इटहरी-प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नेतृत्वको वर्तमान सरकारलाई थप दवाव आए राजीनामा दिने भनेर दिएको चेतावनी गैरजिम्मेवार भएको काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले बताएका छन्।
उनले प्रधानमन्त्री कोइरालाले जनतालाई निरासा बनाउने कार्य गर्न नहुने बताए। 'प्रधानमन्त्रीले मन्त्रीहरुबाट वा सत्ता साझेदार दल कोबाट असहयोग पाउनुभएको हो, त्यो प्रस्ट व्याख्या गर्नुपर्छ,' केन्द्रीय सदस्य कोइरालाले नेपाल प्रेस यूनियन सुनसरी शाखाले शनिबार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भने, 'यदि सरकार सञ्चालनमा अप्ठ्यारो परेको भए साझेदार दलहरुको पनि शीर्ष नेताबीच कमिटी बनेको छ, त्यसलाई भन्नुपर्र्यो।' उनले प्रधानमन्त्री कोइरालाले जसले अप्ठ्यारो पारेको हो त्यो प्रस्ट भनिनुपर्ने तर अमूर्त कुरा गरेर जनतालाई निरासा बनाउने कार्य गर्न नहुने दोहोर्याए।
सरकार गठन भएको सय दिनसम्म सरकार सुस्त रहेको भनी गरिएका टिका–टिप्पणीप्रति लक्षित गर्दै प्रधानमन्त्री कोइरालाले ललितपुरमा बुधबार पूर्व संसद मञ्चले गरेको कार्यक्रममा थप दवाव आए राजीनामा दिने चेतावनी दिएका थिए।
'सरकार चलाउन सहयोग भएन भनेर प्रधानमन्त्रीले राजीनामाको घुर्की देखाउँन मिल्दैन,' नेता कोइरालाले भने, 'सरकारको गति भने सुस्त नै छ। संवैधानिक र राजनीतिक नियुक्तीको पदपूर्तिमा ढिलाइ भइरहेको छ।' उनले पार्टीबाट प्रतिनिधीत्व गर्ने मन्त्रीहरु सवै जना आफ्नो बिषयमा दक्ष भएपनि प्रधानन्त्रीलाई सही सल्लाह नदिदा पनि समस्या भएको संकेत गरे।
'हाम्रै साथीहरुबाट प्रधानन्त्रीलाई सल्लाह दिने क्रममा ढिलासुस्ती भएको छ,' उनले भने, 'सरकार दौडिनेपर्ने हो। तर, सही सल्लाह नपाउँदा गति सुस्त छ। हुन त मिलीजुली सरकार भएकाले गर्दा पनि समस्या भएको हुन सक्छ।'