विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
आइतबार विराटनगरमा नेपाल पत्रकार महासंघ मोरङको ज्ञापन पत्र बुझ्दै महामन्त्री आचार्यले रास्वपा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका हुन्।
महामन्त्री आचार्यले समाजको अभिन्न अंग पत्रकारिता भएकाले पत्रकारितालाई अझ समृद्ध बनाउन पार्टी लागि पर्ने बताए।
‘प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज गर्ने नीति हिजो पनि नभएको र आज पनि छैन’, उनले भने,‘पत्रकारितालाई अझ समृद्ध बनाउन रास्वपा लागिपर्नेछ।’
पत्रकारहरूले राखेका जायज मागको सम्बोधन गरिने उनले स्पष्ट पारे। समाचार लेखेका आधारमा पत्रकारहरूलाई पक्राउ गरिएको, सरकारी सञ्चारमाध्यमहरूबाट श्रमजीवी पत्रकारहरूलाई निष्कासन गरिएको, अध्यादेशबाट प्रेस काउन्सिल सम्बन्धी कानुन निर्माण गरिएको लगायतका विषयमा असहमति जनाउँदै नेपाल पत्रकार महासंघले देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
सोही कार्यक्रम अन्तर्गत मोरङका पत्रकारहरूले रास्वपा महामन्त्री विपिन आचार्यलाई पार्टीको धारणा माग गर्दै ज्ञापन पत्र बुझाएका थिए।
यसैबिच आइतबारको आन्दोलनका कार्यक्रम अन्तर्गत रास्वपाको मोरङ जिल्ला पार्टी कार्यालयमा पनि पत्रकारहरूले केही बेर धर्ना दिएका छन्।
४ मिनेट अघि
•
१ मिनेट पाठ