काठमाडौं– एकीकृत नेकपा माओवादीसँग पार्टी एकीकरणको नाममा पार्टी नै विभाजनको उद्देश्यसहित बोलाइएको नेकपा क्रान्तिकारी माओवादीका रामबहादुर थापा पक्षधरको केन्द्रीय समिति बैठक अलमलमा पर्ने भएको छ।अध्यक्ष मोहन वैद्य एमाओवादीसँग एकीकरण गर्न अनिच्छुक भएको भन्दै थापा पक्षले आजबाट बोलाइएको केन्द्रीय समिति बैठकको अघिल्लो दिन अध्यक्ष बैद्यले जेठ १ गते बैठक बोलाइ दिएपछि केन्द्रीय समिति बैठक अलमलमा पर्न लागेको हो। जसका कारण ११ बजे देखि सुरु हुने भनिएको बैठक १ बजे सरेको छ । थापा पक्षधर शीर्ष नेताहरु अहिले बैठकले के निर्णय लिने भन्ने ? बारेमा अन्तिम गृहकार्य गरिरहेका छन्। 'पार्टी नै बिभाजन गरेर प्रचण्ड (दाहाल)हरुसँग एकता गर्नु हुन्न भन्ने मत बढेको अवस्था देखिएको छ, पार्टी नै बिभाजन गरेर भए पनि जाने निर्णयमा पुर्नविचार हुन सक्छ', थापा निकट केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भने।
उनका अनुसार आजबाट सुरु हुने केन्द्रीय समिति बैठकले माओवादी शक्तिहरुको एकतामा जोड गरे पनि छुट्टिएर निर्णय भने लिन सक्ने सम्भावना कम देखिएको छ । दाहाल नेतृत्वको माओवादीसँग सैद्धान्तिक र वैचारिक बिषय नमिलेसम्म पार्टी एकता गर्नुहुन्न भन्ने अडानमा वैद्य रहँदै आएका छन्। तर, एकतापछि राजनीतिक र बैचारिक बिषय मिलाउनु पर्ने भन्ने थापाको पक्षमा पार्टी भित्र बहुमत केन्द्रीय सदस्य उभिएका छन् । आफनो अडानमा अल्पमतमा परेपछि वैद्यले केन्द्रीय समिति बैठक स्थगित गरिदिएका थिए भने थापाले बहुमत सदस्यको आडमा मंगलबार केन्द्रीय समिति बैठक बोलाइ दिए। कुपोन्डोलस्थित नेवाः राज्य समितिको कार्यालयमा बोलाइएको उक्त बैठकको अध्यक्षता ग्रहण गरिदिनु पर्ने भन्दै वैद्यलाई थापाले पत्रसमेत पठाएका थिए । उक्त बैठकमा सहभागी नहुन बक्तब्य जारी गरेका वैद्यले सो बैठकको अघिल्लो दिन जेठ १ गतेका लागि केन्द्रीय समिति आह्वान गरिदिए ।
जसका कारण थापा पक्षधर थप संकट र अलमलमा परेको छ । थापा पक्षधरले पनि दाहालसँग संविधानलाई हेर्ने दृष्टिकोण, पार्टीको कार्यदिशा र संगठनका बिषयमा कुरा मिलाउन बाँकी छ । थापाको नेतृत्वमा दाहाल नेतृत्वको पार्टीसँग एकता गर्ने भनिए पनि संगठनिक बिषय हल हुन बाँकी छ । मर्यादाक्रम अनुसार भए दाहालपछि र नारायणकाजी श्रेष्ठ भन्दा एक स्टेप माथि थापालाई राखेर दोस्रो दर्जामा राख्नु पर्ने र कार्यकारी पद भए महासचिव दिनु पर्ने थापाको माग रहँदै आएको छ,' स्रोतले भन्यो । वैद्यको पक्षमा सिपी गजुरेल, परी थापा, हरिभक्त कडेँल, रामसिंह श्रिषलगायत छन भने थापाको पक्षमा देव गुरुङ, पम्फा भुषाल, हितमान शाक्य, कुलप्रसाद केसी, सुर्य सुबेदी, महेश्वर दाहाल, लेखनाथ न्यौपानेलगायतका बहुमत नेता रहेका छन्। वैद्यसँग सबन्धबिच्छेद गरेर भए पनि दाहाल नेतृत्वको एमाओवादीसँग पार्टी एकीकरणको योजनासहित बैठक कुन निष्कर्षमा जाने ? भन्न सक्ने अवस्था नभइसकेको अर्का केन्द्रीय सदस्य युवराज भट्टराईले बताए । 'अब कसरी जाने भन्ने निर्णय जारी केन्द्रीय समिति बैठकले गर्नेछ, यसै भन्ने सक्ने अवस्था छैन', भट्टराईले नागरिकन्युजसँग भने । उनका अनुसार १ बजे देखि सुरु हुने बैठक अघि थापा पक्षधर शिर्ष नेताहरुको गृहकार्य जारी छ ।
२७ वैशाख २०७३
•
५ मिनेट पाठ