सोलुखुम्बु– नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको कार्यालयमा चोरी हुँदा ६ वटा इलाकाको क्रियाशील सदस्यता प्रमाण पत्र हराएको छ। केही दिनदेखि बन्द रहेको सल्लेरीस्थित कार्यालय सोमबार बिहान ११ बजे खोल्ने क्रममा कार्यालयभित्र रहेको क्रियाशील सदस्यता प्रमाणपत्र, १३ थान कुर्सी, १३ थान सल्लाको तख्ता र पार्टीका झण्डासमेत चोरी भएको नेपाली कांग्रेसले जनाएको छ।
पार्टीको आधिकारिक पदाधिकारीले लगाएको ताला फुटाई अर्को ताला लगाएपछि सो ताला फोरेर हेर्दा कार्यालयभित्रका सामाग्री चोरी भएको तथ्य बाहिर आएको हो । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेको छ।
'गलत मनसायसाथ लोकतन्त्रका विरोधीहरूको संलग्नतामा यो काम भएको हुन सक्छ,' कांग्रेस जिल्ला सचिव चन्द्रप्रसाद आचार्यले भने, 'सदरमुकाममै भएको मुलुककै ठूलो पार्टीका कार्यालयमा चोरी हुनुले सुरक्षा निकायलाई पनि चुनौती दिएको छ।' कांग्रेस पार्टी कार्यालयमा भएको चोरीको घटनाबारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।