काठमाडौं– सामान्य प्रशासन मन्त्रालयले विदेशी पिआर तथा ग्रिनकार्ड लिएका कर्मचारीको संख्या १५ मात्र रहेको जानकारी संसदको राज्यव्यवस्था समितिलाई गराएको छ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विदेशी पीआर र ग्रिनकार्ड लिएका कर्मचारीलाई कारबाही गर्ने बताएपछि समितिले विदेशी पिआर र ग्रिनकार्ड लिने सरकारी कर्मचारीको नामावली समितिमा उपलब्ध गराउन निर्देशन दिएको थियो। सो निर्देशनपछि मन्त्रालयले गत साता त्यसता सरकारी कर्मचारी १५ जना रहेको जानकारी समितिलाई गराएको हो। तर ती १५ जनाको नाम मन्त्रालयले उल्लेख नगरेको स्रोतले जनाएको छ। मन्त्रालय स्रोतका अनुसार १५ जनामा उपसचिवदेखि सचिवसम्म छन् ।
वर्तमान सरकार गठनअगावै मन्त्रालयले विदेशी पिआर र ग्रिनकार्ड लिने कर्मचारीलाई आफ्नो नाम मन्त्रालयमा बुझाउन सूचना प्रकाशित गरेको थियो। सूचना जारी भएपछि ती १५ कर्मचारीले आफूहरुसँग विदेशी पिआर तथा ग्रिनकार्ड रहेको भन्दै नाम मन्त्रालयमा बुझाएका थिए। मन्त्रालयले सोही व्यहोरा राज्यव्यवस्था समितिमा बुझाएको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सोमबार नागरिकन्युजलाई बताए।
'उहाँहरुले इमान्दारितासाथ आफ्नो नाम बुझाएकाले नाम सार्वजनिक नगरिएको हो,' मन्त्री पण्डितले भने, 'अन्य कर्मचारीको विषयमा हामीले छानबिन नै गरेका छैनौं।' उनले धेरै कर्मचारीले पिआर र ग्रिनकार्ड लिएको उजुरी परेको भए पनि प्रमाणित नभएकाले कसैलाई पनि दोषी मान्न नसकिएको बताए।
'आफैँले स्विकार गरेकाहरुको जानकारी मात्र हामीले राज्य व्यवस्थामा बुझाए हौं,' उनले भने, 'उहाँहरुको इमान्दारिताको कदर गर्दै नाम सार्वजनिक गरेका छैनौं।' नाम बुझाएकामध्ये पनि कतिपयले त अवकाश पाइसकेको उनले सुनाए। स्वेच्छाले नाम बुझाउने कर्मचारीलाई भने मन्त्रालयले इमान्दारको सूचीमा राखेको छ।
अहिले पनि मन्त्रालयमा विदेशी पिआर तथा ग्रिनकार्ड लिएको भन्दै निकै उजुरी परे पनि त्यसलाई प्रमाणित गर्न समस्या परेको गुनासो मन्त्री पण्डितले गरे। विधेयक पास भयो भने मात्र विदेशी पिआर तथा ग्रिनकार्ड लिनेको आधिकारिक तथ्यांक निकाल्न सजिलो हुने उनले बताए।
सरकारी कर्मचारीले विदेशी पिआर तथा ग्रिनकार्ड लिन नपाउने गरी निजामति सेवा ऐन चौथो संशोधन विधेयक अहिले राज्यव्यवस्था समितिमा छलफलको क्रममा छ। संसदको आउने सत्रमा विधेयक पारित गर्ने सरकारी तयारी रहेको मन्त्री पण्डितले जनाए। 'सरकारले यसअघि कै संसद अधिवेशनबाट विधेयक पारित गराउने कोसिस गरेको थियो,' उनले भने, 'त्यो सम्भव नभएकाले समितिमा छलफल गराएर आगामी अधिवेशनको पहिलो सरकारी विधेयकका रुपमा निजामति सेवा ऐन चौथो संशोधन विधेयकलाई पेश गर्ने तयारी गरेका छौं।'
विधेयक पारित नभएसम्म कुन कर्मचारीले कुन देशको पिआर तथा ग्रिनकार्ड लिएको भन्ने स्पष्ट हुन नसक्ने भन्दै उनले विधेयक पारित भएपछि भने सबैको नाम सार्वजनिक गर्ने बताए। प्रस्तावित विधयेकमा विदेशी पिआर तथा ग्रिनकार्ड लिएका कर्मचारीले ३० दिनभित्र सूचना दिनुपर्ने, सूचना दिएको ३० दिनभित्र सरकारी सेवा वा विदेशी पिआरमध्ये एक त्याग गर्नुपर्ने र त्यसो नगरे तीन दिनभित्र सरकारले सेवाबाट अवकाश दिने उल्लेख छ।
मन्त्रालय स्रोतका अनुसार पूर्वमुख्यसचिव भोजराज पोखरेलले पदमा बहाल रहेकै अवस्थामा क्यानडाको पिआर लिएका थिए। पूर्वप्रधानन्यायाधीश स्वर्गीय विश्वनाथ उपाध्यायसँग पदमा बहाल रहेकै अवस्थामा अमेरिकाको पिआर थियो।