काठमाडौं-म्यानमारकी प्रजातन्त्रवादी नेतृ तथा प्रतिपक्षी दल नेसनल लिग फर डेमोक्रेसीकी अध्यक्ष आङ सान सु चीले नेपाल भ्रमणबाट फर्केपछि प्रजातन्त्रका पक्षमा लड्न थप ऊर्जा मिल्ने बताएकी छन्।
'नेपाल सधैं मेरो मुटुमा छ, यो मलाई आफ्नै पुरानो देश जस्तो लाग्छ,' सु चीले आइतबार आर्मी अफिसर्स क्लबमा आयोजित नागरिक अभिनन्दनपछि भनिन्, 'तपाईंहरूको माया लिएर स्वदेश फर्कंदा मलाई प्रजातन्त्रका पक्षमा लड्न अझ बढी ऊर्जा मिल्नेछ।'
'म्यानमारमा जस्तै प्रजातन्त्रका लागि नेपाली जनताले संघर्ष गरेका छन्, त्यसले नेपालप्रति मेरो विशेष निकटता र सामीप्य छ। एकता र स्वतन्त्रताका पक्षमा नेपालले हासिल गर्ने प्रत्येक उपलब्धि तपाईंहरूको मात्र विजय होइन, म्यानमारको पनि विजय हो,' सु चीले भनिन्।
नेपाल र म्यानमारको विगत उस्तै भएकाले भविष्य पनि समान रहने उनले बताइन्। विगतको साझा अनुभवले दुवै देशका जनता एकअर्कामा बाँधिएको उल्लेख गर्दै सु चीले भनिन्, 'तपाईंहरूले हाम्रो दुःख देख्नुभएको छ। त्यसलाई सपोर्ट गर्नुभएको छ। त्यो कुरा हामीलाई थाहा छ। यसकारण पनि हामी तपाईंहरूप्रति कृतज्ञ छौं।'
गौतम बुद्ध सम्बन्धमा व्याख्या गर्दै उनले भनिन्, 'भगवान बुद्धले हामी सबैलाई करुणाको पाठ सिकाउनुभएको छ। दुःख हामीले जीवनबाट हटाउन सक्ने कुरा होइन। भगवान बुद्ध स्वयंले दुःख जीवनको अभिन्न अंग हो भन्नुभएको छ। यो कुरा हामीले साझा रूपमा भोगेका छौं। मलाई आशा छ, हामी सँगै सुखदुःखमा अघि बढ्नेछौं। हामी दुवैले सुखदुःखका क्षणमा एकअर्कालाई मद्दत गर्नेछौं।'
नेपाल र म्यानमार सच्चा साथी भएको उल्लेख गर्दै भविष्यमा आवश्यक पर्दा एकअर्काको सहयोग उपलब्ध हुने आशा उनले व्यक्त गरिन्। 'नेपाल आएको तीन दिन भयो, मलाई जहाँ जाँदा पनि आफ्नै देशको जस्तो माया प्राप्त भएको छ,' उनले भनिन्, 'मलाई आफ्नै देशमा छु जस्तो अनुभूति भएको छ।'
अभिनन्दन कार्यक्रममा विभिन्न संघसंस्थाबाट उपहार प्राप्त गरेपछि उनले आफ्नो अनुभव सुनाइन्, 'एकै दिनमा एकै ठाउँमा यति धेरै उपहार मैले कहिल्यै पाएको थिइनँ। यो कसरी लैजाने थाहा छैन।'
कार्यक्रममा उनले युवा तथा बालबालिकालाई विशेष सम्बोधन गर्दै सुन्दर भविष्यका लागि शुभकामनासमेत व्यक्त गरिन्। 'देशको भविष्य भनेका युवा र केटाकेटी हुन्। उनीहरूलाई मेरो शुभकामना छ। उनीहरूको भविष्य राम्रो हुनेछ भन्ने मेरो विश्वास छ,' उनले भनिन्।
बिपी चिन्तन प्रतिष्ठानले सु चीको नागरिक अभिनन्दनका लागि हरिबोल भट्टराईको संयोजकत्वमा ५ सय १ सदस्यीय आङ सान सु ची नागरिक अभिनन्दन समारोह मूल समिति गठन गरेको थियो। कार्यक्रमको सुरुआत राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाद्वारा रचित 'आङ सान सु चीलाई हाम्रो स्वागतम' बोलको गीतबाट भएको थियो। अभिनन्दनपछि सु चीलाई विभिन्न संघसंस्थाले बौद्ध स्तुपको प्रतिमा, बुद्धमूर्ति लगायत मायाको चिनो दिएका थिए।
त्यस्तै, डिल्लीरमण रेग्मी प्रतिष्ठानले सु चीलाई सन् २०१३ को 'डिल्लीरमण अन्तर्राष्ट्रिय शान्ति पुरस्कार' प्रदान गरेको थियो। सन् २००६ मा स्थापना गरिएको उक्त पुरस्कार सु चीलाई दिने निर्णय मन्त्रिपरिषद बैठकबाट गरिएको प्रतिष्ठानले जनायो।
सु ची आइतबारै बुद्धको जन्मस्थल लुम्बिनी पुगेकी थिइन्। लुम्बिनीबाट फर्केपछि उनले सुन्दरीजलस्थित बिपी संग्रहालय अवलोकन गरेकी थिइन्। शुक्रबार काठमाडौं आएकी उनले त्यसै दिन प्रधानमन्त्री सुशील कोइराला, शनिबार राष्ट्रपति रामवरण यादवसँग भेट गरेकी थिइन्। उनले आइतबार नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेकी थिइन्। सोमबार बिहान आफ्नी गुरुआमा धम्मवतीलाई भेटी थाई एयरमार्फत बैंकक हुँदै स्वदेश फर्कने उनको कार्यक्रम छ।