काठमाडौं– नेकपा एमालेका तीन पदाधिकारीले केन्द्रीय कमिटीको कार्यविभाजनप्रति असन्तुष्टि जनाउँदै फरक मत दर्ता गरेका छन्।उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईले स्थायी कमिटीले महाधिवेशनको गुटका आधारमा कार्यविभाजन गरेको भन्दै बिहीबार फरक मत दर्ता गरेका हुन्।
‘कार्यविभाजनले पार्टीको विधि, परम्परा, कामको आवश्यकतालाई ध्यान दिएको छैन, बरु केवल महाधिवेशनको गुटबन्दीलाई निरन्तरता दिएको छ,' फरक मतमा भनिएको छ, ‘त्यसले पार्टीको आन्तरिक एकता सुदृढ बनाउँदै महाधिवेशनको विचार–निर्णयलाई बहन गर्ने उद्देश्यलाई इन्कार गर्छ।'
एमालेको नवौं महाधिवेशनमा केपी शर्मा ओली र माधवकुमार नेपाल प्यानलबीच प्रतिस्पर्धा भएको थियो। फरक मत लेख्ने तीन पदाधिकारीले महाधिवेशनमा नेपाल प्यानलबाट प्रतिस्पर्धा गरेका थिए।
उनीहरूले लेखेको फरक मतमा स्थायी कमिटीले गरेको कार्यविभाजनको निर्णयले पार्टीका सबै कमिटीमा ‘जसको लाठी, उसैको भैंसी' नै सांगठनिक सिद्धान्त बन्न जानेतर्फ सचेत गराइएको छ। यसले पार्टीमा अराजकता उत्पन्न हुने जनाइएको छ।
महाधिवेशन भएको करिब नौ महिनापछि एमालेले कार्यविभाजन गरेको थियो। दुई साताअघि कार्यविभाजन भएपछि असन्तुष्टहरूले फरक मत दर्ता गराउने निर्णय गरेका थिए।
उपमहासचिव भुसालले स्थायी कमिटीका थप सदस्यले पनि फरक मत दर्ता गर्ने बताए। भुसालका अनुसार उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सदस्य सुरेन्द्र पाण्डेले फरक मत दर्ता गराउनेछन्। ‘सचिव गोकर्ण विष्ट र भीम आचार्य बाहिर हुनुहुन्छ,' उनले भने।
फरक मत निर्णयसँगै अन्तरपार्टी निर्देशनमा तल्लो तहसम्म जाने गर्दछ। फरक मतमा उनीहरूले मूल नेतृत्वलाई समस्यामा पार्ने गरी गतिविधि नगर्ने बताए।
‘विगत दिनमा आफूले भनेजस्तो नहुँदा पार्टीको दैनिक जीवनलाई नै अवरुद्ध गर्ने, समानान्तर कमिटी बनाउने, पार्टीका राजनीतिक निर्णयकै विरुद्धमा प्रचारबाजी गर्ने हिसाबले गतिविधि हुन्थे, अहिले पार्टीको मुख्य नेतृत्वका गतिविधिसँग असहमत रहेकाबाट त्यस्तो भएको छैन, हुनु हुँदैन' फरक मतमा उल्लेख छ।
उनीहरूले नवौं महाधिवेशनपछि पार्टीको संस्थागत जीवन कमजोर बन्दै गएको भन्दै आपत्ति जनाएका छन् । ‘राज्यको विभिन्न निकायमा पार्टीका तर्फबाट सिफारिस र निर्णय एकलौटी रूपमा हुँदै आएका छन्,' फरक मतमा भनिएको छ।
महाधिवेशनका बेला प्यानलगत प्रतिस्पर्धा हुनुलाई दुर्भाग्यपूर्ण भएको ठहर गर्दै उनीहरूले फरक प्यानलमा भएकामाथि मूल नेतृत्वले बदला लिने खालको गतिविधि गरेको आरोप लगाएका छन्।
‘नवौं महाधिवेशनले पार्टी सिद्धान्त–विचारका क्षेत्रमा गहनता र उचाइका साथ निर्णय गरेको छ तिनलाई राजनीतिक रूपले व्याख्या गर्नु र त्यस्तो राजनीतिक कार्यभार बोक्न सक्ने संगठनको निर्माण गर्नु, त्यसलाई पार्टीपंक्तिमा र त्यसमार्फत आम जनतामा स्थापित गर्नु एमालेबाट समयले मागेको सबैभन्दा महत्वपूर्ण कुरा हो,' फरक मतमतमा भनिएको छ, ‘व्यक्तिगत र गुटगत स्वार्थमा फस्दै गएका छौं, यसले पार्टीलाई दूरगामी रूपले नराम्रो दिशामा लैजाँदैछ।'
व्यक्तिको महत्वाकांक्षालाई सम्बोधन गर्न ठूला कमिटी निर्माण हुँदा समस्या उत्पन्न भएको भन्दै उनीहरूले त्यसको दीर्घकालीन र तत्कालीन समाधान खोज्नुपर्ने जोड दिएका छन्।
‘कार्यविभाजन पार्टीको सांगठनिक जीवनको सबैभन्दा महत्वपूर्ण काम हो। त्यसमा समस्या भयो भने सङ्गठनका सबै पक्षमा समस्या उत्पन्न हुन्छ,' फरक मतमा भनिएको छ।
मापदण्ड बनाएर जानुपर्ने कुरा पटकपटक भए पनि लागू नभएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्। ‘भूगोल, जनसंगठन र विभागमा त्यस क्षेत्रबाट जितेकालाई वा त्यस क्षेत्रका वरिष्ठलाई वा त्यस क्षेत्रमा बढी जानकारी भएकालाई जिम्मेवारी दिऊँ, सम्भव भएका ठाउँमा बिनापक्षपात समावेशितालाई ध्यान दिऊँ भनेर हामीले अनुरोध गर्यौंड, तर त्यसमा सुनुवाइ भएन, आधार वा मापदण्ड नबनाई एकतर्फी निर्णय गरियो,' फरक मतमा भनिएको छ।
उनीहरूले पार्टीको औपचारिक बैठक अध्यक्ष ओलीको घरमा राखिएकोमा पनि आपत्ति जनाएका छन्।
‘पार्टी र जनसंगठनका गरेर हजारौं कमिटी भएको एमालेका सबै कमिटी प्रमुखले वा तिनका इन्चार्जले निजी घरमा बैठक बोलाउन थाले भने के हुन्छ?' उनीहरूले प्रश्न गरेका छन्, ‘अझ, अहिलेजस्तो गुटबन्दी झाँगिँदै गएका कमिटीमा त्यसले कस्तो परिणाम ल्याउला? कुनै पनि कमिटीका प्रमुख अस्वस्थ हुँदा सामान्य अवस्थामा केही दिन बैठक नबस्न सकिन्छ।'
अध्यक्ष ओली बिरामी भएको भन्दै उनकै निवास बालकोटमा स्थायी कमिटी बैठक गरिएको थियो।
‘विशेष परिस्थितिमा कार्यवाहक दिन सकिने वैधानिक व्यवस्था छँदैछ,' फरक मतमा भनिएको छ, ‘आगामी दिनमा स्थायी कमिटी बैठक निजी घरमा बोलाउन उचित हुँदैन।'
२६ चैत्र २०७१
•
७ मिनेट पाठ