काठमाडौं– नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलेे नवौँ महाधिवेशनबाट पार्टीमा नयाँ नेतृत्व आउने बताएका छन्। नेतृत्व कुनै पनि हालतमा पछाडि नफर्किने बताउँदै उनले पार्टीमा अर्थपूर्ण हिसाबले नेतृत्व हस्तान्तरण हुने ठोकुवा गरे।
'एमाले यस्ता विसंगत मान्यताको पक्षमा लाग्दैन, नेतृत्व हस्तान्तरण भई छाड्छ,' एमाले पोलिटब्युरो सदस्य खगराज अधिकारीद्वारा लिखित आत्मसंस्मरण ‘माया मारेको मान्छे' को शनिबार विमोचन गर्दै उनले भने। नेतृत्व हस्तान्तरणको प्रक्रिया पुरानोमा फर्किने नभई नयाँ पुस्तामा जाने ओलीको दाबी थियो।
'नेतृत्व पुस्तान्तरणको कुरा गर्ने मानिसले विगतमा आफूले उत्तराधिकारी निर्माण गर्दै अगाडि बढेको भए सायद अहिले युवा पुस्तामा नेतृत्व पुग्थ्यो,' उनले भने, 'अहिले तिनै मानिसहरू नयाँलाई बाटो देखाउन होइन, आफैंलाई चाहियो भनेर जुका उर्फिएजस्तो उफ्रिँदै गरेको सुन्दा अचम्म लाग्छ।'
अर्थपूर्ण हिसाबले नेतृत्व युवामा जाने कुरामा आफू बन्धन नबन्ने ओलीले बताए। 'तर युवा भनेको के हो, त्यसको परिभाषा त स्पष्ट हुनुपर्यो,' नेता ओलीले भने, 'तिलचाम्रे, दाँत फुक्लिएका र हजुरबा भइसकेकालाई युवाको नेतृत्व दिने कुरा हाँस्यास्पद हुन्छ।'