नारायणगढ–मुग्लिङ सडक आयोजना र डिभिजन सडक कार्यालयमा अनुरोध गरेको छ।

घिमिरेको जिप खसेको ठाउँमा पनि मर्मतका लागि अनुरोध गरिएको थियो। तर, घटना भएपछि त्यहाँ रेलिङ राखियो। प्रहरीले नारायणगढ–मुग्लिङ सडकका ३२ र पृथ्वीराजमार्गको चितवनभित्र पर्ने मौवा खोलासम्मको ६ स्थानमा जोखिम पहिचान गरेर मर्मतका लागि अनुरोध गरेको थियो। पृथ्वीराजमार्गमा मर्मतको काम पूरा भएको डिभिजन सडक कार्यालयमा प्रमुख अधिकारीले बताए।

नारायणगढ मुग्लिङतर्फ नदी किनार छेक्ने रेलिङ राख्ने काम सकिए पनि पुलमा रेलिङ राख्न बाँकी नै रहेको सो सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए। '३२ ठाउँमध्ये १८ वटा पुलको रेलिङ राख्न छ। अरु रेलिङ र संकेत बोर्डहरू राख्ने हो। पुलको रेलिङ राख्न बाँकी नै छ। त्यो बाहेकका काम ९० प्रतिशत सकियो,' खनालले भने।

असोज ४ मा चितवन जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा आयोजनाका प्रमुख चन्द्रनारायण यादवले भने असोज १० भित्रै सबै काम पूरा हुने प्रतिबद्धता व्यक्त गरेका थिए। तर, काममा विलम्ब हुँदै गएको छ। आयोजनाका सूचना अधिकारी खनाल रेलिङको डिजाइन स्वीकृति हुनुपर्ने भएका कारण केही समय लागेको बताउँछन्।

चालक पनि होसियार छैनन्

दुर्घटना बढ्नुमा मुख्य दोष चालककै हो भन्छन्, चितवन जिल्ला प्रहरी कार्यालय प्रमुख, एपी वसन्त कुँवर। नारायणगढ मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनाल पनि दासढुंगा पार भएसँगै पहाडी बाटो सुरु हुने हुँदा चालकहरू सोहीअनुसार होसियार हुनुपर्नेमा नभएको पाइएको बताउँछन्।

'समथर क्षेत्रमा भन्दा पहाडी बाटोमा दुर्घटनाको खतरा दोब्बर हुन्छ। चालकले यो कुरा ख्याल राखेर त्यहीअनुसार गाडी चलाउनुपर्छ। संकेत बोर्डहरू हेर्नुपर्छ। यसो गर्दा पनि दुर्घटना कम हुन्छ,' इन्जिनियर खनालले भने। डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख मुकुन्द अधिकारी पनि चालक होसियार हुनुपर्ने बताउँछन्।

उनले भने, 'चालकले सडकअनुसार गाडी चलाउनुपर्‍यो। पहाडी बाटो हो, घुम्ती छ, साँघुरो छ भने होसियारका साथ चलाउने दायित्व पनि चालकको हो।' घिमिरेको जिप खसेको भन्दा लगभग ३० मिटर वर एउटा बोर्ड राखिएको छ। जसमा सो क्षेत्र अति दुर्घटनाग्रस्त क्षेत्र भएका कारण होसियार भएर गाडी चलाउन अनुरोध गरिएको छ।

यस्ता संकेत चिह्न वास्ता गर्ने परिपाटी नभएका करण दुर्घटना हुने गरेको अधिकारीको मत छ। 'बाटोको अवस्थाअनुसार संकेत चिह्न राख्ने, मर्मत गर्ने काम भइरहेको छ। नारायणगढ–मुग्लिङ सडक नै विस्तार हुँदै छ। तर, यो बाटोको विशेषता के हो भन्ने कुराको ख्याल चालकले राख्नुपर्‍यो,' एसपी वसन्त कुँवरले भने।

सडकबाट खसेपछि बेपत्ता हुने डर

पछिल्लो समय त्रिशूलीमा हराइरहेका पूर्वगृहमन्त्री घिमिरे चढेको जिपको खोजी निकै भयो। प्रयास जारी नै छ, तर अवस्था पत्ता लाग्न सकेको छैन।

एपी कुँवरका अनुसार सडक र त्रिशूली नदीबीचमा दुई सय मिटर अग्लासम्म ठाउँहरू छन्। गाडी खसे सीधै नदीमा जान्छ। गाडीका यात्रु मात्रै होइन, सिंगै गाडी हराउने गरेको छ। ०७१ सालयता गएको साउनसम्म सो सडकबाट २० वटा गाडी खसेको प्रहरीले जनाएको छ। जसमा ४० जनाको निधन भएको छ। घाइते ५८ जना भएका छन् भने नदीमा बेपत्ता हुनेको संख्या १९ छ।

दुर्घटनासँगै यात्रु र गाडी नै हराउने समस्या रहे पनि उद्धारको उचित प्रबन्ध हुन सकेको छैन। घिमिरेको खोजीमा प्रगति हुन नसकेपछि सुरक्षा अधिकारी र आफन्तले आधुनिक उपकरण र प्रविधि उपयोग गर्न अपिल गरेका छन्। घटनास्थलमा मन्त्री र उच्च सुरक्षा अधिकारी जाने गरेका छन्। उनीहरूसँग यस्तो माग राख्ने गरिएको छ।

'मान्छेले सक्ने गरेकै छौं। यस्तो वेग र गहिरो नदीभित्र २५ मिटर तलसम्म गएर खोजे पनि केही पत्ता लागेको छैन,' मध्य क्षेत्र ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी ईश्वरी चापागाईंले भने। दुर्घटना स्थलमा असोज १० गते यातायातमन्त्री रमेश लेखक नै पुगेका थिए। एसपी चापागाईंले लेखकसँग खोजीमा उपकरणको व्यवस्था हुनुपर्ने माग गरेका थिए।

'पानीमा राखेर तलसम्म हेर्न मिल्ने क्यामेरा, एक्स–रे मेसिनजस्ता उपकरण यस्तो खोजीमा आवश्यक हुन्छ। त्यो व्यवस्था गर्नुपर्‍यो,' मन्त्री लेखकसँग एसपी चापागाईंले भने।

एसपी कुँवरका अनुसार नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीको समेत गरेर डेढ सयजनाको टोली उद्धारमा खटेको छ।

र्‍याफ्टिङ बोट, डोरी र हुकजस्ता परम्परागत उपकरणको प्रयोगले खोजी कार्य हुँदा उचित प्रगति हुन नसकेको पाइयो। 'नदीको पिँधसम्म र परसम्म देख्न मिल्ने उपकरण भए सहज हुन्थ्यो। हामीसँग जे छन्, तिनै प्रयोग गरी खोजेका छौं,' एसपी कुँवरले भने।

सुरक्षा अधिकारी र आफन्तको कुरा सुनेपछि मन्त्री लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि सम्पर्क गरेर उपकरणको विषयमा कुरा गरेका थिए। यस्तो संवेदनशील क्षेत्रमा त्यस्ता उचित र आधुनिक उपकरण र क्रेनहरू राख्न सरकार संवेदनशील हुने मन्त्री लेखकको भनाइ थियो। तर, त्यस दिशामा सोचेअनुरूपको काम हुनसकेको छैन।

नारायणगढ–मुग्लिङ सडकलाई एसियाली मापदण्डअनुरूपको दुई लेनको बनाउने काम सुरु भएको छ। सन् २०१७ को अप्रिलसम्म काम सक्ने लक्ष्य राखेर विस्तार सुरु भए पनि प्रगति त्योभन्दा आधा छ। अधिकारी सो सडक पूरा भए दुर्घटना जोखिम घट्ने आँकलन गर्छन्।

'सडक फराकिलो भएपछि दुर्घटना घट्छ। अहिले जोखिम ख्याल राख्दै सजग भएर गाडी चलाउनु नै सुरक्षित हुने मुख्य उपाय हो,' डिभिजन सडक कार्यालयका प्रमुख मुकुन्द अधिकारीले भने।
अर्को समाचार
छाडा पशुचौपायाका बहुआयामिक असर
२० जेष्ठ २०८३
•
६ मिनेट पाठ
छाडा पशुचौपायाका बहुआयामिक असर
एक समय थियो, गाउँघरका हरेक गोठ गाईगोरुले भरिएका हुन्थे। बिहान सबेरै किसानहरू हलो काँधमा बोकेर खेततिर निस्कँदा गोरु उनीहरूका मुख्य साथी हुन्थे। खेत जोत्न, मल उत्पादन गर्न, दूध दिन र घरपरिवारको आर्थिक आधार बन्न गाईगोरुको महत्त्वपूर्ण भूमिका थियो। गाउँको सम्पन्नता गोठमा बाँधिएका चौपायाको सङ्ख्यासँग तुलना गरिन्थ्यो।

तर समयसँगै कृषि प्रणाली बदलिँदै गयो। आधुनिक प्रविधिको प्रयोग बढेसँगै खेत जोत्न ट्रयाक्टर भित्रिए। दूध नदिने गाई र काम गर्न नसक्ने गोरु किसानका लागि उपयोगीभन्दा बढी आर्थिक भार बन्न थाले।  पालनपोषण खर्चिलो बन्दै जाँदा धेरै किसानले गाईगोरु खुला छाड्न थाले। यही प्रवृत्तिले अहिले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा छाडा चौपाया समस्या गम्भीर सामाजिक र वातावरणीय चुनौतीका रूपमा देखापरेको छ। राजमार्गदेखि ग्रामीण सडकसम्म छाडा गाईगोरु देखिन्छन्। बजार क्षेत्र, सार्वजनिक स्थान, खेतबारी र वन क्षेत्रसम्म उनीहरूको पहुँच पुगेको छ। सडक दुर्घटना, खेतीपातीमा क्षति, वन विनाश र व्यवस्थापनको अभावले समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ।

सडकमा बढ्दो जोखिम

पूर्वपश्चिम राजमार्ग हुँदै रातिको समयमा यात्रा गर्ने धेरै चालकका लागि छाडा चौपाया त्रासको विषय बनेका छन्। सडकको बीचमै सुतेका वा अचानक सडक पार गर्ने गाईगोरुका कारण दुर्घटनाको जोखिम बढेको छ। विशेषगरी राति र हिउँदको कुहिरो लागेको समयमा दुर्घटनाको सम्भावना झनै बढी हुने गरेको छ।

घोडाघोडी नगरपालिका–१, सुख्खडका हरिलाल सापकोटा छाडा चौपायाका कारण स्थानीयले समस्या झेलिरहेको बताउँछन्। उनका अनुसार सडकमा अचानक गाईगोरु निस्किँदा मोटरसाइकल चालकहरू धेरै जोखिममा पर्ने गरेका छन्। कतिपय अवस्थामा दुर्घटनामा मानिसले ज्यानसमेत गुमाएका छन् भने चौपायाहरूसमेत मर्ने गरेका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कैलालीको अध्ययनअनुसार कैलाली र कञ्चनपुरका सडक क्षेत्रमा मात्रै करिब तीन हजारभन्दा बढी छाडा चौपाया छन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार प्रदेशमा हुने सडक दुर्घटनामध्ये दुई प्रतिशत दुर्घटना छाडा पशुचौपायाका कारण हुने गरेका छन्।

उनी भन्छन्, “राजमार्ग क्षेत्रमा गाईगोरु नियन्त्रणका लागि पटकपटक अभियान सञ्चालन गरिए पनि दिगो समाधान नहुँदा समस्या छ। सडकमा छाडा चौपायाले निम्त्याएको समस्या केवल दुर्घटनामा सीमित छैन। यसले यात्रुमा मानसिक त्राससमेत सृजना गरेको छ। रातिको समयमा लामो दूरीमा यात्रा गर्ने चालकहरू विशेष सतर्क रहनुपर्ने अवस्था छ।”

खेतबारीमा सङ्कट

छाडा चौपायाको सबैभन्दा ठूलो असर किसानको खेतबारीमा देखिएको छ। मिहिनेत गरेर लगाइएको बाली रातारात गाईगोरुले खाइदिँदा किसान चिन्तित बन्न थालेका छन्। हाल धानको बीउ छर्ने समय भए पनि बीउ नै जोगाउनसमेत समस्या हुने हो कि भन्ने चिन्ताले सताएको किसान डम्बर विष्ट बताउँछन्। कैलालीकी किसान पार्वती खत्रीका अनुसार खेतमा लगाएको धान, गहुँ, मकै र तरकारी जोगाउन रातभर जाग्राम बस्नुपर्ने अवस्था छ। “दिनभर खेतमा काम गरियो, राति फेरि बाली जोगाउन चौपाया धपाउनुपर्छ”, उनी भन्छन्।

घोडाघोडी नगरपालिका–३ का किसान टेकबहादुर चौधरी पनि छाडा चौपायाका कारण खेतीपाती गर्नै कठिन बन्दै गएको बताउँछन्। उनी भन्छन्, “गाईगोरुले  खेतको मकै र तरकारी नष्ट गरिदिने गरेका छन्। महिनौको मिहिनेत केही घण्टामै सकिन्छ, बाली हुर्काउन नै कठिन हुन्छ।”

विशेषगरी बाली हुर्काउने समयमा किसानलाई बढी समस्या हुने गरेको छ। गाउँका धेरै किसानले खेत वरिपरि काँडेतार लगाउने वा राति पालैपालो खेत कुरुवा बस्ने गरेका छन्।

छाडा पशुचौपायाको समस्या समाधानका लागि स्थानीय तहहरूले विभिन्न प्रयास गरिरहेका छन्। घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतका अनुसार नगरपालिकाले कान्जी हाउस निर्माण गरेर छाडा चौपाया व्यवस्थापनको प्रयास गरेको छ तर सीमित स्रोतसाधन र बढ्दो समस्याका कारण प्रभावकारी व्यवस्थापन गर्न चुनौती भइरहेको उनको भनाइ छ। कान्जी हाउस निर्माण गरिए पनि धेरै स्थानमा व्यवस्थापन कमजोर देखिएको छ। घोडाघोडी, लम्कीचुहा, भजनी, जोशीपुर र गोदावरी क्षेत्रमा निर्माण गरिएका गौशाला तथा कान्जी हाउसमा आहारा, पानी र उचित हेरचाहको अभाव देखिएको छ।

कतिपय स्थानमा गाईगोरु भोकभोकै मर्ने अवस्थासमेत आएको छ। छाडा चौपाया समस्या बढ्नुमा समुदायकै मुख्य भूमिका रहेको स्थानीय रामु बुढाथोकी बताउँछन्। उनका अनुसार मानिसहरूले दूधमात्र उपभोग गर्ने तर गाईगोरुको हेरचाहमा बेवास्ता गर्ने प्रवृत्तिका कारण यस्तो समस्या उत्पन्न भइरहेको छ। दूध दिन छाडेका वा काम गर्न नसक्ने गाईगोरुलाई खुला छाड्ने प्रवृत्ति अझै रोकिएको छैन। छाडा चौपायाको समस्या समाधानका लागी स्थानीय तहले मात्र नभई समुदाय स्वयं जिम्मेवार बन्नुपर्ने घोडाघोडीका नगरप्रमुख खडक रावतको भनाइ छ।

समाधान खोज्दै गौशालाको अभ्यास

समस्याकै बीच केही सकारात्मक अभ्यासहरू पनि भइरहेका छन्।  कैलालीको टीकापुरमा सञ्चालन भइरहेको व्यवस्थित गौशालाले धेरैको ध्यान तानेको छ। टीकापुरस्थित गौशालामा छाडा गाईगोरुको संरक्षणसँगै उनीहरूबाट आर्थिक आम्दानी गर्ने अभ्यास सुरु गरिएको छ। यहाँबाट मल उत्पादन गरिन्छ। उक्त मल किसानमाझ लोकप्रिय बन्दै गएको छ।

गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तमकुमार शाहका अनुसार पहिले किसानलाई मल लैजान आग्रह गर्नुपर्थ्याे। अहिले भने अग्रिम बुकिङ हुने गरेको छ। प्रतिट्रली रु छ हजार ५०० मा गोबर मल बिक्री हुने गरेको उनी बताउँछन्। गौशालामा हाल १० जना कर्मचारी कार्यरत छन्। टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले व्यवस्थापनका लागि बजेट विनियोजन गर्दै आएका छन्, जसले कर्मचारीको तलब तथा अन्य व्यवस्थापनमा सहयोग पुगेको छ। अध्यक्ष शाहका अनुसार गौशालालाई पूर्ण रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित काम भइरहेको छ। गोबरबाट मल उत्पादन, गहुँतको प्रयोग र अन्य आयमूलक गतिविधिमार्फत सञ्चालन खर्च धान्ने योजना बनाइएको छ।

गौशालामा गोबर ग्यास प्लान्टसमेत निर्माण गरिएको छ। उक्त प्लान्टबाट स्थानीय ४० भन्दा बढी घरधुरीलाई प्रतियुनिट ४५ रुपैयाँका दरले ग्यास वितरण गरिएको थियो तर वनक्षेत्र नजिक भएकाले धेरै स्थानीयले दाउरा प्रयोग गर्न सहज ठानेपछि गोबर ग्यासको प्रयोग घट्दै गयो। त्यसपछि हाल ग्यास उत्पादन बन्द अवस्थामा छ। गौशाला व्यवस्थापन समितिका सदस्य दिलबहादुर ठकुल्ला भन्छन्, अब टीकापुर बजार क्षेत्रलाई लक्षित गरेर ग्यास वितरण गर्ने लक्ष्य रहेको छ। उनी भन्छन्, “सिलिन्डरमा ग्यास भरेर वितरण गर्ने योजना बनाइएको छ। यदि यो योजना सफल भयो भने गौशालालाई थप आम्दानीको स्रोत बन्न सक्ने अपेक्षा गरिएको छ।”

चरिचरनले वन वातावरणमा असर

छाडा चौपाया व्यवस्थापनका लागि निर्माण गरिएका गौशाला र कान्जी हाउसले चुनौती पनि थपिँदै गएको छ। अधिकांश यस्ता संरचना सामुदायिक वन क्षेत्रभित्र वा वन नजिकै निर्माण गरिँदा वन अतिक्रमणको समस्या देखिन थालेको छ। गौशाला र कान्जी हाउसमा राखिएका गाईगोरुहरूलाई चरिचरनका लागि वन क्षेत्रमा लगिने गर्दा वन संरक्षणमा थप दबाब सिर्जना भएको छ।

डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत विश्वराज पण्डितका अनुसार खुला र अव्यवस्थित चरिचरनका कारण वनको प्राकृतिक संरचना गम्भीर रूपमा प्रभावित भएको छ।

उनका अनुसार वनभित्र छाडा चौपाया प्रवेश गर्दा साना बिरुवा उम्रिन र हुर्किन नपाउने अवस्था सृजना भएको छ, जसले वनको पुनरुत्पादन प्रक्रियामा दीर्घकालीन असर पारिरहेको छ। “साना बिरुवा उम्रिए पनि टिक्नै सक्दैनन्”, उनी भन्छन्, “गाईगोरुले खाइदिने, कुल्चिने वा नष्ट गर्ने कारण वन पुनरुत्पादन कमजोर हुँदै गएको छ।”

वन क्षेत्रमा अनियन्त्रित चरिचरनले वनस्पति मात्र होइन, माटोको संरचना र गुणस्तरमा समेत असर पारिरहेको संरक्षणकर्मीहरू बताउँछन्। चौपाया धेरै चराउँदा माटो कडा हुने, घाँस–झाडी हराउने र वर्षायाममा माटो बग्ने समस्या देखिने संरक्षणकर्मी विजयराज श्रेष्ठ बताउँछन्। वनभित्र चौपायाको अत्यधिक प्रवेशले जैविक सन्तुलनमा समेत असर पु¥याइरहेको छ।

उनी भन्छन्, “वन्यजन्तुका बासस्थान सङ्कुचित हुने, शान्त वातावरण खलबलिने र वन्यजन्तु विस्थापित हुने अवस्था पनि बढ्छ।”
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस