काठमाडौं–एक साता अघि अनिश्चित समयका लागि स्थगित भएको संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिको बैठक मंगलवारका लागि बोलाइएको छ। संविधानका विवादित विषयमा दलहरुबीच सहमति नजुटेपछि समितिका सभापति बाबुराम भट्टराईले बैठक अनिश्चित कालका लागि स्थगित गरेका थिए।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र समितिका सभापति भट्टराईको परामर्शपछि बैठक बोलाउने तय भएको संसद सचिवालयले जनाएको छ। संविधानका विवादित विषयमा सत्तापक्षदलहरुले साझा प्रस्ताव संवाद समितिमा पेश गरेपछि दलहरुबीचको दुरी बढेको थियो। एमाओवादी लगायतका दलहरुले सत्तारुढ दलको प्रस्ताव समितिमा छलफल गर्न नसकिने अडान राख्दै आएको छ भने सत्तारुढ दलले भने समितिको बैठक बोलाएर आफूहरुको प्रस्तावमाथि छलफल गर्नुपर्ने बताउँदै आएका थिए।
यसैबीच केही दिन देखि अस्वस्थ रहेका संवाद समितिका सभापति बाबुराम भट्टराईले राजनीतिक परामर्शलाई तीब्र पारेका छन्। आफ्नो स्वास्थ्यमा सुधार आएपछि सभापति भट्टराईले राजनीतिक परामर्शरालाई तीव्र पारेको भट्टराईको सचिववालयले जनाएको छ। सचिवालयका अनुसार भट्टराईले सोमवार विहान प्रधानमन्त्री एवं का्रग्रेस सभापति सुशील कोइराला, सभामुख सुवास नेम्वाङ, एमाले अध्यक्ष केपी ओली तथा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग टेलिफोनमा कुराकानी गरेका थिए। टेलिफोन संवादमा भट्टराईले राजनीतिक सहमतिको मिलनविन्दु पहिल्याउन आग्रह गरेका थिए।