काठमाडौं– परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले दसैंसम्ममा बाँकी देशमा समेत राजदूतको नाम सरकारले सिफारिस गरिसक्ने जनाएका छन्। केही दिनअघि मात्र सरकारले विभिन्न देशका लागि परराष्ट्रका ६ सहसचिवका नाम राजदूतमा सिफारिस गरेको थियो।
‘दुईवटा दूतावासलाई अपग्रेड गरी दसैंसम्म १० जनाको नाम राजदूतमा सिफारिस गर्ने हाम्रो योजना छ,' मन्त्री पाण्डेले भने, ‘यसका लागि सबै काम सकिएको छ। अब दलहरूसँग छलफल गरी नाम मागिने छ।' एक साताअघि सरकारले थाइल्यान्ड, दक्षिण अफ्रिका, क्यानडा, कुबेत, फ्रान्स र स्विट्जरल्यान्डका लागि क्रमशः परराष्ट्रका सहसचिवहरू खगनाथ अधिकारी, अमृतबहादुर राई, कालीप्रसाद पोखरेल, यज्ञबहादुर हमाल, अम्बिकादेवी लुइँटेल र दिपक धितालको नाम राजदूतमा सिफारिस गरेको थियो।
राजदूत नियुक्तीमा राजनीतिक र कुटनीतिक सेवाबाट ५०/५० प्रतिशत गर्ने पूर्व निर्णय अनुसार सरकारले सुरुमा कुटनीतिक नियुक्ती गरेको हो। दलहरूको भागबन्डामा परेको १० ठाउँमा भने राजनीतिक सहमति बन्न नसक्दा थाँती रहेको थियो, यसलाई दसैंसम्ममा पूरा गरिने मन्त्री पाण्डेले बताएका हुन्।