काठमाडौं– कात्तिक १६ गते संविधानसभाका प्रतिवेदन बुझाउने कार्यादेश पाएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले एक महिना ढिला गरी भोलि संविधानसभामा आफ्नो प्रतिवेदन बुझाउने भएको छ।
दलहरूबीच लामो सहमतिको प्रयास सफल हुन नसकेपछि प्रमुख दलले प्रतिवेदन बुझाउने जिम्मा समितिका सभापतिको स्वविकेकमा छोड्ने निर्णय गरेका थिए। त्यसपछि सभापति बाबुराम भट्टराईले बिहीबार संविधानसभा अध्यक्षलाई प्रतिवेदन बुझाउने बताएका हुन्।
बुधबार बिहान समिति सभापति भट्टराईको अग्रसरतामा बसेको कांग्रेस, एमाले, एमाओवादी, राप्रपा र मधेसी दलको अनौपचारिक बैठकले प्रतिवेदन बुझाउन सभापतिलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेको थियो। बैठकले समितिमा पेश भएका प्रस्तावलाई सभापतिले आफ्नो स्वविवेक प्रयोग गरी जसरी बुझाए पनि हुने सहमति गरेपछि भट्टराईले प्रतिवेदन बिहीबार संविधानसभा अध्यक्षलाई बुझाउने भएका हुन्।
'मैले त आजै बेलुका प्रमुख दलका शीर्ष नेताहरूसँग परामर्श गरेर प्रतिवेदन तयार पर्ने योजना बनाएको थिएँ,' भट्टराईले बुधबार पत्रकार सम्मेलन नै गरेर भने, 'प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली राजधानीबाहिर भएकाले भोलि बिहान उहाँहरुसँग परामर्श गरेर प्रतिवेदन तयारी गरी बुझाउनेछु।'
बुधबार विहान पाँच दलको अनौपचारिक बैठक बसेलगत्तै एमाओवादी नेतृत्वको २० दलको बैठक बसेको थियो। २० दलको बैठकले पनि प्रतिवेदन बुझाउन सभापतिलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेको थियो।
त्यसपछि बसेको संवाद समितिको बैठकमा कांग्रेसका पूर्णबहादुर खड्काले पाँच दलबीच भएको सहमति बैठकलाई जानकारी गराएका थिए। सो प्रस्तावलाई सबैले ताली बजाएर स्वागत गरेपछि सभापतिलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय पारित भएको थियो। समिति सभापति भट्टराईले भने प्रतिवेदन संविधानसभामा पेश गर्ने निर्णयले तत्कालको राजनीतिक गतिरोधको अन्त्य भएको बताए।
सबैको चित्त बुझाउने गरी प्रतिवेदन तयार पार्ने काम चुनौतिपूर्ण भए पनि सबैको चित्त बुझाउने गरी प्रतिवेदन तयार पारिने बताए। 'अहिले पनि संविधानका अन्तर्वस्तुमा सहमति भएको होइन,' उनले भने, 'तर दलहरूबीच असहमतिको भने अन्त्य भएको छ।' उनले संविधानसभाले दिएको निर्देशन, नियमावली तथा समितिका पेश भएका प्रस्तावलाई आधार मानेर प्रतिवेदन तयार पारिने बताए। भट्टराईले स्वविवेक निरपेक्ष नहुने भए पनि आफूलाई मन लागेको कुरा मात्र प्रतिवेदनमा राम्रो नहुने भन्दै वस्तुनिष्ठ निर्णय गर्ने बताए।
उनले आजको सहमतिले माघ ८ मा संविधान जारी गर्न कठिन हुने भए पनि त्यसका लागि महत्वपूर्र्ण निर्णय भएको टिप्पणी गरे। 'संविधानका अन्तर्वस्तुमा सहमति भयो भने र दिनरात काम गर्ने हो भने प्रक्रियालाई छोट्याएर संविधान जारी गर्न सकिन्छ,' उनले भने, 'त्यसका लागि जनतामा जाने कार्यक्रम रद्द गर्नुपर्छ।' माघ ८ मा संविधान आउन नसके पनि संविधानको पहिलो मस्यौदा मात्र जारी गर्न सके त्यो संविधान जारी गरेजस्तै हुने बताए।
प्रतिवेदन बुझाउने सहमति भए पनि प्रतिवेदनमा के लेख्ने भन्ने विषयमा भने कुनै सहमति भएको छैन्। स्रोतका अनुसार एमाओवादी नेतृत्वको २० दलको बैठकमा पनि उपस्थिति भएका भट्टराईलाई अधिकांश नेताहरूले संविधानसभाले पठाएको विवादित विषयमा सहमति हुन नसकेको, प्रश्नावलीसमेत बन्न नसकेको र थप छलफल आवश्यक पर्ने व्यहोराको प्रतिवेदन बुझाउन सुझाव दिएका छन्।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने कांग्रेस–एमालेसहितका दलले पेश गरेको ९ बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा राख्न सकिने बताए। उनले नियमावली, संविधानसभाको निर्देशन अनुसार कांग्रेस–एमालेको प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा राख्न सकिने बताए।
सत्तारुढ दल कांग्रेस–एमालेलगायत राजनीतिक दलले संविधानका विवादित विषयमा आफ्नो नौ बुँदे अवधारणा संवाद समितिमा पेश गरेपछि सत्तारुढ र विपक्षी दलबीच दूरी बढेको थियो। सत्तारुढ दलले आफूले पेश गरेको प्रस्ताव संविधानसभामा पठाउनु पर्ने माग गर्दै आएका थिए भने एमाओवादीलगायत विपक्षी दलहरुले सहमतिबाटै संविधान जारी गर्नुपर्ने कांग्रेस एमालेको प्रस्तावलाई संविधानसभामा पेश गर्न नहुने अडान राख्दै आएका थिए। जसका कारण लामो समयदेखि संवाद समितिको बैठकसमेत बस्ने सकेको थिएन।
सभापतिलाई आफूहरूको प्रस्ताव संविधानमा पेश गर्न दबाब दिने भन्दै समितिका ४३ सदस्यले हस्ताक्षर बुझाएपछि त सभापतिले बैठक नै बोलाएका थिएनन्।