काठमाडौं– लामो समयसम्म समितिको बैठक नबोलाएको भन्दै राज्य व्यवस्थाका सभापति दिलबहादुर घर्तीको चर्को आलोचना भएको छ। बुधवार बसेको समितिको बैठकमा बोल्ने अधिकांश सदस्यले व्यवस्थापिका संसदको महत्वपूर्ण समितिको बैठक लामो समयसम्म नबोलाएको भन्दै सभापति घर्तीको आलोचना गरेका हुन्। मुलुकमा ठूला घटना हुँदासमेत समितिलाई निष्कृय बनाएको भन्दै सदस्यहरुले असन्तुष्टि जनाएका हुन्।
बैठकमा बोल्ने २१ जना सदस्यले समुन्द्री आँधी हुडहुडले ठूलो जनधनको क्षति भएको, वर्षायाममा आएको बाढी पीडित अहिलेपनि खुला आकास मुनि रातकाट्न बाध्य भएको अवस्थामासमेत समितिको बैठक नबोलाएको भन्दै आपत्ति जनाएका थिए।
बैठकमा सदस्य यज्ञराज सुनुवारले जनताको प्रत्यक्ष सरकोकार राख्ने समितिको बैठक नबोलाएर सभापतिले गैर जिम्मेवारीपन प्रदर्शन गरेको आरोप लगाए। 'हुडहुड समुन्द्री आँधीको प्रभावले नेपालका हिमाली जिल्लामा व्यापक जनधनको क्षति भयो, उनले भने,'नेपाल प्रहरीमा बढुवा प्रकरणले खैलाबैला मच्चिएको छ, यस्तो अवस्थामासमेत सभापतिले बैठक नबोलाउनु गैर जिम्मेवारीपना हो।'
सदस्यहरुले पछिल्लो केही समययता मुलुकका विभन्न भागमा भएका सवारी दुर्घटना प्रति चासो व्यक्त गरेका थिए। सदस्यहरुले लामोसमयसम्म बैठक नबोलाएको भन्दै आपत्ति जनाएपछि सभापति घर्तीले अब नियमति बैठक बोलाउने प्रतिबद्धता जनाएका थिए। समितिको अर्को बैठक भोली विहान बस्ने भएको छ।