काठमाडौं– गृहमन्त्री वामदेव गौतमले प्रहरी स्वयंको आचारण र व्यवहारमा परिवर्तन आवश्यक भएको बताएका छन्। 'कुनै पनि व्यक्तिको स्वयं भित्रैबाट परिवर्तन नभई बाह्य परिवर्तन आउँदैन भन्ने कुरा आत्मसात नगरी व्यक्तिको आचरण र व्यवहार परिवर्तन हुँदैन,' नेपाल पुलिस क्लवमा 'मुस्कानसहितको प्रहरी सेवा' अनुशिक्षण तालिम उद्घाटन गर्दै उनले भने, 'प्रहरीमा माथिल्लो तह र तल्लो तहका कर्मचारीबीचको सम्बन्ध मानवीय हुनुपर्छ।
संगठनभित्रका कमी कमजोरीलाई आजैबाट सुधार गर्नुहोस्।' प्रहरीको आचरण र व्यवहारमा परिवर्तन ल्याउन देशव्यापी रुपमा सञ्चालित 'मुस्कानसहितको प्रहरी सेवा' अभियान फलदायी हुने उनको विश्वास थियो।कार्यक्रममा गृहसचिव सूर्यप्रसाद सिलवालले नागरिक समाजमा प्रहरीको आचरण तथा व्यवहारप्रति नकारात्मक धारणा र गुनासा धेरै आइरहेकोले यो नयाँ अभियान प्रहरीको आचरण र व्यवहारमा परिवर्तन ल्याउन कोसेढुंगा सावित हुने दाबी गरे।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीको सेवा प्रवाहको स्तर वृद्धि गर्ने र त्यसका लागि मुस्कानसहितको प्रहरी सेवाको अवधारणालाई अझै परिष्कृत रुपमा देशभर लागू गर्ने कार्ययोजना रहेको बताए। 'हामीले यो सेवामार्फत केवल हाँसेर बोल मात्र भन्न खोजेको होइनौं,' उनले भने, 'मुस्कान खुसी र हर्षको प्रतीक हो, यसर्थ केवल ओठमा हाँसो बोकर मात्र होइन, हृदयदेखि नै सेवाभावका साथ हामीले आमनागरिकप्रति गर्ने व्यवहार नै सभ्य, शिष्ट, स्वागतयोग्य हुनुपर्छ।'