काठमाडौं- संविधानको प्रारम्भिक मस्यौदा राजपत्रमा प्रकाशित भएपछि छोटो समयका लागि भए पनि जनताको राय सुझावका लागि लैजानुपर्नेमा सभासदले जोड दिएका छन्। संविधानसभामा जारी छलफलमा सहभागी प्रमुख राजनीतिक दलका प्रभावशाली नेताले नै केही समयका लागि भए पनि जनताकहाँ लैजानुपर्ने बताएका हुन्। जनताको राय–सुझावपछि संविधानको प्रारम्भिक मस्यौदामा थप केही संशोधन गर्ने व्यवस्था नियमावलीमा गरिएको छ।
यसअघि तय गरिएको कार्यतालिकामा जनताको राय–सुझावका लागि एक महिना छुट्याइएको थियो तर फास्ट ट्र्याकबाट संविधान बनाउने भन्दै अहिले सञ्चारमाध्यममा प्रकाशन/प्रसारण गरेर जनताको राय–सुझाव लिने आन्तरिक तयारी छ। प्रारम्भिक मस्यौदामा धारणा राख्दै नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सानातिना त्रुटि सच्याएर जनताकहाँ लैजानुपर्ने बताए।
'संविधानसभालाई यति धेरै समय दिएपछि संविधान मस्यौदा केही समयका लागि भए पनि जनतामाझ पुर्याुउनुपर्छ,' नेपालले सोमबार संविधानसभा बैठकमा भने, 'तर लामो समय पर्खिंदा षड्यन्त्र हुन सक्छ। त्यसलाई पनि ध्यान दिनुपर्छ।'
नेपालले जस्तै कांग्रेसका थुप्रै सभासदले जनताको रायका लागि केही समय छुट्याउनुपर्ने धारणा राखेका छन्।
बैठकमा धारणा राख्दै नेता नेपालले संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्ति व्यवस्था गर्नुपर्ने र संसदीय सुनुवाइलाई प्रभावकारी बनाउनुपर्ने बताए। नेपाली कांग्रेसका सभासद नवीन्द्रराज जोशीले पनि संविधानसभाबाट संविधान बनाउने बेलामा प्रक्रिया नछोट्याइ जनताको राय लिनुपर्ने धारणा राखे। 'संविधानसभाबाट संविधान बन्ने अवस्थामा प्रक्रिया छोट्याउने होइन,' उनले भने, 'जनताको राय लिएर संविधान दिने हो, सकेसम्म प्रक्रिया अवलम्बन गर्नुपर्छ। जनताकहाँ जानैपर्छ।'
उनले १६ बुँदे सहमतिले राजनीतिक गतिरोध अन्त्य भएको बताउँदै जनताकहाँ जाने समय दिएको बताए। संविधानको प्रस्तावनामा बहुलवाद राख्न कन्जुस्याइँ नगर्न पनि उनले सुझाए।
कांग्रेसकै रामहरि खतिवडाले मस्यौदामाथि जनताको राय–सुझाव आवश्यक पर्ने धारणा राखे। थ्रेसहोल्डको अनिवार्य व्यवस्था गर्नुपर्ने र प्रतिनिधिसभा बलियो बनाउनुपर्ने उनको भनाइ छ। 'राष्ट्रिय जनावर कसैको चुनाव चिह्न बन्नुहुँदैन,' उनले भने, 'यसमा ध्यान दिनुपर्छ।'
कांग्रेस नेता एवं अर्थमन्त्री रामशरण महतले मस्यौदामा थप छलफल गरेर परिमार्जनको आवश्यकता रहेको बताए। 'परिमार्जनको आवश्यकता छ,' उनले भने, 'तर पनि यसले धेरै पक्षलाई समेटेको छ।' उनले मौलिक अधिकार कार्यान्वयनको पक्षमा आशंका व्यक्त गरे।
'बेरोजगार भत्ता दिने विषय उठाइएको छ, त्यसका लागि थप आम्दानी आवश्यक पर्छ, त्यसतर्फ संविधान मौन छ,' उनले भने, 'व्यक्तिको आम्दानी वृद्धि नभई राज्यको ढुकुटी बढ्दैन। ढुकुटी भर्न प्रगतिशील करको व्यवस्था गर्नुपर्छ, त्यसबारे संविधान मौन छ।' आर्थिक दृष्टिकोणले संविधानको मस्यौदा कमजोर रहेको उनको दाबी छ।
कांग्रेसकै नेता एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले प्रदेशको सीमांकनबिना संविधान जारी गर्नु संघीयताबिनै जारी गर्नुसरह भएको बताए। 'सीमांकन गर्न गाह्रो छैन,' उनले भने, 'तत्काल आयोग गठन गरेर यही संविधानसभाबाट टुंगो लगाउन सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्छ।' सर्वोच्च अदालतले संविधानसभालाई हस्तक्षेप नगरी क्षेत्राधिकार स्पष्ट पारिदिएको उनको बुझाइ छ। नागरिकता सम्बन्धमा भने मस्यौदा अन्तरिम संविधानजत्तिको पनि नभएको उनको धारणा छ।
नेकपा एमालेका नेता अमृतकुमार बोहोराले मस्यौदा समावेशी छैन भन्नेहरूसँग सहमत नभएको बताए। उनले सबैको अधिकार समावेश भएको र समाजवादको आधार तय गरेको धारणा राखे। 'कतिपय कुरा छुटेका छन्,' उनले भने, 'तिनलाई विधिसम्मत तरिकाले समावेश गर्नुपर्छ।' उनले स्थानीय निकायको निर्वाचनबारे संविधानमै स्पष्ट व्यवस्था गरिनुपर्ने धारणा राखे।
एमाले नेता राजेन्द्र पाण्डेले संविधानले दिगो शान्ति र आर्थिक विकासको ढोका खोल्नुपर्ने बताए। 'धर्मको हिसाबले निरपेक्ष भनेका छौं,' उनले भने, 'यसमा धेरै आवाज उठेका छन्, धार्मिक स्वतन्त्रता राख्दा के फरक पर्छ र!'
कांग्रेसका रामकृष्ण यादवले दुईतिहाइ बढीको सहमतिमा आएको संविधानको मस्यौदा मुलुकको हितमा रहेको बताए। आफ्नो कुरा राखेर अरुको नसुनी बहिष्कार गर्दै हिँड्नु प्रजातान्त्रिक संस्कार नभएको उनको टिप्पणी थियो।
कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले लोकतन्त्रको बलियो पक्ष बहुलवाद नै भएकाले प्रस्तावनामा समेटिनुपर्ने धारणा राखिन्।
एमाओवादीका अग्निप्रसाद सापकोटाले १६ बुँदे सहमतिले नेपालको स्वाभिमान स्थापित भएको बताए। नेपालका लागि राष्ट्रपतीय प्रणाली नै आवश्यक रहेको उनको धारणा थियो।
राप्रपा नेपालका दिलनाथ गिरीले जनतालाई केन्द्रविन्दुमा राखेर निर्णय गर्नुपर्ने बताए। 'धर्मनिरपेक्ष जनताको माग होइन,' उनले भने, 'विदेशीको षडयन्त्र हो। विदेशीको अभिष्ट पूरा गर्ने संविधानले नेपाली जनताको चाहना पूरा गर्न सक्दैन। भविष्य राम्रो देखेको छैन। संविधानले सुनामी ल्याउन सक्छ।'
राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले अहिलेको विवादको चुरो नै संघीयता भएकाले गल्ती नदोहोर्यानउन सुझाव दिए। 'पहिले लोकतन्त्र र गणतन्त्र संस्थागत गरौं,' उनले भने, 'लोकतन्त्र छ र पो संसदमा आएर चाकल माडेर बस्न पाएका छौं, कोही थाकुन्जेल उभिएर चिच्याउन पाएका छौं। पहिले लोकतन्त्रलाई संस्थागत गरौं।'
उनले नागरिकता नीति एकदम कडा हुनुपर्ने बताए। 'बाबु बंशज र आमा अंगीकृत भए त्यसलाई बंशजको आधारमा दिन सकिन्छ,' केसीको धारणा थियो, 'आमा बंशज र बाबु अंगीकृत भए बंशज होइन, अंगीकृत पनि अस्वीकार गर्नुपर्छ।'
२१ असार २०७२
•
९ मिनेट पाठ