काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता सम्बन्धमा सत्तारुढ दलबाट आएको प्रस्तावमा भारतलाई खुसी पार्न खोजिएको आरोप लगाएका छन्। आफूहरूले सुरुदेखि नै संघीयताको विरोध गर्दै आएको उल्लेख गर्दै उनले सत्तारुढ दलको प्रस्तावले तराईको महोत्तरीदेखि बर्दियासम्मको भू–भागलाई हिमाल र पहाडबाट अलग गरेको आरोप लगाए।
‘जुन उद्देश्यका लागि संघीयता नेपालमा ल्याइएको हो। त्यो नेपालका दलको रहर र चाहनाले आएको होइन, केसीले नागरिकन्युजसँग भने, ‘नेपालमा संघीयता लाद्ने काम भारतले गरेको हो। त्यसलाई नेपालका नेताहरूले हस्ताक्षर मात्र गरेका हुन्।'
गिरिजाप्रसाद कोइरालालाई 'एक मधेस एक प्रदेश'मा राजी बनाउन भारतीयहरू सफल भएको दाबी गर्दै केसीले अहिले सत्तारुढ दलबाट भारतलाई खुसी पार्ने गरी प्रस्ताव आएको टिप्पणी गरे। ‘महोत्तरीदेखि बर्दियासम्मको भू–भागलाई हिमाल पहाडबाट अलग गराउने प्रस्ताव पनि त्यसैको उपज हो,' उनले भने।
संविधानका विवादित विषयमा सत्तारुढ दल कांग्रेस–एमालेले साझा धारणा सार्वजनिक गरेपछि मुलुकको राजनीतिक दुई धु्रवमा विभाजित बनेको छ। केही दलले समय सान्दर्भिक भन्दै दुई दलको प्रस्तावमा हस्ताक्षर गरेको छन् भने एमाओवादीसहित संविधानसभामा प्रतिनिधित्व गर्ने ११ दलले त्यसको विरोध गर्दै प्रस्ताव पारित हुन नदिने घोषणा गरेका छन्।
कतिपय दल भने न सत्तापक्षको प्रस्तावमा सहमत छन्, न त एमाओवादी नेतृत्वको मोर्चाकै समर्थनमा छन्। उनीहरूले आफ्नो प्रस्ताव सत्तारुढ दलले समेट्न नसकेको भन्दै असन्तुष्टिसमेत जनाएका छन्। तुलनात्मकरूपमा एमाओवादी नेतृत्वको मोर्चाको प्रस्तावभन्दा सत्तारुढ दलको प्रस्ताव सकारात्मक भएको उनीहरूको टिप्पणी छ।
सो प्रस्तावमा उल्लेखित निर्वाचन प्रणाली र संघीयताको राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ। दुइटा निर्वाचनमा समेत अभ्यास गरिसकिएको मिश्रित निर्वाचन प्रणालीलाई बेवास्ता गर्दै सत्तारुढ दलको प्रस्तावले संसदको तल्लो सदनमा ‘मनी र मसल' भएकाको नियन्त्रणमा राख्न खोजेको उसको बुझाइ छ।
केसीले आफ्नो दल एकात्मक राज्य प्रणालीअर्न्तगत ७ प्रदेशको पक्षमा रहेका उल्लेख गर्दै सत्तारुढ दलले प्रस्ताव गरेको राज्यको संख्या भने आफ्नो दलसँग मेलखाने उल्लेख गरे। 'एमाओवादी नेतृत्वको मोर्चाले भनेजस्तो जातीय आधारमा १० प्रदेशभन्दा तुलनात्मक रूपमा कांग्रेस–एमालेको प्रस्ताव सकारात्मक छ,' उनले भने।
सत्तारुढ दल र एमाओवादी नेतृत्वको मोर्चाको दुवैको प्रस्तावमा सहमत नहुने दलहरू पनि थुप्रै छन्। अधिकांश साना दल छन्। राप्रपा नेपाल, नेकपा माले, नेमकिपा, नेकपा संयुक्त, अखण्ड नेपाल पार्टी, नेपाली जनता दल, नेपाल परिवार दल, राष्ट्रिय मधेस समाजवादी पार्टीलगायतले दुवै पक्षलाई समर्थन गरेका छैनन्।
अखण्ड नेपाल पार्टीका सभासद कुमार खड्काले सत्तापक्षको अधिकांश प्रस्ताव सकारात्मक भए पनि तराईमा दुइटा प्रदेशलाई पूर्वपश्चिम बनाउने नीतिको आफूहरूले विरोध गरेको बताए। ‘हाम्रो सिद्धान्त भनेको सबै प्रदेश उत्तर–दक्षिण बनाउनुपर्छ भन्ने हो,' खड्काले नागरिकन्युजसँग भने, ‘अहिले सत्तापक्षको प्रस्तावमा तराईमा दुइटा प्रदेश पूर्व–पश्चिम बनाउने उल्लेख छ, जुन हाम्रो पार्टीले स्वीकार गर्न सक्दैन।'
अखण्ड नेपालले कांग्रेस–एमालेले प्रस्ताव गरेको निर्वाचन प्रणालीमा पनि विरोध गरेको छ। उसले मिश्रित निर्वाचन प्रणाली अपनाउनुपर्ने जनाएको छ। खड्काले प्रत्यक्ष निर्वाचन प्रणालीले अल्पसंख्यक, महिला, आदिवासी जानजातिलगायत समुदायको प्रतिनिधित्व हुन नसक्ने भन्दै समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताए। तर, संविधानसभामा प्रक्रियामा गएको अवस्थामा आफ्नो मत आवश्यक परे भने आफ्नो मत कांग्रेस–एमालेको प्रस्तावलाई नै समर्थन गर्ने बताए।
सरकारलाई समर्थन गर्ने सबै दलले सत्तापक्षको प्रस्तावलाई समर्थन गर्न सकेका छैनन्। अधिकांश साना दलकोे विरोध निर्वाचन प्रणालीप्रति छ। नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले पूर्णसमानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने जनाए। सत्तारुढ दलले प्रस्ताव गरेको प्रदेशको संख्या आफ्नो दलको धारणासँग मिल्ने भए पनि तराईमा दुई प्रदेश हुनुपर्ने पक्षमा आफ्नो दल रहेको साहले जनाए। केही साना दल भने निर्वाचन प्रणालीमा सुधार गर्न दबाब दिने उद्देश्यले एमाओवादीको मोर्चामा जाने विषयमा समेत छलफल भइरहेको एक नेताले जनाए। त्यसका लागि एमाओवादीले सत्तापक्षको प्रस्तावमा हस्ताक्षर नगरेका दलसँग छलफलसमेत गरेको छ।