काठमाडौं-एकता महाधिवेशन भएको एक वर्षमै राष्ट्रिय प्रजातन्त्र पार्टी फुटको संघारमा पुगेको छ। लोकेन्द्रबहादुर चन्द र पशुपतिशमशेर राणा समानान्तर रूपले अध्यक्ष बनेपछि पार्टी विभाजननजिक पुगेको हो।
एकता महाधिवेशनमा चक्रीय प्रणालीअनुसार नेतृत्व गर्ने सहमति भएको र त्यसैअनुसार पालो आएको भन्दै जेठ १९ गते चन्दले अध्यक्षको कार्यभार ग्रहण गरेका थिए। त्यसअघि अध्यक्ष रहँदै आएका सूर्यबहादुर थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कमिटी बैठकले चाहिँ राणालाई अध्यक्ष बनाएको छ।
यसअघि चाबहिलस्थित केन्द्रीय कार्यालयमा भएको बैठकमा थापाले पदबाट राजीनामा दिएलगत्तै चन्दले आफूलाई अध्यक्ष घोषणा गरेका थिए। आइतबार थापाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बैठक बसिरहँदा लोकन्थलीस्थित चन्द निवासमा बसेको बैठकले महाधिवेशनको म्यान्डेटअनुसार चन्द नै अध्यक्ष भएको दाबी गरेको छ।
'महाधिवेशनको म्यान्डेट चक्रीय प्रणाली हो। त्यसैअनुसार दोस्रो वर्ष लोकेन्द्रबहादुर चन्दलाई अध्यक्ष बनाएका हौं,' महामन्त्री विक्रम पाण्डेले नागरिकसँग भने, 'यही विषयलाई लिएर हामी जिल्ला दौहाडामा जान्छौं। जिल्ला सभापति र महाधिवेशनका प्रतिनिधि र पार्षद भेटेर सहमति मान्ने वातावरण बनाउँछौं।'
चन्द पक्षले अध्यक्षमा राणालाई स्विकार्न नसकिने जनाएको छ। चन्द पक्षको आइतबार कौशलटारमा अनौपचारिक भेला भएको थियो। भेलामा करिब ५० केन्द्रीय सदस्य सहभागी भएको चन्द पक्षले दाबी गरेको छ।
राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशन भइरहेका बेला २०७० जेठ ५ गते थापा निवास मालीगाँउमा चक्रीय प्रणालीमा सहमति भएको र त्यसअनुसार पहिलो वर्ष थापा, दोस्रो वर्ष चन्द, तेस्रो वर्ष राणा र चौथो वर्ष प्रकाशचन्द्र लोहनीलाई अध्यक्ष बनाउने सहमति भएको चन्द पक्षको दाबी छ।
थापा पक्षले भने चक्रीय प्रणालीको कुरा उठे पनि विरोधका कारण लिखतमा नआएको भन्दै त्यसलाई अस्वीकार गरेको छ। उनीहरूले केन्द्रीय कमिटीको दुईतिहाइभन्दा बढी सदस्यको उपस्थितिमा राणालाई सर्वसम्मत अध्यक्ष बनाएको बताएका छन्।
'दुईतिहाइभन्दा बढी सदस्य उपस्थिति भएको बैठकले राणालाई अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको छ,' महामन्त्री बुद्धिमान तामाङले नागरिकसँग भने, 'महाधिवेशनमा चक्रीय प्रणालीबारे कुरा उठे पनि विरोधका कारण पारित भएको थिएन।'
बैठकले अध्यक्षबाट दिएको राजीनामा स्वीकृत गर्दै थापालाई वरिष्ठ नेता बनाउने निर्णय गरेको छ।
थापाको राजीनामा स्वीकृत भएपछि आइतबार नै बसेको अर्को बैठकले राणालाई अध्यक्ष चयन गरेको थियो। ज्येष्ठ सदस्यको हैसियतमा थापाले नै अध्यक्षता गरेको उक्त बैठकमा केन्द्रीय सदस्य सरोजा शर्माले राणालाई अध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेकी थिइन् भने आङछिरिङ लामा, ललनलाल चौधरी र कृष्णप्रपात मल्लले समर्थन गरेका थिए। त्यसपछि राणा सर्वसम्मत चुनिए।
संस्थापन पक्ष आफूहरू भएको दाबी गर्दै महामन्त्री तामाङले सबैलाई समेटेर अघि बढ्न आह्वान गरिने बताए। तर, चन्द पक्षले थापा जेठ १८ गते नै अध्यक्षबाट निवृत्त भइसकेकाले बैठक नै अवैधानिक भएको जिकिर गरेको छ। 'बैठकले थापालाई अध्यक्ष बनाउनु पनि अवैधानिक हो,' नेता प्रकाशचन्द्र लोहनीले नागरिकसँग भने।